सिनामंगलस्थित बागमतीको किनार! किनारमै बनेको सानो झुपडी। झुपडीमा बाहिर चिया समोसा, भित्र लोकल दारु भटमास।
यही भेटिन्थे ऊ बेलाका कमरेड रणजंग। हामी कमरेड शब्दलाई साइलेन्ट गरेर रनेदाइ मात्र भन्थ्यौं।
छुस्स दाह्री, अलि लामै जगल्टे कपाल अनि खुट्टामा गोल्डस्टारको नीलो जुत्ता। यो उनको हुलिया नै बनेको थियो।
लगातारको छ महिने भेटघाटमा न उनले दाह्री काटे, न त कपाल नै। जुत्तासम्म उहीँ थियो गोल्डस्टार।
चियाको सुर्को र चुरोटको धुँवासँगै हाम्रो परिचय भएको थियो। उनी कडासँग हात मिलाउँथे, अनि सँगै बसालेर चिया सोध्दथे।
चुरोटका पारखी नै थिए उनी। एक कप चिया सकिँदा दुई खिल्ली चुरोट खरानी भैसक्थे। धेरै पटक उनले चियाको साथमा चुरोटको अफर मलाई पनि गरे। तर मैले चियामै चित्त बुझाएँ, चुरोट तान्न सकिएन।
रनेदाइ उमेरले अलि ठूला भए पनि हाम्रो मित्रता चिया पसलबाट सुरू भएर कोठासम्मै आइपुग्यो। उनी हरेक दिन चिया पसलमा भेटिन्थे भने हप्तामा एक दुई पटक हाम्रै कोठामा बाँस बस्न आइपुग्थे।
फोनको जमाना थिएन, खबरै नगरी उनी कोठामा टुपुल्किन्थे। म खाना बनाउँथें, उनी चाहिँ राजनीतिक विश्लेषण गर्न थाल्थे।
पुरानो घर रोल्पा भए पनि रनेदाइको परिवार दाङ झरेको भर्खरै रहेछ। तर रनेदाइलाई म दाङ हुँदा चिन्दिनथें। चिनाउने थलो उही सिनामंगलको चिया पसल नै थियो।
कम्युनिष्टका गफै मीठा! उनी विश्व कम्युनिष्ट आन्दोलनका गफ सुनाउँथे। माओका जीवनी सुनाउँथे। भियतनाम र उत्तर कोरियाका बारेमा आफैं पुगेर आएजस्तै बयान गर्थे, म ट्वा परेर सुनिरहन्थें।
उनी फोहोरी थिए, नुहाउन निक्कै अल्छी गर्ने। तर पढ्न भने जाँगरिला। नुहाउने सफाचट हुने समयमा किताब पढेर बस्थे। स्कुलका किताब पढेका भए उनी क्लास फर्स्ट नै हुन्थे होला, तर उनले कम्युनिष्टसम्बन्धी किताब पढ्थे, त्यसैले कमरेड रणजंग भएका थिए।
देशमा संकटकाल थियो, दाङ घर हो भनेर काठमाडौंमा कोठा पाउनसम्म मुश्किल पर्ने जमाना थियो। मेरो कोठामा जिउँदै माओवादी आएर बस्ने कुरा घरबेटीले थाहा पाएनन्, पाएको भए कि त्यो कोठा रहँदैनथ्यो, कि त्यो बेला म रहँदैनथें।
उनी सर्वहारा वर्गको मुक्तिको निम्ति हतियार उठाएका गफ चुट्थे। म गर्वले प्रफुल्लित हुन्थें, किनकी मैले माओवादीलाई चिनेको थिएँ। र म पनि कम्युनिष्टप्रति झुकाव राख्थें।
त्यो जमाना यस्तो जमाना थियो कि माओवादीभित्र पहुँच हुनु पनि इज्जतकै कुरा हुन्थ्यो। सुरक्षाफौजका तर्फबाट डर भएता पनि कमरेडहरूसँगको बसउठका गफ साथीभाइलाई सुनाउँदा सबै छक्क पर्थे।
चन्दा आतंकमा परेकालाई ‘मिलाइदिम्ला’ र अपहरणमा परेकालाई ‘छुटाइदिम्ला’ भन्ने आश्वासन त कति दिइयो कति। यहीबेला हुन्थ्यो इज्जत। अरूबेला त कहिले मारिने हो भन्ने डर।
रनेदाइ काठमाडौं जिल्ला हेर्ने सामान्य कार्यकर्ता थिए। उनी डिसिएम थिए होला तर त्योभन्दा माथि उनी पक्कै थिएनन्। तर उनको टाठबाँठ केन्द्रीय नेताभन्दा कम थिएन।
इन्जिनियरिङ पढ्दै गरेको मलाई उनी हतोत्साहित बनाउँदै भन्थे ‘ह्याँ ! बुर्जुवा शिक्षा पढेर क्यै हुन्न, हतियार उठाऊ ! व्यवस्थासँग लड। भोलिको भविष्य सुनौलो छ।’
म हाँसिदिन्थें मात्र, विरोध गर्ने जमाना कहाँ थियो र ?
उनी मलाई उचाल्थे, फकाउँथे। भन्थे -पढेलेखेको मान्छे, समाज परिवर्तन गर्नतिर पो लाग्ने हो। कहाँ यो बुर्जुवा शिक्षा पढेर बसेको यार ?
लोभ पनि उस्तै दिन्थे, लोभ्याउँदै भन्थे -तिमी हाम्रो विद्यार्थी संगठनको केन्द्रीय कमिटीमा बस्न चाहन्छौ भने आजै कुरा अगाडि बढाउछु ?
विरोध गर्ने कुरा भएन, हाँसेरै टारिदिन्थें।
हाम्रो कोठामा उनको बाक्लै उपस्थिति हुन थालेपछि मभित्र पनि डर उत्पन्न हुन थाल्यो। माओसम्बन्धी पुस्तक कोठामा छरपस्ट हुन्थे, जनयुद्ध समर्थित पत्रिका जनादेश साप्ताहिक खाट मुन्तिर कोचिन्थे।
बेलुका आउँछु भनेर गएका रनेदाइ हप्तौ आउँदैनथे। उनी नआउँदा झन् बढी डर। उस्तै तनाव । पक्राउ परेर सुराकी गर्नेहरूको कमी थिएन त्यो बेला। सुरक्षा फौजको नजरमा दाङको मान्छे भनेपछि त्यसै टार्गेट।
‘कहाँ बस्थिस् , कस्ले खुवायो ? खै दस्ताबेज लगायतका कागज !’भनेर सोध्न सुरक्षाफौजले रनेदाइलाई दुई झापट कन्चटमा लगायो भने सुरक्षा फौजकै गाडी चढेर कोठामा आइपुग्ने उनको अनुहार थियो, हेर्दै टिठलाग्दो।
त्यस्ता डरलाग्ने दिनहरू धेरै आए। सम्पर्कमा आउँदा पनि डर, नआउँदा पनि उस्तै डर। तर रनेदाइ सम्पर्कमा आइरहे।
मेरो पढाइ पूरा हुँदै थियो, उनी काठमाडौं मै थिए। राजनीतिक माहोल बदलिँदै थियो। देशमा शान्ति स्थापनार्थ शान्ति सम्झौता हुने हल्ला चल्यो।
युद्धविराम भयो, यही मौकामा दाङ जाने रहर पलायो। रनेदाइ पनि यही मौकामा घर जाने योजनामा रहेछन्। नाइट चढेर दाङ हिँडियो।
म लमही झरें, उनी घोराही हान्निएँ। घरमा बासँग रनेदाइको बारेमा गफ भए। रनेदाइका बा मेरा बाका पुराना मित्र रहेछन्, कुरा खुल्दै गए।
घोराहीदेखि पूर्व-उत्तर पहाडी गाविसका थिए उनी। दाङ जिल्लामै पनि दुर्गम क्षेत्रको सूचीमा सूचीकृत थियो उनको गाविस।
रनेदाइले कक्षा दस पढ्दै गर्दा बालाई कम्युनिष्ट पार्टीप्रति झुकाव राखेकै कारण सुरक्षाफौजले दु:ख दिन थालेपछि उनी माओवादी बनेका रे।
उनले यी सबै कुरा नखोले पनि मैले मेरै बाबाट उनको अतित र वर्तमान जान्ने मौका पाएँ।
बचेको पढाइ पूरा गर्न म काठमाडौं फर्किएँ। रनेदाइसँग सम्पर्क भएन।
उनी गाउँ गएदेखि उनको र मेरो सम्पर्क भएन। सम्पर्कमा नहुँदा लाग्ने डर पनि त्यति सारो लागेन। किनकी देशमा शान्ति सम्झौता हुँदै थियो। १२ बुँदे सहमतिमा हस्ताक्षर हुनेकुरा संचार माध्यमहरूले बताइरहेका थिए।
अब न जनतालाई माओवादीसँग डर, न माओवादीलाई सुरक्षाफौजबाट डर। सबैतिर खुसियाली नै खुसियाली।
देशमा राजनीतिक माहोल फेरियो। युद्धरत पक्षले सरकार बनायो। जनयुद्धका सुप्रिमो कमान्डर देशका प्रधानमन्त्री बने। हतियार क्यान्टोनमेन्टमा थन्किए, सेना ब्यारेकमा सुत्न थाले।
राजनीतिक उथलपुथल सँगै रनेदाइजस्ता राता मान्छेहरू भेटिन छाडे। कोही खाडी छिरे , कोही सरकारी सुरक्षाफौजमै भर्ती भए।
म पढाइपछि जागिरमै व्यस्त रहें। दाङ घरमा फर्कन दसैं कुर्नु पर्दथ्यो।
शान्ति सम्झौता दस वर्ष पछाडि दाङ जिल्ला प्रशासन कार्यालयमा पाइला टेके। उद्धेश्य पासपोर्ट बनाउनु थियो। विदेशिनु मेरा लागि बाध्यता हुँदै थियो। रहरले को नै विदेशिन्छ र ?
जिल्ला प्रशासन कार्यालयको प्रतीक्षालयमा बसेका एक जना सुकिला मुकिला वरिष्ठ व्यक्तिले मलाई इशारा गर्दै बोलाए ‘ओ दिपक भाइ! यता आउनुस् यता।’ कहिले नदेखेको मान्छे थिए उनी। म उसै पनि दाङतिरका मान्छेलाई खास्सै चिन्दिनँ। आफू देउखुरीको परेर होला। त्यसमाथि ती मोटा, वरिष्ठ त मेरा अपरिचित नै थिए।
मैले मेरो दाहिने हात छातीमा राख्दै सोधे- म ?
उनी उठेर म भएतिर आएँ, गुड गर्नका लागि हात पसारें। अनि उस्तै गरी कडक हात मिलाए र भने- म रणजंग! चिन्नुभएन ?
म आँ गरिरहे , आँखा उत्तानो परिरहे। उनको भुडीमा दुई घुस लाउँदै भने- कमरेड रनेदाइ ?
उनी हाँसे, मेरो काधमा हात राखेर भने-के कामले आएको प्रशासनमा ? अनि कता छ बसाइ ?
मैले उनीसँग छुट्टिएपछिका सबै बेलिविस्तार लगाएँ।
उनलाई सोधे- तपाईंको राजनीतिक यात्रा कता चल्दैछ त ?
किनकी यतिबेला माओवादी आधा दर्जन चिरामा विभाजित थियो।
उनले हाँस्दै भने- राजनीति सकियो। राजनीतिले बाँच्न सकिएन। अहिले व्यवसाय गर्छु।
कम्युनिष्टका दार्शनिक नै लाग्ने उनले राजनीति छाडे भन्दा पत्यार लागेन, फेरि सोधें- चटक्कै छाडनु भो त राजनीति ?
उनले अलिकति अगाडि बढाउँदै भने- वैद्यजीको पार्टीमा केन्द्रीय सदस्य छु, ध्यान जति पार्टीमा भन्दा व्यवसायमा छ।
‘अनि व्यवसाय चाहिँ के छ दाइ ?’, मैले जान्न चाहें।
उनले गर्वका साथ भने-घरजग्गा किनबेचको कारोबार हो भाइ। अलिकति जग्गा प्लटिङ गरेको छु।
मैले थाहा पाइहालें, उनी कमरेडबाट जग्गा दलेमा परिमार्जित भएका रहेछन्।
‘आफ्नै जग्गा ?’ मैले प्लटिङको जग्गा बारेमा बुझ्न खोजें।
‘होइन! जिम्दारहरूको जग्गा लिएको थिएँ, त्यसैलाई प्लटिङ गरेको।,’ उनले जग्गा साहुका बारेमा बताए।
उतिबेला जिम्दारहरूका जग्गा रातो झण्डा गाडेर कब्जा गरिन्थ्यो। ती कब्जा गरिएका जग्गा परिमार्जित कमरेडहरूले सस्तोमा फुत्काउँदै प्लटिङ गरेर करोडौं कमाउने भैसकेछन्।
छुस्स दाह्रीलाई प्लटिङ गरेर फ्रेन्च कट बनाएका थिए, कपाल ठ्याक्कै भुवन केसी स्टाइलमा काटेका थिए। खुट्टामा गोल्डस्टार थिएन यतिबेला। पहिरन अनुसारको पार्टीसुज टल्किरहेको थियो।
नजिकै पार्किङमा रोकिएको स्कारपियोतर्फ डोर्याउँदै उनले भने- हिँड्नुस ! खाजा खान जाऊ, धेरैपछि भेट भएको छ।
म अचम्म परें, उनी गाडी चढ्ने हैसियतका रहेछन्।
धनीको धन कब्जा गरेर सर्वहारालाई बाँड्ने भाषण दिएर राजनीतिमा अगाडि बढेका रनेदाइ यतिबेला आफैं धनी भैसकेका थिए।
पढाइलाई बुर्जुवा शिक्षा भन्दै हेप्ने अनि स्कुल बन्द गराउँदै हिँडने रनेदाइले गाउँमा बोर्डिङ स्कुल सञ्चालन गरेको सुनाए।
खाजामा सुकुटी र बियर मगाउँदै उनले भने-दुइटा गिलास पनि है भाइ !
मैले हाँस्दै भने- म पिउँदिनँ दाइ !
उनी मुस्काउँदै भने-कहिल्यै नपिएको ?
मैले अतीत सम्झँदै भने- एक पटक साथीसँग पिउन बसेको, तपाईंकै कार्यकर्ताले उठबस गराएर छाडेका थिए। त्यसपछि पिइएन दाइ!
उनी दले मात्र होइन, दरुवा पनि भएका रहेछन्। भुँडी देख्दै चाल पाइकेको थिएँ।
उनी युद्धकाल पछाडिका वर्षहरू सम्झदै बताउँदै थिए। म भने सुकुटी चपाउँदै मनमनै सोच्न थालें- वाह रे कमरेड, रोडबाट एक्कासि करोडमा!
भन्न मन धेरै थियो तर भनिएन। ऊबेला हतियारको डरले भनिएन! अहिले धनको डरले भनिएन।
जय होस् कमरेड भन्दै बिदा भइयो।