म पनि आजदेखि यो देशको नागरिक भएँ। २९ वर्ष पूरा पुगेकी म ५ छोरीकी आमा पनि हुँ। ५ सन्तान कि आमा भए पनि बा-आमा सानैमा बितिगए। विवाह गरेर गएका श्रीमान पनि अर्को विवाह गरेर बेपत्ता भए।
नागरिकता बनाउन धेरै प्रयास गरेँ, जति प्रयास गरे पनि आवश्यक प्रमाण जुटाउन सकिनँ। नागरिकता नहुँदा ठूला हुँदै गरेका छोरी पनि यो देशको नागरिक हुन नपाउने हुन् कि भनेर चिन्ताले सताउथ्यो।
जग्गा जमिन नभएकी म पाँच छोरीहरुको पालन पोषणको जिम्मेवारी काँधमा बोकेर कहिले ज्याला मजदुरी त कहिले सुत्केरीलाई तेल लगाएर त कहिले खोलामा बालुवा चालेर जीविकोपार्जन गर्दै आइरहेकी छु।
अब त संस्थाको पहलमा स्थानीय जनप्रतिनिधि र छिमेकीको सहयोगले नेपाली नागरिकता पाएँ। देशको जिम्मेवार नागरिक पनि भएँ। छोरीहरुको पालन पोषणको जिम्मेवारी त छँदै छ। खै! एक छाक खान दिन त धौ धौ छ, छोरीहरुको भविष्य पो बनाउन सकूला कि नसकूला!
एक सरो ओड्ने ओछ्याउने समेत किन्न नसकेर चिसो भुइँमा एकसरो पातलो कपडामा ६ जना जसोतसो कोचिएर जाडो छल्न बाध्य थियौँ। अब त छोरीहरु पनि खाटमा न्यानो कपडा ओछ्याएर निदाउन पाउने भए।
(सहयोग स्वरुप उपलब्ध भएको खाट र बिस्तारा चन्द्रकलाको नयाँ घरको अगाडि। तस्बिर: सुमनकुमार भट्टराई) अहिले त घर पनि पहिलाभन्दा केही नयाँ बनेको छ। संस्थाले घर बनाउन केही रकम सहयोग बापत उपलब्ध गराएको थियो। त्यही पैसा र छिमेकीको सहयोगमा सानो छाप्रो त हालेछु। आफ्नो जमिन हैन, अर्काले ओगटेको ऐलानी जमिन सधै बस्न दिने हुन् कि होइनन्।
२/४ पैसा जम्मा गरेर जमिन किन्न पनि नागरिकता बिना सम्भव पनि थिएन। घर निक्कै साँघुरो छ, संस्थाले उपलब्ध गराएको २ वटा खाट पनि जसो तसो अटेको मेरो घरमा झ्याल समेत छैन। तर पनि मन खुसी छ। पहिलाभन्दा केही सजिलो त भएको छ।
(चन्द्रकला उरामन (उराव) को नयाँ घर (बायाँ) र पुरानो घर (दायाँ)। तस्बिरः सुमनकुमार भट्टराई) आजभोलि मेरो दैनिकी पनि फेरिएको छ। ज्याला मजदुरी र खोलाको बालुवा चालेर जीविकोपार्जन गर्दै आएकी म तरकारी बेच्न थालेकी छु। संस्थाले गरिदिएको सानो लगानीबाट नजिकैको गाँउघरमा उत्पादन गरेको तरकारी किनेर नजिकै लाग्ने हाट बजारमा लगेर बेच्न थालेकी छु।
पढ्न लेख्न र राम्ररी हिसाब किताब गर्न नजान्ने म खोलामा बालुवा चाल्दा चाल्दै तरकारी बेच्न थालेकी हुनाले खासै आम्दानी गर्न सकेकी छैन। तरकारी तौलिन नै कठिन छ मलाई। कहिलेकाहीँ खरिद गरेको तरकारीको मूल्य नै बजार भाउभन्दा महंगो हुनाले साँवा उठाउन पनि हम्मे हम्मे हुन्छ।
तै पनि हिम्मत भने हारेकी छैन। बजारमा वर्षौंदेखि व्यवसाय गर्दै आएका अन्य व्यवसायी भन्छन् 'सुरु सुरुमा यस्तै हुन्छ, विस्तारै बानी परिन्छ। कहिले घाटा हुन्छ कहिले नाफा हुन्छ। तपाई नयाँ हुनुहुन्छ, गर्दै जानु बानी परेपछि सजिलो हुन्छ, विस्तारै घर खर्च चलाउन पुग्छ, हामीलाई पनि सुरुमा यस्तै हुन्थ्यो।'
यसरी सान्त्वना दिएकाले पनि व्यवसायलाई निरन्तरता दिने आँट गरेकी छु।
(नजिकैको बजारमा तरकारी बेच्दै चन्द्रकला। तस्बिरः सुमनकुमार भट्टराई) छोरीहरु केही ठूला त भए, अझै पनि कममा सघाउन सक्ने भएका छैनन्। बिहानै उठेर हतार हतार खान बनाएर ख्वाएर बजार जान्छु। दिनभरि छोरीहरु भोकै हुन्छन्। साँझ हतार हतार आएर पकाएर खुवाउँछु।
मैला भएका कपडा धोइदिन पनि समय हुँदैन। विस्तारै दैनिकी फेरिँदै छ। छोरीहरुलाई पढाएर ठूलो मान्छे बनाउने चाहना मनभरि बोकेकी छु तर आवश्यक शैक्षिक सामाग्री र ड्रेस समेत जुटाउन कठिन मैले छोरीहरुलाई कहिलेसम्म पढाउन सकूला र!
हेरौँ मेरो कमाइले धान्छ कि धान्दैन। आजसम्म दुःख देखेर सहयोग गर्ने सहयोगी मनहरुले जुटाइ दिएको सहयोग र ज्याला मजदुरी गरेर परिवारको पेट जसो तसो पाली रहेकी छु।
अभाव नै अभावमा पनि छोरीहरुलाई विद्यालय पठाइ रहेको छु। एक छाक मिठो ख्वाउन नसक्ने म भविष्य राम्रो बनाउन कहिलेसम्म छोरीहरुलाई स्कुल पठाउन सक्छु होला र?
जे भए पनि २९ वर्षमा नागरिकता बनाएकी छु। केही गर्न नसके पनि छोरीहरुलाई पनि देशको नागरिक त बनाउन सकूला नि। संघ संस्था, स्थानीय जनप्रतिनिधि र छिमेकीबाट हौसला पाएकी छु।
काँधमा ५ छोरीको भविष्य बोकेर व्यवसाय सञ्चालन गर्न थालेकी म पैसा कमाउने सपना बोकेर छोरीहरुको भविष्य उज्वल बनाउन लागि परेकी छु। पैसा कमाएर छोरीहरुलाई राम्रो शिक्षा दिन सके त छोरीहरु पनि यो देशको जिम्मेवार नागरिक हुने थिए।
व्यवसाय सानो छ, आम्दानी पनि थोरै हुन्छ। भोक मेटाउनको लागि दालचामल जुटाउन नै कठिन छ, कसरी जीवन चलाउने र? चिन्ता त लागिहाल्छ। देशको नागरिक हुन पाएकोमा खुसी छु तर छोरीहरुलाई जिम्मेवार नागरिक बनाउन पो सकूँला कि नसकूँला?
(नोटः अघिल्लो लेखमा चन्द्रकलाको ठेगाना बेलबारी २ मोरङ भनिए पनि, नागरिकताको लागि समन्वय गर्ने क्रममा सुन्दर हरैचा र बेलबारीको सीमानामा रहेको चन्द्रमायाको सुन्दर हरैचा ११ मोरङमा रहेको खुल्न आएको छ।)
यो पनि:
‘एकछाक खुवाउन त धौधौ छ, छोरीहरूलाई कसरी पढाउन सकूँला...?’