केही समयको अन्तरालपछि उनले पनि मेरो टिकटक एकाउन्टमा फलोब्याक दिइन् अनि टिकटकमा हामी साथी भयौं।
साथी मात्र होइन, म उनको फ्यान नै भएँ। उनका भिडिओ नहेरी चित्तै नबुझ्ने क्रेजी फ्यान!
फुर्सद भयो कि सर्च गर्यो, हेर्यो अनि लाइक थिच्यो।
कमेन्ट गर्न मलाई त्यति आउँदैन। फेसबुकमा अपलोड गरेको फोटो भए लेखिदिन्थे ’ नाइस पिक्चर ! ’
टिकटकको भिडिओमा के कमेन्ट लेख्नु ? सुरूका दुई चार भिडिओमा लेख्दिएँ ’ गजबको अभिनय ! ’
अब त्यही कमेन्ट दोहोर्याई रहन मन लाग्दैन, कुनै कुनै भिडिओमा चाहिँ आँखामा लभको पानपाते सिग्नल भएको इमो कमेन्ट गर्दिन्छु। अरू लेख्नै आउँदैन।
उनले टिकटकमा फलोब्याक दिएपछि मैले फेसबुक चलाउनै छाडे , फुर्सद भयो कि टिकटक।
म आफूसँग टिकटकमा भिडिओ बनाउने कुनै कला नभए पनि हेर्दै मुस्कुराउने बानी परेको छ। अझ उनका भिडिओ आयो भने लगातार दस पटकसम्म हेर्ने गर्दछु।
मानौं! उनीसँग प्रेम छ मेरो। चुपके चुपके, नेपालीमा सुटुक्क।
प्रेम कै कुरा गरेपछि एकछिन त्यो बेलाको प्रेमलाई सम्झन मन लाग्यो।
स्कुल पढ्दा एउटीलाई खुब मन पराउँथें। जब ऊ मन पर्न थाली, तब उसको गाउँ मन पर्न थाल्यो। उसको घर जाने बाटो मन पर्न थाल्यो।
उसको गाउँमा बस्ने हरेक मान्छे मन पर्न थाले। सायद यही नै साचो प्रेम थियो!
ठ्याक्कै त्यस्तै भएको छ आजभोलि।
टिकटकमा उनी मन पर्न थालेपछि उनी बस्ने सहर मन पर्न थाल्यो। उनको गाउँघर मन पर्न थाल्यो। उनले अभिनय गरेका गीत मन पर्न थाले अनि उनको नामै मन पर्न थाल्यो।
साँच्चै भन्ने हो भने मलाई उनी मन पर्न थाल्यो। उनी अर्थात् टिकटकवाली।
उनी मलाई मन पर्न थालेको कुरा उनलाई कसरी भन्नू ? कमेन्टमा भन्नू भएन। बाँकी उनको अता पता केही थाहा छैन।
मनमा एक तमासको चञ्चलता उत्पन्न हुन थालेपछि कोठामा भएका साथीमध्ये एउटालाई मेरो पिरती सुनाउने विचार गरेँ।
घाँटीमा रूद्रघण्टी नभएको कुरौटेलाई सुनाइयो भने बर्बाद। कुरो नेपालसम्म पुग्न सक्छ , अनि कोठाभरि हल्ला।
यो पनि एउटा समस्या नै हो, सुटुक्क प्रेम गर्नेहरूका लागि।
गोप्यमा मन पराएको कुरा आफ्नै मनलाई बाहेक अन्त भन्नै नपाइने। भन्नै परे डराउनु पर्ने।
डर इज्जतकै हो, कसैले कुट्ला भन्ने डर त उमेर बढेसँगै सकियो।
कस्तो अप्ठ्यारो।
धेरै दिनको एकोहोरो प्रेमपछि एकदिन कोठाको एउटा साथीलाई भने, ‘टिकटकमा यिनलाई फलो गर , दामी अभिनय छ यिनको!’
उसले मेरो मोबाइल हातबाट लिँदै भन्यो ‘को हुन बे ?’
‘तेरो हुन नसकेको भाउजू।’ भन्न मन यस्तै थियो, तर त्यति धेरै उत्ताउलो बन्न सुहाउँदैन होला झैं लाग्यो।
‘खास नाम के हो थाहा छैन, टिकटकमा मारिका छ , फलो गर।’ मैले अर्डर दिएँ।
पुलिसको इन्स्पेक्टरले जवानलाई अर्डर दिएजस्तै अर्डर गरेपछि उसले मोबाइल निकाल्यो अनि थिच्यो फलोको बटन। मेरै फलोवर बढेजस्तै खुसी हुँदै भनेँ, ‘धन्यवाद केटा।’
अरू धेरै कुरा भन्नु छ ऊसँग मैले। म चाहन्छु ऊ आफैं सोधोस्।
तर ऊ उनको टिकटकमा लाइक गर्दै बस्यो। भिडिओ हेर्दै मुस्कुरायो।
ऊ मुस्कुराउँदा म जलेँ। कस्तो पापी मन, उनी मेरीमात्र लाग्न थालेछ क्यारे! तैट।
‘कस्तो लाग्यो मारिका ?’ ऊ नबोली भिडिओ मात्र हेर्न थालेपछि मैले आफैं सोधेँ।
‘ठिकै !’ उसले छोटो मीठो उत्तर दियो।
उसको उत्तरमा मलाई चित्त बुझेन। उसले हेर्दै गरेको मारिकाको भिडिओ रि–प्ले गराउँदै भनेँ, ‘हेर न कस्तो मिलेको लिपसिङ, अनि हँसिलो अनुहार।’
उसले मेरो अनुहार एकतमासले हेर्दै भन्यो, ‘प्यारको चक्कर छजस्तो लाग्यो, मन पराउँछस ?’
म लजाएँ , हो कसरी भन्नू ! होइन भन्नको लागि दम छैन। मेरो मनको चक्कर एक पाखे प्यारकै थियो।
मुन्टो हल्लाउँदै भनेँ, ‘लास्ट दामी लाग्छ यार। फिदा छु यिनको’
‘फिदा नै हो भने म्यासेज गर, हेल्लो भन। बोलेपछि माया बढ्छ, के डराको।’ उसले आइडियासहित हिम्मत दियो।
‘कहाँ गर्नु म्यासेज ? कमेन्टमा ?’ मैले हल्का रिसाउँदै भनेँ।
‘टिकटकमै ठोक !’ उसले आफ्नै मोबाइल हेर्दै उत्तर दियो।
‘टिकटकमा म्यासेज गर्न मिल्छ र ?’ मैले नबुझेको कुरा उसलाई सोधेँ।
उसले म्यासेज गर्ने तरिका सिकाउँदै भन्यो, ‘यो एरो क्लिक गरेर म्यासेजमा जा। फेसबुक म्यासेन्जरमा जस्तो कल हुँदैन , च्याट जति पनि गर्न मिल्छ।’
उसले मलाई गुन लगायो। जीवनमा पहिलो पटक टिकटकमा म्यासेज गर्न मिल्छ भन्ने कुरा थाहा पाएँ।
हतार गर्दै टिकटकवालीको एकाउन्टमा गएर म्यासेज गरेँ, ‘हेल्लो!’
दुई दिन कुरेँ , तर अहँ। कुनै रिप्लाई आएन।
तेस्रो दिन फेरि लेखेँ, ‘म्याम ! म तपाईंको भिडिओको फ्यान।’
मैले लेखेको फ्यानको अर्थ उनले बुझिनन् या मेरो म्यासेज नै देखिनन्। हप्तौंसम्म पनि रिप्लाई आएन। म निराश थिएँ।
फेसबुक म्यासेन्जरमा जस्तो म्यासेज सीन भए/नभएको पत्तो लगाउने उपाय सायद टिकटकमा छैन।
फेसबुक म्यासेन्जरमा त सीन भयो भने खबर आउँथ्यो ‘तेरो म्यासेज फलानीले हेरिन् है !’ भन्दै।
तर टिकटकमा कुनै खबरै छैन, मैले पठाएका म्यासेज बासी भैसके।
एकोहोरो प्रेम मभित्र दबेर सुक्नै आँटेको बेला उहीँ साथीले एकदिन सोध्यो, ‘मारिकासँग गफिन्छस् कि बाल दिइनन् उनले ?’
ऊ मलाई होच्याउँदै थियो, गफिन्छु भनेर छाती फुलाउने अवस्था थिएन। निराश हुँदै भनेँ, ‘म्यासेज नै हेर्दिने।’
‘टिकटकमा धेरैले म्यासेज हेर्दैनन्, फेसबुकमा साथी बना।’ उसको खुराफाती दिमागले अर्को आइडिया निकाल्यो।
‘नाम थाहा हुन परेन, मारिका थ्री हानेर भेटिन्छ फेसबुकमा ?’ म हल्का रिसाउँदै थिएँ।
उसले मेरो कन्चटमा धारे हात लाउँदै भन्यो, ‘साले पागल! त्यो युजर नेम हो, खास नाम अलि तल हुन्च।’
उसले आफूले हेर्दै गरेको भिडिओमा नाम देखाउँदै भन्यो, ‘यो हो उनको नाम थर।’भिडिओमा बग्दै गैरहेको मारिकाको नाम देखायो।
टिकटक भिडिओमा ओर्जिनल साउण्ड हाल्नेहरूको नाम तल सललल बग्दै जाँदो रैछ , कस्तो अचम्म।
मारिका भण्डारी शर्मा, उनको खास नाम यही भेटियो।
नाम भेटेपछि ढिला नगरी म फेसबुकतिर दौडिएँ।
सर्च गरेँ, पहिलो लाइनमै उनी भेटिइन्। एड फ्रेन्डको बटन दबाइदिएँ अनि म्यासेजमा गएर लेखेँ, ‘हेल्लो म्याम!’
अब मेरो काम भनेकै म्यासेन्जर चेक गर्ने अनि फेसबुक नोटिफिकेसन चेक गर्नु थियो।
फलानी एसेप्ट योर फ्रेन रिक्वेस्ट भन्ने नोटिफिकेसनको पर्खाइ होस् या , हाई सर लेखेको म्यासेजको पर्खाइ। मेरा लागि यी दुई पर्खाइले महत्त्वपूर्ण ठाउँ पाए।
एक हप्ता कुर्दा पनि म खुसी हुने समय आएन। अन्ततः म फेरि निराश भएँ।
उनका टिकटक भिडिओमा लाइकको बटन थिच्नुमात्र मेरो कर्तव्य भयो। म्यासेजको जवाफ न यता आयो, न त उता।
टिकटकमा फलोब्याक दिएर मलाई मख्ख पारेकी उनले फेसबुकमा निराश बनाइरहिन्, हप्तौंसम्म।
एकदिन बिहान।
फेसबुकको नोटिफिकेसन आफैं झल्झली बल्दै थियो। थिचेर हेरेँ , संसारकै खुसी मिल्यो।
उता म्यासेन्जरमा हरियो बत्ती बालेर उनी बसिरहेकी थिइन्।
‘हेल्लो’ म्यामको रिप्लाइमा, ‘नमस्कार सर’ म्यासेज आएर बसेको थियो।
छक्क पर्दै उनलाई म्यासेज लेखेँ, ‘टिकटकमा तपाईंको ठूलो फ्यान हुँ, त्यसैले यता पनि जोडेको है म्याम!’
उनी लजाइन् , या खुसी भइन्। एकछिन मौन भएर लेखिन्, ‘धन्यवाद सर।’
मैले आफ्नो परिचय दिएँ। उनको बारेमा मलाई धेरै थाहा भैसकेको थियो। तर पनि सोध्दै गएँ, नबुझेजस्तै गरी।
अब गफै सकियो। कुन शीर्षकमा गफिनु ? परिचयात्मक कार्यक्रम सकियपछि म चुप भएँ। उनी त उत्तर दिने मात्र थिइन्, मेरा प्रश्नै सकिए।
उनको टिकटकको बयान गर्दै फेरि भनेँ, ‘तपाईंको टिकटक खुब मनपर्छ।’
उनले ‘थ्याङ्क्यू’ दोहोर्याई रहिन्।
गफिने शीर्षक नभेटिएपछि मैले भनेँ, ‘फ्री हुँदा बोल्नु है म्याम ! “
उनले ‘हस् ’ लेख्दै च्याटको अन्त्य गरिन्।
म ट्वा पर्नुको विकल्प थिएन। लगभग महिनौसम्मको प्रतीक्षा आज थ्याङ्क्यूमा सकियो।
मनमा अनेकौ प्रेमका अंकुर पलाउँदै थिए , ती मनभित्रै ओइलाउन थाले।
च्याटमा गफिने शीर्षक नभेटिएपछि उनका फेसबुकका फोटा र टिकटकका भिडिओमा रमाउन थाले। लाइकका वर्षात गर्दिएँ। तर न मैले मनका कुरा भन्न सकेँ , न उनले नभनेर नै बुझिन्।
पहिलो हेल्लो हाईको हप्ता दिन पछाडि मैले आफैं पुनः उस्तै म्यासेज गरेँ ‘हेल्लो म्याम !’
पुनः उही कुरा,
म ‘तपाईंको फ्यान!’
उनी ‘थ्याङ्क्यू सर।’
टिकटकवालीसँगको च्याटमा मनका कुरा पोख्न नसक्ने भएपछि आजभोलि सोच्दैछु ‘बुढो भइएछ।’
ऊबेला !
प्रपोज गर्न आइतबार कुर्नु पर्दैनथ्यो। उत्तर पाउन हप्तौ कुरियो, तर मनको कुरा राख्न मिनेट भर लाग्दैनथ्यो।
तर आजभोलि !
उमेरसँगै मनका कुरा राख्न पनि डर। इज्जतको डर अनेक डर।
मैले उनलाई मन पराउँछु भन्न पनि डर। यो डर मभित्र यसरी बसेको छ कि सायद म आफैं उनलाई मन पराउँछु भन्न कहिल्यै सक्दिनँ।
अनि उनलाई मैले मन पराउने कुरा सुइँको सम्म छैन किनकि उनलाई लाग्छ म उनको टिकटक भिडिओको फ्यान हुँ, उनको होइन।
टिकटकवालीसँगको अधुरो प्रेम कहानी आजलाई यत्ति नै, अझ धेरै प्रगतिको कामना गर्नुस्। आगामी दिनमा लेख्ने छु।