ताराबगरबाट सबै शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षहरूसँग संयुक्त तस्वीर लिएर हात जोड्दै बिदा भयौं।
ताराबगरको एक हलमा विद्यालय सुधार सम्बन्धमा छलफल तथा अन्तरक्रियाको दुई दिने कार्यक्रम सकेर हामी छरिएका थियौं। छेवैमा भएको इलाका प्रहरी कार्यालयका सई र अन्य कर्मचारीलाई समेत हामी बाटो लाग्यौं भनी हात हल्लाउन बिर्सेनौं।
लावनका सहभागीहरू पनि १० ∕ १२ जना थिए। हामी पैदलयात्रीको हुल ठूलै देखिन्थ्यो। हाम्रो हुल सहरतारा र लावनका दुई पाखा जोड्ने जोर पुल तरेर भेरी नदीको दाँया किनारै किनार बगाइलाई पछ्याउँदै थियो।
विपरीत दिशाबाट पिठ्यूँका भारी फालेर उन्मत्त हिँडेका मुस्ताङ पुग्ने खच्चर घाँडोको चर्को आवाजसाथ धकेला धकेल गर्दै आउँदै थिए। हाम्रा साथीहरू को कता परेका थिए? हुलमुलमा पत्तै थिएन। हाम्रो ध्यान अब कसरी उज्यालोमै दुनै पुग्नेमा केन्द्रित थियो।
यस्तैमा आवाज सुनियो।
'सर! सर! ती बच्चाहरू विद्यालय आए,' आवाज थियो व्यासीका प्रधानाध्यापक खगराज शर्माको। मेरो ध्यान उहाँको कुरामा गयो।
उहाँ भन्दै हुनुहुन्थ्यो, 'हाम्रो विद्यालयमा अहिलेसम्म भर्ना नभएका ती बच्चा क्या! सरहरूले तिनका बाबुलाई सम्झाएर छाड्नुभएको थियो नि! हिजो बिहान आठ बजेतिर उनीहरूका बाबुले तीनै जनालाई नयाँ कपडा र टसी लगाएर विद्यालय लिएर आउनुभयो। नियमित पठाउने वचन दिँदै भर्ना गरेर जानुभयो।'
टसी शब्द मलाई नौलो थिएन। भोटका विद्यालय हेर्न वैशाख १५ गते तथा यात्राको चौथो दिन घर्याङबाट बिदा भएर हिँड्ने मौकामा विद्यालयका अध्यक्ष छोक्याप र उनकी श्रीमतीले मलाई भोटयात्रामा धेरै प्रयोग हुने खादा मात्र हैन टसी समेत लगाइदिएका थिए।
उनीहरूका अनुसार टसीले पूरै भोट घुम्दा सुरक्षा दिनेछ। उनीहरूको भनाइ पूरा भयो, भोट क्षेत्रमा त्यस्तो बिघ्न भएन। टसीले सुरक्षा मात्र दिएन भोट यात्राभर गन्ध पनि दियो। सत्रौं दिनमा दुनैमा नुहाउँदा पखालियो होला त्यो टसी। लगाउन पनि कम लगाएका थिए र।
विद्यार्थी अवस्थामा बालमैत्री शिक्षण सिकाइको तालिम नपाएका तत्कालीन शिक्षकले तान्दा-तान्दा पातला भएका र हाल सेता समेत भएका कनसुत्लीका पूरै रौं जाम भएका थिए। चाख्न नपाए पनि लगाउन पाएको त्यो टसीको प्रसंग फेरि निस्केको थियो।
त्यो परिचित टसी मात्र होइन लगाउनुको कारण पनि भुलेको थिइनँ। टसी लगाएर उनीहरू विद्यालय आए भन्ने कुराले निकै सन्तुष्टि दिलायो। नाके उकालो चढ्दै त्यस विद्यालयसम्म पुग्दा र पुगेपछिका घटनाको याद आयो।
भाद्र ३१ गतेको कुरा हो।
के के काम कहिले र कसले गर्ने, निरीक्षण तथा अनुगमन गर्न कुन कुन विद्यालय जाने भन्ने छलफलपछि स्रोतव्यक्ति कृष्णबहादुर भण्डारी र म डोल्पाको पूर्वी भेक तथा सहरतारा र लावनतर्फ जाने तय भयो। जाने दिन र समय आफ्नै समूहले तय गर्ने सल्लाह गरियो।
भण्डारीजी र मैले ३ र ४ गते तारावगरका वारिपारिका डाँडापाखामा पर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबीच छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम राखियो। अनुगमन मात्र गरेर कुनै अर्थ थिएन, देखिएका-भेटिएका कुरा सरोकारवालासँग छलफल गर्नु आवश्यक थियो। जसले गर्दा कमीकमजोरी सुधारको सम्भावना हुन्थ्यो। अनुगमनका लागि १ गते बिहानै दुनै छाड्ने तय भयो।
संयुक्त अनुगमनका लागि कर्णालीको शैक्षिक सुधारमा काम गर्दै आएको किर्डार्क संस्थाका साथीहरूसँग छलफल गरियो। उहाँहरू पनि जान तयार हुनुभयो। प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी शिक्षाको कार्यक्रममा उत्सुक हुने, आमन्त्रण गरेको कार्यक्रममा पूरा अवधि बस्ने, गाउँ घुम्न पनि मन पराउने हुनुहुन्छ। उहाँ पनि सँगै जानुभए अनुगमन थप प्रभावकारी हुथ्यो।
सहतारको दलितवस्तीको सगरमाथा प्रा.वि.को रकम हिनामिना सम्बन्धी उजुरी उहाँकोमा पनि पुगेको थियो। उहाँ हामीसँग गए छानाका लागि टिन किन्न रकम हात पारेर गाउँबाटै गायव भएका स्थानीय युवकलाई कारवाहीको दायरामा ल्याउन पनि सजिलो हुन्थ्यो।
यस्तै सोच्दै म सिडिओ क्वाटर पुगेँ। सिडिओ साहेबलाई भेटेर जाने प्रस्ताव राखे। उहाँ तयार हुनुभयो। उहाँलाई अनुगमन टोलीमा किर्डाकका साथी पनि जाने र रूटबारे जानकारी गराएँ। रिवाको विद्यालय भवनको अवस्था र रकम हिनामिनाबारे भने त्यहाँ केही भनिनँ। रिवा पुर्याउन पाए स्वतः सबै जानकारी हुने र समस्या समाधानमा सहयोग हुने मेरो सोचाइ थियो।
भोलिपल्ट बिहान पाँच बजे बाटो लाग्ने तय भयो। उहाँहरू, रावल हवलदारसँगै बाटो लाग्ने र हाम्रो कार्यालय नजिकको चोकमा पुगेर भेट्ने निश्चित गरियो। सिडिओसाहेब पनि जाँदै हुनुहुन्छ भन्ने कुरा अरूलाई पनि जानकारी गराएँ।
हाम्रो लक्ष्य सकेसम्म त्यस क्षेत्रका धेरै विद्यालय पुग्ने थियो। समय त म पनि ख्याल गर्थेँ, त्यसमा पनि हामीले गरेको एक कार्यक्रममा, सिडिओसाहेब तोकिएको समयमा पुग्नुभएको तर हाम्रो तयारी नपुगेकाले हामी लज्जित हुनुपरेको भुलेको थिइनँ।
यात्रा गर्न तोकिएको दिन बिहान करिब साढे चार बजेतिर स्रोतव्यक्ति भण्डारीजीलाई फोन गरेँ। उहाँ पनि उठेर तयारी गर्दै हुनुहुँदो रहेछ। मैले बिहानका नियमित काम सकेर झोला मिलाएँ, फाराम र केहटी अन्य समान झोलामा राखेँ। यात्राका लागि लठ्ठी पनि बोकेँ। भण्डारीजी तोकिएकै समयमा मेरो क्वाटरमा आउनुभयो।
ढोकाबाट निस्कन नपाउँदै फोनमा घण्टी बज्यो, सिडिओसाहेबको। उहाँ चोकमा आइसक्नुभएछ। हामी निस्कियौं। अँध्यारोमा टर्च बाल्दै हाम्रो टोली दुनैलाई छिचोल्दै उपल्लो दुनैतर्फ लाग्यो।
हामी भेरी नदीको उद्गम पछ्याउँदै उपल्लो दुनैवाट सहरतारा लावनको लक्ष्य बनाएर अगाडि बढ्यौं। तेर्सो बाटो। तल भेरी कालो वर्णमा, कुनै ठाउँमा हुत्तिँदै त कुनै ठाउँमा शान्त हुँदै, कतै फैलिँदै, कतै जोल्टिँदै अगाडि बढिरहेको थियो। भेरीले बनाएको गल्छी गहिरो छ। दुवैतर्फ अग्ला पहाड ठिंग उभिएका छन्। हाम्रो आकाश त्यति फराकिलो छैन। भदौ भएर होला पहाड हरिया, सुन्दर देखिन्थे। यिनै पहाड कात्तिक लागेपछि कुरुप देखिन्छन्। किर्डार्कका साथीले हस्याङफस्याङ गर्दै हामीलाई बाटोमा भेट्नुभयो। छ जना अगाडि बढ्यौं।
व्यासगार्ड र दुनैको झन्डै बीचतर्फ वैजिवारा नि.मा.वि. का गुरुङजी र वनठाडाका टेकनाथजी विपरीततर्फबाट आउँदै गर्दा जम्काभेट भयो। एकछिन गफगाफ गरियो। टेकनाथजी हाम्रो पहिलो लक्ष्य, भक्तिथापा प्रा.वि. वन्ठाडाका प्रधानाध्यापक। उहाँ शुक्रबार अफिसको काम भ्याउने र शनिबार दुनै घर बस्ने योजनाले बिहानै हिँड्नुभएको रहेछ। उहाँ हामीसँगै जाने हुनुभयो।
भेरी नि.मा.वि. लावनका शिक्षक गुरुङजी दुनैबाट चामल ढुवानी गर्न आउनुभएको रहेछ। उहाँ भने पछाडि याक आउँदै गरेकाले हामीसँग जान पाउनुभएन।
हामी व्यासगार्ड पुगेर एकछिन विश्राम गर्यौं। अनि ताराबगर लैजान पर्ने सामानको प्याक त्यहीँ बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको घरमा राख्न दिएर उकालो लाग्यौं।
हुन त म लावन र सहरताराका प्रायः विद्यालय पहिला पनि पुगेको थिएँ। वनठाडा, व्यासी र वैजिवारामा भने पुग्न पाएको थिइनँ। यी विद्यालय पुग्न निकै उकालो चढ्नुपर्छ भन्ने सुनेको मात्र थिएँ। तर कल्पना गरेभन्दा पनि बढी उकालो रहेछ। नाके उकालो।
हाम्रो टोलीमा टेकनाथजी थपिएपछि सात जना थियौं। उकालोमा कठिन हुनु स्वभाविकै थियो, तर हिँड्न नसकेर कोही पछाडि परेन। जति उकालो चढ्यो त्यति स्याँस्याँ-फ्याँफ्याँ हुने र थाक्ने त हुने नै भयो। तर यो उकालेसँगै फराकिलो क्षितिज र सुन्दर दृश्यले मन बहलाउँदै थियो।
व्यासगार्डमा पहाडबाट हुत्तिँदै खसेका छहरा, व्यासगार्डको नागवेली बगाइसँगै भेरीमा मिलन, माथिमाथि कुहिरो, वारिपारि हरियाली, बारीमा लहलहाउँदो फापर र बालामा झुलेको चिनो खेती। मन नरमाउने कुरै भएन।
उकालोको मध्यभाग पुगेपछि विश्रामका लागि वरपीपलबिनाको सामान्य चौतारोजस्तो रहेछ। पुग्न नपाउँदै पछाडि बोकेका झोला फ्याँकेर थच्याकथुचक बस्यौं। उकालोमा बढेको सास सामान्य भइपछि झोलामा भएका खानेकुरा दालमोठ, भुजा, चिउरा निकाल्यौं। आ-आफ्ना झोलाको कोखामा राखेका पानीका बोतलबाट थोरै थोरै पानी र भुजा खएर हाम्रो टोली पुनः उकालो लाग्यो।
अग्लो खरघाँसको झाडीसहितको साँघुरो, उकालो बाटो हुँदै केही फराकिलो बाटो पुगियो। त्यो गाउँको नजिक रहेछ। चिनोको बीचबीचबाट तेर्पाए तेर्पाए उकालो लागेपछि पुनः फापरबारी आयो। चिनो त झण्डै धानबालीको बीचमा हुने समाजस्तो देखिन्थ्यो। सबै एकै रङको थियो। फापर भने भिन्न भिन्न रङमा हुँदो रहेछ, काहीँ हरियो, काहीँ रातो।
फापरबारी छिचोलिसकेपछि छोर्केन देखियो। कुनै पनि गाउँमा जाने क्रममा छोर्केन आयो भने गाउँनजिकै पुगियो भन्ने अनुमान लागाउन सजिलै सकिन्थ्यो। हामी पुग्ने गाउँ त अझै देखिएको थिएन। पारि माथि पाखोमा चिलपारा भन्ने गाउँ कुहिरोले छोपेर अलिअलि देखिएको थियो। उकालो चढ्दै जाँदा हाम्रो लक्ष्य बनेको वनठाडा गाँउ पनि देखियो।
जति हामी गाउँनजिक जादै थियौं, त्यति कुकुरको आवाज चर्को, हिलो र फोहोर बाक्लो हुँदै थियो। गाउँको गेट तथा गाउँ पस्ने साँघुरो गल्लीमा कुकुर बाँधिएको रहेछ। कुकुरबाट जोगिएर छिर्न पुग्ने फराकिलो बाटो थिएन। भोटे कुकुर न हो, निकै मोटो र सिंहको जस्तो रौं र राताराता आँखा। देख्दै अजंगको। हामी पुगेको देखेर सोह्र-सत्र वर्षे एक युवतीले कुकुरको टाउको समाइदिइन्।
नजिक नजिक जोडिएका घरका च्याप्टा माटे छानामा उभिएर गाउका मान्छेले हामीलाई हेरिरहेका थिए। हाम्रो लक्ष्य भने विद्यालय नै थियो। गाउँको एक घरमा झोला राख्न दिएर हामी विद्यालयतिर लाग्यौं।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र नजिक-नजिकका अभिभावक समेतलाई विद्यालयमा बोलाउन लगायौं। विद्यालय पनि गाउँबाट झन्डै दस मिनेट दुरीमा रहेछ। पुगेपछि पहिलो अनुगमन त्यसै वर्ष परेको रकमबाट निर्मित नयाँ विद्यालय भवनको गरियो। भवन राम्रो बनेको रहेछ। हामीसँगै भएका विद्यालयका प्रधानाध्यापक टेकनाथजीले विद्यालयबारे वर्णन गर्दै जानुभयो।
विद्यालयका अभिलेख र जिन्सी सामग्री सबै त्यही नयाँ भवनको एक कोठामा राखिएको रहेछ। कार्यालयका लागि बेग्लै कोठा पुगेको रहेनछ। सबै विद्यार्थी र शिक्षकलाई त्यहीँ बोलाइयो। विद्यालयबारे छलफल गरियो। शिक्षकहरूका भनाइअनुसार त्यस विद्यालयको सेवा क्षेत्रमा दलित वस्ती रहेछ।
दलित समुदायका विद्यार्थी नियमित नहुने, बोलाएको अवस्थामा अभिभावक नआउने समस्या रहेछ। विद्यार्थीलाई पनि उनीहरूका समस्या भन्न भनियो। जति प्रेरित गरे पनि उनीहरु डरले हो वा समस्या नभएर हो, खास समस्या राखेनन्।छलफलमा पनि भाग लिएनन्।
केहीबेर छलफल सकेर हामी पुनः गाउँतिर लाग्यौं। विद्यालयमा समुदायका व्यक्तिहरू र अभिभावक राखेर विद्यालयबारे छलफल गर्ने योजना सफल हुन सकेन। सबै गाउँलेलाई खबर गर्दा पनि नआएको बरू आफ्नै काममा लागेका शिक्षकहरूले सुनाउनुभयो।
गाउँको बाटो निकै हिलो, छेउछाउमा जतासुकै मान्छेको दिसा, हिँड्दा कतै हिलोमा लर्किने हो कि दिसामा लडिने भन्ने डर। गाउँ पुगेर खाना पाक्दासम्म केही समय पर्खनुपर्ने भयो। समुदायका व्यक्ति त्यहाँ आएमा छोटो समय भए पनि छलफल गर्न पाइने भनेर पुनः बोलाउन आग्रह गर्यौं। सफल भएन।
एक-दुई युवक र व्यवस्थापन समितिका दुई पदाधिकारीसँग छलफल गरियो। खाना तयार भएपछि हतारहतार खाएर हामी पुनः व्यासीतर्फको उकालो लाग्यौं।
नाम व्यासी भएकाले पुग्न ओरालो झर्नु पर्ला भन्ने कल्पना गरेको, झनै माथि रहेछ। सिमसिम पानी, पोथ्रायन वनको उकालो बाटो, छेउछाउको झाडीले पाइन्ट लुछुप्पै भिजाउने। वारिपारि डाँडा कुहिरोले ढाकेर केही नदेखिने। यात्रा रमाइलो हुन सकेन। व्यासी विद्यालय पुग्दा पनि पानीले छाडेन।
विद्यालय पुगेर मात्र छाता खोलियो। सरसर्ती अवलोकनपछि विद्यालयको एक कोठामा जम्मा भयौं। विद्यार्थी पनि त्यही कोठामा थिए। प्रधानाध्यापकलाई व्यवस्थापन समितिका पदाधिकारी र अभभिभावकलाई बोलाउन अनुरोध गरिसकेका थियौं।
समिति अध्यक्ष र महिला सदस्य तथा त्यस गाउँकी जानेबुझेकी युवती पासाङ विद्यालयमा सबभन्दा पहिला उपस्थित भए। अन्य अभिभावक पनि आए। समिति अध्यक्ष र महिला सदस्य पासाङ सचेत रहेछन्। शिक्षा र विद्यालयबारे चासो राख्दा रहेछन्।
चिया मगायौं, पानीले चिसिएको शरीर केही तातो भयो। किर्डार्कका साथीहरूले साना विद्यार्थीलाई आ-आफ्ना कक्षाकोठामा विभिन्न खेल खेलाए। हामी अभिभावकको प्रतीक्षा गर्दै शिक्षकहरूसँग विद्यालयबारे छलफल गर्न थाल्यौं।
भण्डारीजी क्लास रिपोर्ट र अन्य अभिलेख हेर्न व्यस्त हुनुभयो। वनठाडाको विद्यालयमा जस्तो अभिभावक नजुट्ने समस्या त्यहाँ भएन। अभिभावकसँग विद्यालय नआएका बालबालिकालाई कसरी ल्याउने तथा भर्ना गर्ने, नियमित गर्ने, अभिभावक आलोपालो विद्यालयमा आएर शिक्षक र विद्यार्थीलाई परेका समस्या बुझ्ने, विद्यालयले आर्थिक पारदर्शीता गर्ने र सबै अभिभावक मिलेर भौतिक अवस्था सुधार गर्ने जस्ता विषयमा छलफल गरियो।
छलफल क्रममा गाउँका जम्मा तीन जना बालबालिका विद्यालय नआएको यकिन गरियो। अभिभावकहरूले तीन जनाबाहेक सबै आएका कुरा गर्नुभयो।
ती तीन जनालाई विद्यालय ल्याउन विभिन्न प्रयास गरेको तर सफल हुन नसकेको कुरा प्रधानाध्यापक खगराजले बताउनुभयो। हाम्रो छलफल हुँदै गर्दा छोराछोरी नपठाएका अभिभावक पनि आइपुग्नुभयो।
उहाँलाई म, सिडिओसाहेब, किडार्कका साथीले मात्र होइन, हवलदारसाहेबले समेतले विद्यालय पठाउन सम्झाउने काम गर्यौं। हुन त अभिभावको समस्या पनि जटिल थियो।
उहाँ भन्दै हुनुहुन्थ्यो, 'घरमा पानी कसले बोक्छ? पानी नबोके रक्सी बन्दैन। रक्सी नबने केले निर्वाह गर्ने?'
त्यसको उत्तर हामीसँग थिएन। तर पनि आ-आफ्नै शैलीले विद्यालय पठाउन अनुरोध गर्यौं। पढ-लेख नगरे बालबालिकालाई जिउन कठिन हुने बतायौं। सिडियोसाहेबले त नपढाए कानुन विपरीत हुन्छ भन्नुभयो। किर्डार्कका साथीहरूले नजिकै गएर फोटो खिच्नुभयो र नाम लिएर बालबालिकालाई विद्यालय पठाउन अनुरोध गर्नुभयो।
हामीसँगै गएका हवलदाररसाहेबले पालनपोषण, शिक्षा-दीक्षा नदिनेले किन जन्माउने, जन्माउनेले पालनपोषण र शिक्षा-दीक्षा दिनुपर्छ भन्दै अलि कडा शब्द समेत प्रयोग गर्नुभयो।
खै कसको कुराले प्रभाव पार्यो कुन्नि? उहाँ आफ्ना बच्चालाई भोलिपल्टदेखि नै विद्यालय पठाउन तयार हुनुभयो। ती अभिभावकले आफ्ना बच्चालाई विद्यालय भर्ना गर्नेमा हामी विश्वस्त हुन भने सकेका थिएनौं। करिब तीन घन्टा त्यो विद्यालयमा बसेपछि छाता ओढेर, हाम्रो टोली बैजिवारातिर लागेका थियो।
यस अवधिमा आठ विद्यालय पुगेर धेरै अभिभावकलाई भेटेका थियौं। विद्यालयका समस्या सम्बन्धमा छलफल गरेका थियौं।
अनि पछि व्यासीका प्रधानाध्यापक खगराज शर्माको कुराले त्यो चार दिनको पैदल यात्रा पूर्ण सदुपयोग भएको महशस भयो।
ती अभिभावकका छोराछोरी विद्यालय भर्ना भएछन्। शुभकार्य र सफलता कामना गर्दै कान र निधारको छेउमा लगाइने चौंरी गाईको दूधबाट बनेको घ्यु र टसी लगाएर उनीहरू विद्यालय आए। छोरीहरू धनी, जुना र छोरा प्याम्बालाई बुवाले नियमित विद्यालय पठाउने प्रतिबद्धता गरेको सुन्दा मनै आनन्द भयो।