'साहित्यकार कल्पना श्रेष्ठ 'कल्पपुञ्ज' ले स्थापना गर्नुभएको कल्पपुञ्ज पुरस्कार-२०७७ विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक सविता उप्रेतीलाई,' आश्माले अक्षर र आवाज मिसाएर पुरस्कारलाई यसरी सार्वजनिक गरिरहँदा लाग्यो, मेरो साहित्यिक उपनाम 'कल्पपुञ्ज'ले एउटा सार्थक यात्रा सुरू गरेको छ।
मैले आवाजविहीन नारी पात्रलाई केन्द्रमा राखेर 'सञ्जीवनी' उपन्यास लेखेँ। उपन्यास २०७४ फागुन ४ गते सर्वनाम थिएटरमा खचाखच स्रस्टाहरूका बीच विमोचन हुने अवसर पनि जुर्यो।
तर म त्यतिले मात्र सन्तुष्ट हुन सक्ने अवस्थामा थिइनँ। र अपांगताको क्षेत्रलाई नजिकबाट नियाल्ने त्यो अवसर मेरो पहिलो पनि थिएन। त्यसैले सोही दिन मैले सार्वजानिक रूपमा दुई लाख रूपैयाँ मजस्तै अपांगता भएकाहरूलाई केन्द्रमा राखेर लेख्न रहर गर्नेहरूका लागि छुट्याएँ। अर्थात त्यो रकमले ती सृजनाहरू कतै पुरस्कृत वा अनुवादित पो हुन सक्छन् कि मेरो मनले यस्तै सोच्यो।
घोषणा त गरेँ, सबैले त्यसको खुलेर प्रशंसा पनि गर्नुभयो। मैले गरेको घोषणासँगै संस्थाहरूले मसँग सम्पर्क गर्ने क्रम पनि बढ्यो। त्यति बेला मभित्र भने मातृत्व हुनुको अर्को जीवन हुर्किरहेको थियो। त्यसो त मैले पनि आफ्नो सोचलाई कसरी जीवन्तता दिने भन्नेबारे निर्क्यौल गरिसकेकी थिइनँ।
यही अन्योल र जिम्मेवारीहरूका बीचमा दुई वर्ष त्यत्तिकै बित्यो। हुन त त्यस बीचमा कतिले मलाई आफैं संस्था दर्ता गर्न सुझाए त कति संस्था मेरो विचारसँग मिलेनन्। यस्तैमा २०७७ सालमा मेरो भेट आश्मासँग भयो।
आश्मासँग भेटको बहाना पनि मेरो कृति 'सञ्जीवनी'नै बन्यो। अथात् उनी मसँग अन्तरवार्ता लिन मेरै अपार्टमेन्टमा आइपुगिन्। मनमा लाग्यो, कृति पुरानो हुँदै गएपनि नमुर्झाउँदो रहेछ। सृजनाप्रति सानै भए पनि गर्व लागेर आयो।
त्यसो त उनलाई भेट्दा प्रतिभावान भुइँ मान्छेलाई भेटेझैं अनुभूति भएको थियो। हाम्रो अन्तर्वार्ताभन्दा अनौपचारिक कुरा यसरी भयो मानौं हामी वर्षौंदेखि भट्दै आएका आत्मीय मनहरू हौं।
भेटकै क्रममा यो पनि थाहा भयो कि आश्मा र मनिषाजी (मनिषा गौचन) ले 'डिमारीका' अभियानको परिकल्पना गरेर सुरू गर्नुभएको रहेछ। यस्तोमा आश्माको धरातलबाटै कुरा र काम गर्ने खुबीले म तानिएँ भने अर्काेतिर मैले कल्पना गरेको कल्पपुञ्ज कोषका लागि सही ठाउँ र व्यक्तिहरू भेटेको महसुस गरेँ।
आखिर आश्मासँगको पहिलो भेट नै कल्पपुञ्ज पुरस्कार परिचालन सुरूवात सावित भयो। उनले कल्पपुञ्ज अक्षयकोष पुरस्कारमा वृहत विषयलाई समेटेर फराकिलो ढाँचामा लग्ने प्रस्ताव ल्याइन्। अर्थात् यो पुरस्कार हामीले अपांगता केन्द्रित कला, साहित्य, संगीतका सर्जक, कलाकार, शिक्षासेवी तथा अपांगता भएका बालप्रतिभाहरूलाई दिने सोच बनायौं।
हो, मलाई पनि लाग्यो वर्षमा अपांगता सम्बन्धी कति नै नेपाली कृति सृजना होलान् र! त्यसमा पनि स्तरीयताको छनौट र मापन कसरी गर्न सकिएला? वा यस्ता सामग्री नपाएर वार्षिक पुरस्कार कार्यान्वयनमा शिथिलता आउन सक्ने सम्भावना पनि त होला!
आश्माको प्रस्ताब गज्जब लाग्यो।
यति बेला यी कुराहरू लेखिरहँदा मलाई मेरो बाल्यकालको सम्झना पनि खुबै आइरहेको छ। वास्तवमा म त्यति बेलादेखि नै अपांगता भएका व्यक्तिहरूप्रति गाउँसमाजको दृष्टिकोण, अपांगताकै कारण ती व्यक्तिहरूले भोग्नु परेका समस्या र चुनौतीसँग नजिक थिएँ।
झन् अपांगतासँग नारी, पुरुष, जातीय कुरा, गरिबी र मान्छेको सोच जोडिएर आएपछि त्यसले यो अवस्थालाई अझ विकराल बनाउने रहेछ भन्ने मेरो अनुभवले बताउँछ।
मेरो गाउँ जहाँ आवाजविहीन कति जना पुरुष साथीलाई उहाँहरूको अभिभावकले प्राथमिक शिक्षाका लागि स्कुल पढाउनुभयो।उहाँहरू अलि ठूलो भएपछि पोखराको आवाजविहीन शिक्षा प्रदान गर्ने स्कुलको छात्रावासमा रहेर अध्ययन गरेर फर्किनुभयो। पछि घरको पसल, व्यवसायमा कम्प्युटरमा नै आर्थिक हिसाब-किताब गर्ने, प्राविधिक कर्महरूमा जोडिनुभयो।
उहाँहरूले सरल जीवनयापन गर्दै पनि आउनुभएको छ। तर त्यही उमेरका आवाजविहीन छोरीहरू घरको कमारीझैं लादिएर बसेको प्रशस्त भेटेँ। उनीहरू आफ्ना अस्तित्व परिवारमा स्थापित गर्न अझ पनि संघर्षरत छन्।
यीबाहेक अपांगतामैत्री हेराइ, बोलाइ, गराइ र सुनाइमा हाम्रो संवेदनशीलता अझै पुगेकै छैन। सामाजिक संजाल, युट्युब च्यानलहरू, पत्रपत्रिका, भाषाको लडाइँ र अन्य सञ्चार तथा अभिव्यक्तिका माध्यममा हामीले अपांगतालाई कसरी प्रस्तुत गरिरहेका छौं त भन्ने कुरा सानो कुरा हुँदै होइन। यही संवेदनशील विचारको मेलले पनि होला म डिमारीकासँग जोडिएँ र मलाई यसमा गर्व अनुभूति भएको छ।
यसरी असल कर्म गर्ने सोच बनाएर पनि विभिन्न परिस्थितिले कार्यान्वयनमा लाग्न नसक्नु वा ढिलो हुनुको सानो नमूना थियो यो। तर यही परिस्थिति अहिले मेरा लागि एउटा आफूले चाहेजस्तै सहयात्राको आधार बन्यो। र यसैको फलस्वरूप यो वर्ष हामीले अटिजम भएका बालबालिकाको शिक्षा र सीप विकासमा समर्पित सविता उप्रेतीलाई २०७८ वैशाख १० गते उहाँले सञ्चालन गर्नुभएको पेप्सिकोलास्थित पुनर्स्थापना केन्द्रमा पुरस्कृत गर्ने भएका छौं।
छनौट क्रममा हामीले हेरेका, पढेका र सुनेका सृजनामा धेरै अपांगतामैत्री वा भनौं ती कृतिले प्रवाह गर्ने सन्देशको हिसाबले अब्बल र सकारात्मक भेट्न कठिन हुँदा भने हामीलाई दुःखी र जिम्मेवार दुवै बनाएको छ।
एकपटक भित्री हृदयबाट सोच्नुस्, सम्झनुस् त, हामी हुर्केको र वर्तमानमा रहेको छरछिमेकमा अपांगता भएका व्यक्तिहरू कति होलान्? संसारको हर कुनाकाप्चामा भेटिन्छन्। र भविष्यमा कुनै पनि समय हामीमध्ये जो कोही त्यो परिस्थितिसँग जम्काभेट हुन सक्छौं।
भलै भविष्यको खेलसँगको परिचित छौं र! जब आफ्नो परिवारको सदस्य वा आफैंलाई पर्छ त्यो परिस्थितिमा मात्र हामीले दिलदिमागले सोच्छौं। हाम्रो वरिपरि थुप्रै अपांगता भएका व्यक्तिहरू छन्।