बिहे भएपछिको जीवनको अनुभव अलि अलग हुँदो रैछ।
आफ्नो नजरमा भन्दा पनि अर्काको नजरमा। मेरो बिहेकै दिनमा पनि मभन्दा धेरै उत्साहित त मेरी आमा हुनुहुन्थ्यो जस्तो लाग्छ।
थाहा थियो मलाई अबको जीवन अलि अलग हुनेछ भनेर तर मैले बिहेलाई जीवन नै परिवर्तन हुने कर्मका रूपमा हेरेकी थिइनँ।
खासमा भन्नुपर्दा मैले बिहेलाई त्यसरी हेर्न सकेकै थिइनँ। कुन कुन रूपमा अब जीवन अलग होला भनेर मैले एकपटक बसेर नै सोचेकी पनि हुँ।
केही थपिने सम्बन्ध र जिम्मेवारीहरू याद आए, त्यही थपिएको जिम्मेवारीसँगै अलिकति आफ्ना लागि घट्ने समय याद आयो तर अरू त खासै केही परिवर्तन होला भन्ने मनमा आएकै थिएन।
बिहेको निर्णय बाबा-आमाको भन्दा बेसी मेरो थियो। म तयार पनि थिएँ। मेरा लगभग सबै साथीहरूको बिहे भैसक्यो, सबै मेरा साथीहरू बिहेको दिन अलिकति उत्सुक भएको,अलिकति आत्तिएको याद छ मलाई तर मेरो विवाहको दिनसम्म पनि मलाई भने केही एकदमै ठूलो कुराजस्तो लागेकै थिएन।
बिदाइका बेला रुन्छुजस्तो पनि लागेको थिएन तर रोएँ। खासमा आमा भक्कानिएर रोएको देख्दा मेरो पनि आँसु नरोकिएको मात्र हो।
नयाँ घरको नयाँ वातावरणमा भिज्न एक-दुई दिन लागे पनि मैले सोचेको जस्तो केही ठूलो परिवर्तन भएन। यहाँ सबै बुझ्ने हुनुहुन्छ, मलाई यहाँ पनि घर नै जस्तो लाग्छ। अस्ति हामी सबैले सँगै बसेर बिहेको भिडिओ पनि हेर्यौं। भिडिओ हेरिसकेपछि चाहिँ बिहेको दिनमा यादसम्म नआएका भावनाहरू मनमा खेले।
भाइ, तँ पनि खुब रोइछ्स् म गएपछि, अचम्म लाग्यो। तेरो र मेरो जति झगडा परे पनि, तैंले शब्दमा कहिले व्यक्त नगरे पनि, तँ मलाई खुब माया गर्छस्।
यो त मलाई पहिल्यै थाहा थियो तर त्यो भिडिओ हेरेपछि अजिब लाग्यो किनकि तँ मायाले भन्दा बेसी दुखले रोएको थिइस्, तैंले जेसुकै भने पनि, तेरो मुहार मैले भन्दा प्रष्ट कसैले पढ्न सक्दैन जस्तो लाग्छ मलाई, त्यही एकअर्काका मनका कुरा आँखामा नै पढ्ने भएर नि होला "किन त्यसरी हेरिस् !" भनेर पनि खुब झगडा पर्थ्यो हाम्रो।
मेरो बिहेको दिन, आमा रुनु त स्वभाविक थियो। तँ रोइछस् भाइ,अझ भन्नु नै पर्दा, तँ मलाई त्याग्न लागे जसरी रोइछस्। तेरो क्लिप हेरिसकेपछि मलाई आजभोलि आमाले दिन थाल्नुभएको मायाभन्दा बेसी सम्मान याद आयो। तीन महिना पनि त भएको छैन मेरो बिहे भएको।
भाइ, तेरो र मेरो घर अब अलग भएको हो ? तँ मलाई तेरा केही समस्या सुनाउँदैनस् आजभोलि, कुरा हुँदा पनि घर परिवारको कुरा सोध्छस् कर्तव्य पूरा गरेजसरी।
म खुसी छु तर कहिलेकाहीँ सोच्दा न त यताको न त उताको भएँ कि जस्तो लाग्छ। खासै केही बदलिएको त छैन तर म तेरो साथी कम, दिदी बेसी, त्यो घर मेरो घर कम माइती बेसी, अनि त्यहाँ मलाई मायाभन्दा सम्मान बेसी कहिलेदेखि हुन थाल्यो पत्तै भएन। नजिकै त छैन तर टाढा कहिले भए पनि पत्तै भएन।
मेरो घरमा पाहुना भएर आउन कहिले जान्दिनँ होला म। म टाढा भएँ भन्ने नसम्झिनू भाइ। बुहारी हुनसँगै फेरि छोरी हुन पनि सिक्दै छु, छिट्टै घर आउनेछु।