अफिस पुग्ने हतारसँगै हुइँकिरहेको मेरो बाइक काठमाडौंको नियमित जामले लगाएको ब्रेकसँगै निराश भएको मेरो मनलाई नक्साल नागपोखरीभित्र प्रेमालाप गरिरहेको एक युगल जोडीको दृश्यले ध्यानाकर्षण गर्यो।
स्कुल ड्रेसमै रहेका ती किशोर-किशोरीलाई देख्दा मलाई आफ्नो स्कुल समयको याद आयो।
बिहानी कक्षाको समाप्तिसँगै भोकले व्याकुल हामीलाई चाँडो घर पुग्ने होडमा मूलबाटो छाडी खेतै-खेत दौडेर घर पुगी आमाले पकाएको मीठो खानाको रसस्वादन गर्न हतार हुन्थ्यो भने आजको पुस्तालाई घरमा तताएर राखिदिएको खाना सेलाउला भन्ने भन्दा पनि आफ्नो शारीरिक सरगर्मी सेलाउनेतर्फ बढी चिन्तित भएझैं लाग्दछ।
हाम्रो बेलामा स्कुल समाप्तिपछि स्कुल ड्रेसमै बाहिर देखिनु र घर समयमा नपुग्नु जस्ता क्रियाकलाप सिधै अनुशासनसँग जोडिएको हुन्थ्यो।
त्यसमाथि स्कुलकै कुनै शिक्षकले देखिहाले भने भोलिपल्ट आउने नतिजाको तीतो पूर्वानुमानले मन नै बेचैन बनाइरहन्थ्यो भने किशोरकिशोरी सँगै हिँड्न त के, बोल्न समेत प्राय:लाई फलामको चिउरा चपाएझैं हुन्थ्यो।
ऊबेला हामीबाट हुने स-साना गल्तीलाई सच्याउन र सम्झाउन समाजका हरेक अग्रजहरूलाई दायित्व बोधले बाँधेको हुन्थ्यो तर आज यस्ता दृश्य देखे पनि नदेखेझैं गरी हिँड्नुपर्ने हाम्रो बाध्यता छ।
सायद स्वतन्त्रता प्राप्तिका लागि हाम्रा पूर्वजहरूले गरेको संघर्षको प्रतिफल यही हो कि। यस्तै फ्ल्यासब्याकमा हराइरहेको मलाई पछाडिको गाडीले दिएको हर्नले झस्काएसँगै जाम खुलिसकेको संकेत पाएर अघि बढें।
केही मिनेटको रफ्तारपछि पुनःअर्को अपेक्षित जामले दिक्दारी मानिरहेको मनलाई नारायण चौर छेउछाउका क्याफेहरूको दृश्यले फेरि सोचमग्न बनाइदियो।
स्कुल, कलेजको पोशाकमा रहेका केही युवाहरूको जमात चियाको चुस्की र चुरोटको सर्कोमा रमाइरहेको देख्दा आफ्नो र आजको पुस्ताबीच भएको विशाल अन्तरसहितको वास्तविकता आँखासामु नाचिरहेको थियो।
यस्तो लाग्छ आजको पुस्तालाई आफ्नो साथीसंगति माझ चुरोट खानु भनेको एक प्रतिष्ठाको विषय हो, जसमा अभ्यस्त हुन नसक्नु समयानुकूल नहुन र पिछडिनु जस्तै हो सायद उनीहरूका लागि।
सडकजाम खुलेर अफिस पुगिसक्दा पनि बाटोमा देखिएका दृश्यहरूबाट सिर्जित मेरो दिमागको जाम भने अझै हटेको थिएन।
अहिलेको पुस्तामा देखिएको असामान्य परिवर्तन र उनीहरूले मारेको फड्कोलाई केलाउँदा हाम्रो पुस्तामा बढी नैतिकता, अनुशासन र सामाजिक संस्कार रहेको कुराले आफूप्रति एक किसिमको गर्व समेत महशुस भइरहेको थियो।
यस्तै सोचमग्न ध्यानलाई मोबाइलको मेसेन्जरमा आएको एक मेसेजले भंग गर्यो। मेसेन्जर हेर्दा एकजना मिल्ने साथीले उसको भाइले भर्खरै सांगीतिक बजारमा निकालेको नयाँ म्युजिक भिडिओको लिंक पठाएको रहेछ अत्यधिक सेयरको अनुरोधसहित। हत्तपत्त आफूलाई मन नपरेको कुनै पनि विषयवस्तु सामाजिक सञ्जाल र साथीइको वृत्तमा सेयर नगरिहाल्ने बानीका कारण पहिला लिंक खोलेर हेर्नपट्टि नै लागें।
भर्खरै अफिस आउँदा देखेको दृश्यहरूसँग ठ्याक्कै मेल खाने प्लस टु जेनेरेसनकै गतिविधिहरू समेटिएको विषयवस्तु र सस्ता शब्दहरूको संयोजनमा बनेको भिडिओ हेर्दा समाज संगीतबाट प्रभावित छ कि संगीत समाजबाट ?
यो प्रश्नले सोचमग्न बनाइरह्यो मलाई।
समग्रमा भन्नुपर्दा भाइको सृजना पछिल्लो समयमा सांगीतिक क्षेत्रमा भित्रिएको विसंगतिको एक उदाहरण जस्तै लाग्यो।
उक्त भिडिओ हेरिसक्दा ‘गाजलु ती ठूला-ठूला आँखा’, ‘यति चोखो यति मीठो दिउँला तिम्लाई माया’ जस्ता सुगम संगीत र ‘देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको आँउछ अझै झझल्को...’ जस्ता लोकपप गीतहरू सुन्दै रमाउने आफ्नो पुस्ताको किशोरावस्थालाई झलझली सम्झन पुगें।
हुन पनि साँच्चै कति अर्थपूर्ण र सालिन हुन्थे ती बेलाका सांगीतिक सृजनाहरू।
हुन त समयसँगै हरेक क्षेत्रमा परिवर्तन आवश्यक छ र हुनु पनि पर्दछ, तर सिर्जना भनेको क्षणिक ध्यानाकर्षण मात्र गर्नेभन्दा पनि मनलाई मन्त्रमुग्ध पार्ने पो हुनुपर्दछ भन्ने मलाई लाग्दछ।
संगीतको जादूबाट सम्भवतः कोही पनि अछुतो रहन नसक्ने यो विशाल क्षेत्रमा जो कोही पनि स्रष्टा वा सर्जक बन्न नसक्ने तीतोसत्यका बाबजुद भाइरलको लोभमा देखिएको विकृतिप्रति सम्बन्धित सबैको ध्यान जान एकदमै जरूरी छ।
हिजो आज संगीत सुन्ने भन्दा पनि हेर्ने प्रणालीको विकाससँगै गीत-संगीतमा देखिएको सस्तो शब्द/संगीत र उच्छृङ्खल दृश्यहरूले बढी स्थान पाइरहेको भान हुन्छ।
जसले नजानिँदो गरी अहिलेको युवापुस्तामा मनोवैज्ञानिक असर पारिरहेको छ भने सामाजिक विसंगतिलाई समेत बढावा दिइरहेको जस्तो लाग्दछ।
‘घरमा कोही नहुँदा एकछिन तिम्लाई बोलाउँला...अंगालोमा बेरेर माया गरौंला’ जस्ता गीतले विशेषगरी युवापुस्तालाई किशोरावस्थामा हुनसक्ने गल्ती गर्नतर्फ प्रेरित गरिरहेको देखिन्छ भने ‘चुइगम पड्काउने.....दारू सड्काउने’ ले मापसे गरी चोकमा बसेर जिब्रो पड्काउँदै जिस्काएर बस्न प्रेरित गरिरहेको जस्तो लाग्दछ।
कतै यस्तै गीत-संगीत र म्युजिक भिडिओको प्रभावले त होइन समाजको युवापुस्ता यस्ता गतिविधिहरूमा हिजोआज निकै अभ्यस्त भइरहेको पाइन्छ।
जसबाट समाजमा थुप्रै प्रकारका विसंगति र सामाजिक हिंसाका उदाहरणहरूले दैनिकजसो प्रसय पाइरहेको देखिन्छ र यस्ता विकृतिमा प्राय:जसो युवापुस्ताहरू नै जेलिएको पाइन्छ।
त्यसैले कतै त्यस्ता गीत-संगीतले युवा मनोविज्ञानमा अप्रत्यक्ष असर पारिरहेको त छैन? गम्भीर भएर सोच्नुपर्दछ कि!
त्यसो त गीत-संगीत र म्युजिक भिडिओ मात्र नभएर चलचित्रहरू समेत यसबाट अछुतो भने छैनन्।
स्कुल-कलेज पढ्दै प्रेममा पर्नु, अनमेल स्तर हुनु, जुन कुरा अभिभावकलाई मन नपर्नु, बुवा-आमालाई प्रेमको बाधक सम्झेर प्रेम गर्ने जोडीले भागेर विवाह गर्ने अपरिपक्क निर्णय लिने जस्ता साझा दृश्यहरू धेरैजसो म्युजिक भिडिओ र चलचित्रको प्राथमिकतामा परेको देखिन्छ।
यस्तो लाग्छ हरेक युवाहरूको जीवनको अन्तिम लक्ष्य भनेको नै स्कुल कलेजमा प्रेम गर्नु र विवाह गर्नु मात्र हो।
थाहा छैन खै किन हाम्रा सर्जकहरूलाई यो विषयवस्तु यति प्यारो छ ?
अभिभावकलाई प्रेमको दुश्मन देखाउनुभन्दा आफ्नो सन्तानको सुन्दर भविष्यप्रति चिन्ता हुनु र अपरिपक्क निर्णयको विरोध गर्दै सही मार्गनिर्देश गर्नु स्वभाविक हो भनेर प्रष्ट्याउनेतर्फ किन सोचिँदैन?
स्कुल/कलेज भनेको प्रेम गर्नेभन्दा शैक्षिक आधार बलियो पार्दै सुनिश्चित भविष्य र स्वावलम्बनको बाटोमा हिँड्न सिकाउने महत्वपूर्ण थलो हो भनेर किन चित्रण गरिँदैन। यसतर्फ सबै सर्जकहरूले सोच्ने हो भने अहिलेको युवापुस्तामा सकारात्मक प्रभाव पर्ने कुरामा दुईमत छैन।
त्यसैगरी म्युजिक भिडिओ र चलचित्रमा देखिने अर्को साझा दृश्य चाहिँ एकोहोरो प्रेम र पागलपनमा लिप्त एक व्यक्तिले आफूले मन पराएको व्यक्तिलाई जसरी पनि हाँसिल गरेरै छाड्ने र त्यसको लागि जुनसुकै गलत कदम उठाउन समेत पछि नपर्ने जस्तो विषयवस्तु पनि हो।
समाजमा व्याप्त बलात्कार र एसिड आक्रमणका घटना कतै त्यस्तै दृश्यबाट प्रभावित त छैनन ?
गम्भीरतापूर्वक मनन गरी पागलपनभन्दा बरू आफ्नो जीवनको लक्ष्य हासिल गर्न कठोर तपस्या गर्न पछि नपर्ने स्वाभिमानी दृश्यहरूलाई समावेश गर्ने कि!
त्यसैगरी प्रेममा देखिने जातपातको समस्यामा केन्द्रित अन्तरजातीय विवाह र पहाड मधेशको वर्ग संघर्षलाई देख्दा यस्तो लाग्छ कि जातीय विभेद नेपाली समाजको पर्यायवाची नै हो।
हो समस्या पक्कै छ तर चलचित्र र टेलिभिजनको पर्दामा देखिने जस्तो भयावह नै छ त? समयसँगै समाजमा परिवर्तन पनि भएको छ, अनि कैयौं सफल अन्तरजातीय विवाहका साथै पहाड-मधेशबीचको सौहार्दताका उदाहरणहरू पनि त छन्।
के ती चाहिँ हाम्रा विषयवस्तु हुन सक्दैनन्? यसले गर्दा समाजमा भाइचारा अनि हार्दिकता बढ्नुको साटो जात-जाति र समुदायबीचको वैमनस्यताले झनै जरो गाडिरहेको जस्तो लाग्छ।
त्यसैले युवापुस्ता र समाजको मनोविज्ञानमा सकारात्मक असर पार्ने खालको विषयवस्तुलाई समेत छनोट गर्नेतर्फ सोच्ने कि!
समाजमा व्याप्त थुप्रै विकृति र विसंगतीहरूलाई नजानिँदो तरिकाले कहिलेकाहीँ हाम्रा सर्जकहरूका सिर्जनाले पनि बढावा दिइरहेको हुन्छ।
उदाहरणको लागि तीज पर्व लक्षित अधिकांश गीत संगीतहरूले सासू-बुहारी, नन्द-आमाजु, देउरानी-जेठानी जस्ता पारिवारिक नाता सम्बन्धलाई सधैं जन्मजात शत्रुकै रूपमा चित्रण गरिएको पाइन्छ।
के नेपाली समाजमामाथि उल्लेखित नाताबीच सुमधुर सम्बन्ध नै छैन त ?
आजको दिनमा तीज पर्व के माइत जान नपाएको गुनासो गर्ने र सासू-बुहारी, नन्द-आमाजु, देउरानी-जेठानीबीचको रिसराग र दुखेसो पोख्ने पर्वको रूपमा मात्रै रहेको छ त?
हो म पनि मान्दछु कि समाजको सोच र विचारमा परिवर्तन आउन अझै बाँकी छ तर भएका परिवर्तनहरूलाई नजरअन्दाज गरी परापूर्वकालकै समाजको मानसिकताबाट मात्रै सधैं गुज्रिरहन हो भने सामाजिक विकास सम्भव नहुन सक्छ भन्ने मेरो मान्यता हो। सासूले पनि बुहारीलाई छोरीजस्तै माया गरेको, घरभित्रकै स-साना कामले निम्त्याउने शारीरिक थकाइ बुझेर आराम पनि गर बा भनेर ममता दर्साएको र बुहारीले पनि आफ्नो प्राणप्रिय जीवनसाथीलाई जन्म दिने आमालाई आफ्नै आमा सम्झेर उहाँप्रतिको आदरभाव र कर्तव्यबोधप्रति सचेत भएको दृश्यहरूले साँच्चै नै नेपाली परिवारमा रहेको दृष्टि र दृष्टिकोणको समस्यालाई समाधान गर्दै र प्रेमिल पारिवारिक वातावरण निर्माण गर्न सक्नेछ भन्ने सत्यतालाई समेत हामीले नबिर्सौं।
त्यसो त युवापुस्तामा आएको विचलन, सामाजिक विकृति र अमानवीय घटनामा केवल गीत-संगीत, म्युजिक भिडिओ र चलचित्रको मात्रै हात छ भनेर मैले गलत व्याख्या गर्न खोजेको पक्कै होइन।
मात्र भन्न खोजेको के हो भने, कला/साहित्य/संगीत/सिर्जना आदिहरू समाजमा शिघ्र प्रभाव पार्न सक्ने एक सशक्त माध्यम समेत भएकाले माथि उल्लेखित साझा दृश्यहरूबाट कतै युवापुस्ता र समाजको मनोविज्ञान प्रभावित त छैन ?
सम्पूर्ण सर्जक तथा सृजनशील हातहरूले गम्भीर भएर सोची आफ्नो सृजनाहरूको विषयवस्तु छनोट र प्रस्तुतिमा विशेष ध्यान दिनुपर्दछ कि भन्ने मात्र हो।
जसले युवापुस्ता र सिंगो समाजलाई नै सकारात्मक असर पार्दै समाज रूपान्तरणको मार्गमा महत्वपूर्ण योगदान दिन सकोस् बन्ने चिन्ता,चासो र अनुरोध मात्र हो बनेर बुझिदिन आग्रह गर्दछु।
हामीले बिर्सन नहुने कुरा के हो भने, गीत-संगीत,म्युजिक भिडिओ र चलचित्रमा देखिने कलाकारहरू थुप्रै युवाहरूका आदर्श र प्रियपात्र रहेका हुन्छन्। त्यसैले आफ्ना प्रिय कलाकारको अनुसरण गर्न खोज्नुका साथै यसबाट सिंगो समाज समेत प्रभावित हुने भएकाले सिर्जनाहरू यस्तो हुनुपर्दछ कि जसले आफ्नो सकारात्मक प्रभावमार्फत् युवापुस्ता र समाजलाई समेत सत्मार्गमा डोर्याउन महत्वपूर्ण भूमिका खेल्न सकोस्।
‘रिल’ बाट ‘रियल’ लाइफ सधैं प्रभावित हुने भएकाले सस्तो लोकप्रियता होइन प्रभावकारिताको डोब छोड्दै नैतिकवान युवा र विकृतिमुक्त समाज निर्माणमा सम्पूर्ण सिर्जनशील हातहरू एकजुट हुन सकून्।
सबैलाई शुभकामना!