एकादेशमा राजारानी थिए रे। मैले सुत्ने बेला पाँच वर्षकी छोरीलाई सुनाउने कथाको सुरुवात।
नेपालका राजारानी पनि एकादेशमै विलाए।
राजारानी भएर देश विकास नहुने होइन।
जापान, बेलायत, नर्वे साक्षी छन्।
राजारानी नभएर देश विकास हुने पनि होइन।
नेपालीले अन्त हेर्नै पर्दैन।
हामी सनातन संस्कृत संस्कारबाट जन्मिएका नेपाली हौं। हामी राजनीति गर्छौं। तर राजारानी विनाको राजनीति भएर हो कि किन हो हामी नेपालीलाई राजनीति फापेको जस्तो नै लाग्दैन। ७० वर्षको प्रजातन्त्रमा हामीले ४७ वटा प्रधानमन्त्री फेर्यौं। १५ वर्षको गणतन्त्रमा १० प्रधानमन्त्री। नेपाली राजनैतिक र¨मन्चको कस्तो नाटक हो यो?
प्रधानमन्त्री बन्न शैक्षिक योग्यता पनि नचाहिने हाम्रो देशका जनता यो भन्दा भाग्यमानी बरू लिगलिगमा जस्तो दौडमा जितेर छानिएका घले राजा पाए हुन्थे होला। या नवराजलाई जस्तो हात्तीले माला लगाएर चयन गरिदिए हुन्थे होला। तर यहाँका जनताको दूर्भाग्यः आफैले भोट हालेर चुनेका राजनेताहरु पनि दक्ष कार्यक्षमताको प्रदर्शन भन्दा संकुचित मानसिकताको राजनीति गर्छन्।
हामी यस्तो बलियो सिद्धान्तको राजनीति गर्छौं कि त्यसमा राष्ट्रनिर्माताको राजमुकुट नै भत्काइदिने शक्ति हुन्छ। फेरि हामी यति फितलो सिद्धान्तको राजनीति पनि गर्छौ कि हामी साम्यवादी नारा बोकेर समाजवादी संविधान लेख्छौं अनि पूजिँवादी समाज स्थापित गर्छौं।
हामी राजनीति यस्तो गर्छौं जहाँ नेताहरू आफ्नै पार्टीका सभापतिहरु विरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्छन्। हामी राजनीति यस्तो गर्छौं जहाँ एकै पार्टीका नेताहरु जनतामाझ एक आपसबीच दोषारोपणको लोक दोहोरी नै गाउँछन्। पार्टीका नेताहरु बीच वैचारिक एकरूपता र व्यवहारिक एकजुटता नहुने हो भने के नेपालीहरुले संधै दशैं मनाएजस्तो चुनावमा भोट हाल्दै मात्र बस्ने ?
कहिलेसम्म हामी अर्थशास्त्र नजानेको अर्थमन्त्रीले बनाएको बजेटमा आर्थिक विकासको परिकल्पना गरेर बस्ने? कहिलेसम्म हामी मरूभूमिमा बगेको नेपालीको पसिनाले धानेको बजेट भाषण सुन्ने? कहिलेसम्म हामी चिकित्साशास्त्र नजानेको स्वास्थ्य मन्त्रीको स्वास्थ्य नीतिमा आफ्नो रोगको निदान खोज्ने? कहिलेसम्म हामीले सुलभ स्वास्थ्यसेवाको अभावमा मेडिसिटि र मेदान्ता धाउने?
ठीक छ। राजनीति होइन भने प्रेसिडेन्सियल पोलिटिक्स नै सही।
पोलिटिक्स पनि हामी यस्तो गर्छौ जहाँ आफ्नै पार्टीबीच मोर्चाबन्दी गरेर बहुमतको आफ्नै सरकार ढाल्न खोज्छौं। बहुमतको सरकार पूर्ण अवधीसम्म सत्तामा टिक्न नसक्ने हो भने अहिलेको फुटेको चुरा जस्तो नेपाली पार्टीहरुले कहिले जुटेर नेपालीको नाडी सजाउने। कहिलेसम्म मोजा फेरे जस्तो प्रधानमन्त्री फेर्दै बस्ने? ढाका टोपी जसरी ढल्काउने कहिले ?
पोलिटिक्स पनि हामी यस्तो गर्छौं जहाँ प्रेसिडेन्टलाई राजकीय सम्मानका साथ दरबारमा सजाएर राख्छौं। सजाएर राख्नै थियो त राजारानीलाई नै सजाएर राखेको भए मैले एकादेशमा नेपालमा राजारानी छन् है भनेर मेरी छोरीलाई कथा सुनाउन त पाउँथें। सजाएर मात्र भए पनि राजारानी भइदिएको भए स्वाधिन हिन्दू राष्ट्र नेपालमा परधर्मीहरु आएर हाम्रो धर्ममाथि प्रहार गर्ने आँट त गर्दैनथे होला।
२५० वर्ष अगाडि बरू पृथ्वीनारायण शाहले पादरीहरुलाई लात हानेर काठमाडौंको डांडा कटाएका थिए। नेता लाचार भए के अब यी म्लेच्छहरुलाई लात हानेर डाँडा कटाउन कल्की नै पर्खेर बस्नुपर्ने हो र नेपाली जनताले? अहिलेका हाम्रा धर्मनिरपेक्ष राजनेताहरू शैतानको आयातित धर्मले नेपाली संस्कार कलुषित हुँदा पनि उल्टो आफैं होली वाइनको घुुस चाखेर बस्छन्। घुस लिने घुस दिने दुवैे देशका शत्रु हुन् भन्ने दिव्योपदेश त इतिहास न ठहरियो।
शाहबंसीय राज्यसत्ताको इतिहास नासही, हामी पृथ्वीनारायण शाहलाई राष्ट्रपिताको हैसियतले मात्र पनि सदाको लागि नेपालको सांस्कृतिक राजा घोषणा गरेर उनको पैतृक आशिर्वादको छत्रछायांमा दिव्योपदेश पालन हुनेगरी राजनीति गर्न सक्दैनौं र?
यदि सारा संसारले चारपाटे झण्डा फहराउँदा पनि हाम्रो त्रिकोणत्मक चन्द्र सूर्य अंकित सनातनी झण्डाको सान झरेको छैन भने हामी किन सनातनी व्याकरण नै अशुद्ध हुने गरी राजनीति गरिरहेका छौं त?
फलानाले राजा फाल्यो भन्दैमा हामीले फाल्नुपर्छ भन्ने छैन। ढिस्कानाले म्यान्ह्रयाटन ठड्यायो भन्दैमा हामीले ठड्याउनु पर्छ भन्ने छैन। पश्चिमाले धर्म त्यागे भन्दैमा हामीले त्याग्नु पर्छ भन्ने पनि छैन। सबैको आफ्नो मौलिक संस्कृति र संस्कार हुन्छ। यो देश मात्र होइन यो सारा विश्व नै चार वर्ण छत्तिस जातको साझा फुलबारी हो। आफ्नो मौलिकताको जगेर्ना गर्न नसके राष्ट्रको अस्तित्व नै संकटमा पर्छ।
नेपाल २५० वर्ष अघि पृथ्वीनारायण शाहको पालामा थियो होला दुई ढुंगा बीचको तरुल। तर अहिले भारत र चीनले जति आर्थिक वृद्धिदर हासिल गरेका छन् अब पनि हामी तरूल नै भएर बस्ने हो कि भारत र चीनको पखेटा हालेर कल्कीको देवदत्त घोडा जस्तो उड्ने? तर के अहिलेकै प्रेसिडेन्सियल पोलिटिक्स वा अव्याकरणीय राजनीतिले त्यो सम्भव होला र? विकल्प खोज्ने कहिले हो?