आज शुक्रबार! हाम्रो कम्पनीमा बिदाको दिन। हाम्रो मात्र होइन, अरबमा प्राय:शुक्रबार बिदा हुन्छ।
सँगै काम गर्ने मुस्लिम धर्मावलम्बीहरू नवाज पढ्न मस्जिद जाने तयारीमा थिए । म चाहिँ आज जेबल अलि पार्कतिर निस्कने सोच्दैछु।
खाडी छिरेको सुरूका केही महिना म अलपत्र जस्तै थिएँ। उठ्यो काममा हिँड्यो , आयो सुत्यो । न साथी थिए , न नै आफन्त। यिनै बंगाली थिए अनि दुई चार थान यमनी।
अरू दिन साथीभाइ नहुनुमा कुनै चिन्ता हुँदैन तर यो शुक्रबार होस् या छुट्टिको दिन। एक्लो हुनुको पीडा कसैले मलाई आएर सोधोस् प्लिज!
एक्लै घुम्न त्यति टेसिलो हुँदैन परदेशमा। बाटैमा कोही भेटिएला अनि धकेल्दै हिँडाउला, घुमाउला भन्ने आशा पनि हुँदैन यहाँ।
घुम्न निस्कने तयारी गरिसकेपछि फेसबुक खोलेँ, सुबासे हरियो बत्ती बालेर अनलाइनमै थियो।
उसलाई म्यासेन्जरमै कल गरेँ, फोन उठेन।
मोबाइल बिस्तरामा फालेर जुत्ता लगाउँदै थिएँ, उसैले कल गर्यो। हेलो नभनी सोधेँ, ‘कहाँ छस् ?’
‘झुमेरातिर बिरयानी छाड्न गएको थिएँ दाइ, किन फोन गरेको ? भन त !’ हावासँगको रफ्तार मिश्रित आवाजमा उसले भन्यो।
ऊ डेलिभरी गर्छ, जे भेटिन्छ त्यही। कहिलेकाहीँ जिस्काउँदै सोध्छु- केटी पनि डेलिभरी गर्छस् ?
त्यसैले आजभोलि ऊ जे डेलिभरी गर्दैथ्यो, त्यो पहिले नै जानकारी दिन्छ। आज बिरयानी भन्यो, कुनैबेला पिज्जा भन्छ त कुनै बेला बर्गर।
‘काम कतिबेला सकिन्छ बे ?’ मैले सोधेँ ।
उसलाई आजको घुम्ने साथी बनाउने मन थियो।
‘आज लास्टै तनावमा छु दाइ, एउटा पछि अर्को अर्डर आएकै हुन्छ। बेलुका आठ बज्छ होला,’ उसले नबुझिने आवाजसँगै बाध्यता बतायो।
मैले बाई पनि नभनी फोन काटेँ। त्यस्ता काम नलाग्ने साथी परदेशमा काम छैन।
जुत्ता लगाइसकेपछि कोठाबाट बाहिर निस्किएँ तर बिना गन्तव्यको। सुबास आएको भए जेबल अलि पार्क जाने निश्चित थियो। अब अनिश्चित भैदियो।
शारजहाबाट इन्टरनेसनल सिटी हुँदै बर दुबई जाने बसमा बसेँ। बस खाली नै थियो, लास्टको सिटमा एक जोडी फिलिपिनाहरू मस्किँदै थिए। जिन्दगी जिउन यिनीहरूबाट सिक्नुपर्छ जस्तो लाग्छ मलाई। बिन्दास जिन्दगी ।
एक्लै कहाँ जाने भनेर मनमा अनेक तस्बिर आइरहे, निचोड निस्किएन।
बर दुबईको स्टेसनमा आएर बस अडियो। सबै झरे, म पनि झरेँ। अलिकति पल्तिर एउटा पार्क जस्तै फोहोरी ठाउँ छ, परेवाको गुले जमिन भरिएको। त्यतै हान्निएँ।
यो पार्कलाई हामी दुबई बस्ने नेपालीहरू ‘नेपाली पार्क’ भन्छौं। जहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली भेटिन्छन्।
यहाँ कोही दारूको तालमा ‘ओए मा…मु!’ गर्दै बोलिरहेका हुन्छन् भने कोही आफ्नालाई काखी च्यापेर मस्तिरहेका हुन्छन्। अघिका फिलिपिनो जोडी जस्तै।
अझ शुक्रबारको दिन दुबई बस्ने आधा नेपाली यही जम्मा भएका हुन्छन्। म पनि त्यही भीडमा एक्लै मिसिएँ।
मलाई भीड त्यति मन पर्दैन, अलि छेउ लागेर नेपालीको तमास हेर्न थालेँ।
दुबईमा गठन भएका नेपाली सेवा समाजहरूका बैठक यही नेपाली पार्कमा बढी हुन्छन्।
राप्ती सेवा समाज, पूर्वेली सेवा समाज, अर्घाखाँची सेवा समाज! यस्तै नाम गरेका दर्जनौं सेवा समाज छन् खाडीमा। नाम मात्र धेरै, काम थोरै। थोरै मात्र के भन्नू , अलिकति भन्दा पनि हुन्छ।
एउटा बंगाली आएर सोध्यो- बदाम खाइबेन बन्धु?
ऊ फुर्सदको समयमा बदाम बेच्दो रहेछ। मैले सँगै बसालेर ऊबारे पनि जानकारी लिएँ। किनकि मलाई समय कटाउनु थियो।
ऊ मलाई बंगाली ठान्यो, मैले बंगालीमै जवाफ दिएँ अनि बंगाली मै प्रश्नहरू पनि गरेँ। ऊ मख्ख पर्यो। छुट्टिदा भन्यो- बाला गरि बैबेन बन्धु, आए जाइएर।
मलाई बंगलादेशकै बंगाली जस्तो स्पष्ट बंगाली भाषा आउँछ। घरभित्र जम्मै बंगाली भएपछि बंगाली भाषा नसिकी सुखै भएन।
आजभोलि भेट हुने धेरैले मलाई बंगाली नै भन्छन्। ठाउँ सोधे भने सजिलै भन्दिन्छु- न्वाखाली डिस्टिक, लखिनपुर बजार बन्धु।
बंगालीले पनि साथ नदिएपछि उसैले बेचेको बदाम खाँदै खोस्टा प्लास्टिकमा जम्मा गरेर नेपालीहरूको चर्तिकला हेर्दै थिएँ, एकजना फोहोर उठाउने मेरो नजिक आएर मेरै वरिपरिका फोहोर उठाउन थाले।
दुबईको आगोजस्तै गर्मीबाट आफूलाई बचाउन टाउकोमा छत्तरे टोपी अनि घाँटीको गम्छाले नाक मुखसम्म बेरेका ती युवा नेपाली रहेछन्।
उनको ‘हेल्लो सर! एक्स्क्युज मी।’ भनाइबाट मैले चिनिहालेँ।
‘भाइ नेपाली हो ?’ मैले आँखा जुधाएरै सोधेँ।
‘हो दाइ, अनि तपाईं पनि नेपाली ? मैले त बंगाली सोच्या थिएँ। अघि बंगालीसँग मज्जाले गफिँदै हुनुहुन्थ्यो, त्यसैले।’ उनी हाँस्न थाले।
मैले बदामको खोस्टावाला प्लास्टिकको थैलो हटाउँदै भनेँ- बस्नु न! उनी नाक मुखमा बेरिएको गम्छा हटाउँदै बसे अनि सुस्केरा हाल्दै भने- दु:ख छ हो दाइ परदेशमा, अनि तपाईंको घर चाहिँ कहाँ नि ?
‘दाङ हो भाइ अनि तपाईंको ?’, मैले परिचय गर्न खोजेँ।
‘मेरो रुकुम हो ! अनि जागिर कता छ दाइ तपाईंको ?’ उनले उत्तरसँगै प्रश्न तेर्साइदिए।
‘इन्टरनेसनल सिटीको ड्रागन मार्टमा काम गर्छु भाइ, अनि तपाईंको जागिर नै यही हो कि पार्टटाइम ?’, मैले पनि उत्तरसँगै प्रश्न तेर्साइदिएँ।
‘अफिस ब्वाई भनेर भिसा लगाको दाइ, ल्याएर क्लिनरमा हाल्दियो। नगरौं, घर फर्कन सक्दैन! गरौं, सारै दु:ख छ’, उनले निधारको पसिना त्यही गम्छाले पुछे।
मैले बदाम खान अनुरोध गर्दै भनेँ- कति पढ्नु भाथ्यो ?
उनले बदाम फोड्दै हाँसो छाडे , अनि भने- पढाइ त पिएचडी नै हो नि दाइ! तर क्यार्नु , काम लागेन।
म पनि हाँस्दिएँ, अनि भने- कुन विषयमा हो नि पिएचडी?
एकछिन हाँसेपछि सम्हालिँदै उनले भने- पढ्ने उमेरमा हतियार बोकेर परिवर्तनका लागि जंगल हिँडियो, अहिले पछुतो लाग्दैछ दाइ, भो नसोध्नुस्।
मैले बुझिहालेँ, भाइ जनयुद्धका सिपाही रहेछन्।
मैले उनको बारेमा बुझ्न खोजेँ, स्थितिलाई सामान्य बनाउँदै सोधेँ-बिहे गर्नु भो?
‘पार्टीमा हिँड्दा नै नेताहरूले प्रगतिशील विवाह गराइदिएका थिए, खारा युद्धमा उनले पनि छाडेर गइन्,’ उनी झन् भावुक भए।
कुरा मोडौं भनेको झन् पीडामा आएर बल्झियो सोध्नै पर्ने भएसी सोधेँ- अनि केटाकेटी छन्?
‘एउटा छोरा छ दाइ ! बाबु भएकै वर्ष खारा हमलामा उनी सहिद भइन्, त्यसपछि मैले अर्को बिहे गरिनँ’, उनी निराश हुँदै अतीत सम्झिए।
‘लेखेको कसैले टार्न सक्दैन भाइ, हामी सबै जाने त्यही हो’, मैले हिम्मत दिन खोजेँ।
उनी पीडा लुकाउँदै मुस्कुराए।
बदाम चपाउँदै अतीत सम्झन थाले उनले, भन्दै थिए- ज्यानको बाजी राखेर लड्दा पनि अन्त्यमा खाडी नै आउनु पर्छ भन्ने थाहा भएको भए उमेरमै आइन्थ्यो होला दाइ। अहिले न परिवार छ ,न उमेर छ, न त सम्पत्ति नै छ। हेर्नुस् त यो ‘हरिबिजोग’।
आफूले लडेर ल्याइदिएको लोकतान्त्रिक गणतन्त्रमा सीमित ठूला बडाको मात्र हालीमुहाली देख्दा विरक्त लाग्ने बताउँछन् उनी ‘लड्दा आमूल परिवर्तन भन्दै लडाए , अहिले पदका लागि आफू-आफू लड्दै छन् रे।’
श्रीमती युद्धमा सहिद भएकी, आफू बटालियन सहायक कमाण्डर भएको योग्य लडाकु हुँदा पनि नेताले बेवास्ता गर्दा निक्कै मन दुख्ने उनले बताए। ‘म बटालियन सहायक कमाण्डर थिएँ , श्रीमती युद्धमै मारिइन्, भएको सम्पत्ति पार्टीलाई बुझाएर हिँडेको मान्छे हुँ! अहिले खाडीमा फोहोर उठाउँदै छु। अलिकति पढेको भए सेक्युरिटी गार्डसम्म हुन्थे होला। परिवर्तनको नाराले अन्धो बनाइदियो दाइ।’
उनले आफैंलाई थुके- थुइक्क मेरो बुद्धि !
‘नेताहरूसँग गफ हुँदैन ?’, मैले सोधेँ।
‘कस्लाई नेता मान्नु दाइ ? दर्जन चिरा भएको पार्टीमा। पुरानो माओवादी हुँ भन्न पनि लाज लाग्ने गराइसके,’आत्मग्लानी मिश्रित भावमा उनी बोले।
उनी अत्तालिँदै उठे। आँखाले इशारा गर्दै भने- ऊ त्यै धोती हाम्रो फोरम्यान हो, म हिँडे है दाइ।
उनी त्यहाँबाट गएपछि म एकछिन सोचमग्न भएँ। जसले आफ्नो ज्यान दाउमा राखेर परिवर्तनका लागि लडिदियो, सर्वस्व गुमायो, उसैलाई नेतृत्वले कसरी भुल्न सक्छ यार ?
पहुँचमा नहुनेले सम्झेर पनि गर्न केही सक्ने होइनन् तर शान्ति स्थापना पछाडिका दर्जन वर्षहरूमा माओवादी सत्ताकै वरिपरि छ, शक्तिमै छ, पहुँचमै छ तर लडाकुको यो गति ? तैट धोका।
उनी अर्को कुनातिर गएर फोहोर टिप्न थाले, म चाहिँ त्यहाँबाट उठेर कोठातिर हुइँकिएँ। मनमा चिन्ता उनैको बढिरह्यो, कठै यो अरबमा फोहोर उठाउने कमाण्डर।