मेरो बाबासँग संवाद नभएको अलि दिन भयो। उही त हो सबैको जस्तै, काम नपरी झट्ट बोली नहाल्ने। ठ्याक्कै बोल्ने मेलोमेसो नपरेको बेला मलाई शब्दमार्फत पोखिन मन लाग्छ।
पहिले अहिलेजस्तो बाटोघाटो र यातायातको व्यवस्था थिएन। म जन्मेकै सालमा बाटो खन्ने प्रकृया अघि बढेको रे। म खेल्ने हुने बेलासम्म दिनमा एउटा, दुइटा जिप देखिन्थे। जिपको आवाज सुन्नेबित्तिकै हेर्न बाटातिर झर्थ्यौं।
सकुन्जेलसम्म गाडीलाई पनि दौडेर जित्छु झैं गरेर कुद्थ्यौं। खै कहाँबाट आउथ्यो बचपनमा त्यतिविधि शक्ति! एकदिन मलाई बेस्सरी ज्वरो आएको थियो। आमा आत्तिदै बाबालाई अस्पताल लान अनुरोध गर्दै हुनुहुन्थ्यो।
हजुरआमाले कुन्नि के-केको हो पानी बनाउँदै दिनुहुन्थ्यो। तितो पानी तैपनि जबरजस्ती पिलाउनु हुन्थ्यो। बेलुकासम्मप नि दुईको एक भएन। जिप पनि आकाशको फल आँखातरी मर भनेजस्तै भयो। अनि बाबाले बोकेरै अस्पताल पुर्याउनु भयो।
ज्वरोले आलस्य भएकी म बाबाको बुई चढेपछि एकाएक तंग्रिएकी थिएँ। सायद बाबाको बुईको शक्ति होला। मलाई बालापनको यो घटना बेलाबेला याद आइरहन्छ। मैले सम्झेको घटना पनि यही एउटा होला।
समयले बाबालाई बुढो बनाउँदै लग्यो अनि मलाई जवान। बचपनमा बाबासँगै टाँस्सिरहने म किशोरवस्थाको प्रवेशसँगै खुब टाढिएँ। नजानेरै समयले सम्बन्धलाई पर बनाएको थियो। खै ती शारीरिक, मानसिक, संवेगात्मक परिवर्तनले होला।
पहिलो महिनावारीपछि म बाबासँग बोल्नै सकिनँ। बाबा पनि मसँग बोल्न आउनु भएन। लाग्यो होला छोरी अब ठूली भैसकी। विस्तारै मलाई डर लाग्न थाल्यो बाबासँग तर अहिले लाग्छ त्यो डर आवश्यक नै थियो।
म कान्छी छोरी, म जन्मिँदा बाबाको उमेर घर्किसकेको थियो। म फलानोको छोरीभन्दा धेरैले प्रतिप्रश्न गर्दै सोध्थे- 'बाबा कि हजुरबाबा?' अहिले पनि कहिलेकाहीँ सामना गर्नपर्छ।
तर मलाई तिनै चाउरिएका गाला, मुजा परेका निधार अनि आँखाका भावहरुले बुझाएका छन् जीवनका अनेकौ आयामहरू। लाग्छ, यतिका जिम्मेवारीबाट थिचिएर पनि बाबाले कहिल्यै हार खानुभएन, छल-कपट जान्नुभएन। कोही यति इमान्दार भएर पनि जीवन बाँच्न सक्छ है।
अब अलिअलि बुझ्ने हुँदै गएँ। यसोउसो गर्ने भन्ने घरायसी योजनामा सरिक हुन थालेँ। एकदिन कुरैकुरामा सामान्य विवाद पर्यो आमाको र बाबाको। म पनि अलिअलि बोलेँ, बोल्दाबोल्दै अलि चर्को बोलेछु। बोलिसकेपछि थाहा पाएँ।
बाबा मौन हुनुहुन्थ्यो। आफैलाई कराएँ। खुब रोएँ, ला मैले यो के गरेँ भनेर। अनि केहीसमय पछि त्यही काँधमा शिर राख्न गएँ। केही नभनिकन बाबाले सबै बुझ्नुभयो। नबोलेरै सबै बुझ्ने त बाबा-आमा मात्रै होला।
सायद फुङसुक वाङ्डुले भनेजस्तै प्रकृतिबाटै जान्नुभएको होला। बुझ्नु भएको होला नपढेरै पनि यति धेरै कुरा। कहिलेकाहीँ दिदीबहिनी बस्दा यस्तै गफ गर्छौं, पढ्नुभएको भए बाबाले कति गर्न सक्नु हुन्थ्यो होला समाज, देशको लागि। खैर अब बाबाको आदर्शमा छोराछोरीले गरूँला सक्नेजति।
यही प्रकृतिको हावापानी, माटोबाली, घाँसपात, सागपातसँग मितेरी गाँसेरै जीवनका घुम्तीहरू कटाउनु भयो। आफैप्रति गौरव महशुस हुन्छ, बाबाको अनुसरण गर्दै अहिले यी माटोसँग रम्न पाउँदा, प्रकृतिसँग नजिकिन पाउँदा। काम गर्दा लाग्छ,मैले निकै राम्रो अनुभव संगालिरहेकी छु। कहिलेकाही त लाग्छ,कृषिजस्तो आनन्द दिने पेशा सायद अरु केही छैन कि।
हाम्रो परम्परा अनुसार छोराले बाबाआमाको खुट्टा ढोग्ने तर छोरीको उल्टै ढोगिदिने चलन छ। छोरी देवीको प्रतिक हो भनेर ढोग्ने नियम बसाइएको हो रे। मलाई पनि बाबाको चरणमा स्पर्श गर्न खुब मन लाग्ने!
घरि नङ काटिदिने, घरी खुट्टा मिचिदिने बहानामा खुबैपटक पाउ स्पर्श गर्छु। त्यो पलको भित्री आनन्द म शब्दमार्फत कसरी लेख्न सक्छु र!
मैले लेखेको बाबाको कथा कसैले पढेर नसुनाउनु, बाबाको आँखा रसाउनेछन् जुन म चाहन्नँ। हजुरले यसो गर, उसो गर नभनेरै सिकाएका बाटो पछ्याइरहन सकूँ।
लेख्नु थियो अझै केही तर शब्दविहीन भयो मन र दिमाग दुवै। तैपनि कोसिस गरेँ, दुई हरफ कविताको लागि।
कविता- बाबा
बाबा छेउमा निदाइरहनु भएको छ
म उहाँलाई निहाल्दै शब्द कोर्दै छु
आँखा चिम्लिँदा पनि देखिने त्यो गहिराई
मेरो कलमले किन लेख्न सक्दैन होला!
कम सुकिला लुगा, चाउरिएका गाला
कुटो, कोदालो परिचय बोकेर
मलाई जीवन अर्थाउनु हुन्छ।
कमै बोल्ने बाबा र खुवै डराउने ममा
बदलाव ठ्याक्कै विपरीत छ।