भारतका विभिन्न राज्यहरुमा बर्डफ्लुले गर्दा पंक्षीहरु मर्न थालेपछी कोरोना सँगै बर्डफ्लु पनि चर्चाको विषय बन्न पुगेको छ। नेपालको काठमाडौँमा पनि केही दिन पहिले बर्डफ्लु पुष्टी भएको थियो तर अहिले बर्डफ्लु नियन्त्रणमा आइसकेको सरकारले जनाएको छ।
विगतमा बर्डफ्लु सम्बन्धी अनावश्यक कुराहरु विभिन्न माध्यममा आइदिँदा विभिन्न भ्रम तथा हल्लाहरु फैलिन गई कुखुरा व्यवसायमा गम्भीर असर पर्न गएको थियो। अहिलेको कोरोना महामारीमा पनि सामाजिक संजाल तथा केही संचार माध्यमबाट आएका कुराहरुले केही मानिसहरुमा अत्याधिक डर पैदा गर्ने काम गरेको थियो भने केहीमा कोरोना भाइरस केही पनि होइन भन्ने भ्रम पर्न गएको थियो।
कुनै पनि महामारी अथवा रोग बारे समयमै सही सुचना पाएको खन्डमा त्यसबाट हुने आर्थिक तथा अन्य क्षति कम गर्न र महामारी नियन्त्रण गर्न सघाउ पुर्याउँछ। त्यसैले बर्डफ्लु रोगबारे कुखुरा व्यवसायी सँगै सम्पूर्ण आम उपभोक्ता तथा जनसमुदाय समेत सुसूचित हुनु आजको आवश्यकता बनेको छ। यही परिप्रेक्षमा बर्डफ्लु बारे सामान्य जानकारी गराउने कोशिश गरेको छु।
के हो त बर्डफ्लु?
बर्डफ्लुलाई एभिएन इन्फ्लुएन्जा पनि भनिन्छ। यो पंक्षीहरुमा लाग्ने प्राणघातक संक्रामक रोग हो। इन्फ्लुएन्जा भाइरसका ४ वटा प्रकारहरु छन् (ए, बी, सी र डी)। इन्फ्लुएन्जा 'बी' र 'सी' भाइरसले केवल मानिसहरुलाई मात्र सामान्य असर गर्दछन् र त्यती घातक पनि हुँदैनन्।
इन्फ्लुएन्जा 'डी'ले बंगुर र उँटमा संक्रमण गर्छ। तर इन्फ्लुएन्जा 'ए'ले मानिस लगायत अन्य धेरै जनावर र पंक्षिहरुलाई संक्रमण गर्न सक्छ। पंक्षीहरुलाई संक्रमण गर्ने इन्फ्लुएन्जा 'ए'लाई एभिएन इन्फ्लुएन्जा भाइरस भनिन्छ।
इन्फ्लुएन्जा 'ए' भाइरस प्राकृतिक रुपमा जंगली चराहरुमा पाइन्छ। जंगली चराहरु जस्तै जंगली पानी हाँसले रोगको कुनै लक्षण नदेखाइ भाइरस वाहकको रुपमा काम गर्न सक्छन्। बर्डफ्लुबाट विशेषगरी कुखुरा, टर्की, हाँस, सुगा जस्ता पंक्षीहरु बढी प्रभावित हुन्छन। चराहरुमा बर्डफ्लु सर्वप्रथम सन १८७८ मा पहिचान भएको थियो। नेपालमा सन् २००९ मा झापामा पहिलो पटक बर्डफ्लु देखिएको थियो।
बर्डफ्लु कसरी फैलिन्छ?
जंगली जलपंक्षीहरुले इन्फ्लुएन्जा भाइरसको बाहकको रुपमा काम गरेका हुन्छन्। संक्रमित पंक्षीको सुलि, र्याल तथा सिंगानको माध्यमबाट भाइरसहरु शरीर बाहिर निस्कन्छन्। जलपंक्षीको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कबाट घरपालुवा कुखुरा तथा टर्की जस्ता पंक्षीहरुमा एभिएन इन्फ्लुएन्जा भाइरस सर्न सक्छ। बसाइ सरेर आउने फिरन्ते चराहरुले पनि बर्डफ्लु सार्ने गर्दछन्।
यसैगरी संक्रमित पंक्षी, संक्रमित पंक्षीको सुलि, उपकरणहरु, दाना, पानी आदिसँगको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कबाट पंक्षीहरु बीच भाइरस सर्न सक्दछ। संक्रमित पंक्षीको सुली, र्याल तथा सिंगानले दुषित बनाएका उपकरणहरु, दाना, र जुत्ताको माध्यमबाट एक फार्मबाट अर्को फार्ममा भाइरसहरु पुग्न सक्छन्।
भाइरस सुलीमा ४ डिग्री सेन्टिग्रेड तापक्रममा कम्तिमा ३५ दिनसम्म बाँच्न सक्छ। यसैगरी २२ डिग्री सेन्टिग्रेड तापक्रममा भएको तालको पानीमा ४ दिनसम्म र शून्य डिग्री सेन्टिग्रेड तापक्रममा ३० दिनसम्म बाँच्न सक्दछ। सतहहरुमा भने सयौं हप्तासम्म पनि जीवित रहन सक्दछ।
त्यसैले बर्डफ्लुबाट बच्नको लागि पंक्षीको फार्ममा काम गर्ने व्यक्तिहरुले व्यक्तिगत सरसफाईमा विशेष ध्यान पुर्याउनु पर्छ। साथै फार्महरुमा जैविक सुरक्षाका उपायहरु कडाइका साथ अवलम्बन गर्नुपर्छ।
के बर्डफ्लु पंक्षीबाट मानिसमा सर्न सक्छ?
एभिएन इन्फ्लुएन्जा भाइरसले सामान्यतया मानिसहरुलाई संक्रमण गर्दैन। तर संक्रमित कुखुरा, हाँस वा अन्य पंक्षीको प्रत्यक्ष सम्पर्कमा रहने जस्तै संक्रमित पंक्षीलाई भुत्ल्याउने, मासु काट्ने, र ओसार पसार गर्ने मानिसहरु तथा कुखुरासँग खेल्ने बच्चामा भने सर्न सक्ने सम्भावना रहन्छ।
त्यसैगरी संक्रमित कुखुरा तथा अन्य पंक्षिको सुलि, र्याल र सिंगानले दुषित बनाएको वातावरणसँगको सम्पर्कबाट पनि मानिसमा सर्न सक्दछ। बर्डफ्लुबाट मरेका चराहरुको व्यवस्थापन गर्ने मानिसहरुमा पनि सर्ने सम्भावना रहन्छ।
इन्फ्लुएन्जा 'ए' भाइरसका धेरै उपप्रकारहरु मध्ये केहीले आफ्नो सीमा पार गरी मानिसलाई संक्रमण गर्ने गर्छन्। ती मध्ये एभिएन इन्फ्लुएन्जा एचफाइबएन-वान' लाई सबैभन्दा खतरनाक मानिन्छ।
एचफाइबएन-वान सर्वप्रथम सन् १९९७ मा हङकङमा पंक्षीबाट मानिसमा सरेको प्रमाणित भएको थियो। त्यो बेला एचफाइबएन-वान बाट १८ जना संक्रमित भएका थिए भने ती मध्ये ६ जनाको ज्यान गएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार सन २००३ बाट यता विश्वभर एचफाइबएन-वान भाइरसबाट ८६२ जना संक्रमित भएका छन र ती मध्ये ४५५ जनाको ज्यान गएको छ। नेपालमा एचफाइबएन-वान भाइरसबाट २०१९ मा एक जना व्यक्ति संक्रमित भएका थिए र उनको त्यही संक्रमणबाट ज्यान गएको थियो।
के बर्डफ्लु मानिसबाट मानिसमा सर्न सक्छ?
पंक्षीबाट फाट्टफुट्ट मानिसमा बर्डफ्लु सरेको पाइएता पनि मानिसबाट मानिसमा बर्डफ्लु सजिलै सर्न सक्दैन। बर्डफ्लु गराउने भाइरसले छिट्टै आफनो वंशाणुगत स्वरुपमा परिवर्तन गर्न सक्ने क्षमता बोकेका हुन्छन्।
त्यसैले अहिलेको मुख्य चुनौती भनेको भाइरसले आफ्नो वंशाणुगत संरचना परिवर्तन गर्दा कतै मानिसबाट मानिसमा सजिलै सर्न सक्ने क्षमता त विकास गर्दैन भन्ने हो। यदि कुनै व्यक्तीलाई मानिसबाट मानिसमा सजिलै सर्ने मौसमी इन्फ्लुएन्जा भाइरसले संक्रमण गरेको छ र सोही व्यक्तीलाई बर्डफ्लु गराउने भाइरसले पनि पंक्षीबाट सरेर संक्रमण गरेमा, यी दुई भाइरसको समिश्रणबाट नयाँ स्वरुपको भाइरस बन्न सक्छ।
उक्त नयाँ स्वरुपको भाइरस मानिसहरु बीच सजिलै र अति तीव्र गतिमा फैलिन गई धेरै संख्यामा मानिसहरु बिरामी पर्ने तथा धेरैको ज्यान जान सक्दछ। नयाँ स्वरुपको इन्फ्लुएन्जा भाइरस उत्पन्न गराउनको लागि बंगुरहरुले पनि सहयोगी भूमिका खेल्न सक्छन्।
कुखुराको मासु र अन्डा खान कति सुरक्षित?
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म मासु र अन्डा खाँदा बर्डफ्लु सरेको भेटिएको छैन। बर्डफ्लु गराउने भाइरस ६० डिग्री सेन्टिग्रेड तापक्रममा ३० मिनेटमा र ७० डिग्री सेन्टिग्रेड तापक्रममा केही सेकेन्डमै नष्ट हुन्छ। अन्डाको सेतो र पहेँलो भाग ठोस नबनुन्जेल उमालेपछि मात्र खानयोग्य हुन्छ। त्यसैले राम्ररी पकाएर खाएको मासु तथा अन्डाबाट बर्डफ्लु सर्ने कुनै सम्भावना हुँदैन।
तर नपकाएको मासु र अन्डा छोइसकेपछी साबुन पानीले राम्ररी हात धुनु पर्छ साथै नपकाएको मासुलाई अरु खानेकुराबाट अलग्गै राख्नु पर्छ। पंक्षीजन्य उत्पादनको सम्पर्कमा आएका भाँडाकुँडा, चक्कुलगायत सामग्री पनि तातोपानी र साबुनले सफा गर्नुपर्छ।