को हुन् ड्राइभर र खलासी? सामान्यतया हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा ड्राइभर भनेको सवारी चालक अनि खलासी भनेको ड्राइभरलाई सहयोग गर्ने सहचालक।
'कुनै पेसा सानो वा ठूलो हुँदैन।'
हामी सबैले सानैदेखि पढ्दै गरेको कुरा। हामी सबैजनाले त्यो बाल्य अवस्था पार गरेर मात्र आज जे छौं त्यो अवस्थामा आएका हौं। तसर्थ, हामी सबैले पढेको कुरा नै हो त्यो भन्ने पुष्टि गर्न अरु केही प्रमाण जुटाउन आवश्यक मान्दिनँ म।
सानोमा त्यही भनाइलाई आत्मसात गरेर भविष्यमा म पनि यो बन्छु, त्यो बन्छु भनेर विश्वास राखिएको हरेक पेशा मध्ये एउटा पेशा ड्राइभर पनि पर्दथ्यो। यो कुरा हामी सबैलाई अवगत नै छ।
जति नै धनी वर्गमा जन्म लिए पनि सानो छँदा म पनि ड्राइभर बन्छु भन्ने अठोट एकपल्ट न एकपल्ट त लिएकै हुन्छ।
सानोमा आफूले खेलौना गाडी, ट्रक, डोजर, कार आदि कुदाएर आफूले आफूलाई ड्राइभर सम्झने पनि पक्कै निकै जना छौं होला। खेलौना नभएपनि गाउँ घरमा काठको बटममा दुईवटा प्वाल पारेर थोत्रो चप्पललाई गोलाकारमा काटेर काटिको सहायताले गाडी बनाई नरमाएका सायदै कोही होलाउँ हामी।
आज आफ्नो स्तर अलिकति बढ्दा आफू सानोमा रमेको त्यो पेसा अंगाली जीवन ज्ञापन गर्दै गरेकालाई होच्याउन प्रयास गर्ने धेरै छन्। के यो सही हो त? एकपल्ट आफैं सोचौं न।
हो, अहिले सोच्दा हामी सबैले त्यो गलत हो भन्ने आँकलन गर्छौं। तर भोलि, एक सार्वजनिक सवारी चढ्दा वा आफ्नै व्यक्तिगत सवारी चढ्दा, तिनै निर्दोष आफ्ना ड्राइभरलाई निचा मानेर हेप्ने प्रवृत्ति बसल्छौं। यो प्रवृत्तिले एक पुस्तादेखि अर्को पुस्तासम्म पुग्ने पुहुँच पुर्याउँदै आएको पाइन्छ।
एकपल्ट आफूले आफूलाई तिनै ड्राइभर वा खलासीको ठाउँमा राखेर ख्याल गरौं त। तपाईं पनि उहाँ जस्तै परिस्थितिमा भएको सोच्नु त। आफूसँग त्यो बाहेक अरु क्षमता कम भएको सोच्नु त। आफूसँग क्षमता भएको तर अवसर नपाएर ड्राइभिङ वा खलासी काम गर्नुपरेको सोच्नु त।
हो, जबसम्म हामी उनीहरको ठाउँमा उभिएर हर्दैनौँ, तबसम्म यो प्रवृत्ति सेलाई जाने सम्भावना कम नै रहन्छ। खासगरी यो हेपाहा प्रवृत्ति भनेको स्कुल बसमा पाइने गरेको छ। अझ +२ लेभल का विद्यार्थी, उनीहरूको त कुरै छोडौँ।
हाम्रो कलेज बस बिग्रँदा त्यसलाई बनाउने हरेक प्रकारको कोशिश गर्ने को? हामीलाई गाडीमा कुनै प्रकारको चोटपटक नलागोस् भनेर ख्याल गरी गरी अघि बढ्ने को? आफ्नो स्वार्थ भुलेर हाम्रा निम्ति, हाम्रो घरसम्मको होस् या विद्यालयसम्मको, हरेक यात्रालाई शुभ बनाउने को? हामीलाई कसैले केही भन्दा 'म छु' भनेर आत्मविश्वास दिने को?
के हामीले भुलेका नै हौं त ड्राइभर अनि खलासी दाइको सकारात्मक भूमिका?
सानो छँदा मामाघर जानुपर्दा चिटिक्क भएर बाटोमा सवारी पर्खंदा कतिबेला ड्राइभर दाइले गाडी ल्याउनु हुन्छ र खलासी दाइको इशारामा गाडी रोकी हामीलाई भित्र पसाई मेरो मामाघरको यात्रा सफल बनाउनु हुन्छ भनेर हामी सबैले उहाँहरुलाई आदर गर्दथ्यौं हैन? आज के हामी ठूला भएका नै हौं त?
अझ पनि तपाईं हामी कतै घुम्न जानु पर्ने होस् या कुनै काम विशेषले कतै टाढा जानुपर्ने होस्, चाहिन्छ त केवल एक चिज, गाडी।
त्यो गाडी चलाउने को? त्यो गाडीको चलाउनेसँग राम्रो समन्वय गरेर सहयोग गर्ने हो? गाडी बिग्रँदा गाडीमुनि पसेर सकी नसकी गाडी बनाउने जमर्को गर्ने को? हाम्रो समय बचत होस् भनेर सवारी सुरक्षित र छिटो चलाउने को?
आफूले समयमा तलब नपाए पनि हामीलाई समयमै आफ्नो गन्तव्य पुर्याउने को? साहुको गाली, घरको किचकिच, आमाको माया, स्वास्नीको प्रेम, छोराछोरीको स्नेह, यी सबैलाई धितो राखेर हाम्रो निम्ति सवारी झिकेर हाम्रो गन्तव्य पूरा गराउने को?
सवारी चढ्दा हामीले केही बिगार गर्यौं जस्तै सिट कभर उक्कायौ, सिसामा नोक्सानी पुर्यायौं, यी सबैको आरोप खप्ने को? हामीले गरेको गल्तीको सजाय स्वरुप जरिवाना तिर्ने को?
दशैं होस् या तिहार, आफ्नो पर्व समेतको परवाह नगरी हामी सर्वसाधारणलाई पर्व मनाउन सहयोग गर्ने को? पर्वको बेलामा हामीलाई टाढा टाढा भएका आफन्तजनसँग भेट गराउने ठूलो भूमिका खेल्ने को?
आफूले आफ्नो परिवारलाई समय नदिई हामीले हाम्रो परिवारलाई समय दिन सक्ने वातावरण मिलाउने को? के यी सबै प्रश्नको एउटै उत्तर हुँदैन र?- ड्राइभर अनि खलासी।
आफूले जति नै हेपाहा प्रवृत्ति राखेपनि ती ड्राइभर दाइ, खलासी दाइ कति सहनशीलता धारण गरेर बस्नु हुन्छ। कति धेरै धैर्यता छ उहाँहरुमा। उहाँहरुको त्यो हरेक विशेषतालाई सलाम, पूर्णतः उहाँहरुको पेशालाई नै सलाम।
उहाँहरुलाई आफू नहेपिएको दिन पर्खनु भनेको मसानघाटमा लास रुँग्नु सरह हुन थालेको छ। उहाँहरुको यो ठूलो योगदानलाई सम्झेर हामीले आफ्नो तर्फबाट उहाँहरुलाई मात्र इज्जत दिऔं, हेपाहा प्रवृत्तिलाई पूर्णविराम लगाऔं।
सानोमा आफूले पढेको भनाइलाई आत्मसात गरौं, सबै पेशा एक समान हुन् भन्ने भाव राखौँ, इज्जत दिऔं, इज्जत कमाऔं।