तपाईलाई यो पढ्दा अल्छी लाग्न सक्ला।
म अगाडि नै डिसक्लेमर दिइराखेको छु, हो साँच्चै मेरो यो लेखको टुक्रामा तपाईले अक्सर अचेल पाउने रंगिन अनलाइन मिडियामा जस्तो झिलिमिली ब्याकग्राउण्ड म्युजिक अहँ पाउनुहुने छैन।
चैतको अन्तिम दिन, चैते हावाका हुरीमा मिसिएका आँप र लिची फूलका सुगन्धहरु नाक वरिपरि घुम्दै छन्। मेरो कोठाको पर्दा जोडजोडले यसरी हल्लिरहेका छन्, मानौँ यो हल्लिने स्वतन्त्रता उनीहरुलाई आज मात्र मुफ्तमा मिल्दै छ।
यो त्यही घर होँ, जहाँ चैतका अन्तिम दिनहरुमा मेरा साथीहरु पोष्टकार्ड लिएर झुम्मिरहेका हुन्थे, कुरिरहेका हुन्थे, म तयार हुनसम्म। आतुर हुन्थ्यौँ हामी नयाँ किनिएका किताबका पानाहरु सुँघ्न, मुना मासिकको नयाँ अंश पढ्न व्यग्र हुन्थ्यो मेरो मन। अब पढिने नयाँ किताबमा पहेँला गाता हाल्न एकदम हतार हुन्थ्यो मलाई।
समय बदलियो। यसरी बदलियो, म सम्झन खोज्दा असमञ्जस्यता र अनौठोपनले एक सय वर्षपछि धकेलिएको जस्तो लाग्छ। घरमा थियो एउटा सिडिएमए र ड्याडीको नोकिया फोन। ड्याडीममी घर नभएको मौका पारि रेडियो स्वर्गद्वारीमा फोन कति हानियो हानियो। फोन लागेपछि स्वच्छन्द नया वर्ष शुभकामना कतिचोटि दिएँ मैले।
'सिडिएमएको ब्यालेन्स कसरी सकियो यति छिटो?' सायद मेरा आँखामा उत्तरहरु झल्किन्थे, ड्याडीले कहिले दोस्रो प्रश्न गर्नु भएन।
'नयाँ ड्रेस, नयाँ जुता! सानो भइसक्यो र बाबु?'
'अँ'
नयाँ वर्ष, पात्रोमा कम। मेरा पोशाक, किताब, जुत्तामा बढी झल्किन्थ्यो। गाउँमा कतै खिसी नकाटेपनि आज पक्का मासु पाक्नेवाला छ। बा-आमाप्रतिको यो भरोसा अचेलका केटाकेटीले कहाँ गनून्!
'चैतको बिदामा केके गर्यौं' सरको पहिलो प्रश्न।
यो गरेँ, त्यो गरेँ।
व्यग्रता अबको नयाँ क्लासमा के-के विषय छन्, सुन्नमा पनि बाँडिन्थ्यो अलि अलि।
अचेल फरक छ, रमाइलो त छ! तर फरक छ।
मेरी बहिनी टिकटकमा ह्याप्पी न्यु इयर भन्दै हल्लिरहेकी छे। नजिकै बसेको मलाई मेरो ममीले शुभकामना सन्देश मेसेन्जरबाट पठाउनुहुन्छ। कता गए होलान् ती पोष्टकार्डवाला साथीहरु?
साँच्ची अघि च्याट ग्रुपमा फरवार्डेड अडियो मेसेज पठाइसके। अब मजा छैन, लिची र आँपका बगैँचाहरु पनि कम छन्।
घरको सिडिएमए केबल सम्झनामा छ, पोष्टकार्ड बजारमा पाइन्छ कि पाइँदैन मलाई थाहा छैन।
म मुना मासिक खोज्दै स्टेशनरीमा सोध्न जान लजाउँछु आजकाल। खैर! समय बिताउनु एक अनुभव रहेछ।
अहिले टिकटिक इन्जोए गर्ने मेरी बहिनी मेरो उमेर हुँदा आफ्नो टिकटको स्टोरिज सम्झिली? अहिले हाम्रो कौसीमा बालिने ल्याभेन्डर र रोजमेरी क्यान्डलसका सुगन्ध उसका स्मृतिमा रहलान?
म सोफामा ढल्केर सोचिरहेछु, बाहिर उस्तै मौसम छ। चैते हावा, आँपका फूलहरू...। छैनन्, केबल पोष्टकार्डहरु।
बियरका बोतलहरु बढी प्यारा लागेपनि, सँगै घुट्काउन मनलाग्ने साथीहरुलाई बढारेर जिन्दगीले कुन किनारमा च्याँपिदिएको छ! मेरा पोष्टकार्ड साथीहरुलाई म, 'तेरो सम्झना आयो यार' भन्न असमर्थ छु। किनकि मलाई म्यासेन्जरको फर्वार्डेड सन्देश सजिलो लाग्न थालेको छ।
साइडबाट ममीले धक्काउनु हुन्छ, 'जाउँ कान्छा, एक चोटि खुट्टा तन्काएर आँउ।'
ममीको हावाले उडाइरहेको सल, मेरा आँखाहरुमा ठोक्किरहेको छ।
मलाई भन्नु मन छ, आज- 'मलाई मुनाको नयाँ संस्करण किनदिनोस् न ममी' वा 'मलाई ५-१० वटा पोष्टकार्ड चाहियो ममी।'
समय बदलिसकेको छ, 'कान्छा मासु लैजाऊ न।'
म खल्तिबाट पैसा निकाल्दै मासुको पोलिथिन ममीलाई थमाउँछु। पर्सको दूर कुनाको च्यातिएको एउटा कागज भुइँमा झर्छ। पोष्टकार्ड!
निखिल उप्रेतीको पुरानो तर युवक फोटो, 'ह्याप्पी न्यु इएर सुरज!'
चैतको हावा एकछिन पुरानो हुन्छ, मलाई ममीको कान्छी औँला समातेर हिँड्न मन लाग्छ। नयाँ क्लासका नयाँ पुस्तकको सुगन्ध नाकमै टाँस्ने इच्छा जाग्छ। सिडिएमए भर्खर किनेर फोन गर्न मन लाग्छ।
समय बदलिसकेको छ, म यी केही गर्न सक्दिनँ। बरु म जस्तै पुरानै समयका अन्तराहरुमा रुमल्लिरहेका मनहरुलाई यो पोष्टकार्ड उपहार दिन्छु। तपाईहरु सबैलाई एक-एक पोष्टकार्ड शुभकामना।
मानौँ यी सबै एउटा पुरानो हिरोको फोटो पछाडि लेखिएका लाइनहरु हुन्। तपाई मुस्कुराउँदै हुनुहुन्छ अनि म तपाईले बिर्सिसकेको पोष्टकार्डे साथी हुँ। नयाँ वर्ष २०७८ को शुभकामना।