ज्ञान, सीप र विवेक भएको जनशक्ति आफ्नो देश छोडी बाहिरिनु नै 'ब्रेन ड्रेन' अर्थात् प्रतिभा पलायन हो।
नेपालमा राजनैतिक अस्थिरताले युवामा बढ्दै गएको नैराश्यता, उचित योग्यता अनुसारको रोजगारको अभाव तथा रोजगार उन्मुख शिक्षाको अभावमा कयौँ तेजिला दिमाख विदेश पलायन भइरहेका छन्।
नेपाल जस्तो विकासन्मुख देशमा ब्रेन ड्रेन फेसनको रुपमा नै अगाडि बढ्नु देश विकासको मुख्य समस्याको रुपमा रहेको छ।
अहिलेको परिप्रेक्षमा युवा वर्गमा विदेशी मोह यति बढ्यो कि उनीहरुले आफ्नो भविष्य विदेशमा बाहेक आफ्नो देशमा देख्नै छाडे। प्लस टु भर्खर पास नयाँ पुस्ता सहरको हरेक गल्लीमा विदेशी सहरको नाम लिँदै विदेशी भाषा पढ्न जानु देशको लागि सकरात्मक विषय पक्कै हैन।
अर्को तर्फ यस्तो विकराल अवस्थालाई देख्दा पनि सरकारी निकाय आफ्नै समस्यामा रुमालिएर ब्रेन ड्रेनलाई निरुत्साहित तथा न्यूनिकरण लागि आवश्यक कदम चालेको देखिदैन।
नेपालको अधिकांश युवा शक्ति विदेशी भूमिमा शिक्षा, रोजगार तथा अन्य क्षेत्रमा मानसिक र शारीरिक श्रम खर्च गरिरहेका छन्। उनीहरुको कमाइबाट प्राप्त रोयल्टीमा सरकार मुतको न्यानो बनिरहेको छ।
गाउँ घरमा एउटा उखान छ 'मुरी गएको थाहा छैन, मानाको खोजी' ठ्याक्कै यो उखान यहाँ चरितार्थ बनेको छ।
केही समय 'ब्रेन गेन' गर्न विदेशिनु र 'गेन' गरेर आएको ज्ञानलाई उचित ठाउँमा लगानी गर्न सके यस्तो खालको अल्पकालीन ब्रेन ड्रेनले भने फाइदा पुगेका अनेकौँ उदाहरण भेट्न सकिन्छ। तर दीर्घकालीन रुपमै पलायन हुनु भने देशको लागि घातक सावित बन्न पुग्छ।
नेपालका अधिकांश युवाको रुचि अमेरिका, बेलायत युरोपियन देश, अष्ट्रेलिया, जापान, कोरिया लगायतको देशमा रहेको छ। परिस्थिति र बाध्यताले नेपाली युवा ती देशभन्दा बाहेकका खाडी मुलकमा समेत आफ्नो श्रम खर्च गरिरहेका छन्।
आजभोलि त व्याङ्गात्मक रुपमा अष्ट्रेलियालाई नेपालको आठौँ प्रदेश समेत भन्ने गरेको पाइन्छ।
देशको उर्जाशील क्षमतावान् जनशक्ति बाहिरिनु, विज्ञान र प्रविधिको क्षेत्रमा सरकारले खासै चासो नदेखाउनु जस्ता कारणले नेपालमा पर्याप्त मात्रामा विज्ञान र प्रविधिको क्षेत्रमा समेत विकास हुन सकेको छैन।
महावीर पुनले सञ्चालन गरेको आविष्कार केन्द्रलाई समेत अझै सरकारले प्राथमिकता दिन सकिरहेको छैन यसले नेपालमा केही गर्छु भन्ने युवाको लागि वातावरण नभएको हो कि भन्ने आभास भएको छ।
गेहेन्द्र शमशेर राणाले जापान गएर कतिपय यन्त्र हेरेको भरमा नै नेपाल आएर त्यस्तै यन्त्र बनाउनु, चीनमा गएर गुम्बाहरू बनाएका नेपाली कलाकार अरनिकोले दूरबिनजस्तै यन्त्र बनाएको विषय चिनियाँ इतिहासमा अंकित हुनु, मंगल ग्रहमा पानी रहेको तथ्य पत्ता लगाउने नासाको टोलीमा नेपाली युवा लुजेन्द्र झा पनि हुनु,
कामको खोजीमा विदेश पसेका सन्तोश शाह आफ्नो क्षमताको कारण 'बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज २०२०' को उपविजेता हुनु जस्ता उदाहरणले नेपालमा पनि विश्वस्तरका क्षमतावान् प्रतिभा छन् भन्ने कुरा प्रमाणित गर्दछ।
यस्ता कयौं प्रतिभा विश्वका विभिन्न क्षेत्रमा पुगेर प्रतिभा प्रस्फुटन गरिरहेका उदाहरणहरु भेट्न सक्छौँ। यस्ता उच्च कोटीको प्रतिभालाई वास्ता नै नगरी ब्रेन ड्रेनलाई बढवा दिनु देश अधोगति तिर लम्किनुको मुख्य कारण बन्न पुगेको छ।
समय सापेक्ष विश्वस्तरका ज्ञान, सीप, प्रविधि भएका युवालाई स्वदेश भित्र्याउने वातावरण सिर्जना गरी 'ब्रेन गेन' गर्न सके नेपालमा हामीले सुन्दै र पढ्दै आएका विकास र समृद्धिको नारा पूरा हुन धेरै समय नलाग्ने कुरा प्रष्ट देख्न सकिन्छ।
यसका लागि नेपाल सरकार आफैँमा सक्रिय भई ब्रेन ड्रेनलाई रोक्नको लागि छुट्टै खालको नीति नियमसँगै प्रभावकारी कार्यान्वयन अवलम्बन गर्नुपर्ने देखिन्छ।