म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिरामी आमाको कुरुवा भएर बसेकी थिएँ। आमा भित्र आइसियु कक्षमा बुवासँग हुनुहुन्थ्यो। म बाहिर आमालाई चाहिने दबाइमुलोको दौडधुपमा व्यस्त हुन्थें दिनभर।
पाँच दिनको आइसियुको बासपश्चात आमालाई जनरल वार्डमा सारियो। डक्टरले अझै तीन दिनजति वार्डमा राख्नुपर्छ भनिएको थियो। आमाको स्वास्थ्यमा पनि विस्तारै सुधार आइरहेको थियो। म पनि केही फ्री नै भएकी थिएँ।
लुम्बिनी प्रादेशिक अस्पतालको सामुन्ने बुटवलको सस्तो बजार थियो। त्यहाँ हर समय ग्राहकहरूको भिड लाग्थ्यो। एक साँझ म पनि सस्तो बजार छिरें। सस्तो बजारमा एक्लै टहलिदैं थिएँ। एउटा नक्कली गहना पसलमा भर्खर बिहे गरे जस्ता देखिने जोडीहरु नक्कली गहनाहरु किन्दै थिए।
गहनाको छनौट केटामान्छेले गर्दै थिए अनि बीच-बीचमा आफ्नी श्रीमतीतिर इशारा गर्दै 'यो गहना कस्तो छ?' भनेर सोध्दै पनि। श्रीमती भने गहना तिर हेर्दै नहेरी 'राम्रो छ राम्रो, किन्ने भए छिटो किनिहाल्नु' भनेर नाक खुम्चाउँथिन्।
यो दृष्य देखेर गहना पसलकी साहुनीले 'नानीकै लागि होइनन् र यी गहनाहरु?' भनेर सोधिन्।
श्रीमतीले साहुनीतिर हेर्दै नहेरी मुख बंग्याएर ठाडो जवाफमा 'यी गहनाहरु मेरा लागि होइनन्' भन्ने जवाफ दिइन्। साहुनीले छक्क पर्दै 'त्यसो भए कस्का लागि हुन् त यी गहनाहरू?' भनेर सोधिन्।
लोग्नेमान्छेले बडो भलादमी पाराले 'आमै, यी सब गहनाहरु मेरी आमाका लागि हुन्। वास्तवमा मेरो बिहेमा आमाले आफ्ना सबै गहनाहरु फुकालेर मेरी श्रीमतीलाई दिइन्। अहिले आमाको नाक, कान बुच्चो छन् अनि गला रित्तो छ। त्यही भएर यी सब गहनाहरु आमाका लागि किन्दैछौं' भनेर आफ्नो गाँठी कुरो फुकाए।
ती भलादमीको कुरा सुनेर मैले झलक्क मेरी आमाको अनुहार सम्झें। ६० काटेकी मेरी आमाका खुम्चन लागेका निधारका रेखीहरु सम्झेँ। तिलचामले हुन लागेका आमाका केशहरू सम्झेँ।
बादल लाग्न लागेका आमाका आँखाहरू सम्झेँ अनि सम्झेँ ती आँखाहरूले मलाई गर्ने माया, मलाई दिने साहस! म अक्सर जिन्दगीको दौडमा थाकेर लखतरान परेको बेला आमाका तिनै आँखाहरू हेर्छु। आमाका फुट्न लागेका पाउहरू छुन्छु। एक प्रकारको आँट मिल्छ मलाई समस्याहरूसँग लड्नका लागि।
र त्यसपछि मैले अनुमान लगाएँ, सायद यी भलादमीकी आमा पनि यस्तै हुँदी हुन्। मेरी आमा जस्तै हुँदी हुन्।
यदि संसारमा मायाको मापन गर्ने कुनै यस्तो यन्त्र हुन्थ्यो भने सबभन्दा सक्कली माया आमाले आफ्ना छोराछोरीहरूलाई गरेकी हुन्छिन् तर तिनै छोराछोरीहरू सस्तो बजारमा सक्कली माया गर्ने आमाका लागि नक्कली गहनाहरु किन्दैछन्।
भगवान्! भोलिका दिनमा म जुन घरमा विवाह गरेर जानेछु, त्यस घरको सासूआमाका गहना पैरन नपरोस्। यदि श्रीमान ज्युको कमाइ रैन'छ भनेपनि नक्कली मै लगाउँला।
सक्कली माया गर्ने आमालाई नक्कली गहना पैराउन मेरो नैतिकताले दिँदैन्। आमा मेरी हुन् या श्रीमानको, आमा र आमाको माया अनि आमाको सम्मान सबैको बराबर नै हुन्छन्।