देश यतिबेला बढो निर्मम ढंगबाट जसले जताबाट जसरी हुन्छ निहीत स्वार्थ पूर्ति गरी फ्याकिदिने प्रयोगशाला भइरहेको छ। गन्तव्य के हो? कहाँ पुग्नु पर्ने हो स्वयं देश आफै अनविज्ञ छ।
राजनीति सिर्फ एउटा माछा बल्झाउने जालो मात्र भइरहेको छ। नीति निर्माण तहमा पुग्ने जो कोही पनि आफ्नो अवसरको दुनो सोझाइरहेछन्। स्वार्थको भंगालो भित्र भासिएर राजनीति गर्न कै निम्ति राजनीति गरे जस्तो बहाना बाजीमा नेतृत्व देखिन्छ।
इगो सेन्ट्रिक राजनीतिले आन्तरिक दलीय द्वन्दलाई समेत सतहमा पुर्याइदिएको छ। समग्रमा मुलुकको भु-अर्थ राजनीति धुजा परेर धमिरिदैछ।
मुलक यसरी अनिर्णयको बन्दी बनिरहँदा राष्ट्र निर्माणका पिलर मानिने युवातन्त्र कहाँ के गर्दैछ? राष्ट्रलाई सही ट्र्याकमा धकेल्ने युवा पंक्ति यतिबेला अखबारमा वान्टेड छाप्नुपर्ने गरी बेखबर छ।
मस्त सुतिरहेको छ। खासमा त्यो सुताइ निन्द्राको सुताइभन्दा पनि चाप्लुसीको सुताइमा मस्त आराम लिइरहेको छ। देश निर्माणमा उक्त देशका युवाहरुको सोच र कार्यविधिको महत्वपुर्ण भूमिका रहन्छ।
कुनै पनि मुलक समृद्ध बन्न सकारात्मक सोच र सिर्जनशील युवाहरुको प्रमुख भूमिका रहन्छ नै। जब नेतृत्व लिन अगाडि बढ्नुपर्ने युवा जमात नै वर्षौंदेखि असफल र निष्कृय वृद्ध नेतृत्वको अगाडि लम्पसार परेर चाप्लुसीको शिकार भइरहन्छ भने मुलुकले सिंगापुरको ज्याकेट ओड्छ भनेर के कल्पना गर्नु!
त्यो कल्पना नै हुनेछ। फगत एउटा धमिलो कल्पना। खासमा मुलुक यसरी ध्वस्त भइरहेको छ। त्यसमा पनि युवाहरुलाई यसरी ध्वस्त बनाइएको छकि कुनै समय सम्पूर्ण युवाहरु एक हुनै नसकून्।
भर्खरै सम्पन्न पत्रकारहरुको चुनावलाई हेरौं र मुलुक कहाँ पुग्दैछ मनन गरौं। पत्रकार राजनीतिक दलको हुन्छ? राजनीतिक दलको भातृ संगठनमा आवद्ध पत्रकारले कस्तो समाचार लेख्ला? कस्को समाचार लेख्ला?
शिक्षकहरुको चुनाव केका आधारमा हन्छ? दलीय आधारमा। कांग्रेसको शिक्षकले एमालेमा आास्था राख्ने विद्यार्थीलाई कस्तो शिक्षा देला? योग्यताले नभई राजनीतिक भागभन्डामा नियुक्ती पाएका शिक्षकहरुले कस्तो ज्ञान बाँड्छन् होला? कल्पना गर्नुहोस् त।
कर्मचारीमा समेत दलीय ट्रेड युनियनको चुनाव। सोझै मन्त्रीसँग हिमचिम गर्ने नेता कर्मचारीले जनतालाई कस्तो सेवा प्रदान गर्लान्? यस्ता प्रत्येक ठाउँमा बाहुल्यता भने युवाहरुको छ। यो वृद्ध नेतृत्वले युवा जमातलाई जालमा पारेर भुलाउने र आजीवन आफू नेतृत्व गरिरहने तर मुलकलाई भड्खालोमा हालिरहने प्रपञ्च मात्रै हो जस्तो देखिन्छ।
नेतृत्वले भने गरेका हरेक खराब निर्णयहरु समेत दलीय आस्था राखेकै आधारमा मानिदिँदा, सोझै असफल नेतृत्वको हनुमान बनिरहँदा युवा पुस्ताले आफ्नो अस्त्वि सर्वदा जीवित रहेको भुल्नु हुँदैन। यहाँ कुनै अमुक राजनीतिक दललाई मात्र भन्न खोजिएको होइन।
इतिहासका एक-एक नेतृत्व र युवाहरुको लाचारिताको समग्र तुलनात्मक अध्ययन मात्र गर्न खोजिएको हो। भविष्यको प्रलोभनमा परेर र्यालीमा बाइक कुदाउने राइडर होइन, मुलुकले सिंगो देशको बागडोर सम्हाल्ने, कुदाउने युवा खोजेको हो।
अन्त्यमा, माथि छोटकरीमा भनिएका हरेक कुरा राजनीतिमा मात्र जोडिएका हुँदैनन्। हाम्रा हरेक दैनिकीहरुमा समेत उत्तिकै अग्रपंक्तिमा आउँछन्। पहुँच र शक्तिको अन्दाज गरेर कतिपय अवस्थामा खराब व्यक्ति र संस्थालाई समेत हामीहरुले प्रचार गरिरहेका हुनसक्छौँ।
यसर्थ, चाप्लुसीभन्दा माथि उठेर साँच्चीकै मुलुकमा डेमोक्रेसीको अनुभूति गराउनको लागि चाप्लुसी मुक्त युवाक्रेसी अनिवार्य छ।