के कुनै पनि मानिसको जीवनमा आइपरेको समयको कठोरताले त्यस व्यक्तिलाई परिपक्व बनाउने हो?
उपलब्धि भनेको समयको कठोरता सँगसँगै दाँजिनु पर्ने हो ? के हामीले परिपक्वता र उपलब्धि ठिक ढंगले मापन पनि गरिरहेका छौं र?
केही समय अगाडि मैले एन्ना फ्र्यान्कको डायरी पढेको थिएँ। जो दोस्रो विश्वयुद्धताका उनको परिवारसहित जर्मनीबाट बाहिरिनु परेको थियो- मात्र यहूदी भएकाले।
एन्ना १३ वर्षकी हुँदा परिवारसहित उनीहरू जर्मनीबाट देश निकाला भएपश्चात हल्यान्डमा बसाइ सरे, समाज र आफन्तविहीन बन्न पुगे। तल्लो दर्जाको ठहरिए-मात्र यहूदी भएकाले।
र यति मात्र नभएर हिट्लर पक्षधर एस.एस पुलिसहरूको समूहले हल्यान्डमा समेत यहूदीहरूको नरसंहारमा लागेको भयावह स्थितिमा सुरक्षा जोखिमको कारणले सम्पूर्ण परिवार लुक्न बाध्य भए- नाजीहरूबाट।
समाजबाट एक्लिँदा र धैरै प्रतिकूल परिस्थितिहरूबाट जोगिँदै गर्दा एन्नाले आफ्नो परिवारसहित एउटा भवनमाथि नाजीहरूबाट लुक्दाको बखत डायरी लेखेकी थिइन्, जुन अहिले सर्वव्यापी छ।
त्यस डायरीमा एन्नाको सोचको गहिराइ सजिलै मापन गर्न सकिन्छ र उनको सोच, बुझाइ र दर्शन कति उच्च कोटीको भैसकेको हुन्छ भन्ने विषयमा शब्दहरूको सहायता लिन म असक्षम छु, मेरो हैसियतभन्दा माथिको कुरा हो त्यो।
उनलाई वास्तवमै समयको कठोरताले बुझकी बनायो, सोच सम्पन्न बनायो र निश्चित पक्षहरूमा परिपक्व पनि बनायो। त्यही भएर एन्ना कतिपय दृष्टिकोणबाट निश्चित रूपमा पनि परिपक्व भइन्। यसमा दुईमत नै छैन।
के ज्ञान, बुझाइ, सोच र अनुभवको मिश्रण हो परिपक्वता? वा परिपक्वता यस्तो विशेषता हो मानव जीवनको जसले कार्यशैलीलाई मात्र प्रतिबिम्बित गर्छ?
के अनुभूतिको एउटा चरणमा पाइला टेकेर परिपक्व हुनुको प्रत्याभूति गर्न सम्भव छ वा अकल्पनीय? के यो सम्भाव्यताले हामीलाई सोच सम्पन्नमात्र बनाउँछ कि परिपक्व हुने उत्प्रेरणाले ऊर्जावान बनाउँछ?
स्पष्ट नीति र विरोधाभासपूर्ण कार्यशैली सँगसँगै आडम्बरको माखेसांग्लोमा कैद भएको मेरो मानसिकताले यथार्थ बोध गर्न नसकेको देख्दा अचम्म मान्नुको सट्टा म यस हरिबिजोजपूर्ण जिन्दगीको नशामा लिप्त भैरहेको छु।
एक व्यक्तिले अर्कोलाई परिपक्व भएको कुरा भन्छ भने देखि उसको त्यस खोक्रो विश्लेषणलाई समग्रतामा नियालेको हुँदैन। ढोंगी जीवनशैलीको वकालत गर्नेहरूको जीवन सिद्धान्त अपरम्पार आदर्शहरूले भरिपूर्ण हुन्छ भन्ने कुरा भर्खरै बोध गर्दैछु।
ठूला सपना देख्न रुचाउने म, पूरा गर्ने यन्त्र भने चाहिँ हिच्किचावटबाहेक केही गर्दिनँ। कति परिपक्व भएँ त म?
मेरो वुबालाई यो कोरोना महामारीका बखत कोभिड निमोनिया भयो र त्यसै कारणले गर्दा फोक्सोको अति जटिल रोग अर्थात् ‘सभियर एआरडिएस’ भएर निकै लामो समय भेन्टिलेटर र आइसियुमा राख्दा धेरै आफन्तहरूको मप्रति लक्षित एउटै भनाइ थियो, सबैको भाका दुरूस्तै एउटै थिए, ‘यो त निकै परिपक्व भैसकेछ।’
उनीहरू चाहिँ किन बोध गर्दैनन् कि आफ्नो शैली कति सजिलै स्थापित भैसकेको?
केमा चाहिँ परिपक्व भएँ छु त म? एउटा निश्चित पक्षमा परिपक्वता औंल्याउनुको सट्टा किन समग्रतामा नै मान्छेको चरित्रको बकम्फुसे चित्रण गर्न अघि सर्छन् उनीहरू?
किन सारा समाज नै उनीहरूको मार्गदर्शनमा हिँडिरहेको छ?
के उमेरले ठूला भनौंदा मानिसहरूलाई मनमौजी गर्ने अधिकार सुनिश्चित गरेको छ र?
यो मेरो आवेग हैन बरू अनुरोध हो। आवेगपूर्ण अनुरोध हुन सक्ला।
खैर! जे होस! तर अमूर्त व्यन्जनामात्र चाहिँ पक्कै पनि हैन।
हाम्रो कमजोर निर्णयले हामीलाई कस्तो दुष्परिणामतर्फ हामीलाई धकेल्छ भन्ने कुराले हाम्रो त्यस क्षेत्रको अपरिपक्वता प्रष्ट पार्ने हो र समाजले पनि हामीलाई त्यही अनुरूप व्याख्या, अप-व्याख्या गर्ने हो।
के हामी दुष्परिणाम, असफलता र विफलताहरूबाट सिक्ने कि समाजले टाँगिदिएको नामबाट चिनिने?
निर्णय हाम्रो, मात्र हाम्रो हो।
हामी भाषामा चुकिरहेका छौं, कार्यशैलीमा कमजोर ठहरिरहेका छौं र अभिव्यक्ति स्तरमा दरिद्रताको रेखाभन्दा निकै मुनि छौं।
हामीलाई कसले अधिकार दियो अरूको परिपक्वता जाँच गर्ने??? निर्धारण गर्ने?
बुवाको कुरूवा भएर टिचिङ अस्पतालको आइसियु कक्षको बाहिरपट्टि बस्दा अनुभूतिको तीव्रता कस्तो हुन्छ भन्ने कुरा बोध गरें।
आत्तिनू र नआत्तिनू बीचको भेद पनि मनन गर्ने अवसर पाएँ। आफन्तहरू कुन उचाइमा अपनत्व प्रकट गर्दा रहेछन्, कुन गहिराइमा सदभाव, सत्कार र सहयोग व्यक्त गर्न पछि नहट्दा रहेछन्, फेरि अर्का वर्गका आफन्तहरू चाहिँ खोक्रो सहानुभूतिको भेलनै बगाइदिँदा रहेछन् भन्ने मेरो जीवनको यो चरणको यथार्थले मेरो मानसपटलमा पारेको छापले मलाई परिपक्वताको क्षितिजमा केही कदम भए पनि पाइला अगाडि बढाउन सहयोग प्रदान गर्यो।
पक्कै पनि मानिसको जीवनमा आइपरेको समयको कठोरताले त्यस व्यक्तिलाई परिपक्व बनाउने हो। यसको दाँजो समयको कठोर परिस्थितिले नै गर्छ र यसलाई हामीले ठिक ढंगले मापन गर्न भने अवश्य पनि अपरिहार्य छ किनकि परिपक्वता कतिपय मानेमा उपलब्धि नै हो।
अन्तत: म, मेरा परिवारजन, मेरो बुवाको सेवामा अनवरत खट्ने आफन्त र उहाँका शुभेक्षुकहरूको अहोभाग्य हो जुन मेरो बुवा प्रत्येक दश जनामा एक जनाको मात्र पुनर्जन्म हुने ठाउँ, भेन्टिलेटरबाट फर्किनु भयो। यो आनन्दानुभूतिले मलाई साँच्चै नै बल दियो र बदल्यो पनि।