जर्मनीका कुख्यात तानाशाह हिटलरको भनाइ छ, 'एउटा देशका पाँच प्रतिशत मानिसले मात्र राजनीति बुझ्छन्, बाँकी अरु त भिड हुन्। त्यसैले पाँच जनाको मुख बन्द गराऊ, पन्चानब्बे जनालाई आफूअनुकूल बनाउन कुनै गाह्रो छैन।'
यहाँ मेरो उद्देश्य मानवताका दुश्मन हिटलरलाई चिनाउनु हैन, हामी नेपाली युवाहरुले वर्तमानमा देखाइरहेको चरित्र र उनको भनाई हामीसँग कति मिल्दो छ भनेर चित्रित गर्न खोजेको हो।
वास्तवमै आज हामी र हाम्रो समाजले कठिन परिस्थितिको सामना गरिरहेको छ। उसो त विभिन्न पक्षहरुको अन्तरसंघर्षबाट समाज अगाडि बढ्ने हुनाले समयसँगै अप्ठ्यारो आवस्था आइपर्नु स्वभाविक नै मान्नु पर्छ।
तर हामी र हाम्रो चेतना समयसँग मिल्दो छ कि छैन र वर्तमानको समस्यासँग जुध्न हामी कति कुशल छौँ भन्ने विचारणीय कुरा हो। सत्य यै नै हो- आजको हाम्रो चिन्तन र व्यवहार युग सुहाउँदो छैन र हामी समस्याहरुलाई वद्धिमतापूर्वक समाधान गर्ने बाटोमा हिँडिरहेका छैनौँ। हुन्थ्यो त पक्कै हाम्रो देश पनि संसारको विकसित राष्ट्रको सूचीमा हुने थियो।
युवा, जस्लाई देशको मेरुदण्डको रुपमा परिभाषित गरिन्छ, आज हामी निकै विभाजित भएका छौँ। एउटा लोकतान्त्रिक व्यवस्था चलिरहेको मुलुकमा यस्तो हुनु स्वभाविक प्रकृया भित्रै पर्छ।
तर हामी जसरी व्यवहार गरिरहेका छौँ र हामीलाई हाम्रा नेतृत्वले प्रयोग गरिरहेका छन्, हाम्रो उज्ज्वल भविष्यको लागि यो फाइदाजनक छैन। संसारको इतिहाससँग तुलना गर्ने हो भने आज हामी त्यस्तो व्यवहार देखाइरहेका छौँ जुन उन्नाइसौँ शताब्दीको अन्त र बीसौं शताब्दीको सुरुआती दशकको युरोपको भिडतन्त्रसँग मिल्दोजुल्दो छ। जुन समय त्याहाँ निरंकुश शासकहरुको जन्म भएको थियो र कहालीलाग्दो विश्व युद्धको नियती संसारले भोग्नु परेको थियो।
हामीले ध्यानपूर्वक हेर्दा देख्न सक्छौँ, आज हमी युवाहरु निकै निराश अवस्था छौँ र राजनीतिक रुपमा पक्ष विपक्षमा बाडिएका छौँ। यस्तो पक्ष विपक्षले त्यतिबेला मात्र देशलाई फाइदा पुग्छ जब हामी इतिहासका गल्ती कमजोरीहरुको समीक्षा गर्दै भविष्यको लागि उन्नत योजना र विचार जन्माउने सवालमा गहन बहस गर्छौं। र, वर्तमानको अस्तव्यस्ततालाई चिर्दै अवस्थालाई अनुकूल बनाउन एकजुट भएर मेहनत गर्छौं।
हाम्रो पक्ष विपक्षता त आफ्ना नेतृत्वहरुका कमजोरीलाई निर्मम रुपमा तार्किक आलोचना गर्दै उनीहरुलाई समतामूलक विकास र अग्रगमनको मार्गमा देशलाई हिडाउन प्रतिबद्ध बनाउनका लागि हुनुपर्ने हो। समाजमा व्याप्त समस्याहरुको पहिचान गर्दै हाम्रो विकासको बाधकहरुका तध्यसहित सभ्य रुपमा भण्डाफोर गर्नु पर्ने हो। समाजलाई बिगारी रहेकाहरुलाई हटाएर दीर्घकालीन योजना भएका इमान्दार व्यक्तिलाई समाजको नेतृत्वमा स्थापित गर्नु हो।
तर यहाँ अवस्था विल्कुलै भिन्न छ। युवाहरुको एउटा तप्का जो राजनीतिक रुपमा पार्टी र नेतृत्व प्रति आस्था राख्छन्, उनीहरु नेतृत्वले जस्तै आपसमा हिलो छ्यापाछ्याप गरिरहेका छन्। आफ्ना नेतृत्वले सहपाठी र विपक्षमाथि गर्ने तल्ला स्तरका गालीगलौज सुन्दा जोडले ताली र सिठ्ठी फुकिरहेका छन्।
सडकमा अभद्र नारा उराल्दै एकले अर्कालाई नंग्याउन कम्मर कसेर दगुरिरहेका छन्। सभ्य समाजले सुन्न नचाहने शब्दहरु प्रयोग गर्दै एकअर्काप्रति भद्दा टिप्पणी गर्दै सामाजिक सञ्जाललाई दुषित बनाइरहेका छन्। कयौँ झुठा समाचारबाट प्रभावित भएर त्यसैमा बहस गरेर बसेका छन्। आफू मात्र सही र अरु सबै गलत हुन भन्ने भिडतन्त्रमा हुने मनोवैज्ञानिक समस्याबाट ग्रस्त छन्।
त्यस्तै युवाहरुको ठूलो जमात घोर निराशामा छ। उनीहरु वर्तमान शासन व्यवस्था, राजनीतिक पार्टी र त्यस्का नेतृत्वका साथै समग्र रजनीतिप्रति नै नकारात्मक छन्। कयौँ राष्ट्रिय मुद्दाहरुमा प्रतिगामी विचार दर्शाउँछन् र यो देशमा केही हुँदैन भन्दै पलायनवादी सोच राख्छन्।
सबैभन्दा महत्वपूर्ण त हाम्रो देशका युवा मध्येको बहुमत संख्या परदेशमा आफ्नो रगत पसिना बगाउन बाध्य छन् र उनीहरु देशको अवस्थाबाट बिरक्तिएका छन् र सामाजिक सञ्जालमा आक्रोश पाखेर मन बुझइरहेका हुन्छन्।
अनेक पार्टी र विचारका झण्डामुनि भएका र त्योभन्दा बाहिर भएका हामी सबै युवामनहरुमा एउटा समानता छ। हामी सबै यो देशको विकास चाहान्छौँ। समृद्ध देशको स्वाभिमानी नागरिक बन्ने हाम्रो साझा सपना छ। तर त्यस्को लागि हामीले हाम्रो व्यवहार र चिन्तनमा क्रन्तिकारी परिवर्तन ल्याउन जरुरी छ।
यस्को लागि हामीले हाम्रो खोज र अध्यानको दायरा फराकिलो पार्नु पर्छ। हामीले हाम्रो साँघुरो घेराबाट मुक्त भएर सत्यको फराकिलो ब्रह्माण्डमा चिहाउने साहास गर्नु पर्छ।
हामीले गहिरो गरी घोत्लन जरुरी छ- आजको विकसित युगमा हामी के कारणले पिछडिएका हौँ र आजको नियती भोगिरहेका छौँ? हामीलाई अगाडि बढ्न के-कस्ले बाधा पुर्याइरहेको छ? मलाई लाग्छ हाम्रो चिन्तन र व्यवहार नै हाम्रो प्रगतिको मुख्य दुश्मन हो।
हाम्रो मस्तिष्कमा जकडिएको अन्ध राजनीतिक विचार र कुनै न कुनै पार्टीको झण्डा समाउनै पर्ने बाध्यताको कारण हामी जहाँको त्यहीँ घुमिरहेका हौँ।
मेरो आशय कुनै पार्टी र विचारको पछि लाग्नु खराब हो भन्ने होइन। तर हामी अन्धभत्त भएर हाम्रो नेतृत्वको पदप्रप्तिको लागि भर्याङ मात्र बन्ने होइन। कतिपय अवस्थामा विचारभन्दा माथि उठेर नेतृत्वले चाल्ने गलत कदमको तार्किक आलोचना गर्दै नेतृत्वलाई जनताको सपना पूरा गर्ने बाटोबाट विचलित हुन दिनुहुन्न।
हामीले अब ढिलो नगरी हाम्रो धरातलको उत्खनन् गरेर हाम्रो वास्तविकताको पहिचान गर्न थाल्नु पर्छ। जब हामी यसो गर्न थाल्ने छौँ हामीले पक्कै हामी निकै कमजोर आर्थिक जगमा उभिएको पत्तो पाउने छौं।
हाम्रो सामाजिक संरचना आन्तरिक र बाह्य राजनीतिक तथा सांस्कृतिक हस्तक्षेपबाट छिन्न भिन्न पारिएको देख्ने छौं। हामी हाम्रो यथार्थता देखेर अझै निराश हुन पनि सक्छौँ र भविष्य झन अन्धकार भएको देख्न सक्छौं।
तर हामी विचलित हुनुहुन्न। हामीले कठिन संघर्ष गर्दै सम्भावना पहिलाउन सक्नु पर्छ। रगत पसिना बगाउँदै कमजोर संरचना हटाएर बलियो आधारको निर्माण गर्नु पर्छ। हामीले कसरी गरिबीको तहबाट माथि उठ्ने भन्ने दिशामा काम गर्नु पर्छ। सँगै हाम्रो लोकतान्त्रिक प्रणालीलाई उन्नत र जनपक्षीय बनाउँदै लाने सवालमा योगदान गर्नु पर्छ।
यो हामीमाथि इतिहासले सुम्पेको दायित्व हो। हामीले आफ्नो दायित्व इमान्दरिताका साथ निभाउनु पर्छ। हामीले समाजमा नयाँ विचार र बहसको जन्म दिनु पर्छ। हामी चनाखो हुँदै सकंटसँग जुध्नुपर्छ। एकताबद्ध भएर देशको लागि आफूले गर्नु पर्ने कर्तव्य पूरा गर्नु पर्छ।
हामीले हाम्रो अन्ध परम्परा र राजनीतिक अकर्मण्यताको अनवरत प्रतिरोध गर्दै समाजलाई सभ्यताको उचाइमा पुर्याउनु पर्छ। यसो नगरी वर्तमानको अराजकतामा गोलचक्कर मारिरहने हो भने हामी अझै निकै पछि पर्ने छौँ।
हामी केवल भिडतन्त्रको सदस्य हुनेछौँ र कालान्तरमा हामीमाथि कुनै तानशाहले अधिकार जमाउन सक्नेछ। हामी र हाम्रा सन्ततिले वर्तमानको भन्दा पनि कठिन अवस्थाको सामना गर्न नपर्ला भन्न सकिदैन।