उनी हराइन्! फेसबुक , इन्स्टा , टिकटक सबैतिरबाट उनी हराइन्।
फोन गरूँ भने उनको फोन नम्बर छैन।
सुरूआती दिनमा फोन नम्बर मागूँ भन्ने नलागेको होइन। तर आवश्यकता नै परेन।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फोन नम्बरको आवश्यकता कम हुँदै गएको छ आजभोलि।
कहिले टिकटकमा हेल्लो हाई हुन्थ्यो त कहिले फेसबुक म्यासेन्जरतिर। फोनमै बोल्नु परे म्यासेन्जर छँदैछ, किन चाहियो नम्बर?
फोन नम्बरको आवश्यकता यसरी पर्ला भनेर मैले कहिल्यै सोचिनँ।
प्रेममा तड्पिनुको पीडा अहिले मलाई कसैले सोधोस् त ! प्रेममा पीडा नामको निबन्ध नै लेख्दिन्छु सायद!
प्रेमको परिभाषा कुनै दार्शनिकले भन्दा कमजोर दिने छैन मैले।
यो एक्काइसौं शताब्दीको प्रेम थियो। अझ सामाजिक सञ्जालले जुराइदिएको प्रेम थियो मेरो भन्दा फरक नपर्ला।
अस्ति चिनजान, हिजो प्रेम अनि आज तडप। भोलि के हुन्छ, म आफैंलाई थाहा छैन। प्रेम फस्टाउन पनि सक्छ, नफक्रँदै चुडिन पनि सक्छ। भोलि कसलाई थाहा छ र ?
फेसबुक खोल्थें , म्यासेन्जरमा उनी अनलाइन छिन् कि भन्दै चेक गर्थें।
तर अहँ! उनको उपस्थिति नहुँदा म्यासेन्जर आफैं निराश देखिन्थ्यो। उनी अनलाइन आउँदा चम्केको लाग्ने म्यासेन्जर उनीबिना फुस्रो लाग्दो रहेछ, अनि खल्लो पनि।
टिकटकमा उनको भिडिओ अपलोड नभएको महिना हुन लाग्यो। उनले अभिनय गरेका पुराना भिडिओमा नजर डुलाउनुबाहेक अरू काम थिएन टिकटकतिर पनि।
अरू धेरै राम्रा टिकटक युजरका भिडिओ खल्लो लाग्थें मलाई, कारण उनका भिडिओ आँखा र मनले खोजिरहे।
टिकटकमै मैले लेखेका हेल्लो म्यासेजहरू मौन थिए।
कुनै रेस्पोन्स नपाएका हेल्लोहरू दर्जनौं भैसकेका थिए तै पनि फेरि लेखें,कता हराउनु भएको आजभोलि ?’
दर्जनौं हेल्लो अनि छोटा मीठा म्यासेजहरूको पनि रिप्लाई नआएपछि म बटारिँदै थिएँ। मभन्दा पनि मेरो मन बटारिँदै थियो।
उनी मेरा लागि अब आकाशको फल बन्दै थिइन्, मन बटारेर आफैंलाई प्रेम गर्ने बनाउनु थियो मलाई। किनकी उनी हराइन्, फेसबुक, टिकटक सबैतिरबाट।
गएको हप्तादेखि म त्यति खुसी छैन। सधैं अनुहार निराश। कोठाका साथीले सोध्छन् ‘के भाको छ बे तँलाई ?’
‘प्रेम रोग !’ कति सजिलो छ उत्तर। तर अरूलाई भन्न गारो। यो लुकाउने रोग हो सायद। मन मिल्नेबाहेक अरूलाई भन्नै कठिन।
‘क्यै भाको छैन, निद्रा नपुगेको मात्र हो।’ मनका पीडा दबाएर वास्तविकता भन्दिएँ।
किनभने उनका यादले निद्रा लाग्न दिँदैन, अनि निद्रा नपुग्दा अनुहारमा चमकता हराउँदै गएछन्। मुख्य समस्या प्रेम रोग थियो। यसैको लक्षण थियो निद्रा नलाग्नु।
सबै मनका बह कहाँ पोख्न सकिन्छ र ? ढाँट्यो अनि चलायो जिन्दगी।
वास्तविकता मनलाई मात्र थाहा हुन्छ, मनले जितेको उनी कहाँ छिन् कहाँ ?
म अनि मेरो मन उदास हुन थालेको अर्को महिना सुरू भयो। म उनलाई भुल्ने कोसिसमै थिएँ।
म्यासेन्जरमा आँखा दौडाउन छाडेँ, टिकटकमा उनलाई सर्च गर्न छाडेँ अनि इन्स्टामा अपलोड भएका उनका फोटामा लाइकको बटन थिच्न छाडिदिएँ। सबै वाहियात लाग्न थालेँ मलाई।
अनि बल्ल मैले आफैंले आफैंलाई प्रेम गर्न थालेँ। आफ्नै माया लाग्न थाल्यो मलाई, कठै म।
दिमागले उनलाई भुल्न मनलाई बिन्ती गरे पनि कहाँ मान्थ्यो मन। मन न हो, सजिलै कहाँ मान्छ र!
हरेक दिन उनका याद अनि इन्तजारहरूमा बित्दै थिए। निक्कै कष्टकर तरिकाले।
ठ्याक्कै ४२ दिन पछाडि।
निद्रामै थिएँ , साहुको फोन आयो !
‘आज थोडा जल्दी आना !’ उसले हेल्लो नभनी अर्डर दियो।
मैले छोटो उत्तर दिएँ, ‘ओके भाइ !’
घडी हेरें, फेरि निदाउने समय थिएन।
बिस्तराबाटै आँखा मिच्दै मोबाइलमा फेसबुकतिर दौडिएँ। म्यासेन्जरमा नयाँ म्यासेजका राता नोटिफिकेसन थिए, थिच्दिएँ।
आहा ! म खुसीले जुरूक्क उठेँ। अनुहारमा चमकता आयो। मन फुरूंग भो।
मैले एकतर्फी माया गर्ने मारिकाको पनि म्यासेज थियो त्यहाँ।
मेरो खुसीले सीमापार गर्यो। हेल्लो हाई अनि सरी पछाडि उनले लेखेकी थिइन्- मलाई कोरोना भयो नि!
थाहा पाउनेबित्तिकै म निराश भएँ।
मानौं! उनलाई भएको कोरोनाले पीडा मलाई दियो।
कोरोनाको पीडा सुनाउँदै उनले लेखिन्- ख्याल गर्नुहोला, यो निक्कै पीडादायी हुँदो रैछ। झण्डै मरिएन।
म झन् भावुक भएँ। मैले म्यासेजमै स्वास्थ्य लाभको कामना गरिरहेँ , उनको दीर्घायुको कामना गर्दै मनले भगवान पुकारिरहें।
मैले सोधें- तपाईंलाई मात्र कि परिवारका सबैलाई ?
‘सबैलाई !’ उनले उत्तरसँगै आँसु झार्दै रोएको इमोजी पठाइन्।
म झन्डै त्यै इमोजीजस्तै रोएँ, आँसुमात्र नझरेको हो। तै पनि मनलाई सम्हालें।
उनले मेरो बारेमा धेरै सोध्न खोजिन्, मैले आफ्नो बारेमा भन्नुभन्दा उनकै बारेमा सोधिरहेँ। उनी के गर्दै भनेर सोध्थिन्, म उत्तरको साटो प्रश्न तेर्साईदिन्थेँ- अहिले कस्तो छ ?
‘ठिकै !’ उनी छोटो उत्तर दिएर फेरि प्रश्न गर्थिन्- काममै हुनुहुन्छ होला है ?
मलाई कामको मतलबभन्दा उनको स्वास्थ्यको बारेमा बुझ्नु थियो।
‘हस्पिटल भर्ना हुनु त परेन नि ?’ मलाई उनकै चिन्ता थियो।
‘चेकअप गराएर होम आइसोलेसनमा बसियो, हस्पिटलमा बस्नु परेन।’ उनले हिजोसम्मको अवस्था बताइन्।
उनले अझ थप्दै भनिन्- तातो पानी, ज्वरोको औषधि अनि भिटामिन खाएरै बाँचियो। सुरूमा त मरिन्छ कि झैं लागेको थियो।
उनी हराउनुको मुख्य कारण कोरोना रहेछ।
उनी हराएपछिका मेरा दिनचर्या उनलाई बताउँदै भनें- म त निक्कै तडपिएँ।
उनले मस्तले हाँसेको इमोजी पठाउँदै लेखिन्- किन नि ?
मनभरिका प्रेमका कथा मनमै लुकाउनु थियो किनकि प्रेम मेरोतर्फबाट मात्र थियो। उनको मन बुझ्न मलाई अझै महिनौं लाग्नेछ।
मन बुझिसकेपछि प्रस्ताव राख्नेछु, प्रस्तावमाथि उनको विचारका लागि हप्तौं कुर्नेछु।
यदि प्रस्ताव सफल भयो भने उनको प्रश्न- किन नि ? को उत्तर दिनु पर्ने छैन।
प्रस्ताव असफल भयो भने उत्तरलाई बटारेर नयाँ जुक्ति निकाल्नेछु तर उनको मन दुखाउनेतिर लाग्ने छैन।
यस्तै सोच्दै थिएँ, उनले फेरि प्रश्न गरिन्- किन तड्पिनु भएको ? भन्नू न प्लिज !
किन तड्पिएँ भन्नूँ ? उत्तर नै भेटिएन , जसोतसो मिलाउँदै भने- सामाजिक सञ्जालबाट तपाईं हराउँदा…
चार वटा हाँसेको इमोजीसँगै उनले लेखिन्- गफाष्टी मान्छे
मौकाको फाइदा लुट्दै मैले लभको सिंग्नल भएको इमोजी पठाइदिएँ, उनले तुरून्तै हेरिन्।
हामी फेरि गफिन थाल्यौं।
फुर्सद हुँदा बोलाउने सम्झौता गर्दै हामी बिदा हुन्थ्यौं। तर उनले कहिल्यै पहिला बोलाइनन्।
म कुरिरहन्थें, उनले हेल्लो भन्लिन् अनि गफमा मस्त रहौंला भन्ने आशा मनभित्र पालेर म घण्टौं बस्थें। अन्त्यमा म आफैं उनलाई बोलाउँथें- हेल्लो!
उनी मलाई फुर्काउँदै भन्थिन्- आहा! तपाईंको म्यासेजको पर्खाइमा थिए।
मलाई विश्वास हुन्थेन, तै पनि खुसी भैदिन्थें म। किनकि उनीसँग विवाद गर्नु थिएन मलाई।
उनी कोरोना पीडित थिइन्, आइसोलेसनबाटै मलाई म्यासेज गर्थिन्। मलाई सम्झन्थिन्। यही नै मेरा लागि खुसीका पल थिए।
बाँकी मनका कुरा उनी कोरोनामुक्त भएपछि भन्ने दिन आउने नै छ।
अहिले त गायिका अन्जना गुरूङको ‘बोलेपछि माया बढ्छ, बोल्न थाल न मायालु’ भन्ने गीतले सिकाएजस्तै गर्ने हो।
फुर्सद भयो कि च्याट गर्ने अनि गफले जितेर प्रेम फस्टाउने आशामा उनको कोरोनामुक्त स्वास्थ्यको कामना गरिरहेँ।