जिउँदै मर्याको भनी नाउँ कसको
उद्यम बिना बित्दछ काल जसको। -आदिकवि भानुभक्त आचार्य
यी हरफले कुनै एक व्यक्ति, जाति, समुदाय वर्ग लक्षित थिएन। घुम्ने मेच माथि विराजमान बडेमान सुकिला कुर्ता-सुरुवाल, ढाका टोपी लगाएर ठाँट पल्टेका हठी लठुवा बेइमानी गर्न तम्सेकाहरू, काम नगरी खान पल्लेकाहरू देशलाई हानी नोक्सानी पारेर खाने प्रवृत्तिलाई भन्न खोजिएको हो।
साहित्यको सिर्जना, खोज, धर्म समाजमा व्याप्त विकृत संकुचन खोचबाट बाहिर ल्याउने,विषय उठान उजागर र जागरण ल्याउने नै हो।
नगरी काम पुग्दैन खान साँझ र बिहान- मजदुर किसान श्रमजीवी जनतालाई काम नगरी जहानको साँझ हात मुख जोर्न धौधौ पर्छ। दश नङ्ग्रा खियाए वर्षभरि खान नपुग्ने तर तिनै नागरिकको तिरोले सयल गर्ने राजकाज चलाउने नतमस्तक हुने शासकीय शैलीको भण्डाफोर गरिएको हो।
साहित्यको सिर्जना व्याप्त विसंगति राज्यद्वारा गरिएको दमन शोषणबाट सिर्जित उत्पन्न उपज हो साहित्य। साहित्य कला हो। साहित्य भावना हो। साहित्य जनभावना पनि हो।
साहित्य गला कला र सहहृदय भावनात्मक जसको सहायताले समाजमा भएका हुने गरेका विकृत अनुचित मार्गबाट उत्प्रेरणा जगाउने सजकता अपनाउने सत्मार्गमा हिँड्ने पथ हो, साहित्य र सिर्जना।
वर्गको उत्थान एकांकी भएर दरार वैमनस्यताको पक्षपोषण निहित स्वार्थमा अनवरत तल्लीन रहनु अनपेक्षित हुमर्त हुन्। साझा दृष्टिकोण मातृभूमिप्रतिको बफादारी जिम्मेवारीबाट विमुख नै गतिअवरोध हो।
देशको सामाजिक-आर्थिक उन्नति उन्नतिका साझा प्रयत्न, दूरदृष्टि रणनीति लक्ष्य लोकमत जनहितमा आधारित हुनुपर्छ। व्यक्तिको हितका सवालभन्दा सामूहिक हितमा आधारित सामाजिक कामकाज जनपक्षीय मानिन्छन्।
घुस लिने र दिने दुवै देशका शत्रु हुन्। जनताको मानो खाने, जनताकै कामको लागि घुस्याहा प्रवृत्ति उत्तिकै जिम्मेवार ठहरिन्छ। झुट बोल्ने, बाहिर एक जस्तो भित्रभित्रै मनपरि राज्यलाई कमजोर पार्ने संकुचित सोचाइ मुखको भाग हेर्ने सारा राज्यको भविष्य अन्धकारतिर ढकेल्ने पनि देशका सबैभन्दा ठुला शत्रु हुन्।
दल, पार्टी नैतिक प्रचलित कानुन विधिसम्वत् र मार्गनिर्देशन, सिद्धान्त आदर्श माथि बढी उत्तरदायित्व, जनपक्षीय साझा र सामूहिक प्रतिबद्धतामा आधारित हुनुपर्छ। कामको मूल्यांकन राम्रो गर्नेलाई पुरस्कृत, नराम्रो गर्नेलाई दण्डित गर्नु नै मूल्यांकन गर्नु हो।
कसको नेतृत्वदायी भूमिका पालामा के-कस्ता सकारात्मक जनपक्षीय काम-कारबाही उपलब्धि हासिल भए त्यो मूल्यांकन गर्ने कुरा अन्यथा नहोला तर जनताले महशुस नगरी राज्यशक्तिको दुरुपयोग गरी आफ्नै गुणगान आफै गाउने कुटिल छलकपटपूर्ण चाल हो।
हरेक क्षेत्रमा काम गर्ने श्रमजीवी मजदुर किसान दक्षता सीप भूमिका कार्यक्षमताका आधारमा बिना भेदभाव समानता उचित ज्याला-मजदुरी श्रम गरेर खाने वर्गका हकहित र अधिकार खण्डित भएको तमाम जनगुनासा सधैं देख्न सुन्न पाइन्छ।
कसैलाई अधिकार दिन नाममा अर्कोको अधिकार खोस्ने विषय पनि उचित होइन। सबैको हिकका कर्तव्य र जिम्मेवारी इमान्दारी समानताका आधार नैसर्गिक हक र अधिकार स्थापित हुनुपर्छ।
गरिखाने वर्ग र बसिखाने जो राज्य शक्तिको श्रोत र भार मानिन्छन्, गरिखानेलाई गर्न नदिने बसिखानेले गरिखाने माथि दमन शोषण भैरहेको छ।
तिरो तिर्ने अर्थात् कर तिर्नेहरू शासित आसे र गाँसे हुनुपर्ने तर उता राज्यको आयस्रोत माथि सदैव गिद्धे नजर राख्ने यो वा त्यो बहानामा ती गरिब मजदुर किसान जो गरिखाने वर्ग अभावग्रस्त बनाइरहने, गरिबी, भोकमरी, अनिकाल र रोगव्याधिको चपेटामा परिरहने अवस्था बाँचिरहेका गुज्रिरहेका हुन्छन्।
देशमा सधैं अशान्ति अस्थिरता कुशासन चलाइरहने आफू अनुकूल तिक्रडमबाजी जालसाजी षड्यन्त्र गरेर आफ्नो रोटी सेकिरहने अवस्थाको अन्त्य हुनैपर्छ। श्रमको सम्मान गर्न नसक्ने रोजगारी सिर्जना गर्न नसक्ने, गरिखानेलाई गर्न नदिने आफू सिन्को नभाच्ने खाली राजनीति अधिकारको लडाइ झैझगडा लफडा विवाद अस्वस्थ प्रतिस्पर्धाले देशलाई थला पार्ने, कुशासनको फन्दामा जाकिरहने कुरा घोरनिन्दनीय छ।
विगतदेखि आज जेजस्तो परिदृष्य देखापरिरहेका छन्,यसबाट नेपालमा स्थायित्व सुशासन समृद्धि नहुने स्पष्ट छ।
राजनेता बन्ने महत्वाकांक्षी हुकुमी, प्रतिगामी यथास्थितिवादी भ्रष्ट शैली कामचोर विकृतिको खेती रोचक लाग्छ। लक्ष्य र लक्षण बिनाको राजनेता सीमित मानिसको वरिपरि भजन मण्डलीले स्तुति गान कदापि राजनेता भइदैन। एक क्षेत्र, एक जिल्ला, एक नगर, गाउँको एक वा दुई जाति वर्ग समुदायको पक्षपोषण भजन पनि राजनेताको लक्षण मानिदैन।
नैतिकता, अनुशासन, पारदर्शी, दूरदृष्टि, सदाचार, निष्ठा, जिम्मेवारीलाई आफ्नो कर्तव्य ठान्ने, निजी स्वार्थभन्दा समग्र देश र साढे तीन करोड नेपालीको भलाइ चिताउने तदनुरुपको कार्यशैली देखाउने पो राजनेता मान्न सकिन्छ।
७७ जिल्ला, सात प्रदेश, सात सय तिरपन्न नगर र गाउँपालिका, त्यहाँ बस्ने सम्पूर्ण नेपाली नागरिकको हकअधिकार आधारभूत विकासका आवश्यकता जस्तैः गाँस, बास, कपास स्वास्थ्य, शिक्षा, विद्यालय, खानेपानी, बिजुली बत्ती, सडक, गोरेटो बाटो, पाटीपौवा, चौतारी, कुलो, नहर, कुलेसा, शुद्ध खानेपानी, इन्टरनेट र टेलिफोन जस्ता आधारभूत विकास समान हिसाबले भएको देखिदैन।
राष्ट्रिय गौरवका आयोजना लथालिंग, बेवारिसे, महत्त्वहीन जस्तो पार्नु तदारुकता नदेखाउनु हो। त्यसले देश र जनताको राष्ट्रिय जीवन पद्धति फेरबदल गर्नेमाथि नै आशंका उब्जिएको देखिन्छ। ढिलासुस्ती हुने, समयमा कुनैपनि आयोजना नबन्ने, बनिहाले गुणस्तरीय नहुने, कमिसनको चक्करमा गोलमाल, अनियमितता, मिलोमतो, भ्रष्टाचार गर्ने/गराउने कुरा छताछुल्ल छ।
घोषणा दाबी राष्ट्रिय गौरव भन्ने कथित एकात्मक विभेदकारी भनसुनको आधारमा नेतृत्वको पहुँच र शक्ति दुरुपयोग आवश्यकता खाँचो अपरिहार्यता भन्दा कथित सस्तो लोकप्रियताको नाममा भद्दा घृणित राजनीति उपज महशुस हुनु दुःखद् पक्ष हो।
जस्तो मेलम्चीको पानी काठमाडौं ल्याउनु, बढी जनघनत्व भएको देशको मुटु अर्थात राजधानीबासी पानीको काकाकुलमा बाच्न विवश जनताका लागि अपरिहार्य थियो। धेरै ढिलो भयो। ढिलै भएपनि, लागत अत्यधिक लागेता पनि मेलम्चीको पानी काठमाडौँमा आउनु सुखद पक्ष हो।
बल्लतल्ल अब मेलम्चीको पानीले काठमाडौंको प्यास मेटिने छ। यो त्यहाँका जनताको शुद्ध पानी पिउन पाउनुपर्ने पहिलो आवश्यकता उनीहरुको मौलिक संवैधानिक अधिकार पनि हो, थियो।
राज्यशक्तिको श्रोत र राज्यकोष निर्माण गर्ने पनि लोकतान्त्रिक व्यवस्थामा सरकार बनाउने, शासन गर्ने, जनताका जनप्रतिनिधि नै हुन् भने जनताको आवश्यकता परिपूर्ति गर्ने तिरेको करको सदुपयोग होस् भन्ने जनचाहना जनताको हो।
जनताका हरेक चाहना आवश्यकता सकिने जति त्यो पूरा गर्नु राज्यको प्रमुख दायित्व भित्र पर्छ। बढीमा ५/७ वर्षमा बनिसक्नुपर्ने हाम्रै रंगढंग नमिलेर त्यस्ता आयोजना देशको सामाजिक-आर्थिक भौतिक विकासमा बाधा उत्पन्न हुन पुग्यो।
नेपालमा अशान्ति, अस्थिरता, कुशासन, राजनीति अधिकारका निम्ति सधैं झैझगडा, सत्ताको लागि मरिहत्ते, स्वार्थ नमिल्दा टुट्फुट स्वार्थ मिल्दा जुटले गर्दा जनचाहना बमोजिम राजकाज चलाउन नसक्ने अकर्मण्यताले देश पचासौं वर्षपछि धकेलिएको एउटा जाबो आयोजना पूरा गर्न नि बिसौं वर्ष लाग्ने गरेको छ।
गाउँ नै गाउँ भएको हाम्रो देश नेपाल प्राकृतिक सौर्न्दर्य सम्पदा र सम्भावनाले भरिपूर्ण जलस्रोतको धनी मुलुक, कृषिप्रधान देश तर सिँचाइ नभएर खेतीयोग्य जमिन बाँझै छन्। जलस्रोतको धनी मुलुकमा पिउने पानी नपाएर बस्ती सर्दैछन्।
जलवायू परिवर्तनको कारण मानिस आफ्नो थाकथलो छोड्न विवश छन्। सरकारले त्यतातिर ध्यान दिदैन्। केही सीमित ठाउँमा भएको भौतिक विकास सम्पूर्ण देशका जनताको लागि कदापि हुन सक्दैन।
ठूल्ठूला सहरका महलमा बस्ने विलासी जीवनयापन गर्नेलाई देशको कुना कन्दरामा बस्नेहरूको कष्टकर जीवन अभावको भूमरीमा फसेको थाहा हुँदैन। केही सीमित ठाउँमा चिल्ला सडक फराकिला बाटा झिलिमिली बिजुली बत्ती बनाउँदैमा सम्पूर्ण देश र देशवासीको जीवन दिनचर्या त्यस्तै देख्नु दृष्टिभ्रम हो।
किसानलाई कसरी प्रशस्तै फसल उत्पादन गर्न दिऔँ। त्यसको लागि राज्यद्वारा आवश्यक प्रविधिक ज्ञान, सीप, उन्नत बिउ उत्पादित वस्तुको उचित बजार सिँचाइको प्रवन्ध निकासी पैठारी उत्पादनमा आधारित सरकारी अनुदानमा समान पहुँच हुनेगरी सरकारी सहयोग सम्पादन गरौँ।
युग सुहाउँदो शिक्षा नीति, आवश्यक भौतिक संरचना, दक्ष जनशक्ति, गुणस्तरीय, प्रविधिमैत्री पाठ्यसामग्री, खेलकुदको वृद्धि र विकास देशभक्त अनुशासित नैतिकवान जनशक्तिको उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ।
एक घर एक रोजगार, एक गाउँ एक उत्पादन सामूहिक खेती गरौं। अर्गानिक उत्पादनमा जोड दिऔं। रैथाने जातका बालीनाली संरक्षण गर्दै कृषिमा देशलाई आत्मनिर्भर बनाउने आयात घटाउने विदेशिने अर्बौं पैसा स्वदेशमै रोकौं।
स्वदेशी कच्चापदार्थमा आधारित साना मझौला ठूल्ठूला उद्योग स्थापना गरौं। दिनमा सरकारी रातमा सहकारी गरी दुई सिप्टमा काम गरौं। वर्तमान गतिले भनेजस्तो उपलब्धि हासिल नहुन समग्र देश विकास कछुवाको गतिमा बढ्ने पुँजीगत खर्च गर्न नसक्ने सार्वजनिक खर्च नपुग्ने।
बेरोजगारी समस्या समाधान उत्पादनमा जोड, स्वरोजगार आत्मनिर्भर बनौं, रोजगारी सिर्जना तबमात्र हुन्छ कृषिजन्य तथा औद्योगिक विकास गरी देशको आयस्तरमा वृद्धि, स्वाधीन अर्थतन्त्र, उत्पादनमा जोड देशलाई निर्यात गर्ने हैसियतमा देशको आर्थिक स्तरमा बढाऔँ, जंगबहादुर राणा र राजा महेन्द्रको पालाको मुलुकीऐनबाट देश लचाएको र अनुदान र राष्ट्रिय ऋणमा विकास गरेको देशलाई ऋणमा चुर्लुम्मै डुबाएर गरेको विकास र परिवर्तनको कुनै तुक छैन।
राजनीति मूल नीति हो। राजनीतिलाई दुषित नबनाइदिए हुन्थ्यो। जीवन निर्वाहका लागि जीवन उपयोगी विभिन्न पेशा व्यवसाय गरौं, राजनीतिलाई पेशा नबनाऔँ, सत्तामा जाने अकुत धन आर्जन गर्ने पेशेवर राजनीति नगरौं।
देशप्रतिको जिम्मेवारी कर्तव्य कहिल्यै नभुलौं। राजनीतिलाई कमाइ खाने भाँडो नबनाऔं। मातृभूमिप्रति गद्दारी नगरौं। पार्टी, दल, संगठन, सिद्धान्त, निष्ठा, जेलनेल, युद्ध क्रान्ति लोकतन्त्रका लागि जनताको मौलिक हक अधिकारका खातिर गरेको त्याग समर्पण सत्ताका लागि थियो भन्ने अहंकार नपालौं।
त्याग जेलनेल सत्ता नपाउन्जेलसम्म थियो भन्ने जस्तो सत्ताको लागि मरिहत्ते नगरौं। राजनीति उद्यम, इलम होइन, यो जिम्मेवारी र कुशलता हो। राजनीति पेशा होइन सामाजिक उत्तरदायित्व सम्झौं।