‘गे भुनियाँ, चाय नबन्ली ?’ पान खाएर पिच्च भित्तामा थुक्दै ग्राहकले सोधे।
११ वर्षकी भुनियाँ होटलमा चिया बाँड्थी, ‘लाबिछि’ भुनियाँ बोली। चिया ल्याएर टेबलमा राखेपछि उसका बढ्दै गरेका टुसालाई पछ्यौरी बाहिरैबाट नियाल्दै यौनको लालसा बढेपछि ५० रुपैयाँ दिएर फकाई आफूसँगै लान खोज्दा स्थानीयले रामधुलाई गरे।
कानमा इयरफोन लगाएर सर्ट मूभि हेर्दै गरेकी म, कलेजको लागि बस कुर्दै थिएँ। कलेज ड्रेस, फर्मल पाइन्ट, मलाई खासै उत्ताउली देखिएको थिएन, मैले स्तन देखाएर लुगा पनि लगाएकी थिइनँ, त्यै पनि त्यो सेतो कारबाट निस्केको मान्छेले मलाई तलदेखि माथिसम्म हेर्यो।
छ्या! त्यो हेराई कत्ति घिनलाग्दो। मलाई यस्तो लागिरहेको थियो, मानौं म नांगै उभिइरहेकी छु।
मैले हतार हतार व्यागबाट किताब झिकेँ अनि दुई हातले छातीमै च्यापेँ। मलाई ब्याग भारी भएकोले होइन, त्यो चिटिक्क परेको मान्छेको फोहोरी हेराइबाट आफूलाई बचाउनको लागि।
म ट्वाल्ल परेर सोचिरहेँ, यस्तो हाइ प्रोफइल मान्छेको कत्ति नराम्रो संस्कार। फेरि समाजमा उसैको कत्रो शान!
बस आयो, कस्तो प्याक! काठमाडौंमा बिहानको समय, खाली बस पाइने त कुरै भएन, चढ्न खोजेँ। सहचालकले, ‘बहिनी छिटो आऊ’ भन्दै मेरो ढाडमा समायो।
म भने माथि चढ्न खोज्दै खुट्टा अघि बढाएँ, त्यसले पछाडि मेरो कम्मरभन्दा तल समाएर मलाई चढ्न सहयोग गरेझैँ गर्यो। कत्ति बेसोमति ! ‘म आफैं चढ्न सकिहाल्छु नि!’ मैले हकार्दै भनेँ।
यस्ता कुरा सानातिना, झिना मसिना लाग्छन् तर आज देशमा कुरा बलात्कारसम्म पुग्दा पनि यी सानातिना भनिने ठूला कुराको कुरै हुँदैन।
कहिलेकाहीँ हाम्रा केटी साथीहरूको बीचमा यौनका कुरा पनि हुन्छन्। मलाई अचम्म त कहाँ लाग्छ भने मेरा त्यस्ता कोही साथी नै छैनन् जो आजसम्म 'सेक्सुअल ह्यारेसमेन्ट' अनि 'मोलेस्टेसन'का सिकार नभएका हुन्। सबैका आआफ्नै तीता अनुभव छन्, व्यथा छन्, चिच्याउन नसकेका आवाजहरू छन्।
मेरी एउटी साथी १४ वर्षकी हुँदा ट्यूसन पढाउने सरले हिसाब सिकाउने क्रममा उसको ब्राको हुक सुम्सुम्याएका थिए रे। १४ वर्षको उमेर, यो छुवाइ गलत हो कि सरले ‘बाइ मिस्टेक’ यसो गरेका हुन् सोच्दासोच्दै त्यो क्षण बित्यो।
हामीमध्ये कतिपयलाई अझै पनि हाम्रा वरिपरि भएका गलत कुराहरू गलत हुन् भन्ने नै थाहा हुँदैन। थाहा भए पनि हामी चुप लागिरहन्छौं। व्यवहारिकरूपमा भन्नुपर्दा हामी कुनै लफडा चाहन्नौं।
यहाँ विरोध तब तब मात्र भएको छ जब जब घटनाले सीमा पार गर्छ, जब जब बलात्कार हुन्छ। तर यही विरोध पहिलो चरणमै किन हुँदैन ?
‘मेरी छोरी’ भन्दै गाला मुसार्ने ती छिमेकी अंकलहरूलाई अरू देख्ने मान्छेले किन रोक्दैनन् ? (यहाँ ‘अंकलहरू’ लेखिँदै गर्दा महिलाबाट हिंसा नै हुँदैन भन्न खोजिएको चाहिँ होइन ।)
५–६ वर्षका बालबालिकालाई अभिभावकबाहेक अन्यले चुम्मा खाइरहँदा किन कसैले केही बोल्दैन ? बालबालिकालाई माया गर्ने अरू तरिका छैनन् ? छुनै पर्ने ? चुम्मा खानै पर्ने ? कतिपय बालबालिकाले यस्ता कुरा बूझ्दैनन् कतिपयलाई भने यस्ता चुम्बन मनै पर्दैनन्। उनीहरू विरोध गर्न पनि सक्दैनन्, गरिहाले पनि उनीहरूका विरोध कसैले सुन्दैनन् किनभने सबैका अगाडि यस्ता गतिविधि भइरहँदा पनि देख्नेले सामान्य रूपले लिइरहेका हुन्छन्।
हो यस्तै चुम्बनहरूले गर्दा उनीहरूलाई राम्रो र नराम्रो स्पर्श छुट्याउन गाह्रो हुन्छ।
सबै मान्छे खराब नियतका हुँदैनन् पनि, उनीहरूले गर्ने माया आत्मीय हुन्छन्, अभिभावकत्वले भरिपूर्ण तर कति भने दुष्ट यौन पिपासू!
यदि बालबालिकालाई अभिभावकत्वको संसर्ग चाहिएको छ भने नियमभित्र रहेर त्यो उसका बा–आमाले दिन्छन्, अरूले दिइराख्न जरूरी छैन।
अस्ति भर्खरै ‘तिमी बलात्कारी’ भन्ने नाराको धेरैले विरोध गरे, सबैका आ–आफ्नै तर्क, मूल्यांकन थिए। बलात्कार जस्तो जघन्य अपराध, आफैंमा यस्तो क्रूर, भारी अनि भयानक शब्दलाई यसरी सस्तीकरण गर्न त नहुने हो, तर तिमीलाई सम्बोधन गर्न मैले अरू शब्द नै भेटिनँ। सायद तिमी यसैको लायक छौ पनि।
हो, तिमीले शरीरको बलात्कार पक्कै पनि गरेका छैनौ। तिमीले त भावनाको, मस्तिष्कको, सम्पूर्ण पुरूषत्वको मर्यादाको बलात्कार गर्यौ। इच्छा त होला नि जान्ने आखिर के कारणले ‘तिमी बलात्कारी’ ?
मसँग कुरा गर्दा यदि तिम्रा आँखा मेरा स्तनतिर डुल्छन् भने तिमी बलात्कारी। मेरो आत्मविश्वास मार्ने तिमीलाई म अरू के भनी सम्बोधन गरूँ ?
च्याटमा तिम्रा प्रश्नहरूको राम्रै जवाफ दिइरहँदा तिमीले कुरालाई अश्लिलतातर्फ मोड्दैछौ, तिमी बलात्कारी।
‘तिमीले पोर्न कत्तिको हेर्ने गरेकी छ्यौ साली नानी ?’ एउटा भिनाजूले सालीलाई तेस्र्याएको प्रश्न।
‘ओइ सुन् न, तँ पनि टिनएज की, म पनि टिनएजको, हामी मिन्नाइटवाला कुरा गरौं न !’ ठाडै प्रश्न, संकोच नै छैन।
अर्को घटना, हाम्रो भर्खरै परीक्षा सकिएको थियो, मेरी एक जना केटी साथीलाई अर्को एक जना केटा साथीको मेसेज आयो, ‘तिम्रो ‘सेन्टर’ लुज छ कि टाइट ?’
‘यो बोकालाई तुरून्तै ब्लक गरी हाल त!’ हाम्रो निर्देशनमा उसले पनि त्यसै गरी।
झुरूम्म केटाहरूको ग्याङ बनाएर बसी अगाडिबाट हिँड्ने कोही पनि केटीको स्तनको साइज अनुमान गर्ने, उसका शरीरका अंग अंगलाई अंकमाल गर्ने तिमी बलात्कारी।
‘अम्बो भैंसी ! यसलाई त ४५ नं. लाग्छ हाहाहा....!’
सडकछेउ मोटरसाइकल टक्क अडाएर यसो कोल्टो फर्केर सडकबाटै निर्धक्क निर्लज्ज पिसाब फेर्न सक्छौ भने तिमी बलात्कारी।
एकपल्ट सोच त, सडक तिम्रो शौचालय हो ? सडक त सबैको साझा होइन ?
त्यहाँ कति छोरी आफ्ना बासँग हुन्छन्। दाजुबहिनी, दिदिभाइ, कलिला बालबालिका हुन्छन्, केटी मान्छे हुन्छन्। तिमीले गर्दा उनीहरूले शिर निहुराउँछन्। लाज त तिमीलाई पो लाग्नुपर्ने हो त, होइन ?
तिमीले गर्दा अन्य पुरूषलाई पनि लाज लागिरहेको हुन्छ। कहिले सोचेका छौ त्यो लाज कति नमीठो हुन्छ भनेर ?
निर्धक्क निसंकोच कोही पनि महिलाको अगाडि उभिएर तिमी आफ्ना यौनांग कन्याउन सक्छौ भने तिमी बलात्कारी।
‘कमन सेन्स’ भन्ने पनि त केही चिज हुन्छ नि ! कि होइन ?
निचताको पराकाष्ठा पार गरेको तिमी बलात्कारी। तिमी होइन ‘तँ’ बलात्कारी।
जब बलात्कारीलाई सजायको कुरा आउँछ, तब धेरैको सोचस्तर देखिन्छ, कोही नेताको छोरीको बलात्कार होस् अनि मात्र संविधानमा चित्तबुझ्दो सजाय तोकिन्छ।
तर नेताको छोरी ? के उनी चाहिँ मान्छे होइनन् ?
हो, आक्रोश छ संविधानप्रति, नेपालमा प्रचलित कानुनप्रति, कानुनलाई व्यवहारमा उतारिँदाको लापरबाहीप्रति तर यसरी नेताको छोरीको बलात्कार होस्, बलात्कारीको घरका चेलीबेटीको, बालबच्चाको बलात्कार होस भन्ने चाहना राख्नस कत्तिको मानवीय ? पीडित पात्र जोसुकै भए पनि बलात्कार त कोही अबोधकै भएको हो नि ! हिंसा रोक्न हिंसाकै कामना गर्नु कत्तिको जायज ?
हाम्रो समाजले ‘साना’ कुराको विरोध गर्नै जानेन।
एउटा घटना, यस्तै १२–१३ वर्षकी किशोरीको महिनावारी चल्दै थियो। रातिको समय, ऊ आफ्नै कोठामा पढिरहेकी थिई।
पढ्न सिकाइदिने बहानामा उसको अलि परैको नातेदार (दाजु) ले आफ्नो कोठाको ढोकामा ताल्चा लगाएर आयो, उसको ओछ्यानमा निदाएझैं गरेर सुत्यो। एउटै ओछ्यान, दाजुसँग कसरी सुत्नु भनेर दाजुकै कोठामा जान लाग्दा ढोकामा ताल्चा झुण्डिएको थियो।
अब कसो गर्ने ? उमेरको हिसाबले पनि अब चाल्नुपर्ने सही कदम चाल्न सकिनन्।
दाजु हुन्, मेरो कोठाबाट जानुस् भनेर कसरी भन्ने ? फेरि समाजले त ज्ञानी हुनु, सबैले भनेको मान्नु भनेर सिकाएको छ।
घरका अन्य सदस्यलाई पनि के भनेर कराउने ? पुनः फर्किएर आफ्नै कोठामा आइन् अनि भुइँमै सुतिन् र यौन हिंसामा परिन्।
भोलिपल्ट यी सबै कुराको जानकारी ती दाजु भनिने राक्षसकी आमाले चाल पाइन् तर विरोध गरिनन् । उल्टै ती किशोरीलाई नानाथरि कुरा सुनाइन्।
म प्रश्न गर्छु ती आमालाई तिमीले तिम्रो त्यो कलंकित पुत्रलाई दुई–चार झापड हिर्काउने चेष्टा किन गरिनौ ? त्यसलाई कानुनको कठघरामा ल्याउने साहस जुटाउन किन सकिनौ ? के विरोध गर्न बलात्कार नै हुन पथ्र्यो ? यदि बलात्कार नै हुन्थ्यो भने पनि के तिमी त्यस्ता कुपुत्रलाई दण्ड दिन तयार हुन्थ्यौ ?
मातृत्वको अगाडि खुद एक नारी किन यति कठोर ? किन यति स्वार्थी ?
मलाई क्षमा गर आमा, आज मातृत्वमा प्रश्न उठाउने दुस्साहस गरेँ मैले।
तर यो प्रश्न आमालाई मात्र होइन। सबैलाई हो। घर घरका हरेक व्यक्तित्वलाई हो। तपाईंलाई हो, मलाई हो। यदि गलत आफ्नै घरमा भएको छ भने पनि त्यसलाई विरोध गरौं। मान्छे बनौँ। मान्छे बनाऔं।
यी माथि देखाइएका घटनाहरू त केवल २–४ जनाको भोगाइ हो। सार्वजनिक यातायातमा स्त्रीअंग समाइएका कतिपय घटना मौन छन्। घरमा, कार्यालयमा, शैक्षिक संस्थाहरूमा, सार्वजनिक स्थलमा भएका यौनजन्य घटनाहरू गुपचुप छन्, अदृश्य छन्।
मैले हेरेको नाटकमा त भुनियाँको लागि स्थानीयले आवाज उठाएका थिए, वास्तविक जीवनका भुनियाँहरूको लागि मेरो समाज बोल्छ कि बोल्दैन होला ? जालीको पञ्जाबाट निकालिएकी भुनियाँले, ऊजस्तै अरू भुनियाँहरूलाई पाठ सिकाउँछे कि सिकाउँदिन होला ?
एउटा ८–१० वर्षको बच्चा बुङ–बुङ् चुरोट उडाउँदै, ‘आमाको जात’ जनाउने गाली दिँदै हिँडछ, बिडम्वना, म टुलुटुलु हेर्छु। उसका शब्द नसुनेझैं गर्छु। उसको भविष्यको बारेमा पनि सोच्छु।
उसका बा–आमालाई उसको यो अवस्थावारे थाहा छ कि छैन होला ? भोलि गएर ऊ के बन्ला ?
सडक बालकबाट देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय हक्की खेलाडी ‘राजु अधिकारी’ ? कि भुनियाँलाई झन्डै निर्मला, सम्झना वा भागरथी बनाउने त्यो नाटकको ‘ग्राहक’ ?
जबसम्म आमाको स्त्रीअंगलाई गाली गलौजको रूपमा प्रयोग गरिन्छ, तबसम्म चाहे जति नै महिलावादका नारा लगाइयोस्, ती दूषित फोहोरी नै कहलिनेछन्।
हामी नारीलाई सम्मान गर्नुपर्छ भन्छौं, तर हाम्रो प्रत्येक वाक्यमा नारीकै अंगलाई गालीगलौज गरिरहेका हुन्छौं। अनि हामीलाई सुन्नेले के सिक्छन् ? नारी अंगलाई गालीको रूपमा प्रयोग गर्न ?
कुनै पनि यौनजन्य दुर्व्यवहार ‘साना’ हुँदैनन्, यी पनि उत्तिकै निन्दनीय हुन्छन् भन्ने कुरा हामीले कहिले बुझ्ने ?
यसलाई साथी–साथी बीचमा भलाकुसारी गर्ने मात्र होइन, खुलेरै विरोध कहिलेदेखि गर्ने ?
महिलाको समस्या, महिलाको मात्रै समस्या होइन भनेर पुरूषले कहिले बुझ्ने ? कारण जेसुकै होस्, हामी कहिलेसम्म नबोल्ने ?
ती ‘खोक्रा’ सम्बन्ध बिग्रिएला कि भनेर कहिलेसम्म डराउने ?
अझै कति सहने ?