बिहानै दिदीको म्यासेज आयो काठमाडौंबाट- 'आमालाई एकचोटी फोन गर् है, तँसँग बोल्न खोज्नु भाछ।'
वाइफाई अन नै थियो तर मोबाइलको टावर थिएन। यता यस्तै हुन्छ टावर टिप्दैन। ठुला ठुला डाँडा छन् नजिकै। कोल्टी बाजुराको विशेषता भनौं कि के भनौं।
न पानीको सुविधा न सडक यातायातको राम्रो पहुँच, जिन्दगी बाँच्न निकै गाह्रो छ। धन्न प्राथमिक स्वास्थ्य केन्द्रमा सोलारको व्यवस्था छ र बत्तीको केही सुविधा छ नत्र अन्धकारमय हुने थियो जिन्दगी।
हत्त न पत्त बाहिर निस्किएँ र टावरको खोजीमा यताउता भौतारिएँ।अलि पर पुगेपछि बल्ल भेटियो।लामो सास फेरेँ र आमालाई फोन गरेँ।
लामो घण्टी गएपछि उठाउनुभयो। 'आज सपना राम्रो देखिनँ अनि फोन गरेको छोरा, तँ सन्चै छस्?।'
'सन्चै छु आमा, पिर नमान्नु' भन्दै केही मिठा मिठा गफहरुपछि फोन राखेँ।
आमा हरेक दिन फोन गर्दै सन्चो विसन्चो सोध्ने गर्नुहुन्छ। 'त्यति टाढा सुदूरपश्चिमको पनि दुर्गम बाजुरा गएर किन काम गर्छस् छोरा? यतै आइज, यतै जसोतसो गरे पनि त हुन्छ। तँ सिपालु छस् यतै पनि जागिर पाइहाल्छस् नि!'
म कसरी सम्झाउन सक्थेँ र आमालाई! काठमाडौंमा नै मनग्य आम्दानी हुने जागिर पाउँदा पाउँदै पढाइ सिद्धिए भोलिपल्टै हतारिएर बाजुरा आएको थिएँ। म यता आएर बिरामीहरुको चोटमा थोरै भए पनि मलम लगाउन चहान्थेँ।
तर कहाँ आमाको मन मान्थ्यो र? जे भएपनि जति ठुलै भएपनि छोराछोरी आफ्नै वरिपरि रहिराखे हुन्थ्यो भन्ने पनि चाह हुँदो हो। भित्री मनमा त आमाका लागि म जतिको ठूलो डाक्टर अरु कोही छैनन् पनि होला किनकि मेरो एक बोलीले सबै पीडा-दुःख र घाउहरु निको भएको महशस गर्न सक्नु हुन्छ।
पिढींमा बसेर छोराको फोन कति खेर आउला भनेर कुरिबस्न सक्नु हुन्छ। त्यो प्रतिक्षा पनि कति पीडादायक हुन्छ होला। जन्मायो हुर्कायो तर अर्कैको भइहाल्ने यो सृष्टिमा जननी र सन्तानबीच यति धेरै खाडल पनि खै कसरी आइपर्छ!
सम्बन्धहरु कहाँ र कसरी गाँसिदा रहेछन्, खै म त पत्तो पनि पाउँदिनँ। धेरैभन्दा धेरै बिरामी नहेरेको दिन त राम्ररी निद्रा पनि लाग्दैन। टाढा टाढाबाट २-३ दिन हिँडेर आएका आमाबुवाहरुको रोग निको नपारिकन त खै जिन्दगीको महत्वपूर्ण आयाम नै भुलेँ जस्तो लाग्छ।
एक साताअघि निःशुल्क स्वास्थ्य शिविरमा जाँदा बाजुराकै दुर्गम हिमाली गाउँपालिकामा २/३ ठाउँ बास बसेरै मान्छेहरु आए। एकजना ७० वर्षकी आमैले त मेरै अघि आएर आँसु खसाल्नु भयो।
म एकछिन त वैराग्य भएर भावनात्मक भएँ। होस गुमाएँ र अचेत जस्तै भएर आँसु पुछ्न अनुरोध गरेँ। मसँग ती बुढी आमैको आँसु रोक्ने कुनै औषधि थिएन। केवल उनका शरीरका रोगहरु मात्र निको पार्न सक्थेँ।
बेसहारा आमा भन्दै थिइन् 'घरमा कोही छैन, एक्लै बस्छु। सरकारले दिएको भत्ताले जे-जे आउँछ त्यही नै खान्छु।'
मैले एकैछिन आफैसँग प्रश्न पनि गरेँ। जाबो अभाव र गरिबीको रोग निमिट्यान्न पार्न नसक्ने म, कसरी डाक्टर भएँ?'
ठूलो ग्लानीले छपक्कै छोप्यो। म त ठुलै केही गरौंला भन्ने राग लिएर यता आएको हुँ। सुगम छोडेर दुर्गम रोजेको हुँ। तर मेरो हातमा त केही रहेनछ। अरु त अरु मैले बुढी आमाको आँसु पनि रोक्न सक्ने रहेनछु।
ती बुढी आमालाई जति सक्दो त्यति औषधिको सहयोग गरेर पठाएँ। हाँस्दै उठ्नु भयो अनि आशिष दिएर जानुभयो। मलाई बिल्कुल थाहा छैन त्यो आशिषको मूल्य कति छ?
एमडी पढ्दा त्यस्ले न पोइन्ट आउँछ न काठमाडौंमा ठुलो घर बन्छ न भविष्य निर्धारण गर्छ। तर मलाई त बुद्धत्व प्राप्त गरेजस्तै भयो। त्यस दिनदेखि हरेक चैतन्यमा तिनै बुढी आमाको प्रतिबिम्ब भेट्दै गएँ र निस्सार जिन्दगीमा सहृदयताको सार भेट्दै गएँ।
त्यस अघि म त्यति खुसी थिइनँ होला, संतुष्ट थिइनँ होला जति आज छु। जति श्रद्धा र त्यागको भावना त्यसपछि जागृत भयो त्यसअघि उत्पन्न भएका थिएनन् होला। मलाई कहिल्यै पनि जिन्दगीमा ठूलो हुने रहर जागेन तर सधैं मानिसको मनमुटुमा बस्ने रहर जागिरह्यो।
त्यस दिन राति ७ बजे सम्म ६०० जना बिरामी जाँचेर म फर्किएँ। कर्णालीको तिरै तिर कच्ची बाटो घुइकिएर आउँदा पनि, खै! कति पनि डर लागेन। आउँदा बित्तिकै घरमा आमालाई फोन गरेँ।
स्याबास छोरा भन्दै आमाले हौसला दिनुभयो। अनि माला र अबिरले रंगिएको पहाडको खोँचमा उभिएको आफ्नै तस्बिर राख्दै फेसबुकमा स्ट्याटस लेखेँ 'म आज धेरै खुसी छु।'
म सुख चाहन्न। जित चहान्न। दुःखलाई नजिकबाट महशुस गर्न चहान्छु। दुःखलाई जस्ले महशुस गर्न सक्छ उसैले दुःख हर्न सक्छ भन्ने विश्वास गर्छु।
मलाई हारको लोभ छ। हरेक प्रहर आफैसँग हारेर दुर्गम गाउँ र पीडित दुःखी बिरामीको जित भएको हेर्न आतुर छु। मसँग धेरै सामर्थ्य नहुन सक्छ। जति सक्छु त्यति त गर्न सक्छु नि हैन र?
बुवा पनि बारम्बार फोन गर्नहुन्छ। 'छोरा के खान्छस्, के गरिराछस्? आफ्नो ख्याल राख्नू। समयमा खानू। भोकै नबस्नू।'
बुवालाई म चाहेर पनि भन्न सक्दिनँ वास्तविकताहरु। बिरामी हेर्दा हेर्दै खाना खान भुलिदिन्छु कहिले काहीँ। खाजा त परको कुरा। तर पनि भनिदिन्छु 'हुन्छ बुवा हुन्छ, चिन्ता नगर्नुहोला।'
बुवा फेरि थप्नुहुन्छ 'आफ्नो ठाउँ होइन छोरा त्यही भएर जोगिएर बस्नु। धेरै काम गर्दा बिरामी भइस् भने कस्ले ख्याल गर्ने तलाई? हामी त धेरै टाँढा छौं।'
'हुन्छ बुवा' भन्न बाहेक केही भन्न सक्दिनँ। काठमाडौं जान पनि तीन/चार दिनको बाटो छ। कहिले पहिरो आउँछ कहिले हिउँ पर्छ। बुवा-आमा आत्तिनु पनि स्वाभाविक नै हो। तर पनि आमाबुवाको मायामा मात्र टाँस्सिएर बस्न सक्ने अवस्था पनि त छैन।
देशले यत्रो उमेरसम्म योगदान गर्यो अनि मैले देशका लागि केही नगर्ने? अरु देश छाडेर विदेश जालान्। उतै काठमाडौंमा रमाउलान्। मलाई कसैसँग केही गुनासो छैन। मलाई यस्तै मन पर्छ, यस्तैमा रमाउँछु।
यो गर्नु म आफ्नो कर्तव्य ठान्छु। त्यसैले गरेँ। अरुसँग तुलना गरेर कहाँ म मूल्यवान जिन्दगी खेर फाल्न सक्छु र?
म पहिला सोच्थेँ, किन रुन्छन् होला मान्छेहरु? आँसुको त कुनै काम नै छैन। किन आफूले बोकेको भारीभन्दा गह्रौं मन बोकेर बाँच्छन् होला मान्छेहरु? तर आजकल आँसु बग्नु त स्वाभाविक रहेछ भन्ने बुझ्दै छु।
कति आँसुहरु नपखालिएका होलान् अझ कर्णालीको पानीले। कतिलाई सामूहिक आत्महत्या गर्न विवश बनाएको होला यो गरिबीले? कहाँ म एउटा बबुरो अझ सुगम ठाउँमा हुर्किएको मान्छे, आएर बसेको ६-७ महिनामा नै दुःखहरु मुठ्ठी भित्र कब्जा गर्न सकूँला र?
कर्णालीमा अविरल बगिरहेका अथाह वेदनाहरुलाई अन्जुलीमा भर्न सकूँला र? बाजुराको आकासमा कुनै एउटा मात्र चम्किला तारा पनि थप्न सकूँला र? तर हेर्दै जाउँ, कोशिश गरिराख्ने छु। आफूभित्र बाँकी केही नराखी बाँच्न मन छ।
म भित्रका लोभ लालचहरु च्याँठ्ठिएर बाहिर निस्किउन्। म बोक्रो शरीरमात्र भएर बाँच्न सकूँ। अंग प्रत्यांग सबै योगदानमा खर्च भउन्। यस्तो पनि दिन आओस् कि म सोच्न बाध्य हुँ- लुगाले मलाई लगाउँदै छ कि लुगालाई म लगाउँदै छु।
खुट्टाले म हिँड्दै छु कि खुट्टालाई म हिँडाउँदैछु। आहा! त्यो दिन तिनै बुढी आमाको आशिष सम्झिएर म राति कति धेरै निदाउथेँ होला।
साथीहरु पनि फोन गर्ने गर्छन् 'आइज यार अब काठमाडौं तिरै सेटल हुन पर्छ।'
खै किन हो उनीहरुका कुरा म त्यसै टारिदिन्छु। सायद काठमाडौंसँग धेरै प्रतिशोध साँधेर बसेको छु म। हुनसक्छ काठमाडौंका अनेकौं रंगहरु देखेर समेत वाक्क भएको हुन सक्छु।
मलाई सादा बेरंग भएर बाँच्न मन छ केही वर्ष। जबसम्म आफै भित्र सन्तुष्टिको इन्द्रेणी झल्किँदैन। पिच रोडमा धेरै गुडियो, चिल्ला कार्पेटमा धेरै हिंडियो। अब त बाजुराकै धुलो, माटो, ढुंगासँग लट्पटिनु छ मलाई।
छिः भन्दै मलाई दुकार्नेहरु होलान्। को हो यो? भन्दै नचिन्नेहरु पनि होलान्। आहा! यो जिन्दगी पो जिन्दगी। यो स्पन्दनमा पो त आनन्द छ। अरुले नभेट्टाउँदा र सम्पर्क विहीन जस्तै बाँच्दा पो बल्ल म सेवामा तल्लिन भएर आफै भित्र हराउन पाउँदो रहेछु।
यही छ कामना! कृपया नछापिउन् अखबारमा म हराएको सूचना, दिनदुखीको उपचारमा म हराइरहन पाउँ। यतै कतै सुदूर दुर्गम ठाउँहरुमा।