उज्यालो भयो होला भन्ने ठानेको, हेटौंडा नपुग्दै रातमाटे भन्ने ठाउँको हल्लाले ब्युँझाएको रहेछ। प्रहरी जाँच रहेछ हेटौंडा पुग्नेबेलाको सडकमा। त्यस्तो राती पनि प्रहरी जाँच! हाम्रो मुलुक पनि संसाँझै सुत्दो रहेनछ। मुलुकका रखवारीहरू रातभर ड्युटीमा हुँदा रहेछन्।
हुन त भन्सार पनि सुत्न मिल्दैन, राती ब्युँझेर कति पटक एम्बुलेन्स, तीर्थ यात्री र कार्नेटहरूलाई पठाएका छौं।
भन्सार अधिकृत भएर काम गर्दा नै मैले मालवाहक ट्रक र त्यसका चालकहरूलाई माया गर्न सिकेको हुँ। माल बोकेर आउने ट्रक र चालक आएनन् भने हामी कहाँ न व्यापार हुन्छ, न खानै पाइन्छ।
पटकपटक मालवस्तु भन्सारमा जाँच गर्दा भारतीय ट्रक चालकहरूसँग धेरै पटक कुरा गरेको छु। उनीहरूको जीवन र दिनचर्या देखेर पटकपटक लोभ नलागेको पनि होइन। थोरै तेल, मसला, हरियो सब्जी, केही चामल र पीठो दैनिक किनेर सडक किनार वा भन्सार यार्डमै पकाएर मीठो मानी खाएको देखेको छु। त्यसरी नै उनीहरूसँग खाने मनको धोको आजसम्म अपूरै छ।
नेपाली ट्रक चालक र भारतीय ट्रक चालकमा फरक छ। भारतीयहरू त्यसरी आफैं पकाएर खान्छन् भने नेपालीहरू कान्छीको भट्टीनिर ट्रक रोकेर त्यहीँ खान्छन्, त्यहीँ रमाइलो गर्छन्।
खोला तथा पानीको धारा भएनिर ट्रक रोकेर गर्मीमा सफा पानीले नुहाइधुवाइ गर्नुको मज्जा हामी जस्ता कामकाजीले कहाँ लिन पाइन्छ र? यो प्रकारको आनन्द भने नेपाली वा भारतीय दुवै ट्रक चालक र सहचालकले लिइरहेका हुन्छन्।
कुन ठाउँको यात्रा हो? कुनै योजना र पत्तो नभएको गन्तव्य। बिन्दास जीवन। साँझको वासको ठेगान नभएको, बाटोको अवस्थाको जानकारी समेत नभएको एउटा सन्त जीवनजस्तै ट्रक चालक। उनीहरूसँगको सामीप्यलाई वास्तविक कामकाजी जीवनसँग तुलना हुनै नसक्ने।
त्यसैले सधैं कुरा मात्र गरेर हुँदैन, अनुभवले जीवनमा अझै आयाम थप्छ भन्ने लागेर एक साँझ कसैलाई पत्तो नदिई ट्रक चालकसँगै हिँड्ने निधो गरेँ, वीरगञ्जदेखि काठमाडौं। साथीहरूलाई कुरा राखेको थिएँ, कसैले वास्ता गरेनन्। कतिले उडाइ दिए पनि।
कुनै एकदिन यी ट्रक चालकसँगको सामीप्यले फरक अनुभव गराउने छ भन्ने भावनासाथ कम्तीमा पनि भारतको दिल्लीदेखि आएको ट्रकमा काठमाडौंसम्म यात्रा गर्ने निधो गरेँ।
तर यसमा मेरा केही सीमितता थिए।
पहिलो, खराब वा राजश्व छल्ने नियतले मालवस्तु राखेको ट्रक हुन नहुने। यस्तोमा चढेर गए राजश्व छलीमा भन्सार अधिकृतको संलग्नता भनिने सम्भावना हुन्छ।
दोस्रो, ट्रक चालक पञ्जाबी नै हुनुपर्ने। सानो छँदा धेरै ट्रक-बस चालक पञ्जाबी देखेकाले हुन सक्छ।
तर दैनिक करिब चार सयभन्दा बढी मालवाहक सवारी भित्रिने भन्सारमा मलाई यस्तो ट्रक खोज्न दुई दिन लाग्यो। अनि निश्चय भयो काठमाडौंसम्मको रोमाञ्चक यात्रा।
बिहान उठेदेखिको ड्युटी सकेर लखतरान भएको ज्यान। मनमा सोचेका कैयौं भावना, एउटा कलम र डायरी बोकेर भन्सारको २ नम्बर गेटबाट मुख छोपेर नेपाल सुत्ने समय राती ९ बजे चढेँ ट्रक। चालक थिए पञ्जाबका ४२ वर्षीय पिरजीत सिं। सहचालकको घरको ठेगान रहेनछ। नाम पिन्टु।
उनीहरूको साँझको खाना भइसकेको थियो। म दुई पटक हेर्न गएको थिएँ भन्सार यार्डमा उनीहरूले पकाएर खाएको।
मैले उनीहरूलाई आफू भन्सारको कर्मचारी भनेर परिचय दिएमा सतर्क हुन सक्थे। त्यसैले मसँग पैसा नभएर यात्रा गरेको भनेर कुरा छलेँ। तर उनीहरूको बोलीमा 'साहेब' बाहेक सम्बोधन सुनिएन एकपटक पनि। करिब दुई सय मिटर हिँडेपछि ट्रक रोके। किन रोकेको भन्दा आफ्नै लवजको हिन्दीमा ट्रान्सपोर्टको काम छ भन्दै थिए। थाकेको ज्यान भएकाले म चालक पछाडि सिटमा निदाएछु।
करिब राती २ बजे हल्लाखल्लाले ब्युँझेपछि मात्रै भलाकुसारी गरेँ ती अन्नदाता श्रमिकहरूसँग। नेपाल तेस्रोपटक रहेछ चालक पिरजीत सिंको। सहचालक पिन्टुको भने पहिलो यात्रा। कागज पत्र हेर्दा सवारीमा करिब १९ टन औषधि र त्यसका सहायक सामग्री थिए।
पढेको छैन, कागजमा के लेखेको छ थाहा छैन। तर यो गाडीमा औषधि छ भन्ने थाहा रहेछ। कतिपय सवारी चालकलाई मेरो गाडीमा के बोकेर हिँडेको छु भन्ने पनि थाहा नहुने रहेछ।
'नेपालमा धेरै दिक्कत हुन्छ सवारी चलाउँदा, सडकमा रोक्दा पार्किङ पैसा तिर्नुपर्ने, बाटोका जाँचमा धेरै समय लाग्ने र गाली गर्ने, नबुझिने कुरा गर्ने' भनेर धेरै गुनासो पोखे पिरजीत सिंले। बाटोमा चार ठाउँमा थप पैसा दिनुपर्ने रकम तिरेको निस्सा नपाउने, अनि साहुले निस्साबिना त्यो पैसा दिन गाह्रो मान्ने भनेर आफ्नो बेथा सुनाए।
बाटामा जाँचका निम्ति रोकियो। कागज हेरियो। मैले सबै ठीक छ भनेँ तर प्रहरीले हेरिरहे। अनि म झरेर भनेँ, 'यो माल मेरो हो, म साहु हुँ।'
पिरजीत र पिन्टु पथलैयानिर २ घन्टा जति सुते। सवारी अगाडि बढ्यो। करिब ३ बजे हेटौंडा कटियो। त्यसपछि सुत्न खोजे पनि निद्रा लागेन। उनीहरूसँग पारिवारिक गफमै रमाउन थालेँ। भाषा समस्याले एउटा कुरा भन्न पनि धेरै बोल्नुपर्ने अवस्था रह्यो।
बिहान ६ बजेतिर हामी नारायणगढ कट्यौं। नित्य कर्मदेखि चिया खाने ठाउँसम्मको विषयमा उनीहरूलाई सोधेँ। एक पसल छ बाटोमा, त्यहा रोक्ने भने। करिब ७.३० बजे त्रिशुली र मर्स्याङ्दीको प्राकृतिक कोलाहलनिर ट्रक रोकियो। उनीहरू झरे र नित्य कर्मतिर लागे। म पनि त्रिशुली किनारतिर लागेँ।
फागुनको अन्तिम हप्ता नित्यकर्म सक्दा करिब ८ बजिसकेको थियो। घाम माथि आइसकेका थिए। बिहानको पारिलो घाममा बसेर एक कप कालो चिया पिएँ। उनीहरूले दूध चिया र चना, भुजा खाए। मैले खाना खाने ठाउँका बारेमा सोध्दा कुनै ठाउँमा पकाएर खाने कुरा गरे।
मैले सोधेँ, 'कुखुरा र भात कस्तो मान्छौ?'
उनीहरूले भने, 'यहाँ महँगो हुन्छ, खान सकिँदैन, हामी गरिब आदमी।'
जसले मानव जीवन बचाउन त्यतिका औषधि बोकेर ल्याएका छन्, उनीहरूकै जीवन सास्तीमा! त्यही औषधिमा कतिले नाफा कमाउने होलान्। मनभित्र अनेक प्रश्न उब्जिए।
मैले भनेँ, 'यहीँ राम्रो ठाउँ छ। म खुवाउँछु। खानु है।'
उनीहरूले सहमति जनाए। अनि लोकल कुखुरा र खाना पाकुन्जेल नुहाइधुवाइ गर्ने सहमति बन्यो।
त्यही पसलमा पालेको एउटा कुखुरा काट्न लगाएर म फेरि त्रिशुली किनारतिर झरेँ। चिसो पानीमा नुहाएँ। उनीहरू पनि नुहाइधुवाइमा व्यस्त रहे। करिब ९:३० मा खाना तयार भयो। सँगै बसेर तीन जनाले थपी-थपी मासु भात खायौं।
चियादेखि खानासम्मको पैसा तिरेँ।
तर पिरजीत सिं भन्न थाले, 'म पनि तिर्छु।'
उनले मतिर भारू १०० तेर्स्याए।
मेलै भनेँ, 'तपाईंहरू मेरो पाहुना।'
उनीहरूले मलाई पक्डिहाले, 'भाडा नभएर ट्रकमा आएको मान्छेसँग कसरी पैसा भयो?'
धेरै पटक उनीहरूले सोधे। मैले अनेक जवाफ दिएर टारेँ।
अनि करिब १०:३० मा उज्यालो मन लिएर काठमाडौंको यात्रा पुन: सुरू गर्यौं। ढिलो हिँड्ने भारी सवारीमा हामी छिटो छिटो दगुर्नेको मन आत्तिँदो रहेछ। बस, माइक्रो र कारलाई साइड दिँदाकै सास्ती!
साघुँरो बाटो सबै सवारीले हेप्ने भनेको ट्रकलाई नै रहेछ। अझ भारतीय नम्बर प्लेटको भनेपछि झनै बढी। मुग्लिनमा प्रहरी जाँच। त्यहाँ पनि मैले साहुँ हुँ भनेपछि बिना झन्झट सवारी अगाडि बढ्यो।
त्यो बेला चाहिँ पिरजीत र पिन्टुले एउटा छल कुरा थाहा पाए, म नै ट्रकमा भएको वस्तुको मालिक भन्ठाने।
अनि मसँग बढी नै कुरा गर्न थाले। ठिकै छ, पट्यार लाग्दो ढिलो बाटो हिँडाइको मज्जा। चार बजे पुनः गजुरीमा प्रहरी जाँच। त्यहाँ त उनीहरूले नै साहु भनेर चिनाए पुलिसलाई।
करिब साँझ ७ बजे नौबिसे पुगियो। त्यहाँ फेरि जाँच। त्यसरी नै साहु हुँ भनेपछि धेरै बेर कागजपत्र हेरे। केही भनेनन्। नौबीसे नाघेपछि फेरि मैले खानाका बारेमा सोधेँ। उनीहरूले अर्को योपटक खाना पकाएर मलाई खुवाउने भनेका थिए। तर एकपटक भए पनि दुःख नपाऊन् भनेर मैले एउटा होटलनिर रोक्न लगाएँ। खाना मगाएर उनीहरूलाई खुवाएँ। मैले भने चिया पिएँ।
अहिले भने पिरजीत सिं पैसा तिर्न अघि सरेनन्, उनलाई म साहु हुँ भन्ने भ्रम थियो।
खाना खाएपछि बिस्तारै उकालो लागियो। उकालोमा हतार भएको मान्छेलाई ट्रक चढाउनु, कति ढिलो भनेर पक्कै रिसाउँछ। ठसठस कन्दै ट्रक बिस्तारै हिँड्दै छ। हामी कुरा गर्दैछौं। बल्ल ९:३० मा पुगियो नागढुंगा। पुःन चेकजाँच।
करिब एक घन्टा नै लाग्यो त्यहाँ त। प्रहरीले सोध्दै थिए, 'राजश्व छलेको त छैन नि?'
त्यहाँ पनि साहु उहाँ हो भनेर चिनाए पिरजीतले।
'साहु नै आए त झन् छली हुनसक्छ,' भन्दै थिए प्रहरी।
प्रहरीका हाकिमले कागज हेरे, बुझेनन्। आरोप होइन यो, अलि प्राविधिक विषय भएकाले नजानेका हुन्। जे होस् धेरै कुरा सोधे। अन्तिममा नबोली नहुने भएपछि मैले भनेँ, 'गल्ती के छ?'
बल्ल उनीहरूले ट्रक छाडे। लागियो काठमाडौं खाल्डोमा। कलंकीमा फेरि जाँच। त्यहाँ चाहिँ कागज हेरेर केही नबोली जानू भने ड्युटीवालाले।
'साहु आफैं आएकाले हाम्रो करिब भारू १२ सय जोगियो,' भन्दै थिए पिरजीत।
उनले जाने ठाउँ लेखेको कागज देखाए। त्यसमा साहुको नम्बर र ठेगाना रहेछ। मैले फोन गरेर ट्रक यहाँनिर छ भनिदिएँ।
पिरजीत र पिन्टुलाई आफ्नो असली परिचय दिएँ र ट्रकबाट झरेँ।
'कहीँ बाटो वा भन्सारमा कसैले दुःख दियो भने मलाई सम्पर्क गर्नु' भनेर हिँड्न लागेको थिएँ, पिरजीत ट्रकबाट उत्रिएर मलाई अँगालो हाले। एकअर्काको हात समाएर हामी छुट्टियौं।
एकछिनपछि माल साहुको फोन आयो। उनले पटकपटक भेट्ने इच्छा गरे। भेटिनँ। भेट्नुको अर्थै थिएन।
कानुनअनुसार भारतीय मालवाहक ट्रक (सवारी) ७२ घन्टाभित्र फर्किसक्नुपर्ने हो। तर यस्तो विषयमा ट्रक चालकलाई समेत जानकारी थिएन। अझ भन्सार तथा अन्तर्राष्ट्रिय कारोबार विषयमा जानकारी हुने कुरै भएन। श्रमजीवि जसको श्रमबाट दुनियाँ चलेको छ उसलाई आफ्नो कामबाहेक अन्त ध्यान हुँदो रहेनछ।
गज्जब हुन्छ कुनै मित्रता। करिब ६ महिनापछि मलाई पिरजीत सिंले मध्यप्रदेश, भारतबाट फोन गरे। उनी फेरि नेपाल आउन लागेका रहेछन्। तर यहाँ आएकाबारे पुन: फोन आएन। सम्पर्क पनि भएन।
एकपटक भारत जाँदा उनको नम्बरमा सम्पर्क गरेको थिएँ। सम्पर्कै भएन। पिरजीत सिं कहाँ होलान् अहिले? कुन ट्रक चलाइरहेका होलान्? त्यो 'युपी०९टी१०२३' नम्बरको ट्रक कसले चलाइरहेको होला? सहचालक पिन्टु चालक भए कि? कहाँ के गर्दै होलान्?
जहाँ भए पनि घर र मन्दिरजस्तै आफ्नो साधनलाई माया गर्ने र कामलाई सम्मान गर्ने श्रमिकलाई उच्चसम्मानसहित कोटी कोटी सम्झना!!
(हरिहर पौडेल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हुन्।)
ट्विटरः @Harihar029