आइतबारको दिन दिउँसोको यस्तै १२ बज्दै थियो। जाडो महिना भएकोले कोठाबाहिर घाम तापेर केही किताब पढ्दै थिएँ। केही समयको अन्तरालमा जब भित्र आएँ मोबाइलको मेसेन्जरमा मेसेज आएको रहेछ।
नाम कताकता चिनेको, कताकता नचिनेको जस्तो लाग्यो।
‘बहिनी नमस्कार!’ भनेर लेखिएको रहेछ। अचम्मित हुँदै मेसेन्जर खोलेर हेरेँ।
कामको सिलसिलामा केही सेमिनारमा भेटपछि सामाजिक सन्जालमा जोडिनु भएको दिदी हुनुहुन्थ्यो।
हतारिँदै नमस्कार फर्काएँ र सोधेँ- दिदी, नेपालमा त मध्यरात भैरहेछ सुत्नु भा’छैन ?
केही नबोली इमोजी पठाउनुभयो, हाँस्दा हाँस्दा आँखाबाट आँसु झरेको।
म एकछिन अलमल परेँ। तर पछि बुझिहालेँ मझैं दिदी पनि इमोजीसँग धेरै नखेल्ने हुँदा झुक्किएको हुनुपर्छ।
फेरि अघिकै प्रश्न दोहोर्याएँ- दिदी सुत्नु भा’छैन?
‘बहिनीलाई डिस्टर्ब गरेँ सरी है, मलाई आज साह्रै भएको छ बहिनी। भन्ने मान्छे कोही पाइनँ। हजुरसँग दुई वर्षअघिको एकैछिनको त्यो भेटमा पनि छुट्टै खालको आत्मीयता पाएकी थिएँ, त्यसैले आज हजुरलाई सम्झिएर मेसेज गरेँ’ भनी अघि बिग्रिएको इमोजीलाई सच्याई रोएको इमोजी पठाउनु भयो।
मेरो मन अतालियो र हतारिँदै सोधेँ- के भयो दिदी, सबै ठिक छ नि?
दिदी पनि हतारिँदै लेख्दै हुनुहुन्छ भन्ने उहाँको बिग्रिएर आएको रोमन टाइपिङबाट थाहा पाइसकेको थिएँ।
भन्दै हुनुहुन्थ्यो- बहिनी म थाकेँ, जीवनदेखि थाकेँ। कसै गरेनि मैले मेरो परिवारलाई खुसी राख्न सकिनँ बहिनी। बाआमाले जल खाएर दिएको श्रीमान पनि आफ्नो भएन बहिनी। छोराछोरी पनि भनेको केही मान्दैनन्, आफ्नै सुरले चल्छन्, भनेको केही मान्दैनन्।
मैले कहीँ चित्त बुझाउने ठाउँ पाइनँ बहिनी। खाली आँसुमात्र झरिरहन्छ, केही बोल्न लागे घाँटीमा केही अड्केजस्तो हुन्छ म अब जागिर पनि धान्न नसक्ने भैसक्या छु, म थाकेँ बहिनी।
दिदीको यति मेसेजबाटै मैले थाहा पाइसकेको थिएँ, दिदी डिप्रेसनको सिकार भैसक्नु भएको छ भनेर।
‘दिदी निर्धक हुनू, मनमा केही नराख्नू, खुलेर भन्नू, मन हलुका हुन्छ…..’भनेर मैले मेसेज पठाएँ।
केहीबेरमा ‘कसैलाई नभन्नू है बहिनी, मेरोबारे’ भन्दै रोएको इमोजी पठाउनुभयो।
मैले कसैलाई नभन्ने बाचा दिएँ र निर्धक्क मनमा लागेका कुरा भन्न भनेँ।
केहीबेर त मौन रहनुभयो।
त्यसपछि बोल्न थाल्नुभयो- बहिनी, हाम्रो जागिर त कस्तो हुन्छ हजुरलाई थाहा नै छ, कहिले फिल्डमा त कहिले अफिसमा। फिल्ड जाँदा कयौं दिन उतै बसेर काम गर्नुपर्ने हुन्छ। बुढाले शंका गरेर फिल्ड गएर आएपिच्छे कति जनासँग लठारिएर आइस्, कसैको नभाको जागिर खाइछस्, घर छोराछोरी छोडेर। जागिरको नाउँमा दुनियाँसँग डुल्दै हिँड्चेस्, कति जनासँग सुतेर आइस्? सुन्न नसक्नेसम्म गरी बोल्चन् बहिनी।
छोरा छोरी भर्खर बैंसले छुने बेला भाका छन्। जे बोले नि अनर्थ लाएर बुझिदिन्चन्, केही भनी सम्झाउनै हुँदैन उल्टै घर छोडेर जाने धम्की दिन्छन्।
उनीहरूको बाबालाई केही मतलबै छैन। छोराछोरी कहाँ गए, कतिखेर आए, के खाए। छोराछोरीको खर्च कति हुन्छ अहँ केही मतलब नै हुन्न। म कतातिर मात्र धानु बहिनी। जागिर गरूँ घरबारै बिग्रने भो, जागिर छोडूँ यो मनले कसरी मान्छ र बहिनी। त्यति दु:ख गरी पढेर आफू सरहको एउटै पढाइ भएको श्रीमान जागिर गर्ने म चाहिँ किन घर बुढीमात्र भएर कसरी बस्नूँजस्तो, त्यत्रो पढेर के घरभित्रै थन्कनुजस्तो लाग्छ।
म थाकेँ बहिनी। खाली नराम्रो सोचमात्रै आउँछ, म बाँच्नुको कुनै अर्थ छैनजस्तो लाग्छ।
म एकछिन अकमकिएँ।
के भनी सम्झाऊँ के। दिदीको मनलाई बहलाऊँ, यति टाढा छु, दिदीले केही नराम्रो कदम उठाइहाल्नु भो भने भनेर हतारिँदै भने-नआतिनू दिदी, आत्तिएर समस्याको समाधान हुँदैन। जसरी हुन्छ आफूले आफूलाई बलियो राख्नुपर्छ। आफ्नो आत्मसम्मानभन्दा माथि कुनै सम्बन्ध हुँदैन दिदी।
योबारे हजुरले सोच्नै पर्छ। सबभन्दा पहिले त हजुरलाई मनोवैज्ञानिक चिकित्सकको जरूरी छ दिदि। मेरो साथी छे यहीबारे अध्ययन गरेकी। त्यहीँ काठमाडौं छे। म भोलि हजुरलाई भेट्न जान भनी पठाउँछु हजुरको सम्पर्क नम्बर दिनू त, म साथीलाई पठाइदिन्छु भन्न नसक्दै मेरो कुरा काटेर दिदिले भन्न थाल्नुभो- भो हुँदैन बहिनी, उल्टै दिमागी सन्तुलन बिग्रिएको छ भनी बसी खान दिन्नन् बहिनी घरमा। यसै त यस्तो छ….।’
मैले उहाँलाई सम्झाउन खोजेँ।
‘केही हुँदैन दिदी, अहिलेको समयमा सबैमा हुन्छ यो समस्या। कसैले बाहिर देखाउँछन्, कसैले भित्रै लुकाउँछन्। नआतिनू, म साथीलाई भनिदिन्छु त्यसले राम्रोसँग सहयोग गर्छे। हजुर बलियो भएर आफ्नो खुसीको बाटो रोज्नुपर्छ दिदी।’
‘हस् बहिनी, भन्दै बल्लतल्ल दिदीले फोन नम्बर दिनुभयो।
‘ल दिदी भोलि बिहान म साथीलाई सम्पर्क गर्न लगाउँछु, अहिलेलाई केही मन भुलाउने धुन सुनेर, आँखा बन्द गरेर सुत्ने कोसिस गर्नू। केही भन्न मन लाग्यो भने केही संकोच नमानी मसँग सेयर गर्नू है। म सदा तपाईंको साथमा छु। यति भनेर दिदीसँगको कुराकानी टुंगियो।
मानसिक रोगबाट ग्रसित हुनु कुनै अपराध होइन भनी हरेक मानिसले बुझ्न जरूरी छ। यो पनि अरू सामान्य रोगजस्तै हो भनेर अपनाएर आफ्ना वरिपरि भएका परिवारका सदस्यसँग खुलेर कुरा गर्न सक्ने वातावरण बनाउन जरूरी छ।
अनि साक्षरताको घमण्ड देखाइ बाहिर नारी स्वतन्त्रता र सशक्तीकरणको कुरा गरी घरभित्रका नारीलाई मानसिक रोगको सिकार हुने गरी शंकाको घेरा कोर्नेहरू सदैव असाक्षरताको घेराभित्र पर्छु भनी पनि बुझ्न जरूरी छ।