आजभोलि लेखन कार्य मेरो दैनिकी जस्तै भैसकेको छ। फेसबुकमा यदि मैले म आवद्ध संस्थाको नाम उल्लेख नगरेको भए, मलाई सबैले लेखक, पत्रकारितासँग आवद्ध भनेर नै चिन्थे होला।
लेखन एउटा लत हो भन्ने कुरा मैले उक्त लतमा फसिसकेपछि मात्र थाहा पाएँ। यस्तो लत रहेछ जहाँबाट उम्किन नै कठिन हुने हुँदो रहेछ।
जसरी लागुपदार्थको लतमा फसेकाहरु सुरुमा एउटामा फस्छन् अनि विस्तारै उनीहरुलाई जे भए पनि नसा दिने पदार्थ चाहिने हुन्छ। लेखन मलाई त्यस्तै भएको छ। कतिपय लेख प्रकाशित हुन्छ, कतिपय हुँदैन, लत लागिसकेपछि जस्तो पनि लेख लेखिँदो रहेछ।
कतारबाट प्रकाशित हुने अनलाइन समाचार, नेपाली अनलाइन समाचारका वेबसाइट, पत्रपत्रिकादेखि आजभोलि म विदेशमा पढ्न गएका नेपालीहरुको गृहकार्य समेत लेख्न थालेको छु।
बिहान उठ्नासाथ के लेखौं के लेखौं हुन्छ। केही लेख्न नपाउँदा दिन खल्लो भएको झैँ लाग्ने हुन्छ। लेख्न त हामी सबै लेख्छौँ, कहिले कापीमा, कहिले परीक्षामा, कहिले फेसबुक र ट्वीटरमा – तर मैले त्यो बाहेकनै सोखको लागि, रहरले लेख्न थालेको आज पन्ध्र वर्ष भैसकेछ।
पत्रिकामा नाम आएको दिन कटिङ गरेर राख्ने समयबाट फेसबुक, ट्विटरमा शेयर गर्ने युगसम्म लेखिरहेको छु। थाहा छैन कसरी, तर व्यक्त गर्न नपाउँदा मन खुम्चिएको जस्तो लाग्ने भएर पनि होला विद्यार्थीलाई पुस्तकदेखि विभिन्न वेबसाइटमा कन्टेन्टहरुसम्म, रिसर्च पेपरदेखि अन्तर्राष्ट्रिय संचारहरुसम्म लेखि नै रहेको छु। रहर सुन्दा नि अचम्म लाग्दो हो तर कहाँबाट त्यस्तो रहर जागृत भयो, थाहा छैन।
फोर्ब्सले प्रकाशित गर्ने सूचीमा जेके रोलिङले लेखेरै करिब एक अर्ब अमेरिकी डलर कमाएको उल्लेखित छ। चेतन भगतकै कुल सम्पत्ति ५ करोड अमेरिकी डलर उल्लेखित भैरहँदा नेपालका नाम चलेका लेखकहरु- बुद्धिसागर, सुबिन भट्टराईले कति कमाउछन् मलाई थाहा छैन।
तर मलाई यति थाहा छ, लेखेरै कमाउन नेपालमा निकै कठिन छ। एक त फ्रिलेन्सिङ काम पाउन जति गाह्रो छ, काम गरेपछि भुक्तानी प्राप्त गर्न उत्तिकै कठिन।
अग्रिम भुक्तानी माग्न मिल्ने अवस्था छैन, जसले गर्दा काम अगाडि सुम्पिनु पर्ने हुन्छ। वेबसाइट बनाउँदा होस या कहीँ काम गर्न होस्, कन्टेन्ट चाहिन्छ भनेपछि मात्र थाहा हुन्छ, र बजेटमा प्राय यो विषय नै पर्दैन।
मुलतः फ्रिलेन्सिङ गर्दा भुक्तानी पाइन्छ पाइँदैन, दोधारमै रहेर काम गर्नु पर्ने अवस्था रहन्छ। कोही काम बुझाएपछि हराउने अनि कोही पछि भन्दै टार्ने यहाँ हुन्छन्। जसले गर्दा लेख्न जति नै खोजे पनि त्यसले जीविका आर्जन गर्न सायद कठिन नै छ।
एकपल्ट मैले संजीव उप्रेती र अर्चना थापा लाई एउटा कार्यक्रममा भेट्दा सोध्ने जमर्को गरेको थिएँ- लेखेर पेट पाल्न सकिन्छ नेपालमा? सायद मलाई निरुत्साहित नहोस् भन्ने हेतुले हुनु पर्छ उहाँहरुले, विस्तारै भविष्य राम्रो हुँदै छ, हिजोभन्दा आज राम्रो छ र भोलि झन् उज्ज्वल हुन्छ भनि भन्नु भएको थियो।
लेख्ने काम सहज अवश्य हैन होला, अध्यनको सीमा पार गरेपछि बल्ल सायद लेख्न सकिन्छ। लेख्नको निमित्त बुझ्नु पर्छ, एउटा तस्बिर कोर्नु पर्छ अनि बल्ल किबोर्डका 'कि'हरु थिचिन्छन्।
यहाँ लेख्न पनि फेरि आफूलाई मन लागेको कुरा मात्र लेख्न पाइदैन। बजारमा बिक्री हुने विषय लेख्नु पर्छ। प्रकाशकलाई मन पर्ने गरी लेख्न सक्नु पर्छ। अनि बल्ल लेखेको कुरा छापिन्छन्। नभए ड्राफ्ट झैँ भएर रही रहन्छन्।
एउटा लेख लेख्न कति अध्यन गर्नु पर्छ, कति मेहनत भन्ने कुरा लेखकलाई नै थाहा हुन्छ। सायद त्यही भएर होला लेखको मूल्य यहाँ फरक फरक तरिकाले तोकिन्छ।
कला क्षेत्रले नेपालमा जुन गति लिनु पर्थ्यो, त्यो कहिले लिन सकेन। एउटा सीमित उच्च स्थानमा पुगिसकेकाहरुलाई बाहेक यसले अरुलाई ठूलो रहात दिन सकेन। यहाँ निरन्तर लेखिरहने कमै मात्र हुन्छन्।
१५ वर्ष अगाडि लेख्ने लेखकहरु आजभोलि यस क्षेत्रबाट कति हराइसके पनि। भाव व्यक्त गर्न लेख्ने, विचार लेख्ने होस् या अरु कसैको लागि लेखिदिने, लेखन कार्यको निमित्त शब्द चयनदेखि शब्द गणना सबै गर्नु पर्ने हुन्छ।
हर एक लेखको एउटा उदेश्य हुन्छ। आफ्नो भावना व्यक्त गर्ने, केही सन्देश प्रदान गर्नेदेखि केही अनुसन्धान गर्ने।
कति कमाउनु हुन्छ लेखेर? भनि सोध्दा म भन्ने गर्छु- यसो पकेट मनी निस्किन्छ। तर उनीहरुलाई यो थाहा हुँदैन कि त्यो आम्दानी मैले प्रायः आफ्नो नाम उल्लेख नहुने लेखहरुबाट- जस्तै अस्ट्रेलियामा पढ्ने नेपालीको गृहकार्य गरेर मात्र जोहो गरिरहेको हुन्छु।
मलाई धेरै ले सुझाव दिने गर्छन्- यो क्षेत्रमा राम्रो, आम्दानी छ भनेर। यही क्षेत्रमा लाग्नु पर्छ भनेर। तर त्यस्तै सुझाव दिनेहरु नै भुक्तानी गर्नु पर्ने समयमा फरार हुने गर्छन्।
लेखेर जीविका आर्जंन गर्न सकिन्छ, सकिन्न एउटा बहसको विषय होला तर संघर्ष भने बढी नै गर्नु पर्ने हुन्छ। नाम खोज्दा दाम हराउने, दाम खोज्दा नाम हराउने हुनसक्छ।
फेरि काम निरन्तर आइरहन्छ भन्ने हुँदैन। पाइएको समयमा एभरेस्ट बेस क्याम्पको भ्रमण तालिका पनि बनाउने काम पनि आइपर्छ, कुनै व्यक्तिको भाव बुझेर उसले भन्न खोजेको कुरा विस्तारमा लेख्ने काम पनि आइपर्न सक्छ।
लक्ष्मीप्रसाद देवकोटाले आफ्नो लेख बेचेर केही रकम जोहो गर्ने गर्थे रे, त्यो समय फेरिएको भने छैन। यदि उनी यस युगमा रहेको भए पनि, साँझ बारतिर जान मन लागेको दिन सायद आफ्नो कृति बेच्नु नै पर्थ्यो होला।
थुप्रै वेबसाइटहरु बने, विभिन्न लेखहरु समावेश पनि हुन थाले तर यहाँ लेखकलाई नै बुझिदिने कमै मात्र रहे।