यो ब्लग लेख्न, मेरा लागि समेत निकै कठिन छ। भन्नुको तात्पर्य म पनि यो ‘एडिक्सन’बाट मुक्त भने छैन।
ब्लग लेख्दालेख्दै पनि निरन्तर अपडेट हुने नाममा म अहिले पनि सर्वोच्चको संवैधानिक इजलासका मुद्दा नियालिरहेको छु। संसद हठात् विघटन गरिएपछिका परिदृश्यहरू आजकल सामाजिक सञ्जालमा खुराक बनेर आएका छन्। यस्तैमा भुल्दाभुल्दै समय गएको पत्तो पाइँदैन।
किन होला मरिहत्ते भएर फेसबुक,इन्स्टा र ट्वीटरको लतमा फस्नु परेको हामीलाई? गम्भीर आत्मसमीक्षा गरिबस्छु। तर पनि अहँ भेटाउन उत्तर।
बिहानबिहानै न्युज चेक गर्नैपर्छ। लाइक, कमेन्ट र सेयरको चक्करमा भुल्नैपर्छ। साँच्चै हाम्रो दिमाग केही न केही कुराले भरिनै राखेको हुन्छ।
केही खाली हुनासाथ मोबाइल स्क्रोल गर्दै भरिन खाली रहेको ठाउँ पनि भरिदिन्छौं।
हाम्रो सामाजिक सञ्जालको बढ्ता प्रयोग कसैको पैसा कमाउने भाँडो भइरहेको छ भन्ने जान्दाजान्दै हामी अर्थहीन स्ट्याटसमा आफ्ना भावना र विचार पोखिरहेका हुन्छौं।
जिन्दगीमा धेरै कुरा सिक्न र सिकाउन बाँकी छ तर हामी नजानिँदो तरिकाले हामी यो लतमा फसिरहेका छौं। कसैको क्रियाहरूमा प्रतिक्रिया जनाउँदैमा हामीलाई फुर्सद कहाँ छ र?
सूचना र समाचारको हकमा हामी अचेल आफैं हराइसकेका छौं। यी हकभन्दा बढी ‘एडिक्सन’ भइसके। नमेटिने ‘एडिक्सन’ एउटा अफिमकोजस्तै।
हामी आजकल आफूलाई र आफ्नै वरपरको परिवारलाई भुलेर दुनियाँको बारेमा चिन्ता र चिन्तन गर्ने भइसक्यौं। जुन चिन्ता र चिन्तनले फेरि तात्विक फरक केही पार्दैन। न समाज परिवर्तन हुन्छ, न शासकको बुद्धि नै फेरिन्छ। मात्र हाम्रो बहुमूल्य समयको नष्ट।
आजकल सामाजिक सञ्जालमा नै च्याट हुन्छ,भिडिओ कलमार्फत् गफगाफ हुन्छ लभ पर्छ अनि टुट्छ पनि। हामी जहाँबाट सुरू गर्छौं अन्त्यमा त्यहीँ पुग्छौं आखिर। हाम्रो जिन्दगीको ग्राफमा केही उकालो लाग्दैन मात्र समयको नष्ट हुन्छ। कति धेरै अर्थपूर्ण कुराहरू छन् जिन्दगीमा तर हामी अनर्थ चिजहरूलाई अर्थपूर्ण बनाउन सामाजिक सञ्जालमा विज्ञापन गर्छौं।
लाइकको वर्षा होस् भन्ने चाहन्छौं र उत्तिकै राम्रो प्रतिभामा लाइक आएन भने आफ्नो योग्यतामा नै प्रश्न चिन्ह खडा गर्छौं।
कति गम्भीर धर्मसंकटमा बाँचिरहेछौं हामी। हाम्रो विश्वासहरूलाई, किम्ति इमोसनहरूलाई कसैले लाइक र कमेन्टको भरमा अवमूल्यन गर्न सक्छ।
कति क्षणिकतामा बाँचिरहेछौं हामी,कि हाम्रो अभिव्यक्तिलाई भाइरल पार्न पनि कसैले सेयर गर्दिनपर्छ। किन हुनुपर्छ भाइरल? कसले कसलाई चिनेर के हुन्छ? के भुँइमान्छेको जिन्दगी, जिन्दगी होइन र? के सेलिब्रेटी भएर चाहिँ एक छाक खाएर पुग्छ र? के मिलियन भ्युज बटुलेर हामी दुई सय वर्ष बाँच्न सक्छौं र?
एकैछिन नेटको कनेक्सन टुट्यो भने मान्छे सास रोकिएझैं गरेर छट्पटिन्छ। यो दयालाग्दो कुरा भएन र? हामी आफ्नो बुवाआमाको दुखाइमा त्यतिकै सिरियस भएर कतिपटक छट्पटिएका छौं? हँ! के हुन्छ एकदिन फेसबुक नचलाएर? पृथ्वी उल्टो घुम्छ कि? सूर्य पश्चिमबाट उदाउँछ कि? वा आज नेपालमा सुतेको मान्छे भोलि अमेरिकामा ब्युँझन्छ? केही पनि हुँदैन। बस् एउटा भ्रमको निराकरण हुन्छ। त्यो भनेको सामाजिक सञ्जालमा जीवनका भावहरू केही पनि छैनन्।
हामी एकदम जिज्ञासु छौं होला। तर जिज्ञासु हुनुको मतलब ‘एडिक्टेड’ हुनु होइन। सारभूत कुरा विहीनहरूसँग एकपछि अर्को लहरोझैं फेसबुकको लम्बाइमा गाँसिँदै गइयो भने निस्सारबाहेक केही भेट्दैनौं।
स-साना उमेरका बालबच्चाहरू पनि सामाजिक सञ्जालमा नराम्ररी फसेका छन्। न उनीहरूलाई तालतलैया,घुम्ती, देउराली चौतारी थाहा छ, न पहाड न उकाली।
युट्युबमा भिडिओ नहेरी खाना खान नमान्ने सुत्न नमान्ने। यो संस्कार र ‘एडिक्सन’ ड्र्गभन्दा खतरनाक छैन र?
सजिलो हुने बहानामा आमाबुवा नै यसप्रति लचक भइदिन्छन्। यो अवस्था त बेसहारा छोडेजस्तै भएन र? कहाँ पुग्छ बालबच्चाको भविष्य यसरी?
हामीले हामी आफैंलाई महशुस गर्न छोडिसक्यौं। एकचोटि सोच्नुहोस् त कति भयो आफ्नो बारेमा सोच्न छोडेको? मनन र विश्लेषण गर्न छोडेको? के हामी व्यक्तिगत चाहना र ध्यान नै नराख्ने बडो सामाजिक भएका हौं र? होइनौं, हामी त रोगी भएका हौं। आफ्नोबाहेक अरू सबै पात्र र प्रवृत्तिमा कमेन्ट गरेर बस्ने फुर्सदिला भएका हौं।
हामी फेक समाजका अवयवहरूसँग गाँसिएका छौं। यहाँ महान भनिएकाहरूको अविरमालासहितको फोटोमा बधाई लेख्न हतारो छ हामीलाई।
अरूको जीवनको उत्सवमा चाहियोस्, नचाहियोस् शुभकामनाको शब्दहरू थुपार्न हतारो छ हामीलाई।
हामीले आफ्नो मनलाई कहिल्यै सोधेनौं, के तँ खुसी छस् कि छैनस्? भनेर। तर अरूको खुसी मापन गर्ने मिटर बोकेर नाप्न तम्तयार छौं हामी। यो लोकप्रिय हुने फ्लप तरिका हो। यो बेकार छ भन्ने लागे पनि हामीलाई कैदीजस्तै बाँधेर राखेको छ फेसबुकले। नहेरी सुखै छैन। नचलाई भोकै लाग्दैन, प्यासै मेट्दैन।
कयौं अनावश्यक कुराहरूले दिमागले डेरा जमाएर बसेका हुन्छन्। त्यही कुरामा हाम्रो ध्यान तल्लीन हुन्छ। सावधान रहनुभन्दा तत्कालको परिणाममा केन्द्रित हुन्छौं। मेरो स्टोरीमा कति रियाक्ट आयो? कम आयो भने किन धेरै आएन? यो मनोदशामा जिन्दगीको प्राकृतिक डिजाइन नै परिवर्तन भइसक्यो। दिनचर्यायुक्त फर्मुलाहरू फेल खाइसके। एउटा मोबाइल,चार्जर र वाईफाई भयो भने मान्छेलाई न खाना, न लुगा, न सामिप्यता। केही चाहिँदैन। आखिर यो एडिक्टको अवस्था नभएर के हो त?
केही इन्द्रीयबाहेक अरू सबै निष्क्रिय छन्। कोठाभित्रको जिन्दगी भौतिक रूपले त सजिलो नै लाग्ला तर मानसिक र भावनात्मक रूपले टाढिँदै छ।
खुसी हुन अब हाँसीमजाक होइन यन्त्र चाहिन्छ। जन्मनुको सान्दर्भिकता खोज्न मानिसको सप्राइज शुभकामनायुक्त म्यासेज चाहिन्छ। हामी प्रकृतिको साधारण चक्रमा थियौं तर भताभुंग पारिदियौं।
यथार्थ त अचेल लोप भइसक्यो। बाटोमा देख्दा फेसबुकमा हेरेको फोटोले मान्छे चिनिँदैन आजकल। ज्ञान त फोकटमा धाक लाउने र लाइक बटुल्ने जाल भइसक्यो।
कस्तो हाँसो नै नलाग्ने जोकजस्तो बनायो यो सामाजिक सञ्जालले हाम्रो जिन्दगी।
हरेक क्लिकले निर्धारण गर्ने भयो को ह्यान्डसम?को कुरूप? को उदार?को अनुदार? को विद्वान? भनेर।
सधैं अरूकै वाहवाही र निन्दा गरेरै हाम्रो मगजको घडीले ब्याट्री सिध्याउने भो। तर अहँ हामीलाई अझ फेसबुकमा पोस्ट गरेर स्मार्ट हुने ‘भोक’ले छोडेको छैन। कसरी? खै!कसरी?
हामी सामाजिक भएको नाटक गर्न अहोरात्र फेसबुकमा अनलाइन हुन्छौं। त्यतिमात्र होइन उत्तेजक हुन्छौं, प्रधानमन्त्री भए त देश नै बदल्ने मनमनै अठोट पनि गर्छौं। किन हो कुन्नि? हामीलाई एउटै कुरामा अडिग रहन मन पर्दैन। भेराइटी र च्वाइसहरूमा जुठो सार्दै हिँड्न खोज्छौं। अनि छेपारोले जस्तै रङ फेर्छौं।
पटक-पटक नजितिने वाकयुद्धमा औंलाहरूलाई कष्ट दिएरै बलजफ्ती कमेन्ट थोपर्छौं। हामी सीमित फेसबुकका घेराहरूमा असीमित चाहनाहरूको पुञ्ज थुपार्छौं।
अनि असीमित आफूभित्रको स्वर्णिम आकाशमा गुम्सिएर,कुच्चिएर बस्छौं।
खै!किन देखाउनु छ अरूलाई? किन तीतो ओकल्नु छ अरूलाई? हामी अपवादहरूमा समेत ‘नाङ्गो’ भइदिन्छौं।
सबै कुराहरू सामाजिक सञ्जालमा छरपस्ट पारेर के को सन्तुष्टि? र के को स्वीकारोक्ति हो कुन्नि? सम्झेरै हाँसो लाग्छ। स्पष्टीकरण पनि कसैले केही नसोधीकनै दिन थाल्छन् महात्माहरू। उर्फ! सकिँदैन भो।
साँच्चै जिन्दगीको ग्रामर जति नै बिग्रे पनि हामी हजारौंको फलोअरहरू बटुल्न सक्दा कति खुसी हुन्छौं होला है? तर कहिले हामीले सोचेका छौं कि हामीले आफ्नो कार्यस्थलमा गरेका कति कामहरूलाई प्रेरणा मानेर कति चाहिँ साँच्चैका फलोअर बढे होलान्?
हामीले आफ्नो जीवनमा डिलिट गर्न नमिल्ने गल्तीहरू गर्दा हामी आफैंले र अले पनि कति कुरा चाहिँ सिक्ने मौका पाए होलान्?
सामाजिक सञ्जालमा फ्रेण्डको लिस्ट घट्दैमा हाम्रो आयु घट्छ र? हाम्रो अठोट घट्छ र? बेकारको लफडा किन? सयौं गुणा राम्रो हुन सकिने अवसरबाट बन्चित हुने किन?
यो प्रश्न सबैलाई हो र म आफैंलाई पनि हो। किनकि अदृश्य यो घनचक्करमा हामी अलपत्र परिसकेका छौं। यसबाट थोरै भए पनि मुक्त हुनसक्छौं।
फेसबुकको कृपाले बारम्बार हामी अग्लिने र थेच्चिने गर्नै पर्दैन। आफू नै न्यायाधीश भएर आफैंलाई कठघरामा उभ्याएर के हामी वकालत गर्न सक्दैनौं कि हाम्रो गज्जबको जिन्दगी सामाजिक सञ्जालभन्दा बाहिर पनि बाँकी नै छ भनेर।
आज साँझ वाईफाई बन्द गरेर जिन्दगीको त्यो पाटोसँग पनि भलाकुसारी गर्ने अवसर जुटाउने कि सबैले?
भोलिदेखि त यो अवसरको मीठो आदत बन्दै पनि जानेछ।