पुस महिनाको मध्य जाडो त्यसमा पनि शुक्रबारको दिन। अरू त अफिसमा शुक्रबारको दिन काम कम हुन्छ भन्छन् तर मेरो हप्ताभरिको सम्पूर्ण विवरण शुक्रबार नै बनाइसक्नुपर्ने, साह्रै प्रेसर हुने, कोहीसँग कुरा गर्न, फोन गर्न नभ्याउने।
कहिलेकाहीँ धेरैपटक फोन गर्दा पनि नउठेपछि आमा रिसाउँदै भन्नुहुन्थ्यो, भएन तेरो जागिर अर्को खोज, म चुप लाग्थें। के गर्ने धेरै प्रेसरमा भएर फोनतिर ध्यान दिन नभ्याएसी।
हरेक शुक्रबारजस्तै त्यो दिनको शुक्रबार पनि त्यत्तिकै प्रेसर थियो अफिसमा।
खाजा खाने १ घण्टाको समयबाहेक फुर्सद नै नहुने। अफिस सकिन १ घण्टा जति बाँकी थियो होला, तपाईंको धेरै पटक फोन आयो भन्दै चार्जमा हालेको मोबाइल पाले दाइले ल्याइदिनुभयो।
हुन पनि हो रहेछ, घरका आफन्त, फुपू, मामा सबैको नम्बरबाट पटकपटक मेरो नम्बरमा फोन आएको रहेछ।
आत्तिएँ, केही नराम्रो त भएन, कसलाई फोन गर्ने मेसो पाइनँ। अत्तालिँदै बुवाको नम्बरमा फोन लगाएँ, मामाले उठाउनुभयो, मन ढक्क फुल्यो, त्यत्ति छोटो अवधिमा पनि मनले के के र कताकता सोच्न भ्यायो भ्यायो। मामाले सानो स्वरमा भन्नुभयो, कान्छी हजुरआमा बित्नुभयो, पशुपति आऊ हामी त्यतै छौं।
मलाई एकछिन त संसार नै अँध्यारो भएको जस्तो लाग्यो, केही देखिनँ हातखुट्टा काँपे, थचक्क भुँइमा बसें।
टेबलनजिकै रहेको गिलासको पानी झिकेर पिएँ, के गरौं, कता जाऊँ भयो, मनभरि आगो लाग्यो, अनि बिस्तारै आफूलाई सम्झाउँदै जुरूक्क उठें, पालेदाइलाई दाइ मेरो हजुरआमा बित्नुभयो रे। अरू के के सोध्ने मुढमा थिए उनी, जान सक्नुहुन्छ भन्दै थिए , म केही बोलिनँ।
सरासर स्कुटर भएको ठाउँमा गएर स्टार्ट गरी वेगसँग बाहिर निस्किएँ। ४०माथि स्पिडमा नकुदाउने म त्यो समय मेरो स्पीड ६० माथि थियो। केही देखिरहेकै थिइनँ, कहाँ जाँदैछु, के गर्दैछु भन्नेमै प्रष्ट थिइनँ।
मेरो मनमात्रै होइन, शरीर नै अर्धचेतन थियो, मन यत्ति अशान्त बनिरहेको थियो कि बानेश्वरबाट मलाई पशुपति कहिल्यै नआइपुगेको भान भएको थियो। धन्न त्यो दिन बाटो खाली रहेछर म सकुशल पशुपति पुगें। स्कुटरबाट ओर्लिएपछि मेरो खुट्टा अघि बढ्नै सकेन। एकछिन त्यही उभिएँ, बेस्सरी चिच्याँउदै रुन मन लाग्यो, एकछिन त्यही रोएँ।
विस्तारै आर्यघाटतिर ओर्लिएँ, जहाँ ममात्रै होइन, मजस्तै अरू दर्जनौं छाती पिटीपिटी रोइरहेका थिए। सायद तिनीहरूको पनि मेरोजस्तै प्रिय मान्छेको देहावसान भएको थियो।
मलाई उनीहरूको आवाज सुनेर झनै चिच्याई चिच्याई रुन मन लाग्यो तर, म आँसु पुछ्दै आर्यघाटतिर ओर्लिएँ, म झर्दै गर्दा सबैको नजर मतिर थियो किनभने मलाई संसारकै सबभन्दा प्यारी मान्छे हजुरआमा लाग्थ्यो। बाल्यकालदेखि हजुरआमाकै काखमा खेलेको हुर्केर र बढेको भएर पनि होला, हजुरआमा सबभन्दा बढी माया मलाई गर्नुहुन्थ्यो। म चिच्याउँदै गएर बावालाई अंकमाल गरें, बुवा पनि रुनुभयो अरू त्यहाँ उपस्थित धेरै रोइरहेका थिए।
म हजुरआमा नजिक गएँ, अनुहार हेरे मलाई मृत्यु भएको जस्तो लागेन अरू बेला जस्तै निदाइरहनुभएको अनुभव भयो अंकमाल गरें, मुखमा एकपटक चुप्प गरें, आमा उठ्नु न उठ्नु भनेर हातमा तानें, बच्चाजस्तै जिद्दी गर्न थाले, आमा नउठे यिनीहरूले जलाइदिन्छन् उठ्नु न म लैजान्छु आमा आमा घाँटी सुक्दासम्म चिच्याएँ, कराएँ तर केही गर्दा नि आमा उठ्नुभएन केही मान्छेहरू आएर मलाई तान।
म छोड् छोड् भन्दै थिएँ। आमालाई केही नगर भन्दै थिएँ मानौं म सानो बच्चा हुँ जो केही बुझ्दैन म मृत्युको अन्तिम सत्य थाहा हुँदै पनि त्यसलाई स्वीकार गर्न सकिरहेको थिइनँ।
मेरो हठ बच्चाको भन्दा कम थिएन। मेरा वरिपरि भएका सबै आँसु पुछ्दै थिए, बुवा पनि उता फर्किएर सुक्कसुक्क गरिरहुनभएको थियो। अब जीवनको अन्तिम सत्यलाई स्वीकार गर्नुबाहेक विकल्प नै के थियो र ?
केहीबेरमा पूरा गर्नुपर्ने विधि पूरा गरेर बुवाले आमाको मुखमा आगो राख्दिनुभयो म झसंग भएँ, आमालाई पोलेन आगोले किन चर्पटाउनु हुन्न?
तर, कठोर भएर मान्दिएँ यो त जीवनको अन्तिम सत्य हो नि स्वीकार गर्नुको केही विकल्प छ र अरू? हेरिरहें विस्तारै मुखमामात्रै होइन बडा मुढा पराल हालेर माथि घ्युका डल्लासमेत हालेर आँगो झोसिदिएँ।
मृत्यु अन्तिम सत्य र सास उडेपछि शरीर निर्जीव हो भन्ने जान्दै पनि 'पोल्यो' भन्दै आमा उठी पो हाल्नुहुन्छ कि भन्ने प्रतीक्षामा थिएँ तर त्यो त निर्जीव भइसकेको शरीर थियो किन पो उठ्थ्यो र !
बरू आगो हुरुहुरी दन्किन थाल्यो, आगो जति तेज बल्थ्यो मेरा आँखाबाट उत्तिकै आँसु झथ्र्यो वरिपरि बसेर आफन्तहरू मलाई सम्झाउँदै, सुम्सुम्याउँदै थिए।
तर म मान्न तयार थिइनँ, मेरी आमा आज म घरमा पुग्दा हुनु हुनेछैन, त्यो पनि सदाको लागि, म यो मान्न तयार थिइनँ आमाको मृत्यु भयो अब केहीबेरमै शरीर खरानी हुन्छ, तर आँखा अगाडि नै जलेको आमा जलेको दृश्य अनि त्यसमा पनि अगुल्टाले घोचीघोची आमालाई बालेको देख्दा मलाई यत्ति धेरै पीडा भएको थियो, हृदय यत्ति छियाछिया भएको थियो कि मुटु नै फुटेर बाहिर आउँछ कि जस्तै भएको थियो।
म मेरी प्यारी आमा बलेको दृश्य निरीह भएर हेरिरहेको थिएँ। अझ ती निर्दयीहरू घोचीघोची आगो लगाइरहेका थिए। खोई कसरी सहन गर्ने अनि शब्दमा व्यक्त गर्ने ती काला दिनहरू।
करिब २ घण्टापछि हुँदो हो लास जलाई सकिएछ म त अर्धचेतन भएको थिएँ। आँखा अगाडिका वर्तमान दृश्यलाई नकार्दै भूतकालमा रमाइरहेको थिएँ।
आमासँगै खेलिरहेको थिएँ, आमालाई सुम्सुम्याउँदै हाँसिरहेको थिएँ, जिस्क्याउँदै थिएँ तर ती त सपना न थिएँ, वास्तविकता त त्यस दिनबाट मेरो हजुरआमा भन्ने साइनो टुटेको थियो, संसारभरिकै मेरो प्रिय मान्छेले सदाका लागि बिदा लिएको थियो।
तर, किन हो किन मलाई हजुरआमा जलाएर घर फर्किंदा पनि हजुरआमाले सधैंझैं अफिसबाट पुग्दाजस्तै कान्छी आइपुगिस् भन्दै खाना खान बोलाउनुहुन्छ जस्तै लागिरह्यो।
तर, म घर फर्किंदा अरू घर-घरजस्तो थिएन, उजाड थियो, बेरूपी, बेरंगी भूतबंगला जस्तो छिर्ने मन नै नलाग्ने। कहिलेकाहीँ हजुरआमा सम्झेर रुन मन लाग्दा यस्तो लाग्थ्यो, यो मन र यादहरू पनि कम्प्युटरमा राखेका फाइलजस्तै हुनु नि अनावश्यक कुरा सधैंको लागि डिलिट गर्न मिल्ने, तर मन त्यस्तो होइन रहेछ, जुन कुराले अत्यधिक पीडा दिन्छ, मन दुख्छ, रुन मन लाग्छ त्यही कुरामात्रै सम्झना आउने, कस्तो निर्दयी होला मन जसोतसो बुझाएर हजुरआमाको मृत्युलाई विस्तारै स्वीकार गरें।
हजुरआमाको मृत्युपछि मलाई आर्यघाटका आर्तनाद, चिच्याहट र कोलाहाल हेर्न मन लाग्न थाल्यो।
पहिला मृत्युदेखि धेरै डर लाग्थ्यो तर त्यसपछिका दिनहरूमा हप्ताको एकैपटक भए पनि म पशुपति अर्थात् आर्यघाट जान्छु।
मानिसहरू चिच्याइरहेको हेर्छु, प्रियजन गुमाउँदाका उनीहरूका पीडा हेर्छु अलिअलि आँखा रसाउछन्, केही समयअघि आफू पनि त्यसरी नै चिच्याएर रोएको सम्झिन्छु।
जीवन त केही छैन, मानिसहरू केका लागि घमण्ड, तछाँडमछाँड, काटमार गर्छन् होला? यही सम्झिँदै गर्दा केहीबेरमै ती अपरिचित लासहरूलाई पनि मेरै हजुरआमालाई जसरी घोचीघोची जलाएर खाग बनाउँछन्, म भित्रभित्रै छटपटाएर भए पनि जीवनको अन्तिम शाश्वत सत्यलाई हेर्छु अनि म मन गह्रुंगो बनाउँदै घर फर्किन्छु।
बाटाभरि मन अशान्त हुन्छ, तर त्यसमा पनि एक किसिमको शान्ति मिल्छ, केहीदिनदेखि चुलिएको घमण्डको पहाड माइनसमा झर्छ अनि बल्ल मानिस आफ्नो औकातमा आउँछ, जीवनको अन्तिम सत्य स्वीकार गर्दै केही हदसम्म भए पनि हच्किन्छ।
मलाई सानोमा सरले भनेको एउटा कुरा सधैं याद आउँछ, संसारकै सबभन्दा ठूलो, पावर, पैसा र अभिमान भएको मानिस भए पनि आर्यघाट पुगेपछि भने सगरमाथाको शिरमा पुगेको उसको अभिमान एकैपटक शून्यमा झर्छ रे होला पनि। नभए किन डराउँछ त मानिस मृत्युदेखि ? यो अकाट्य छ भन्दा पनि स्वीकार नगरी किन चिच्चाउँछ, कराउँछ ? मानिस जन्मँदा सहजै स्वीकार गर्नेले मृत्युलाई किन स्वीकार गर्दैन, ढिलो चाँडोको कुरा हो अजरअमर त कोही होइन, मेरो बाटो पनि त्यहीहो भनेर जन्मलाई जसरी लिँदैन।
आर्यघाटमा लास जलेको धुँवा जसरी मनभरि बग्रेल्ती प्रश्न उब्जिन्छन्, अनि एकपटक सररर आँखा घुमाउँछु अरू पनि थुप्रै अपरिचितहरू पारिपट्टी बसेर लास जलेको हेरिहरेका थिएँ लाग्यो तिनीहरू पनि म जस्तै मृत्युबारे सोच्दैछन्। घोचीघोची शरीरमा आगो लगाएको देखेर छट्पटाइरहेका छन्, मृत्युदेखि भाग्न खोजिरहेका छन्, हो पनि आखिर मृत्युदेखि नडराउने पो को छ र ?
आत्महत्या गर्ने पनि मृत्युदेखि डराएकै हुन्छन्। कहिलेकाहीँ आफूमा अभिमान धेर भएको र प्रकृतिभन्दा बाहिर जान लागेको भान भयो भने आर्यघाटको आर्तनाद हेर्न जानुस् तपाईं आफैं आफ्नो साइजमा फर्कनुहुनेछ। तसर्थ, निराशावाद होइन यर्थाथतावाद हो आर्यघाटको आर्तनाद।