खासमा उसलाई सधैं सम्झिरहन्छु भन्ने दुष्साहस म गर्न सक्दिनँ। तर त्यस्तै खास खास समयमा विशेष रूपमा म उसलाई अवश्य सम्झन्छु।
२०६४ सालको नगरकोटियन भाषामा भन्दा बर्फिला बिहानहरूमा ऊ भन्ने गर्थी, ‘थाहा छ निर्जला, म पुलिस बाउ र शिक्षक आमाकी बिग्रेकी छोरी हुँ।’
मलाई लाग्थ्यो ऊ कसरी बिग्रेकी भई, ऊ त राम्रो पढ्छे। मलाई पढ्नेहरू बिग्रदैनन्, अपढहरूमात्र बिग्रन्छन् भन्ने थियो त्यो समय।
ऊ र म एउटै कक्षामा पढ्थ्यौं तर हामीमा समानताहरू पटक्कै थिएनन्। मात्र एउटा कुरा मिल्थ्यो त्यो थियो हामी दुबै पढ्थ्यौं।
ऊ मभन्दा अझै बढी पढ्थी, उसको नम्बर पनि मेरो भन्दा सधैं बढी आउँथ्यो। ऊ पुलिस बाउकी छोरी हट्टाकट्टा खाइलाग्दी थिई म उसकी सानी बहिनीजस्तै देखिन्थें।
सँगै हिँड्दा हामी ठ्याक्कै हात्ती र कमिलाजस्तै देखिन्थ्यौं।
ऊ मैले भेटेकी पहिलो फरकखाले छोरी मान्छे थिई। नाम पनि उसको विशेष नै थियो बाघिनी थापा।
हामी उसलाई मायाले बाघ भनेर बोलाउँथ्यौं।
नाम नै बाघ वास्तवमा ऊ बाघ नै थिई। कहिलेकाहीँ हिँड्दाहिँड्दै मूलबाटोमा बाघ भनेर बोलाउँदा मान्छेहरू तर्सन्थे। हामीहरू रमाइलो मान्थ्यौं।
मलाई अल्लि संगत गरेपछि लाग्थ्यो किन उसले आफूले आफैंलाई बिग्रेकी केटी भन्छे सायद चुरोट पिउने भएर होला। ऊ चुरोट पिउँथी तर बिना गिल्ट हाकेहाक पिउँथी। ऊ मेरै उमेरकी मैले भेटेको, संगत गरेको पहिलो चुरोट पिउने युवती थिई।
मैले उसलाई चुरोट नपिऊ भन्न कहिल्यै सकिनँ तर बाटामा सँगै हिँड्दा चुरोट पिउनेसँग हिँड्छे भन्दिन्छन् कि भन्ने डर सधैं रहन्थ्यो।
चुरोटबाहेक उसको अर्को लत थियो- ऋतिक रोशनको मुभि हेर्ने। ऋतिक रोशन उसको सपनाको राजकुमार थियो। ऊ धार्मिक थिइन तर तिजको ब्रत अवश्य बस्थी केबल ऋतिक रोशनको लागि।
एकदिन सम्झाउन खोज्दै मैले भनें, ‘बाघ तिमी तिजको ब्रत नबस ऊ त अलरेडी म्यारिड हो।’
ऊ भन्थी, ‘थाहा छ निर्जला, बट आई डोन्ट केयर, हि इज माइ प्रिन्स चार्मिङ।’ उसको बहुलापन देखेर अचम्म लाग्थ्यो।
हामी अमिल्दा साथीहरू थियौं। ऊ प्रेमको कुरा गर्थी र भन्थी, ‘निर्जला यार तिमी यस्तो कुरा बुझ्दिनौ तिमी बच्चा नै छौ म नबुझे झैं गर्थे।
तर जे जे भए पनि ऊ पढ्थी त्यसैले हामी साथी भयौं।
२०६६ कुनै मध्यान्ह ऊ म बस्ने टोल हरितटोल आएकी थिई। ऊ पहिलेजस्तो थिइन केही दुब्लाएकी थिई। त्यो दिन ऊ मसँग राजनीतिक कुरा गर्न चाहन्थी।
म कलेजबाट ढिला आइपुगेकी थिएँ त्यो मुडमा थिइनँ। तर म उसलाई नाइँ भन्न सक्दैनथें किनकि ऊ बाघजस्तै थिई, म कमिलाजस्तै थिएँ।
अर्को कुरा म अचम्ममा परेकी थिएँ अंग्रेजी जासुसी उपन्यासमा रमाउने ऊ कसरी राजनीतिक प्राणी बनी ? मसँग प्रश्नहरू थिएँ तर सोधिनँ।
खासमा ऊ बोलेपछि अरू बोल्नुपर्ने स्थिति आउँदैनथ्यो त्यो दिन पनि सदाझैं ऊ बोलिराखी म सुनिराखें।
त्यसपछि धेरै वर्ष हामी गुमनाम भयौं तथापि हामीसँग एकअर्काको नम्बर भने थियो।
म टियुको सेन्ट्रल क्याम्पसबाट मास्टर्स सिध्याउने क्रममा थिएँ उसको फोन आयो। सायद २०७३ को भदौतिर हुनुपर्छ। मैले हेलो भनें उसले भनी, ‘निरु म बाघ, तिमी कता छौ?’ मैले आफ्नो कुरा बताएँ।
उसले भनि, ‘म तिमीलाई भेट्न चाहन्छु आई निड योर हेल्प’ मैले हुन्छ भनें।
ऊ टियु आई सदाझैं टियुको क्यान्टिनमा उसले चिया र चुरोट खाई। मैले चियामात्र खाएँ।
मलाई लागेको थियो ऊ विद्यार्थी राजनीतिमा छ तर होइन रहेछ। ऊ फेरि पढ्ने, लेख्ने काममा नै फर्केकी रहिछ मलाई खुसी लाग्यो।
त्यो दिन उसले भनी, ‘म उपन्यासमा काम गर्दैछु निरु, आई निड योर कन्सेन्ट’ मैले किन भनेर प्रश्न गर्दा उसको उपन्यासको पात्र म पनि रहेको बताई र मैले ‘हुन्छ’ भनें।
मलाई लाग्यो कसरी बाघको पात्र कमिला बन्न सक्छ ?
त्यतिकैमा फेरि भेट्ने बाचासहित हामी दुबै जना बिदा भयौं।
त्यसपछि करिब चार वर्ष भयो मैले उसलाई भेटेको छैन। खासमा कमिलाले बाघलाई भेट्न त्यति सजिलो पनि छैन। र पनि म उसको उपन्यास र ऊबारे जिज्ञासु छु। कहिलेकाहीँ लाग्छ म पनि उसको उपन्यासबाट हराएँ कि जसरी ऊ मेरो जीवनबाट हराएकी छ।
हराएको पाण्डुलिपिझैं ऊ पनि एकाएक हराई।
ऊ सदासदाको लागि हराउँछे कि भनेर यो कथा लेखेकी हुँ। अचम्म नमान्नुहोला कमिलाले बाघलाई सम्झनु कुनै नौलो कुरा होइन। कमिला र बाघ साथी हुन सक्छन् ऊ र मजस्तै।