बाबु ठूलो भएर के बन्ने ? हरेकले बाल्यकालमा सामना गर्नुपर्ने यो प्रश्नको जवाफ मेरा समकालीन बालसखाहरूसँग भने सधैं एउटै जवाफ हुन्थ्यो; डाक्टर, इन्जिनियर वा पाइलट।
तर मसँग यो प्रश्नको जवाफ कहिल्यै भएन।
सायद बालापनमा त्यो खालको कुरा बुझ्ने सामर्थ्य नै नहुने भएर हुनसक्छ वा मलाई मेरा अभिभावकले यो नै बन्नुपर्छ है भनेर धेरै नघोकाएको भएर पनि हुनसक्छ, म सधैं यो साझा प्रश्नमा निरुत्तरित जस्तै हुन्थेँ।
समयसँगै उमेर बढ्दै जाँदा स्कुलबाट कलेज पुग्दा समेत आफू यही नै बन्छु भन्ने एउटा निश्चित बिन्दुमा कहिल्यै पुगिएन।
पढ्दै जाऊँ, हेरौं, भविष्यमा कुनै न कुनै बाटो कसो नसमातिएला र ! भन्ने खालको सोचसँगै हुर्किएको पात्र हो म।
हुन त लक्ष्य बिनाको पनि मानिस हुन्छ र? भन्ने कथन नसुनेको सायदैले होला। जीवनको लक्ष्य निर्धारण गरी त्यस अनुरूप आफूलाई तयार गर्दै लैजानुपर्ने पाटोबाट सोच्ने हो भने सायद म गलत नै थिँए कि! त्यसो त डाक्टर, इन्जिनियर वा पाइलट बन्छु भन्ने अधिकांशहरू ती बाहेकका अन्य थुप्रै पेशामा आबद्ध भएको नदेखिएको पनि त होइन।
हुन सक्छ समाज अनि परिवारले ठूलो भएर बन्ने भनेकै माथिका तीनवटा पेशा मात्रै हुन् भनेर गराइएको सुगा रटाइ र ती बाहेकका अन्य पेशालाई कम महत्त्व दिने तत्कालीन सोच र परिवेशबाट सिर्जित सवाल-जवाफ थिए होलान् ती।
भविष्यमा के बन्ने भन्ने सवालमा सधैं अन्यौलमा रहने म विश्वविद्यालयसम्मको यात्रा तय गरिसक्दा भने समाजमै रहेर विभिन्न गैर-सरकारी संघ-संस्थामा आवद्ध भएर काम गर्ने रहर पलाएसँगै स्नातकोत्तर तहमा साबिक अङ्ग्रेजी साहित्यको विषय नै परिवर्तन गरी सामाजिक अध्ययनको विषयमा प्रवेश गरेको थिँए।
अहिले यसो सोच्दा, त्यो बेला मैले आफ्नो मनको आवाज सुनेर पहिलोपटक एक किसिमको खतरा नै मोलेको रहेछु।
अन्यौलग्रस्त मनोदशा अनि उचित सल्लाह र दिशानिर्देशको अभावमा थुप्रै युवाहरू आफूलाई नै प्रतिकूल हुने विषय छनोट गरी अनिश्चितताको अध्ययनमार्गमा हिँडिरहेका हुँदारहेछन्, जुन कुराको आभाष मलाई अहिले भइरहेको छ।
विषय परिवर्तन गर्ने हिम्मत गरे पनि गैर-सरकारी संस्थामा जागिर खान चाहिरहेको म, एकजना मिल्ने साथीको जोडबलमा दिएको आवेदनमार्फत सरकारी सेवामा पो जोडिन पुगेँ।
जुन मेरो लागि इच्छाइएको विषय नै थिएन, त्यो मेरो अभिन्न पेशा बनेर रह्यो।
त्यसो त म मेरो पेशासँग सन्तुष्ट नै छु तर पनि ‘लक्ष्य बिनाको कुनै मानिस नै हुन्न’ भन्ने समाजको स्थापित मान्यतालाई चुनौती दिँदै लक्ष्यविहीन भएर हिँडेको म पात्र आज उभिएको स्थानबाट पछाडि फर्केर हेर्दा भने निकै रोमाञ्चक हुने गर्छु।
अनि सम्झन्छु, चिना बनाइदिने छिमेकी ज्योतिषी गोपी दाइले चिना हेर्दै ‘यसले राजाको सिन्दुर पहिरिन्छ’ भनेको कुरा र बाबु ठूलो भएर के बन्छौ? भन्ने धेरैको प्रश्नमा म निरुत्तरित हुँदा हत्त न पत्त आमाले अब ‘भाग्यमा जे लेखेको छ त्यही बन्छ नि मेरो छोरो’ भन्दै मलाई सहज बनाइदिएको क्षणहरूलाई।
जुन प्रसङ्गले आफ्नो भावीले चिनामार्फत् पूर्वनिर्धारण नै गरेको रहेछ भन्ने अदृश्य सत्यलाई आधार बनाई सरकारी सेवालाई सहर्ष स्वीकारी खुसीसाथ अघि बढ्न प्रेरणा दिएको सम्झन त्यो बेला सघाउ गरेको थियो सायद।
समयसँगै आजको अवस्थासम्म आइपुग्दा देश र समाजलाई बुझिरहँदा, कैंयौ भोगाइ र उमेरको परिपक्कतासँगै पहिले भन्दा धेरै बुझ्न सक्ने भएको म पात्रलाई ऊबेला के बन्ने भनेर लक्ष्य निर्धारण गर्न नसकेको भन्ने कुरा त थुप्रै युवाहरूको भविष्यमा के गर्ने वा बन्ने ? करियर के हुने ? भन्ने अन्यौल र दुविधायुक्त किशोरावस्था जस्तै आफू पनि सोहीमार्फत् नै गुज्रिएको रहेछु भन्ने आत्मबोध भएको छ।
परिवार, आफन्त र समाजको अनावश्यक दवाब वा भविष्यमा यो नै बन्नुपर्छ भनेर जबर्जस्ती लाद्ने प्रवृत्तिको सिकार थुप्रै बालमस्तिष्क र किशोर-किशोरीहरू हुनुपरेको तीतो सत्य हिजोजस्तै आज पनि छ र आशा गरौं भोलिका दिनमा यस्तो नहोस्।
वास्तवमा यो अवस्थामा त उनीहरूको मनोभावनालाई बुझ्ने अनि करियर काउन्सिलिङमार्फत् सही मार्ग पहिल्याउन सक्ने सहयोगको पो आवश्यकता हुँदोरहेछ।
हुन त तुलनात्मक रूपमा अहिलेको पुस्ता यस अर्थमा धेरै हदसम्म भाग्यमानी साबित भइरहेको छ।
आफ्नो करियर केमा बनाउने भन्ने विषयमा भएका थुप्रै विकल्पहरू, करियर गाइडलाइन, इन्टरनेटको सहज पहुँच र काउन्सिलिङका कक्षाहरूबाट अहिलेको पुस्ता लाभांवित देखिनुका साथै पहिलाजस्तो डाक्टर, इन्जिनियर, पाइलटमात्रै सम्मानित पेशा होइनन् भन्ने समाजमा आएको वैचारिक परिवर्तनले अरूले के बन्न भन्छ भन्दा पनि आफ्नो मनको सुन्नुपर्छ भन्ने खालको सकारात्मक वातावरण बन्दै गइरहेको छ, जुन खुसीको कुरा हो। यसतर्फ हरेक अभिभावकहरू गम्भीर हुन समेत उत्तिकै जरूरी छ।
यसो भनिरहँदा कहिलेकाहीँ म आफूभित्र पनि नियाल्छु र आफैंलाई बुझ्ने प्रयास गर्छु, सायद अहिलेको जस्तो किशोरमैत्री वातावरण आफ्नो किशोरावस्थामा समेत भएको भए म के बन्न उत्सुक हुन्थेँ होला?
मेरो पनि त केही न केही रुचीको विषय थियो होला भनेर आफैंभित्रको ‘म’ लाई खोज्ने प्रयास गर्छु।
बाल्यकालमा म निकै कम बोल्ने स्वभावको थिएँ। कसैले गरेको प्रश्नको जवाफ दिनेभन्दा धेरै नबोल्ने बच्चा अहिले खुब गफिनुपर्ने, आफूलाई खड्किएको कुरामा धारणा राख्नुपर्ने, चित्त नबुझेको कुरामा प्रतिक्रिया दिनुपर्ने र सकभर सबैसँग सामाजिक रूपमा सौहार्दपूर्ण व्यवहार गर्न रुचाउने स्वभावको व्यक्तिको रूपमा परिणत भएको छ।
सानो छँदा चित्र कोर्न रुचाउने म किशोरावस्थामा साथीहरूसँग क्लब गठन गरी चाडपर्व लक्षित सांस्कृतिक कार्यक्रम गर्ने, नाटक लेखन,निर्देशन र अभिनय समेत गर्न रुचाउने स्वभावलाई सम्झँदा आफूभित्र कता-कता कलाप्रतिको झुकाव रहेको तथ्य उजागर गर्न पुग्छु।
एसएलसी सकेपछिको खाली समयको मेरो साथी नै रेडियो हुने गर्दथ्यो। गीत-संगीतहरूको पारखी म राति अबेरसम्म गीत सुन्दै सुत्ने बानीले गर्दा रेडियो नेपालको सेवा समाप्त भइसकेर स्वाँ.. गरिरहेको रेडियोलाई आमाले बिहानको धार्मिक कार्यक्रमका लागि खोज्दै गर्दा मेरो सिरानीमा भेटेर लग्नु स्वभाविक दैनिकी जस्तै हुन्थ्यो।
कलेज पढ्दा लिएको उद्घोषण तालिम र तत्पश्चात् स्थानीय मिडियामा कार्यक्रम प्रस्तोताको रूपमा जोडिएको प्रसंग होस् वा कलेजको स्वागत र वार्षिकोत्सव कार्यक्रमको हिस्सा बनिरहने परिवेश होस्, म साँच्चै नै कला अनुरागी व्यक्ति रहेको कुरामा प्रष्ट भएको छु अहिले।
हुन त त्यो बेलाको रहरलाई पूरा गर्छु भनेर मोडलिङको बाटो समेत नढकढक्याएको त होइन तर बाहिरबाट देखिने चमकतालाई वास्तविकताको अँध्यारोले ओझेल पारेसँगै त्यसतर्फको मोह पनि सेलाएर गयो।
त्यो उमेरमा सबैलाई कला, गीत-संगीत र मिडियामोह हुनु स्वभाविक हो भन्ने मेरो ठम्याई र सायद त्यो समयमा मेरो रुचीको विषयले पेशाको आकार लिन सक्दैन भन्ने समेत ठानेर होला आफ्नो विश्वविद्यालयको अध्ययनलाई नै प्राथमिकता र महत्व दिनपट्टि लागेँ।
त्यसो त मेरो यो आलेख, आफूले गलत निर्णय लिएको वा सही निर्णय लिन नसकेकोमा पछुतो मानिरहेको भन्नेतर्फ कदापि केन्द्रित छैन, मात्र बाल्यकाल र किशोरावस्थामा आइपर्ने समस्याहरू र समाज अनि परिवारको महत्वकांक्षाले समेत थुप्रै युवाहरूको करियर छनोटमा हुने अन्यौल र पार्नसक्ने असरतर्फ केही भए पनि सकारात्मक सन्देश जान सकोस् भन्ने ध्येयमा केन्द्रित रहेको छ।
किनकि हरेकले किशोरावस्थामा यो समस्यासँग ठोकिनुपर्ने भएकाले समयमै उचित परामर्श र विवेकपूर्ण निर्णयको आवश्यकता महत्वपूर्ण हुन्छ भनेर सबैले बुझ्न जरूरी छ भन्ने मेरो मान्यता हो।
मसँग जे छ र म जहाँ छु एकदमै सन्तुष्ट छु। त्यसै पनि म आफूसँग नभएको वा हुन नसकेको कुरामा चिन्तित हुनुभन्दा आफूसँग भएको कुरा नगुमोस् भन्नेतर्फ बढी चिन्तित हुनुपर्छ भन्ने तथ्यमा विश्वास गर्दछु।
अपरिपक्वता र अस्थिर मनकै कारणले सायद ऊबेला आफूभित्रको ‘म’ लाई राम्रोसँग चिन्न नसकेको हुँला तर आज आफ्नो जागिरे जीवन, पारिवारिक र सामाजिक जीवनको जिम्मेवारीबोधसँगै नितान्त ‘म’ लाई समेत ध्यानमा राख्नुपर्ने आत्मबोधले गर्दा समय मिलेसम्म कला र सिर्जनाका कार्यमा आफूलाई संलग्न गर्दै आइरहेको छु। अनावश्यक कुरामा समय व्यतित गर्नुभन्दा सिर्जनशीलतामा रमाउने प्रयत्न गर्दा साँच्चै अनौठो खुसी मिलेको आभाष समेत भइरहेको छ।
भनिन्छ नि, कोदालो र हलोको फालीलाई नियमित प्रयोगमा ल्याइएन भने बिस्तारै खिया लाग्न थाल्दछ, त्यही सम्झेर आफूलाई समेत चलायमान बनाइरहनु आवश्यक ठानेर आफूभित्रको ‘म’सँग रमाउनमा अभ्यासरत छु आजभोलि।
अरूले के भन्ला भन्ने कुरालाई बिर्सिएर आफूलाई महत्व दिने र माया गर्नेतर्फ प्रेरित भइरहेको छु।
त्यसैले ऊबेला पूरा गर्न नसकेको रहरलाई आज कहिले आफ्नै रचनाको गीतमा अभिनय गरेर त कहिले निजी विचार र अनुभूतिमार्फत सबैसामु आफ्नो सिर्जनालाई पस्कने प्रयास गरेर कलालाई अंगालिरहेको हुन्छु। मनको भावनाको सहयोगमा शब्दहरूसँग खेल्नु, अनि त्यसैमा रमाउँदै खुसी खोज्नु समेत रोजाइको विषय बनेर रहेको छ।
त्यसैले आफ्नो नियमित जीवन र जिम्मेवारी सँग-सँगै गीत, कविता, कथा, संस्मरण र विचारहरू जस्ता रचना अनि सृजनाहरूसँग रमाइरहेको छु।
हृदयभरिको सुख, मनको शान्ति र अतिरिक्त खुसीसँगै आफूभित्रको ‘म’ लाई महत्व दिँदै कुनै बेला ठूलो भएर के बन्ने ? भनेर अन्यौलमा रहेको म,आज हरदम समाजमा असल व्यक्ति बन्ने एवं समाजलाई सक्दो सकारात्मक प्रभाव पार्नेतर्फ प्रयत्नशील रहने सोचलाई आत्मसाथ गर्दै, एक सफल जीवन र सुन्दर भविष्यप्रति आशावादी हुँदै अघि बढिरहेको छु।