मेरी एउटी बेष्टफ्रेण्ड छ। दुई वर्षसम्मको लगातार भेटमा पनि आफ्नो श्रीमानसँग भेट गराइनन्। फोनमा समेत कुरा गराउन भन्दा पनि गराइनन्।
यतिसम्म कि म उनको मिल्ने साथी हो भनेर श्रीमानलाई जानकारीसमेत नगराएपछि बाध्य भएर मैले अलि जंगिएर सोधेँ 'तेरो पोइ हिराको टुक्रा हो? मलाई चिनाउँदा के लुटिन्छ तेरो?'
उसले पनि ठुलै डाको लगाएर जवाफ दिई, 'तँजस्तो डिभोर्सीलाई कसरी चिनाउनु मैले! यस्तो परिवार बिग्रेको केटी मेरो साथी हो भन्दा मलाई तेरो संगत गर्न दिन्छ उसले? त्यसैले नचिनाको। डिभोर्सीलाई कसले सही भन्छ?'
उनको जवाफले म अवाक् भएँ। निरुत्तर रहेँ, सायद मौन।
अलिक अगाडिको कुरा। कलेजसँगै पढेको साथी थिई। धेरै दिनदेखि भेट भएको थिएन। उसलाई भेट्न उसकै अफिसमा गएँ। मैले लोग्नेसँग पारपाचुके गरेको विषयमा गहभरि आँसु पार्दै सहानुभूति दिइन्।
मानौं, मेरो सम्बन्ध विच्छेद भएको नभई मेरो श्रीमान् मरेको हो जस्तो। केहीबेर भलाकुसारीपछि उसले काठमाडौँमा नयाँ घर बनाएको भनेकाले घर कस्तो छ हेर्ने रहर देखाइदिँए।
उसले हठात् भनी, 'घरमा त लान हुन्थ्यो तिमीलाई, हेर न फुच्चीको बाबा रिसाइसिन्छ। अचेल तिमीसँग हिँडेको बोलेको मन पराइसिन्न्। तिमी त कुरा बुझ्ने मान्छे बुझ्छौ नि। अस्ति तिमीसँग भिडिओ कल गरेको थाहा पाएपछि मलाई कस्तो कराइस्यो। अब तँ पनि डिर्भोस गर्ने विचारमा हो र यो डिभोर्सीसँग कुरा गरेको? म त के भन्नु भन्नु भएँ। कुनैदिन उहाँ कहीँ गएको बेला लान्छु नि है।'
म फेरि अवाक् भएँ। हुन्छ, भन्दै फर्किएँ।
केही मेरा केटा साथीहरु पनि छन्। मलाई सुझाव दिइरहन्छन्। 'अरु सबै कुरा गर तर यो डिर्भोस भएको कुरा कहीँ कतै नभन है। पुरुषहरुको नियत खराब हुन्छ, एकल महिला देख्यो कि पिछा गरिहाल्छन्। कहीं कतै एकैदिन वा रातको लागि पाइन्छ कि भनेर।'
म उनीहरुलाई विश्वस्त पार्छु, म भन्दिनँ डिभोर्सी हो भनेर।
जब मनमा यो सम्बन्धको भविष्य छैन भन्ने महशुस भयो, रातदिन झगडा गरेर, शंका गरेर बिताउनुभन्दा यस्तो विवाह कानुनी रुपमै अन्त्य गर्नुपर्छ ठानेर जिल्ला अदालत जाँदा केही अधिवक्ता साथीहरुले भन्नु भयो, 'सक्छौ भने डिर्भोस नै चाहिँ नगर। समाजमा हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ। अलिक दिन सोच्ने हो कि?'
सन् १९७० देखिको आँकडालाई हेर्ने हो भने संसारभर सम्बन्ध विच्छेद गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। २०२० को डाटा अनुसार अमेरिकामा करीब ३९ प्रतिशत विवाहहरु कानुन सम्मत पारपाचुके भएका रहेछन् (हेल्थ इन्डेक्स)।
काठमाडौं जिल्लामा गत वर्ष २ हजार ३९२ वटा यस्ता मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ६८३ वटा दर्ता भएको छ। विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका युवायुवती सम्बन्ध विच्छेदका लागि आउने गरेका छन्। यस्ता मुद्दा महिनामा १५० देखि २ सय वटासम्म पर्ने गरेको देखिएको छ (काजिअ)।
सम्बन्ध विच्छेद अरुका लागि कानुनी विषय होला तर नेपालको सन्दर्भमा भने कानुनीभन्दा बढी चारित्रिक विषय रहेछ भन्ने कुरा म भुक्तभोगी भएर बुझ्दै छु। अनि झन् ठूला प्रतिकृयाहरुको सवाल जवाफ।
'तपाईलाई अलिकति पनि भविष्यको डर वा चिन्ता छैन? डिर्भोस भैसकेपछि त जीन्दगीको अलिकति डर लाग्नु पर्ने हो।' अर्को एकथरी सुझाव टाइपको कमेन्ट आँउछ 'मेरो डिर्भोस भयो भनेर सुनाउँदै नहिड्नु, मान्छेले अर्कै सोच्छन्।'
यो अर्कै सोच्छन् भनेको कुरा म सोच्नै सक्दिनँ। के सोच्छन्, कसरी थाहा पाउनु र!
दशैंताका म घर जाँदा पहिलाको जस्तो छरछिमेकसँग उतिसारो भेट भएन। होस् पनि कसरी, कोरोनाको महामारी थियो। तर केहीले कुरा सुनाइदिए, 'मुख कसरी देखाओस् त, विचरा लोग्नेले छोडेछ। हावा नचली पात हल्लिनन्, केही न केही नगरी त त्यसको लोग्नेले कसरी छोड्थ्यो र?'
मैले केही न केही गरेर मेरो सम्बन्ध विच्छेद भएको थिएन, बरु लोग्नेले केही न केही गरेर मैले अदालत जानु पर्यो। दुखको कुरा के भने, उनीहरुले मेरो यो जवाफ पाएनन्।
समाजशास्त्र पढ्दा थाहा भएको एउटा कुरा, विवाह एक सामाजिक संस्था हो। यसले सन्तान उत्पादन गरी परिवार बनाउने आधार तयार गर्छ। तर त्यही समाजशास्त्रले सम्बन्ध विच्छेदलाई संस्था मान्दैन।
विवाह सामाजिक संस्था हो भनेर मानिसकेपछि सम्बन्ध विच्छेद पनि सामाजिक रुपमै गर्नु पर्यो। तर विवाहलाई अलौकिक दर्जा दिने समाजले सम्बन्ध विच्छेदलाई उच्श्रृंखल शैली भन्दो रहेछ।
मानिसको जीवनमा प्रेमले कती अर्थ राख्छ, त्योभन्दा धेरै विवाहले राख्छ। विवाह गर्दा मात्र एक युगल जोडी सम्बन्धमा रहँदैनन्, मुख्य रुपमा दुई परिवार नै गाँसिन पुग्छन्। अनि यही विवाहको अन्त्यपछि ती सम्बन्ध कहाँ हो कहाँ गायब हुन्छन्।
म एक्लै कहाँ हो र! मेरा अरु केही साथीहरु छन् जसले डिर्भोस गरेका छन्। हामी कहिले काहीँ डिर्भोस क्लब भन्दै भेटघाट गर्छौं। मान्छेहरु भन्दा रहेछन्, 'जस्ताको त्यस्तै साथी, फलानो फलानो बिग्रेका आइमाई। अब यहाँभन्दा बिग्रनु केही रहेन। अब कसले लान्छ तिनीहरुलाई? यस्ता आईमाई बेहोरेर को बस्छ?'
मेरो परिवारमा म मात्र होइन अर्को एउटा दाइको पनि डिर्भोस भयो। डिर्भोसपछि परिवारले एउटा डिसिजन गर्यो, काली गई, अब गोरी आउँछे। नभन्दै केही समयमै दाजुको भनेजस्ती कन्या केटीसँग विवाह भयो, धुमधामसँग।
यही परिवारमा म पनि बस्छु, त्यही परिवारको सदस्य हुँ म। बेलाबेला कुरा आउँछन् अर्थात् मेरो विवाहको प्रसंग उठ्छन्,
प्रसंग १- फलानो ठाँउमा, फलानो मान्छेकी श्रीमतीबाट सन्तान जन्मिएनन् रे, अब उसैकै श्रीमतीले आफ्नो लोग्नेलाई बिहे गर भनेकी छ रे, कुरा चलाउँ।
प्रसंग २- फलानो मान्छेकी स्वास्नी पोहोर मरेकी रे, छोराछोरीको स्यारसुसार गर्ने कोही नभएर अलि म्याचुअर केटी खोज्दै छ रे। नत्र त बिहे नै नगरेका केटी नपाइएका त होइनन् तर बच्चाको कुरा आमाले मात्र बुझ्ने भएकाले तिम्रो कुरा चलाको छु। कल्याण हुन्छ त्यसको पनि।
प्रसंग ३- मान्छे एकदम धनी, अलि बिमारी भैराख्दो रहेछ। छोराछोरी विदेश गैसकेका, स्वास्नी अर्कैसँग गएकी। उमेरले अलि बढी भएपनि मान्छे सोझो र इमान्दार छ। के गरौँ?
यी सबै प्रसंगमा मेरो 'नाई' भन्ने जवाफ पाएपछि मेरा लागि केटा खोज्ने काम लगभग हापिदिए। अनि अचेल व्यंग्य आउँछ, 'कहाँ पाउनु त भनेजस्तो केटो एकचोटि घरवार बिग्रिसकेपछि आइमाईको!'
तर दाजुको बिहे गर्दा उसले यस्तो कहीँ कसैबाट सुन्नु परेन।
समस्या त कहाँनिर भने, महिलाहरु पुरुषबिना निरीह बन्छन्, अहिले नभएपनि बुढेसकालमा लोग्नेको साहारा चाहिन्छ, एक्लै बस्नु उचित हुँदैन्। यो रोगले यति जकडिएको छ हाम्रो सोच कि हरेक पटक लोग्नेको आवश्यकता महशुस गराई छाड्छन्।
यस्तै सोचेर होला मेरी एउटी साथीले अघिल्लो वर्ष गुपचुपमा विवाह गरी। केटाले पनि परिवारको खिलाफ गएर एक डिभोर्सीसँग विवाह गर्यो। अहो! कति ठूलो दिल त्यो केटाको।
अचेल ऊ भन्छे, 'केटी बिहे गर्दै नगर्, अर्को घरबार मुस्किल पर्छ। गरी हालिस् भने आफूजस्तै डिभोर्सीसँग मात्र गर्। कन्ये केटोसँग नगर् है।'
जब मैले विवाह गरेँ भनेर भन्न मिल्छ तर सम्बन्ध विच्छेद गरेँ भन्न डराउनु पर्छ। जब मिल्ने साथीहरु नै पारिवारिक प्रश्नको सामना गर्नुपर्छ भनेर सशंकित हुन्छन् भने डिभोर्सीहरु सम्बन्धका लागि खतरापूर्ण भएनन् र?