यस कथामा म हुनु र नहुनुले कुनै अर्थ राख्दैन अथवा केही अर्थ राख्छ त्यो पनि थाहा छैन मलाई।
खैर यो मेरो कथा होइन, यो मैले भोगेको कथा पनि होइन। यो उसले सुनाएको वा यो उसको कथा हो।
यो केही वर्ष पहिलेको कुरा हो। त्यो समय म गोरखामा थिएँ काम खासै केही थिएन मात्र घुम्ने काम गर्थें। मसँगै मेरा केही विदेशी साथीहरू पनि थिए। एक विदेशी जो लण्डनबाट आएको थियो।
ऊ आफूलाई एक विदेशी फोटोग्राफर सम्झन्थ्यो। अरू पनि थिए तर ऊ मेरो अलि नजिक थियो। थाहा छैन त्यो संयोग पनि हुनसक्छ तर मलाई लाग्थ्यो ऊ र म एकैदिन, एकै साल जन्मेका भएर नजिक भएका हौं।
ऊ लण्डनको कुनै कस्मोपोलिटन सहरमा र म गण्डकी प्रदेशको कुनै सुदूरपूर्व गाउँमा एकै दिन जन्मेका थियौं।
करिब तीन महिना हामी एउटै गाउँमा बस्यौं। हामीले सँगै बिताएको समय करिब तीन महिना मात्र हो। तर ऊ मेरो जीवनमा भेटिएको एक अमूक पात्र थियो। म ऊप्रति त्यति बेखबर हुन सक्दिनँ।
उसको नाम ड्यास्पर ब्रुम थियो। म उसलाई ड्यास भन्थें अनि ऊ मलाई अंग्रेजी लवजमा निजुला भन्थ्यो।
ऊ हसिमजाक गर्थो, ऊ गम्भीर भएको नसुहाएको जस्तो लाग्थ्यो।
एक दिन हाम्रो बिहानै गोरखा बजार जाने प्लान थियो।
हामी बसेको गाउँबाट गोरखा बजार पुग्न करिब डेढ घण्टा लोकल बसमा लाग्थ्यो।
बिहान सबेरै हामी सबै जाने भयौं तर ऊ एक्कासि भक्कानियो र नजाने निर्णय सुनायो।
म उसलाई देखेर झस्किएँ, के सोधौं शब्दहरू भेटिनँ। सबै जाने भए तर किन किन मलाई लाग्यो म उसँगै हुनुपर्छ।
उसलाई अप्ठ्यारो मान्दै सोधेँ, ‘ह्वाट ह्यापेन्ड ड्यास? आई विल बि विथ यू’ उसले केही भनेन।
मलाई लागेको थियो त्यो बिहान ऊ मसँग खुलेर बोल्नेछ। तर त्यस्तो केही भएन। ऊ त्यो बिहानभरि हरायो। गाउँलेका अनुसार ऊ बिहानभर स्कुलको चौरमा थियो।
उसलाई मैले मध्यान्हको करिब १२ बजे मात्र भेटें र भनें- ड्यास म तिमीलाई नै कुरिराखेको। यदि तिमी कम्फरटेबल छौ भने आफ्नो कुरा भन्न सक्छौ।
ऊ अनकनायो र मलाई पर चौरमा जाऊँ भन्यो।
उसँगै गाउँ नजिकैको चउरमा गएँ। उसले मलाई त्यो दिन आफ्नोभन्दा पनि कुनै दूर महादेशको कथा सुनायो।
ऊ करिब छ महिना रुवान्डा बसेको थियो। उसलाई लाग्थ्यो हामी एसियनहरू र अफ्रिकनहरूमा खासै फरक छैन।
उसले मलाई सोधेको थियो किन तिमी अफ्रिका होइन अमेरिका जान चाहन्छौ ? मैले भनेकी थिएँ किनकि अमेरिका सपनाको देश हो।
ऊ भन्थ्यो किन तिम्रा सपनाहरू यति संकुचित छन्। म हाँसें मात्र तर भन्न मलाई लागेको थियो किनकि म तिम्रो जस्तो देशमा जन्मिन तर भनिनँ।
उसले त्यो दिन मलाई अफ्रिकाको विशालता र विषमताको कुरा बतायो र पहिलोपटक 'फिमेल जेनेटल म्युटिलेसन'को कुरा पनि बतायो। मलाई लाग्यो कस्तो अचम्मको परम्परा, म आफूलाई अफ्रिकन भएर नजन्मेकोमा भाग्यमानी सम्झें। तर उसले मलाई ऊ किन दुखी छ भनेन। मात्र भन्यो, ‘निजुला आई वान्ट टु सि यू ह्याप्पी’।
दिनहरू त्यतिकै बिते। तीन महिना बित्न समय पनि त लाग्दैन।
हामी छुट्टिने समय आयो। मलाई याद छ त्यो पल उसका आँखा रसाएका थिए, जब अन्तिम पटक भक्तपुरको कुनै क्याफेमा हामीले एक अर्कालाई अन्तिम बिदा गरेका थियौं। एकअर्कासँग सम्पर्कमा रहिरहने बाचासहित।
ऊ लण्डन फर्कियो। म आफ्नै काममा व्यस्त भएँ। म घुम्ने काम छाडेर पढाउने कामतिर लागेकी थिएँ।
एक दिन घर फर्केपछि उसको एउटा इमेल भेटें जसमा लेखिएको थियो,
प्यारी निर्जला,
मलाई लाग्छ तिमी खुसी छौ। एउटा लाजमर्दो कुरा भन्छु ल तिमीसँग। म ओलम्पसको फोटोग्राफरको रूपमा तिमीसँग पहिलोपटक परिचय दिएको थिएँ।
बिडम्बना मसँग तिम्रो एउटा पनि फोटो रहेनछ। म अहिले लज्जित छु। तिमीले मलाई एकपटक भनेकी थियौ, मेरो एउटा यस्तो फोटो खिच जसले मलाई साँच्चिकै अनुभूत गराओस् तिमी ओलम्पसको फोटोग्राफर हौ’तर म साँच्चिकै लज्जित छु। त्यो गोरखा बजार नगएको दिन तिमीले सोधेकी थियौ तिमी किन दुखी छौ? मैले त्यो दिन तिमीलाई केही भनिनँ सायद भन्न सकिनँ।
आज भन्छु ल !
खासमा त्यो दिन मैले रुवान्डाको कुरा गरें तर म दुखी हुनुको कारण पनि कहीँकतै त्यही थियो तर तिमीलाई भनिनँ।
तिमीलाई थाहा नै छ। म छ महिना रुवान्डा बसें। बस्दाबस्दै म एक रुवान्डन युवतीको प्रेममा परेको थिएँ। ऊ पनि मलाई चाहन्थिन्।
म लण्डन आएपछि पनि हाम्रो सम्बन्ध अघि बढ्यो। म त्यही खुसी बाँड्न नेपाल आएको थिएँ।
म उनलाई नेपालका हिमालहरू देखाउन चाहन्थें। तर त्यसदिन बिहानै म उनको इमेलले चकित भएँ।
उक्त इमेलमा उनले आफ्नी भतिजीको 'जेनेटल म्युटिलेसन'को कारण गुमाएको दु:ख व्यक्त गरेकी थिइन्। ती सानी फुच्ची किन किन मलाई मेरी प्रेमिकाजस्तै लाग्थ्यो। त्यो दिन मलाई लाग्यो मैले उनलाई नै गुमाएँ। त्यो दिन भन्न नसकेकोमा दुखी छु र तिमी सधैं खुसी भएको सुन्न चाहन्छु।
उही
ड्यास्पर
त्यो दिन ड्यास्परको इमेलले मलाई खुसी त बनायो तर त्योभन्दा बढी दुखी उसकी प्रेमिकाको भतिजीको मृत्युले भएँ। थाहा छ त्यो मेरो कथा होइन तर किन किन म साना किशोरीहरूको मृत्यु सुन्न सक्दिनँ। ड्यास्परको प्रेमिकालाई के बित्दै होला जबजब साना नानीहरुकू मृत्युको समाचार सुन्छु उनलाई सम्झन्छु।