अहिले नेपाली राजनीतिमा ठूलै तरंग आएको छ। सरकार चलाउने प्रमुख ‘पाइलट’ले संसद विघटन गर्दै मुलुकलाई ठूलै दुर्घटनाबाट जोगाएको दाबी गरे।
राजनीतिक आकस्मिक अवतरण हुँदा अर्का पाइलट उछिट्टिएर माइतीघरको सडकमा पछारिन पुगे। सडकबाट सम्हालिँदै उठ्दा उनको छातीमा एउटा कागज टाँसिएको थियो।
कागजमा लेखिएको थियो-‘हामी यहाँ छौं।’
सडकमा भेटिएको ‘हामी यहाँ छौं ’ नामक वाक्य रातारात सामाजिक सञ्जालमा भाइरल भयो। त्यसपछि धेरैले आफू कहाँ छु भनेर सार्वजनिक रूपमा घोषणा गर्न थाले।
यही बेला हामी नेपालको पश्चिम सीमा कञ्चनपुरको गड्डा चौकीमा पर्ने पिल्लर नं. ८०५/१(७) छेउमा उभिएका थियौं। हामीलाई पनि भन्न मन थियो - हामी यहाँ छौं।
सरकारलाई आमजनताको कुरा सुन्नलाई समय कहाँ छ र ? बरू सरकार बालुवाटारमा बसेर ‘ओली की इश्किया’ नामक समाचार फुक्ने जी-न्यूजसँग हिन्दी भाषामै वार्तालाप गर्दै थियो।
हामी पनि हिन्दी भाषामै कुरा गर्दै थियौं। सरकारसँग भारतीय पत्रकारले अन्तर्वार्ता गर्दै थियो। हामी चाहिँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संवाद गर्दै थियौं।
‘हमें कुछ आगे तक जाना है।’ सीमा उभिएको एसएसबीलाई भन्यौं।
‘कहाँ तक जाना है ?’ उसले सोध्यो।
‘महाकाली पुल ... शारदा ब्यारेज तक जाना है।’ हामीले गन्तव्य सुनायौं।
‘क्या काम है ?’ उसले प्रश्न थप्यो।
‘बस ! एकबार पुलको देखना है। ’
‘कहाँ से आय हो ?’ उसले हामीलाई नियालेझैं हेर्यो।
‘हम लोग काठमाण्डु से आय हैं।’ हामीले राजधानीलाई सम्झ्यौं।
‘कोई डकुमेन्ट है आपके पास ?’ इण्डिया जानुपर्ने कारण सहितको कागज माग्यो।
‘वइसा डकुमेन्ट तो नहीं है।’ हामीसँग कुनै कागज थिएन।
‘हमारे पास अफिसके आई डी है। हम लोक भी सरकारी अधिकारी हैं।’
एक जना साथीले घाँटीमा झुण्डिएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारको परिचय पत्र देखाउँदै जवाफ फर्काए। बर्दीधारी एसएसबीले परिचयपत्र परैबाट हेरेजस्तो गर्यो।
कोभिड–१९ को कारण देखाउँदै अगाडि जान नमिल्ने बतायो। पाँच जनाको हाम्रो समूह अलमलमा पर्यो। नजिकै नेपाली सशस्त्र प्रहरीहरू पनि थिए।
हामीले महाकाली पुलसम्म पुग्नका लागि आग्रह गरिदिन भन्यौं। ड्युटीमा रहेका नेपाली प्रहरीले सुनाए –
‘हामी चौबिसै घण्टा सीमा सुरक्षा ड्युटीमा खटिन्छौं पुलसम्म हामीलाई त जान मिल्दैन।’
उनको भनाइले महाकाली पुल हेर्ने रहर त्यही सीमारेखामा तुहियो।
खासमा दुई जना कर्मचारी काठमाडौंबाट धनगढी आउनु भएको थियो।
धनगढीमा स्थापना भएको प्रयोगशालाको अनुगमनको काम सकिएपछि नेपालको पश्चिम सीमा (बोर्डर) जाने इच्छा गर्नुभयो। यसै क्रममा हामी गड्डा चौकीको ब्यारियर पार गरेर नेपाल–भारत सीमा क्षेत्रमा अलमलिँदै थियौं।
अगाडि जान नपाएपछि साथीहरू नहर छेउमा उभिएर फोटो खिच्न थाले। पिल्लर देखिने गरी फोटो पनि लियौं।
मलाई भने पिल्लर वरिपरिको दृष्यलाई विधि विज्ञानको दृष्टिकोणले हेर्न मन लाग्यो।
विधि विज्ञानले भन्छ –
‘मानवीय साक्षी प्रमाणभन्दा भौतिक साक्षी प्रमाणको विशेष महत्व हुन्छ। मानवीय साक्षीले कसैको डर, धम्की, बन्धकजस्ता तत्वहरूको प्रभावमा झूटो बोल्न पनि सक्छ। तर भौतिक सबुतले झूटो बोल्दैन।’
यहाँनेर दुवैथरि साक्षीहरूको उपस्थिति थियो। मानवीय साक्षीको रूपमा म आफैं उपस्थित थिएँ। भौतिक साक्षीको रूपमा नहर छेउमा पिल्लर नं. ८०५/१(७) उभिएको थियो।
मानवीय साक्षीले भन्थ्यो – महाकाली नदी किनारसम्म नेपाल हो।’
भौतिक साक्षीले भन्थ्यो – होइन। पिल्लरभन्दा पूर्वमात्र नेपाल हो।’
यी दुईथरि साक्षीहरूको मत बाझिएको थियो।
मलाई बयान दिन मन लाग्यो। तर यहाँ सीमासम्बन्धी कुनै इजलास थिएन। खुला इजलास सम्झेर खुलै रूपमा बयान दिन खोजें। सीमानामा मेरो बयान लेखिदिने कोही थिएन। मलाई अनुभव छ, विशेषज्ञको रूपमा अदालतमा वकपत्र गर्दा लिखित रूपमै बयान दिनुपर्छ । अन्ततः मैले यही लेखमार्फत् आफ्नो बयान लेख्न लगाएँ। नेपाली भूमि छोएर मैले बयान सुरू गरें –
जबदेखि मैले दुई अक्षर पढ्न जाने, हो त्यति बेलादेखि नै नेपालको पश्चिम सीमा महाकाली नदी भनेर पढें। एसएलसीपछि २०५५ सालमा महेन्द्रनगर क्याम्पस पढ्न आएँ। त्यही समयमा पहिलो पटक महाकाली पुलसम्म पुग्ने मौका जुरेको थियो। साउनको महिना थियो। महाकाली नदी साँच्चै कालीको रूप धारण गरी उर्लिंदै थियो। उर्लिएका बाछिटाहरूमाथि पुलसम्मै आइपुग्थे। पुलका सबै ढोका खोलिएका थिए। त्यही ढोकाबाट अटाइनअटाई बग्दै गरेको धमिलो पानीले दक्षिणतिर समुन्द्रको रूप लिएको थियो।
सीमावर्ती नेपालको दक्षिणी बस्तीहरूमा बाढी पसेको थियो। मलाई याद छ – हामी जुन ठाउँमा एसएसबीसँग संवाद गर्दैछौं, त्यतिखेर न कुनै पिल्लर थियो न भारतीयहरूको उपस्थिति। टाँगावालाहरू नेपालीहरूलाई ठग्थे तर आवागमनमा कुनै अवरोध थिएन।
महेन्द्रनगर बसाइको क्रममा भारतीय वनबासा बजार जाँदा धेरै पटक महाकाली नदी नियाल्ने मौका पाएँ।
हिउँदमा पानीको बहाव घट्दै जान्थ्यो। वर्षायाममा खोलिने ढोकाहरू क्रमशः बन्द हुँदै जान्थे। पुलको बीचमा उभिएर नदीको दुबै किनारा हेर्थें। पश्चिम भारततर्फ महाकाली नदी नै फर्किएर नहर बगेको छ। पूर्व नेपालतर्फ भने सानो कुलोजस्तै नहर बगेको छ। नेपाल–भारत सम्बन्धको कुरा गर्दा ‘भाइ–भाइ’ भन्ने शब्द उहिलेबाटै सुनिँदै आएको छ।
भारतीय मनोविज्ञान भने ‘छोटे भाइ–बडे भाइ’ रहेको पाइन्छ। आफूलाई बडे भाइ भन्न रुचाउने भारतीय मनोविज्ञानको वास्तविक व्यवहार यही महाकाली नदीमा देख्न सकिन्छ।
‘ठूलो भाइलाई ठूलै भाग, सानो भाइलाई सानै भाग’ भन्ने पनि हुन्छ र?
महाकाली नदीको पानी बाँडफाँटलाई हेर्ने हो भने यहाँ यस्तै भान हुन्छ।
करिब २० वर्षपछि आज गड्डा चौकी सीमामा उभिरहँदा स्थिति झन् फरक छ।
मैले नेपाली भूमि ठानेको जमीन भारतको कब्जामा छ। मलाई गड्डा चौकी पारि महाकाली नदीसम्म नेपाल होइन भनी झूटो बोल्न लगाइँदै छ।
मलाई झूटो बोल्न कसैले डर धम्की दिएको पनि छैन। अफसोच! मेरै सरकार मलाई झूटो बोल्न बाध्य तुल्याउँदै छ। ‘महाकाली सन्धि’ नामक बन्धकमा पारेर झूटो बोल्न विवश पारेको छ।
बन्धक बनाउने मतियारहरू अहिले पनि जिउँदै छन्। कोही सरकार चलाउँदै छन्। केही दिन अघिमात्र धनगढी खुला मञ्चबाट सरकारले भन्यो –
‘लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछौं ।'
म सरकारलाई सोध्न चाहन्छु –
‘गड्डा चौकीमा मिचिएको जमिन फिर्ता ल्याउने हिम्मत छ?’
गड्डा चौकी नाका भएर हिँड्ने जो कोही नेपालीहरूलाई पिल्लर नं. ८०५/१(७) ठिंरिंग उभिएको चित्त बुझ्दैन।
चित्त नबुझेमा विधि विज्ञानले यसो पनि भन्छ –
‘भौतिक प्रमाणहरूलाई पुनः परीक्षण गर्न सकिन्छ।’
तीन करोड नेपाली जनतालाई चित्त नबुझिएका यस्ता पिल्लरहरू सीमा क्षेत्रमा हजारौं छन्। मेरो बयानमार्फत् सरकारलाई सोध्न चाहन्छु –
भौतिक प्रमाण रूपी पिल्लरहरूको पुनः परीक्षण गर्न किन सकिँदैन?
सगरमाथाको पृष्ठभूमिमा बसेर भारतीय पत्रकारले सगरमाथाको नाम आफ्नो देशको दाबी गर्न अभियान चलाउन मिल्छ भने महाकाली पुलको पृष्ठभूमि राखी नेपाली जमिन दाबी गर्ने अभियान चलाउन किन सकिँदैन ?
आशा छ, मेरो खुला बयान नेपाल सरकारको कानसम्म पुगोस्।