कुनै समय गाउँ गाउँमा सिंहदरबार पुगेको भनेर आम नागारिकलाई सुसूचित गरिएको थियो। गाउँमा पुगेको सिंहदरबारले भुइँमान्छेको जीवनमा समृद्धि ल्याउने आशा र अपेक्षा आम नागरिकको थियो र छ।
विशेषगरी पिछडिएको वर्ग समुदाय, दलित जनजाति महिलाहरुका सबै अधिकार सुनिश्चित हुन्छन्। समाजमा कुनैपनि किसिमको हिंसा हत्या अपराधहरु हुन पाउँदैन।
हरेक नगरपालिका तथा गाउँपालिकामा भएको न्यायिक समितिले स्थानीय स्तरमा हुने महिला हिंसालाई सम्बोधन गर्दछ र महिलामाथि हुने कुनै पनि हिंसाको पहिचान र न्यायिक निरुपणका लागि स्थानीय न्यायिक समितिले आवश्यक पहल गर्ने कुरामा आम नागरिकको विश्वासलाई दिनहुँ बढिरहेका महिला हिंसाका घटनाले थप चुनौती दिएको छ।
पछिल्लो समय महिलाहरुमाथि विभिन्न हिंसाका घटनाहरु श्रृंखला रुपमा बढिरहेका छन्। दूरदराजका महिलाहरु घरेलु हिंसाका शिकार भएका खबरहरुले राज्यको ध्यान खिच्न नसक्नु दुखद् पक्ष हो।
राज्यले जति नै समृद्धि र सुशानका नारा फलाके पनि अन्तत आधा आकाश ओगटेका महिलाहरु हिंसामा पिल्सिएर जीवन आहुती दिने अवस्था छँदै छ। प्रहरीको तथ्यांक अनुसार लैंगिक हिंसाका अपराध सम्बन्धी ८५ प्रतिशत घटनामा महिला तथा बालबालिका पीडित भएको देखिन्छ।
राष्ट्रिय महिला आयोगको तथ्यांक अनुसार आयोगमा परेका उजुरी मध्ये ६ सय ४ वटा घटना महिला हिंसासँग सम्बन्धित रहेको पाइन्छ। शारीरिक तथा यौन हिंसाका घटनाहरु त क्रमशः ५ र २ प्रतिशतले बढिनै रहेको आयोगको तथ्यांकले बताउँछ।
प्रहरीको अर्को तथ्यांक अनुसार लकडाउनको समयमा ४३२ वटा घटनामा महिलाहरु घरेलु हिंसाको शिकार भएको पाइन्छ। यसरी विश्लेषण गर्दा महिलाहरु घरेलु हिंसाको शिकार हुने र हिंसा सहन नसकी आफ्ना लालाबालासहित आत्महत्या गर्ने क्रम बढ्दो नै देखिन्छ।
यसको पछिल्लो उदाहरण दैलेखको सुकी घटनालाई लिन सकिन्छ। घरेलु हिंसाकै कारणले आठबीस नगरपालिका-३ निमायलकी सुकी बडुवालले आफ्ना ४ सन्तानसहित कर्णालीमा हेलिएर जीवन समाप्त गरेको घटना कम पीडादायी छैन।
सुकी बडुवालमाथि भएको घरेलु हिंसाको रमिते पितृसत्तात्मक समाज भएको छ। विशेषगरी गाउँघरतिर लोग्ने-स्वास्नीको झगडालाई सामान्य रुपमा लिने गरिन्छ। दिनदिनै झगडा भएको छ भने पनि तिनीहरुकोमा सधैँ त्यस्तै त हो, झगडा गर्छन् मिलिहाल्छन् भन्ने कुरा समाजमा हुने गर्दा अनाहकमा हिंसाले विपत्ति निम्त्याएको समाजले पत्तै पाउँदैन।
गाउँमा लोग्ने स्वास्नीको झगडा हुँदा पनि पितृसत्तात्मक समाजले महिलालाई नै गल्ती देखाउन अनेक प्रयास गरेका थुप्रै दृष्यहरु देखिन्छन्। राज्यले हरेक वर्षको मार्च ८ का दिन नारी दिवस मनाउँछ।
नारीहरुलाई समान हैसियसका लागि अवसर दिनु पर्दछ कुनैपनि हिंसा र यातनाबाट नारीहरु पीडित भएको राज्यले देख्न सक्दैन भनेको पनि हामीले सुनिरहेका छौँ तर विडम्बना, नारी दिवसकै सेरोफेरोमा घरेलु हिंसा खप्न नसकी सुकी जस्ता दूरदराजका नारीहरु कर्णालीमा हेलिन्छन्।
यो जति दुखको विषय अरु के हुन सक्छ र? महिला हिंसाकै कारण आज मुस्कान खातुन, जेनी खडका, पवित्रा कार्कीहरुको अनुहार एसिडले पोलिएको छ। राजनैतिक तह नीति निर्माणको तहमा पनि महिलाहरुको उपस्थिति त्यत्ति निराशाजनक छैन।
प्रतिनिधि सभामा ३२.७३ प्रतिशत महिलाहरुको उपस्थिति छ भने स्थानीय तहमा ४०.९३ प्रतिशत महिलाहरुको उपस्थिति छ तर स्थानीय तहका गाउँगाउँका महिलाहरुले विभिन्न किसिमका हिंसाहरु खेपिरहनु परेको छ।
कानुन भएर मात्र के गर्ने, त्यसको पालना गराउन राज्य कमजोर भएपछि? राज्यका निकायमा महिलाहरुको उपस्थिति बलियो भएर मात्र के गर्ने, उनीहरुको आवाजलाई महत्व नठानेपछि?
आफू हिंसामा परेर आत्महत्या गर्ने धेरै आमाहरुले आफ्ना बच्चाहरुलाई पनि आफूसँगै मृत्युवरण गर्न बाध्य दुखान्त तस्बिरहरु हामीले देखिरहेका छौँ। ती अबोध बालबालिकाहरुको के दोष हुन्छ र उनीहरुको उज्जवल भविश्य नै सदाका लागि वयष्कको हिंसामा समर्पण गर्नुपर्ने।
ठूला मान्छेको हिंसामा ती सँगै जानुपर्ने नियती ती अबोध साना बालबालिकाहरुले कहिलेसम्म भोग्नु पर्ने हो? अहिले सबै नगरपालिका तथा गाउँपालिकामा एउटा न्यायिक समिति हुन्छ जसले वडा तथा नगरभित्रका हिंसा अपराधहरुलाई न्यायिक निरुपणका लागि पहल गर्दछ।
जो कसैले कुनैपनि किसिमको हिंसा भएमा सजिलै न्यायिक समितिमा उजुरी गर्न सकिने व्यवस्था छ। गाउँमा मदिरा नियन्त्रण गर्ने र मदिराले हुने हिंसाका लागि वडास्तरमा पनि रोकथाम तथा नियमन गर्न सकिने अवस्था छ।
समाजले महिलाहरुका कुनैपनि घटना तथा हिंसा भएमा त्यस्तै त हो नि भनेर बेवास्ता गर्ने भन्दा पनि किन हुँदैछ? के कारणले यस्तो अवस्था बन्दैछ? यदि समाजमा एकजना मान्छेको गलत व्यवहार र आचरणले पूरै समाज नै बदनामी हुने भएको हुँदा समाज पनि हिंसाप्रति सचेत हुन जरुरी छ।
नगरभित्रको सामाजिक अस्थिरताको निगरानी गर्नका लागि स्थानीय प्रशासन चनाखो हुन जरुरी छ। आफ्नो वडाभित्रका बासिन्दाहरुको आचरण र व्यवहारप्रति वडा कार्यालय जानकार नै भएको हुनु पर्दछ।
वडाभित्र कुन परिवारको अवस्था कस्तो छ? कुन परिवारमा कलह भइरहेको छ? उनीहरुलाई निगारानी गर्ने सवालमा वडास्तरमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ। यदि समाजमा हुनेगरेका आन्तरिक कलहलाई बेवास्ता गर्ने हो भने धेरै सुकीहरुले हिंसाका कारण जीवन समाप्त गरिरहनु पर्ने कुरामा शङ्कै छैन।
विशेषगरी दूरदराजका महिलाहरुमा हुने गरेका हिंसाजन्य अपराधलाई राज्यले गम्भीर रुपमा नलिएसम्म महिलाहरुमाथि हुने हिंसामा कमी आउने छाँट देखिदैन। गाउँमा रहेका कतिपय महिला दिदीबहिनीहरुलाई आफूमा समस्या भएमा कहाँ कसलाई गएर भन्ने कुन निकायमा गएर उजुरी गर्ने भन्ने कुरा अझैपनि प्रभावकारी जानकारी नभएको पनि हुन सक्छ।
यसका लागि व्यापक रुपमा हिंसा विरुद्धमा सामाजिक अभियान सञ्चालन गर्न आवश्यक छ। 'आफ्नै श्रीमानका विरुद्धमा उजुरी गरी रे' भन्नेहरु पनि समाजमा थुप्रै भेटिन्छन् तर तिनीहरु नै हिंसामा परिरहेको पत्तै हुँदैन।
जब हिंसाको विष्फोट हुन्छ, ज्यान गइसकेको हुन्छ। अनि मात्र सबैजना हल्ला गर्न तम्सिन्छन्। यसले गर्दा समाजमा हुने गरेका कुनैपनि अपराध र हिंसाप्रति समाजका व्यक्तिहरुनै अग्रसर भएर हिंसा अन्त्यका लागि आ-आफनो भूमिका निभाउन सिकियो भने पक्कै पनि सुकी बडुवालहरुको ज्यान जोगाउन सकिन्छ र महिलाहरुको सवालमा यो राज्य सधै संवेदनशील छ है भन्ने कुराको सन्देश दिन सकिन्छ।
आ-आफनो जिम्मेवारीबाट महिला हिंसा रोक्नका लागि सधैँ चनाखो र चतुरो भएर लागौँ र सँगै मर्ने र सँगै जिउने कसम खाएर एक भएकी जीवनसाथीलाई हिंसामा पिल्साएर मृत्युसम्म पुर्याउने सुकीका श्रीमानलाई हदैसम्मको कारबाही राज्यले गरोस्।