सदाझैं आज पनि बिहान ४ बजे उठें। तर आजको त्यो उठाइमा पहिलेझैँ उत्सुकता थिएन। सायद आजको दिन केही मन नपर्ने कुराको दिन थियो। साह्रै उठिहाल्ने जाँगर चलेन।
एकछिन भएपनि आराम गर्नुपर्यो भनेर फेरि पल्टिएँ। मेरो कलेज बिहान ६:२० बाट सुरु हुन्छ र म पुष्पलाल चोकबाट कलेज धाउँछु। कलेज चोकबाट निकै टाढा पर्ने भएकाले म कलेजको गाडी चढेर कलेज जाने गर्छु।
एकछिन पल्टिनु पर्यो, समय छ भनेर पल्टिएँ। थाहै नपाई भुसुक्कै निदाएछु। सबेरै ५ बजे बल्ल आँखा खुल्यो। म अत्तालिएँ, 'ल्या, आज मेरो कलेज छुट्यो!' मेरो मस्तिष्कमा यो विचार आयो।
हतार हतार गरेर तयार हुन लागे अनि एक्कासी गोमा दिदीले मन नै झस्किने कुरा भन्नु भयो, 'भाइ, आज बिदा हैन र?' म झल्यास्स भएँ। अनि हतार हतार कलेजको आधिकारिक पेज खोलेर हेरेँ। त्यहाँ लेखिएको थियो, 'दिस इज टु इन्फर्म टु अल दि स्टुडेन्ट्स एन्ड फ्याकल्टी मेम्बर्स द्याट कलेज इज क्लोज्ड टुमरो (२०७७-१०-२२) ड्यु टु सम अनफेबरेबल कन्डिसन।'
म झस्किएँ। मेरो मन त्यो 'अनफेबरेबल कन्डिसन' के रहेछ भनेर जान्न चन्चल भयो अनि हत्त न पत्त अनलाइनखबरको आधिकारिक पेज खोलेँ। त्यहाँ लेखिएको रहेछ, 'माधव नेपाल-प्रचण्ड समूहद्वारा भोलि आमहड्तालको आह्वान।'
म एकछिन अक्क न बक्क भएँ। मेरो मनमा एउटा कुरा खेल्यो, सायद नयाँ नेपाल देख्न उत्साहित यी नेत्रका सपना फेरि सिसा झैँ चुरचुर फुट्ने भए। फेरि पनि आफूलाई विश्वास लाग्ने अनलाइन न्युज पोर्टल, रुटिन अफ नेपाल बन्दको आधिकारिक पेज खोलेँ र बन्द रहेछ भन्ने कुरामा निश्चित भएँ।
कता-कता मेरो मनमा निराशाको कालो बादल लागेको थियो। सायद आजको बन्दको खबरले होला, सदाझैं आज केही उत्सुकता थिएन, थियो त केवल एक निराशापन।
'आम र हड्ताल' दुई शब्द मिलेर बनेको यो चिज, जसले आफ्नो शब्द संख्याभन्दा कम छाक कसरी टार्ने भनेर सोच्ने ती जनको मनमा निराशा उत्पन्न गराउँछ। आम, जसको मतलब हो साधारण, सामान्य अनि हड्ताल जसको मतलब हो तालाबन्दी।
सायद ती हड्ताल कर्ताहरुको लागि आमहड्तालको मतलब साधारण तालाबन्दी होला तर ती भोका, नाङ्गा, निमुखा अनि दिनहुँ काम गरेर छाक टार्ने ती नेपालीको लागि आमहड्तालको मतलब उनीहरूको साधारण जीवनको तालाबन्दी हो।
आजको यो आमहड्ताल ले केही क्षण आन्दोलन होला, हड्ताल होला, सडक अवरोध होला, काम अवरोध होला, तर योभन्दा महत्वपूर्ण अरु नै केही हुन्छ यहाँ, त्यो हो, आमजनको पेटमा लात। आखिर जनतालाई सास्ती दिएर आमहड्ताल किन गर्नु?
कोरोना प्रकोपबाट बल्ल त मुलुकमा आर्थिक, सामाजिक अनि शैक्षिक गतिविधिहरु सुचारु भएको छ, बल्ल मुलुकले केही नयाँ गति पाएको छ कोरोना प्रकोप पश्चात!' यस्तै विचारहरू मेरो मनमा खेलिरहेको थियो।
अचानक बिहानै आन्दोलनकारीहरुले कसैको सवारी साधन जलाए रे भन्ने खबर सुन्नमा आयो। सायद बिहानदेखिको बन्दले गर्दा उत्पन्न भएको मेरो निराशापन अनि क्रोधले होला, मैले आन्दोलनकारी पक्षलाई धेरै सरापे।
उठ्ने बित्तिकै एक सुन्दर अनि शान्त देशको कल्पना गर्ने यी नयनको अगाडि बिहानीपख नै आज एउटा गाडी जलेको तस्बिर पर्यो, मनमा चसक्क भयो। भन्छन् नि, नमच्चिने पिङको सय झट्का! त्यस्तै भइरहेको छ आजको आमहड्ताल जस्तै लाग्यो अनि फेरि अर्को निराशपन छायो, कहिले अन्त्य हुन्छ यो सब!
मेरो व्यक्तिगत कुरा भन्नु पर्दा पनि मेरो परीक्षा २८ गतेदेखि सञ्चालन हुँदैछ। बल्ल खुलेको कलेज, बल्ल सुस्त गतिमा कोर्स अघि बढ्दै थियो, आजको हड्तालले एकदिनको समय खेर गयो। यहाँ समय मात्र खेर गएको आभास गर्दिनँ म, यहाँ मेरो आफ्नो अटुट सपना समेत खेर जाँदै गरेको आभास गर्छु। मेरो अटुट सपना, देशमा शान्ति छाओस्।
सानी नानी आर्या जो कक्षा ४ मा पढ्छिन्, उनले मलाई सोधिन्, 'काकु, यो केको बिदा हो?'
मैले अलिकति निराश हुँदै भनें, 'आमहड्ताल रे!'
मेरो जवाफ भुइँमा खस्न नपाउँदै उनले प्रश्न थपिन्, 'के हो यो आमहडताल भनेको? अनि आमहड्ताल हुँदा किन हाम्रो स्कुल छुट्टी देको?'
उनको यो प्रश्नले म शब्दहीन भएँ। मैले आफैंले आफैलाई सोधेँ, 'साँच्चै, आखिर हामी साधारण मान्छेले अरूको गल्तीको सजाय किन भोग्ने? माथि उनीहरूबीच किचलो हुन्छ, गल्ती उनीहरू गर्छन् पटक पटक अनि सजाय हामी आम जनले, किन?'
यसको उत्तर सायदै पाउँछु होला म। मेरी त्यो सानी नानी आर्याले सोधेको प्रश्न मेरो मनमा खेलिरह्यो अनि पत्थरमा लेखिएको शब्द झैं रहिरह्यो। मैले उनको प्रश्नको उत्तर स्वरुप 'खै' बाहेक अरु केही दिन सकिनँ।
उनको त्यो प्रश्नमा एउटा निर्दोषपन थियो, आफ्नो आँखामा सजाएको सपना साकार पार्ने बाधा बनी हड्ताल आयो भन्ने भाव थियो।
यसो चोकतिर जानु पर्यो के हुँदैछ भनेर म चोक तिर निस्किएँ, त्यहाँ हिँड्दा हिँड्दै मेरो कानमा एउटा वाणी पस्यो, 'आखिर यी काम नलाग्नेहरुले बन्द गरेर के पाउँछन्? आखिर जे भए नि दुख त हामीलाई नै हो।'
मैले त्यसो भन्ने को रहेछ भन्ने कुरालाई जान्न इच्छा राखेँ र यसो फर्किएर हेरेँ। उहाँ त एक सिटी रिक्सा चालक दाइ पो हुनुहुँदो रहेछ। यस्तै विभिन्न गुनासोहरु मेरो कानमा पार्दै थिए। सबैको गुनासो सुनेर म आफू कस्तो देशमा रहेछु झैं आभास भयो एकछिन त। कता कता मेरो सुन्दर नेपाल देख्ने सपना चकनाचुर त हुने होइन भन्ने कुराको समेत संकोच लाग्यो।
त्यसपछि केही बेरमा म घर फर्किएँ। घरमा भाउजू जो एक शिक्षिका हुनुहुन्छ, उहाँ पनि स्कुल जान पाउनु भएन छ। कारण, त्यही आमहड्ताल।
तसर्थ, हे महोदय! आमहड्तालले कसैलाई फाइदा गर्दैन, यसले झगडा अनि दुःखको बीउको रुपमा काम गर्दछ। राजनैतिक समस्या भए तपाईंहरू राजनैतिक हिसाबले नै समाधान गर्नुहोस् तर आमजनलाई सास्ती नदिनुहोस्।
आज एकदिनको हड्तालले कयौँ सपनामा ठेस पुगेको छ। कयौं कलिला बालबालिकाहरुको मानसिकतामा नकारात्मक असर पुगेको छ। कोही बिरामीलाई अस्पताल पुग्न सास्ती परेको छ, त्यही बिरामीलाई उपचार गर्न तत्पर रहने डाक्टरलाई सास्ती परेको छ।
देश बनाउने भविष्य कर्णधार विद्यार्थीलाई असर परेको छ, कर्णधारका गुरु, असल शिक्षक/शिक्षिकालाई असर परेको छ। अशान्तिको मार्गलाई त्यागी शान्ति फैलाउन तर्फ लागौं। आफू सँच्चा हऔँ, देश आफैं बन्दै जान्छ।
यस्तै कुराहरू मेरो मनमा खेल्दै थियो। म त कतै आफ्नो देशको बारेमा सोच्दा सोच्दै एक सानी नानीले कुनै नौलो वस्तुलाई टोलाएर हेरेझैँ टोलाउन पुगेछु। अनि म झस्किएँ र आजको हड्ताल सम्झेर मनमनै भने, 'यही होला नयाँ नेपाल।'