हरेक व्यक्तिको जीवनको यात्रामा आफ्नो एउटा लक्ष्य हुन्छ। त्यो लक्ष्य साकार पर्न ऊ दिनरात नभनी निरन्तर त्यो प्राप्त गर्नको लागि परिश्रम गरी नै रहन्छ।
आफ्नो कुनै चाहना, जसले आफूलाई आफ्नो जिन्दगीको गन्तव्यलाई खुसी, रमणीय पार्ने त्यो सपनालाई लक्ष्य भनिन्छ। मेरो लक्ष्य देश र जनताको भलो, उनीहरुको समस्या समाधान गर्न एक असल, इमान्दार र प्रेरणादायी राजनीतिज्ञ भई देशको प्रधानमन्त्री बन्ने हो।
देश अहिले भ्रष्टाचार, सत्ताको स्वार्थको पछि 'स्वा, स्वा!' गर्दै नेताहरु आफ्ना कार्यकर्ता बटुलेर सडकमा हड्ताल, शक्ति प्रदर्शन गर्दै हिँडिरहेका छन्। मलाई सत्ताको मोह, लोभ त्याग गरी, आम मानिसहरुमा 'राजनीति एउटा फोहोरी खेल हो' भन्ने त्यो गलत सोचलाई हटाउनु नै मेरो पहिलो लक्ष्य हो।
अहिले मलाई मेरी दिदीबहिनी अबेलासम्म घर नफर्किँदा 'कतै कुनै दुष्ट बलात्कारीको त शिकार भइनन्?' भन्ने चिन्ता लाग्छ। देशमा चेलीहरुको न्याय अझै पनि अदालतको कुनै कुनामा लुकिरहेको छ।
बलात्कार, तेजाव आक्रमण, महिला बेचबिखन जस्ता महिला हिंसाहरुको अन्त्य गर्न देशमा एक असल, जनाताप्रेमी नेताको नेतृत्व आवश्यक छ। मलाई प्रधानमन्त्री भई मेरी दिदीबहिनीको यस्ता समस्याहरु महिला हिंसाको जरैबाट अन्त्य गर्ने लक्ष्य छ।
मलाई हत्यारालाई खुल्ला आकाशमा स्वतन्त्र रूपले हिँड्न दिने कुनै रहर छैन। देशमा भ्रष्टाचार गर्ने ती सबै जनताको करबाट आफ्नो भलो गर्दै राजनीतिका ती काला धब्बाहरुलाई अन्त्य गर्नुछ।
कृषि गरी हाम्रो आहार जस्तै: चामल, दाल उत्पादन गर्ने किसानहरुको परिश्रम अनुसार उनीहरुलाई सहयोग गर्ने लक्ष्य छ। उनीहरुलाई भत्ता दिँदै यही स्वदेशमै उत्पादन, उब्जेका तरकारीहरू बाहिरी राष्ट्रसँग प्रतिस्पर्धा गर्ने गुणस्तरीय र लोकप्रिय बनाउने लक्ष्य छ।
मजदुरी गरी एक छाक खाना खान पसिना बगाइरहने मजदुरको हक, हित र न्यायको निरन्तर लडिरहने एक महत्वपूर्ण लक्ष्य छ। 'समृद्ध नेपाल, सुखी नेपाली' जस्ता खोक्रा नाराहरु जनतामाझ नभनी विकास निर्माणका कामहरुमा विशेष जोड दिनुपर्छ।
युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी वैदेशिक पलायन हुनबाट रोक्नु पर्छ। आमा, छोरा, छोरीहरु छोडी आफ्ना पाखुराहरुबाट परिवारलाई पैसा पठाउने ती, दैनिक विमानस्थलमा बाकसमा स्वदेश फर्कने प्रथाको अन्त्य गर्नु छ।
नेपालका दुर्गम, ग्रामीण भेगहरुमा सडक निर्माण गर्नु मेरो अर्को लक्ष्य हो। कुनै पनि विकासमा 'सडक' मेरुदण्ड भई ठूलो भूमिका खेल्दछ।
मलाई गाउँघरमा सबै बालबालिकाको उज्वल भविष्यका लागि उनीहरुलाई निशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय र विश्व विद्यालय निर्माण गर्नु छ।
साथै गाउँ तथा सहरमा स्थानीय निकायमा असल जनशक्ति पठाई जनताका दुखहरु सुनिदिने ती जनशक्तिको खोजी गर्नु मेरो अर्को लक्ष्य हो। बेसाहारा, अनाथ बालबालिका सडकको पेटीमा लागुऔषधीको सेवन नगरी उनीहरुको भविष्य सुनौलो बनाउन उनीहरुलाई शिक्षा, निवास दिनु मेरो प्रमुख लक्ष्य हुनेछ।
यसरी देशको कछुवा गतिको विकास निर्माणलाई तुफान झैँ अघि बदाउँदै, भ्रष्टाचार, भेदभाव, महिला हिंसाको अन्त्य गर्दै एक असल, इमान्दार, मजदुरहरुको सहारा बनी देशमा असल नेतृत्व गर्ने प्रधानमन्त्री तथा प्रेरणादायी बन्ने मेरो जीवनको मूल लक्ष्य हो।