शिक्षा दुई तरिकाले पढाइन्छ। कि घोकाइन्छ कि त सिकाइन्छ। घोक्नु र सिक्नु दुई फरक प्रक्रिया हो। हामीकहाँ घोकाउने शिक्षा पढाइन्छ।
घोक्दैमा या रट्दैमा बुझिँदैन। सिकिँदैन। जब बुझिन्छ। बुझेपछि घोक्नु तथा रट्नु पर्दै पर्दैन। स्वतः याद हुन्छ त्यो पनि जीवनभरको लागि। घोकेको शिक्षा क्षणिक हुन्छ। घोकेको शिक्षाले विद्यालय तथा कलेजको जाँचमा पास त गराउला। जागिरको ढोका पनि खोल्देला। तर जीवनको परीक्षामा कहिले उर्तीण गराउँदैन।
जीवनको अवसरको ढोका कहिल्यै खोल्दैन। हो, धनी बनाउँला तर सुखी जीवन बाँच्ने बनाउन सक्दैन। जीवन त जिउला तर आनन्दको जीवन बाँच्न सक्दैन। मानवताको जीवन बाँच्न सक्दैन।
तर, बुझेको पढाइ तथा सिकाइले स्कुल कलेजको परीक्षा मात्रै हैन, जीवनको परीक्षामा उर्तीण गराउँछ। मानवतासहितको जीवन बाँच्न सक्ने बनाउँछ। बेहोसी हैन, होसपूर्वक जीवन जिउन सिकाउँछ। जीवनलाई उत्सवमा रुपान्तरण गर्दछ।
अरू बालकलाई जस्तै मलाई पनि केटाकेटीमा एउटा सुट-टाई लगाएको पुरुषको तस्बिर चोरी औंलाले देखाउँन लगाउँदै 'जी' फर 'जेन्टलमेन' भन्न लगाइयो। घोक्न लगाइयो। जेन्टलमेन हुन, सुटेड–बुटेड भई टाई लगाएको हुनुपर्दछ भन्ने सिकाइ भयो। जस्तै सिकाइ त्यस्तै विचार।
फलतः मेरो मनले मेरो पूजनीय पिताजीलाई कहिल्यै जेन्टलमेन भनेर स्वीकार्न सकेन। उहाँको हातमा उठेका ठेला, दिनरात खेती किसानीमा व्यस्त रहँदा उहाँले लगाउनु भएको बस्त्र, जस्तुसकै दुःख कष्टमा देखाएको धैर्यता, इमान्दारिताको ममा कुनै बोध हुन सकेन!
अरुका लागि लाजागाला सम्मान त गरेँ होला तर भित्री मनमा उहाँप्रति एक अनपढ, फाटे-टालेको लुगा लगाउने एउटा दुःखी जीवन बाँच्ने कृषकको प्रतिमूर्ति बनिरह्यो मभित्र।
जब म औपचारिक शिक्षाको चौघेराबाट मुक्त भएँ, स्वअध्ययन मननमा लागें। मैले बुझेँ 'जी' फर जेन्टलमेनको सिकाइ भयानक गलत रहेछ। वास्तवमा मेरो पिताजी चित्रमा देखाइएको जेन्टलमेनभन्दा कयौं गुणा असल, सुशील, इमान्दार, विवेकी, र एक अगुवा मेहनती किसान हुनुहुन्थ्यो भन्ने मेरो अन्तर्स्करणमा जागृत भयो।
जीवनको सबैभन्दा ठूलो प्रेरणादायी अद्भूत अनुभवको सिकाइले मेरो अज्ञानताको बादल उघारी दिएको महशुस भयो। मेरो बुवाप्रति जीवनमा पहिलोपल्ट मनैबाट सम्मान पैदा भयो। यो धर्तीका सबै बुवाहरु जस्तै मेरो पिताजी जीवनको सबैभन्दा असल जेन्टलमेन हो भन्ने विश्वास पैदा भयो।
मैले सोचेँ, तपाईं हजुर यस संसारमा मेरो सबैभन्दा ठूलो आदर्श पुरुष हो र आज मलाई हजुरको छोरा हुन पाएकोमा गर्व छ भन्दै उहाँको चरणकमलमा शिर राखेर ढोग गरौं। तर त्यो सौभाग्य कहिल्यै जुरेन। यदि उहाँ अहिले यस लोकमा हुनुहुँदो हो त- छोरो यो तेरो गल्ती हैन, यसमा तेरो कुनै दोष छैन भन्दै मेरो आँसु पुछ्नु हुन्थ्यो होला।
यो क्षण उहाँको लागि म एउटा असल ज्ञानी छोरामा रुपान्तरण भएको योभन्दा गतिलो प्रमाणपत्र विश्वका कुनै विश्वविद्यालयले दिन नसक्ने महशुस उहाँमा हुन्थ्यो होला। मेरो लागि पिताजीका आँखाबाट बगेका क्षमा मिश्रित ती हर्षका आँसु विश्व कै सबैभन्दा उत्कृष्ट सम्मान तथा पुरस्कार हुन्थ्यो होला।
'जि' फर जेन्टलमेन बुझ्न त बुझेँ तर धेरै ढिलो बुझें।
त्यस्तै विलोम तथा विपरीतार्थ शब्द पनि विद्यालयमा हामीले निकै घोक्यौं होला। दिनको उल्टो रात, सुखको उल्टो दुःख, गरिबको उल्टो धनी, महिलाको उल्टो पुरुष, मालिकको उल्टो मजदुर आदि। महिलाको उल्टो पुरुष घोकाउँदा मेरो मनमा मेरा बा-आमा एकअर्काको सहयोगी तथा पूरक नभएर प्रतिद्वन्द्वीका रुपमा धेरै समयसम्म रह्यो।
मालिक र कर्मचारी एकअर्काका उल्टा हुन्, न कि सहयोगी भन्ने भावना अहिले पनि बग्रेल्ती देख्न पाइन्छ। काम गर्ने मजदुर र उद्योग मालिक मध्ये एकको अस्तित्व बेगर अर्काको अस्तित्व हुँदैन भन्ने अझै हामीले स्वीकार्न सकेका छैनौं। मालिक भनेका शोषक र श्रमिक भनेका कामचोर हुन भन्ने भ्रम अझै हट्न सकेको छैन।
हामीले पढाउने प्रणालीमा शिक्षाको महत्व (भ्यालु अफ एजुकेशन) पढाइन्छ तर मूल्यमान्यतामा आधारित शिक्षा (भ्यालु बेस्ड एजुकेशन) पढाइदैन। शिक्षाको महत्वले विषयवस्तुमा क्षमता भएको, गतिलो शिक्षक, प्रोफेसर, लेखक, साहित्यकार, संगितकार, पत्रकार, शिक्षक चलचित्र कर्मी, कर्मचारी त उत्पादन गर्ला तर निजमा रहेको विवेकको खडेरी पुर्न सक्दैन।
अहिलेको शिक्षाले एउटा सिपालु डाक्टर न्यायाधीश, इन्जिनियर त बनाउँला। पेशाप्रति बफादार पनि बनाउँला तर इमान्दार बनाउन जोड दिँदैन। बिरामीको रोग निदान गरी जीवन बचाउन डाक्टरको जति भूमिका हुन्छ, के त्यति नै मृगौला तस्करी गर्नमा अर्को डाक्टरको भूमिका हुँदैन र?
डाक्टरको संलग्नताबिना मानव अंगको तस्करी सम्भव छ? एक गतिला प्रोफेसरको घरको बारीमा छिमेकीको गाईले तुलफूल खाइदिँदा लाठोले गाईको ढाड भाँचिने गरी कुटेका देख्दा विद्वान कसलाई मान्ने उदेक लाग्दछ।
एउटा प्रहरी अधिकृत तथा उच्चपदस्थ कर्मचारी वा वकिल न्यायाधीश वा अख्तियारवाला अधिकारको संलग्नता बेगर घुषको लेनदेन सम्भव छ? यो देशलाई भड्खलामा जाक्ने खतरा कथित पढेलेखेका ठूला भनाउँदाबाट छ कि वा कथित अनपढ वा सर्वसाधरण भनिएकाबाट?
भ्यालु एजुकेशनमा मूल्य, मान्यता मर्यादाको पनि बोध गराइन्छ। विवेकको जिन्दगीलाई पनि उत्तिकै महत्व दिइन्छ न कि सीप र क्षमतालाई मात्रै।
हाम्रा विश्वविद्यालयका जुनसुकै कक्षा-कोठामा पसेर त्यहाँका विद्यार्थीलाई फलाना विषय किन पढ्नु भएको भनेर सोधेमा उत्तर के आउँला? यदि म गलत छैन भने अत्याधिक विद्यार्थीले यसको स्कोप राम्रो छ, जागिर पाइन्छ भन्दछन्। विद्यार्थी मात्र हैन, पढाउने प्रोफेसरलले पनि भन्ने यही हो।
म स्कुलमा पढ्दा नेपाललाई अल्पविकसित देश भनिन्थ्यो। पछि अल्पविकसितभन्दा राम्रो सुनिएन विकासोन्मुख देश भन्न भनियो। त्यही अल्पविकसित देशलाई अहिले विकासोन्मुख देश भन्न थालिएको छ। विकासोन्मुख देश भन्न थालेको पनि २५-३० वर्ष भयो होला।
तर किन नेपाल विकसित देश बन्न सकेन? जबसम्म शिक्षा जागिर खोज्नको लागि पढाइन्छ वा सिकाइन्छ, त्यो देश विकासोन्मुख नै रहन्छ। विकसित देश बनाउने हो भने हाम्रो शिक्षाले जागिर खोज्ने हैन, सृजना गर्ने सोच भएको उद्यमी (इन्टरप्रेन्युअर माइन्डसेट) भएको जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ।
जागिर खाने सीप हैन, रोजगार सृजना गर्ने सीप सिकाउने शिक्षा आजको आवश्यकता हो। त्यस्तो शिक्षाले मात्र नेपाल विकसित राष्ट्र बन्न सक्दछ।
बजारको आवश्यकता अनुसार चाहिने जनशक्ति हाम्रा शिक्षालयले उत्पादन गर्ने गर्दछ। अहिले बजारमा वित्तिय क्षेत्रका मेनेजर, होटेल व्यवस्थापक, इको टुरिजम विज्ञ, कम्प्युटर, सफ्टवेयर इन्जिनियर आदि नयाँ क्षेत्रका जनशक्तिको माग अनुसार उत्पादन भैरहेको छ।
बीस-पच्चिस वर्षअघि यी विषयहरुको पढाइ हुँदैन थियो। बजारको माग अनुसार नयाँ विषयवस्तु थपिने गर्दछन्। विषयवस्तुमा योग्य दक्षता भएका जनशक्ति उत्पादन हुँदैछ। हाम्रो शिक्षा प्रणालीले शिक्षाको सप्लाई साइडको मात्र भूमिका निर्वाह गर्दैछ।
बजारको माग अनुसारको उत्पादन गर्दैछ र शिक्षाविदले यसैमा गर्व गर्दैछन्। तर एउटा अभिभावकको दृष्टिकोणको डिमान्ड साइडलाई पूरा गरेको छ त? समाजले प्रबन्धक, कर्मचारी, उद्योगी, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक आदि मागेको छ तर दक्षता सहितको मात्र नभएर र विवेक सहितको। के यस्ता जनशक्ति हाम्रो शिक्षण संस्थाले दिएको छ त?
एउटा कोरा कागज जस्तै चार-पाँच वर्षको बालकलाई हामीले विद्यालयमा लगेर 'यो मेरो छोरो तपाईंको जिम्मा भो। यसलाई के बनाउने हो तपाईंको हातमा छ है सर' भनेर बुझाएको हैन र? अफसोच! जब त्यो बालकले आफ्नो जीवनको अमूल्य समय स्कुल, कलेज र विश्वविद्यालयमा बिताउँछ र जब विश्वविद्यालयबाट बाहिर निक्लदा उमेरले परिपक्व, शारीरिकरुपमा लाठे तर मानसिकरुपमा रुग्ण, हिंस्रक, भएर निस्कनुमा दोष कस्को?
के शिक्षित बनाउने नाममा कसरी हुन्छ जानेर वा ढाँटेर वा छक्याएर वा अर्कालाई पछारेर आफू प्रथम हुने प्रतिस्पर्धात्मक शिक्षाको यसमा दोष छैन? जसरी हुन्छ भ्रष्टाचार गरेर दादागिरी देखाएर सम्पत्ति कमाउँदा फलानोले गजब गर्यो, टन्न सम्पत्ति कमायो भन्दै प्रसंशा गर्ने हामी पनि दोषका भागदारी छैनौं र? प्रतिस्पर्धात्मक हैन, करुणामयी शिक्षा आजको आवश्यकता हो भन्ने चेत कहिले आउला हामीमा?
जब त्यो अबोध बालक हामीले चलाएका शिक्षालयबाट हिंस्रक बनेर निस्कन्छ अनि त्यसलाई ठेगान लगाउन कठोर कानुन बनाउने कुरा गर्छौं, हामी! तर हाम्रो शिक्षा प्रणालीमा कहाँ त्रुटी भयो भनेर कहिल्यै छलफल गर्दैनौं।
आज कुनै विद्यालय, कलेज तथा विश्वविद्यालयका शिक्षक तथा प्रोफेसर वा यिनका पेशागत संघ-संगठन वा उच्च-पदस्थ शिक्षा अधिकारीले हामीले बनाएका प्रणाली तथा हामीले पढाएका विद्यार्थी किन बलात्कारी, हिंस्रक वा किन भ्रष्ट भए भनेर कहिल्यै घोत्लिने गरेका छन्?
बरु प्रहरी के हेरेर बसेको छ? यस्ता अपराधीलाई रोक्न मृत्युदण्ड किन नदेको? भन्दै जुलुस निकाल्छौं, हामी। विश्वमा भ्रष्टचार, आतंक-हिंसा सधैंका लागि रोक्ने हो भने त्यो केवल शिक्षाले मात्र रोक्न सक्छ भन्ने आत्म-विश्वास छ हामीमा?
आतंकवाद रोक्नका लागि कस्तो शिक्षा आजको आवश्यकता हो भनेर हामीले कहिल्यै छलफल गरेका छौं? हामी सधैँ कानुन, हतियार तथा बलको प्रयोगले आतंकबाद रोक्न पहल गर्दछौं। तर शिक्षाको साहराले रोक्ने प्रयत्न किन नगर्ने भनेर किन सोच्दैनौं? शिक्षा मात्र यस्तो औजार हो जसले विश्वको जुनसुकै समस्या सधैँका लागि समाधान गर्न सक्दछ भन्ने आत्म-विश्वास हामीमा किन पैदा हुन सकेन?
जीवनका उकाली ओरालीसँग जुझ्दै बाँच्नुको मजाको अनुभूति हामी सबैलै गरेकै हौंला। हामी जन्मदेखि मृत्युसम्म एउटा निश्चित अवधि बाँच्छौं। जन्मपछि मृत्यु निश्चित छ। जन्म र मृत्यु एक सिक्काका दुई पाटा हुन्। यसलाई अलग गर्न सकिदै सकिँदैन।
त्यसैले मृत्युलाई स्वीकार्दै आनन्दको जीवन जिउने कला नै शिक्षा हो। शिक्षित भनेको लेखपढ गर्न सक्नु मात्रै हैन। जस्तैसुकै विश्व प्रशिद्ध विश्वविद्यालयले शिक्षाको प्रमाण पत्र दिन सक्दैन। जसले दिएका छन्, त्यसले शिक्षाको स्तर देखाउन सक्दैन।
त्यो त केवल जागिर खाने खोस्टो मात्र हो। शिक्षित व्यक्ति त्यो हो जसले भविष्यको आशमा हैन वर्तमानका हरेक पलपलमा आनन्दको जीवन बाँच्न सक्दछ। जोसँग आनन्दको जीवन जिउने कला हुन्छ, ऊ नै असलमा शिक्षित व्यक्ति हो।
विश्वमा यत्रो तरक्कीको विकास यही शिक्षाले गरेको छ, कसरी गलत होला भन्ने भ्रम पनि पर्न सक्दछ। मानव सभ्यताको तीन हजार चारसय वर्षको इतिहासमा केवल २६८ वर्ष मात्र युद्ध भएन, शान्त रह्यो (न्यूयोर्क टाइम्स २००३)।
मलाई त के लाग्दछ भने त्यो २६८ वर्ष पनि शान्त थिएन, युद्धको तयारी भएको हुनुपर्दछ। हामीले चलाएका शिक्षाका उद्योगबाट जब हिंस्रक व्यक्ति उत्पादन हुन्छ भने निश्चयनै हाम्रो शिक्षा नीतिमा त्रृटी छ। यसको आमूल परिवर्तनको अर्को विकल्प छैन।