एक्कासि रामदाइको फोन आयो, उठाएँ। उनी प्राय: फोन गर्दैनन्। च्याटमा हेल्लो हाई कहिलेकाहीँ हुन्थ्यो।
‘म आउँदैछु , तेरो सहरतिर’, उनले हाँस्दै भने।
‘फाल्टु कुरा !’, मैले पनि हाँस्दै जवाफ फर्काएँ।
‘सात तारिख बिहानको फ्लाइट छ , छुट्टी लिएस्’, उनले सिरियस पारामा बताए।
मलाई अझै विश्वास भएन, उनलाई फेरि सोधें, ‘नहुने गफ नदिनू , साँचो बोल्नू।’
‘टिकटको फोटो म्यासेन्जरमा हाल्देको छु, हेर’, उनले बिस्तार लाउँदै भने ‘त अनलाइन थिइनस्, त्यसैले मोबाइलमा कल गरेको, एयरपोर्टसम्म लिन आएस्।’
उनीसँग बोल्दाबोल्दै मैले म्यासेन्जर अन गरें, उनको म्यासेज थियो। म्यासेजसँगै दुइटा फोटा पनि थिए। उनी साँच्चै आउँदै रहेछन्।
७ गते आउन दस दिन थियो , मैले उनलाई मख्ख पार्दै भने, ‘स्वागत छ है दाइ टेक्सासमा !’
उनी आउनुको कारण जान्न मन थियो, तर फोनमा सोधिनँ। उनले फेरि भने, ‘दुई दिन बस्छु, दुई दिन नै तैंले बिदा लिनुपर्छ।’
मैले ‘हस’ भन्दिएँ।
राम दाइलाई गाउँ घरमा रामे भनिन्थ्यो। परदेश छिरेपछि मात्र हो मैले उनलाई रामदाइ भन्न थालेको। खास नाम त अझ रामप्रसाद खनाल हो।
उनी अमेरिका छिरेको पनि वर्षौं भयो। भाउजू , केटाकेटी अझै आएका छैनन। उतै नेपालमै छन्। रामदाइ निक्कै मेहनती मान्छे हुन्।
अमेरिकामै भए पनि रामदाइ र म निक्कै टाढा छौं। उनी न्युयोर्क सहरको बासिन्दा हुन् भने म ह्युस्टनको।
उनी एक्कासि ह्युस्टन आउने कुराले मलाई खुसी नै तुल्यायो। तर दुई दिन मात्र आउने कुराले दुखी पनि। म चाहन्थें कि उनी बसाइसराई गरेरै ह्युस्टन आऊन्। तर उनी दुई दिनमात्र आउँदै थिए , सायद घुमफिर होला।
उनी सात तारिखमा आउँदै थिए , त्योभन्दा अघि फेरि उनले कल गरेनन्। मैले दिन गन्दै बसिरहें।
छ तारिख बेलुका उनले फेरि कल गरे। उनी मलाई अर्डर दिँदै भने, ‘भोलि र पर्सि त काममा जाँदैनस् , बुझेको छस नि ?’
‘बुझेकोमात्र होइन, मैले छुट्टी लिइसकें दाइ’, मैले मेरो अवस्था उनलाई भनें।
उनलाई एयरपोर्ट लिन आउने समय सम्झाउँदै भने, ‘टिकटमा हेरेस समय ! र अगाडि नै पुगेस् , नत्र मलाई झ्याउ लाग्छ।’
मैले ‘हस दाइ’ भनेर फोन काटिदिएँ।
रातभर छटपटी भयो। वर्षौंपछि हामी भेट हुँदै थियौं। नेपालको बसाइका ती रमाइला पल आँखा वरपर घुमिरहे। उनी सँगका रमाइला दिनहरूले मलाई रातभर सुत्न दिएन।
अमेरिका उनी पहिला उडेका थिए। मलाई अमेरिकी रहन सहन र नियम कानुनको बारेमा दैनिक फोनमा सम्झाउँथे।
यस्तो गर्नू , उस्तो नगर्नू ! यो खानू , त्यो नखानू। उनी दैनिक कलमा मलाई आफ्नै भाइलाई जस्तै सम्झाउँथे। माया गर्थे।
म पनि उनलाई दाइजस्तै माया र आदर गर्थें।
उनले भनेकै जस्तो आचरण मैले अमेरिकामा सुरू गरेको थिएँ। उनी मेरो अमेरिकी जीवनका गुरू नै हुन्।
कोल्टे फेर्दाफेर्दै बिहान भयो। उनी ह्युस्टन अवतरण हुने समय नौ बजेको थियो तर म एयरपोर्टमा आठ बजे अगावै पुगें।
पार्किङमा गाडी राखेर उनी निस्कने बाटो कुरें।
साढे नौ बज्नै लाग्दा उनी गेटमा टुपुल्किए। उस्तै थिए उनी। मैले वर्षौं अघि देख्दाजस्तै।
मैले नमस्ते टक्राएँ , उनले अंगालो मार्दै भने, ‘सञ्चै छस् ?’
भलाकुसारी फोनमै हुन्थे, यो त एउटा फर्मालिटीमात्र थियो। सानो झोला मात्र बोकेका उनलाई गाडी भएतिर डोर्याएँ।
उनले कसैलाई कल गर्दै भने, ‘आइसकें , सरासर तिमी भएतिर आउँछु।’
मैले रिसाएको जस्तै आँखा तर्दै भनें, ‘कहाँ आउँछु भन्या ?’
उनले दाइने हातको चोर औंला दुबै ओठमाथि राख्दै भने, ‘चुप !’
म चुप भैदिएँ।
उनले फोनमा भन्दै थिए, ‘कहाँ आउने म ?’
उताबाट कुनै ठेगाना उनको म्यासेजमा आइसकेको थियो, मोबाइलको स्क्रिनमा आँखा दौडाउँदै भने, ‘ ग्याल्भेस्टन बिच ?’
टेक्सास राज्यको ग्याल्भेस्टन काउन्टीमा एउटा आइलेन्ड छ, जसलाई ग्याल्भेस्टन आइलेन्ड भनिन्छ र त्यहाँ समुन्द्रको किनार निक्कै मनमोहक पनि छ।
उनले बाई भन्दै फोन काटे। बाईसँगै जोडेका डियर शब्दले मलाई मुसुक्क हँसायो।
फोन गोजीमा कोच्दै भने, ‘ग्याल्भेस्टन बिचतिर हिँड्।’
मैले हाँस्दै भनें, ‘को डियर हुन् ? प्यारको मामला जस्तो छ नि ?’
‘नकरा ! फेरि गाउँतिर हल्ला गर्लास्।,’ उनले थर्काए।
‘को हुन भन्नू न , गोप्य नै राख्छु’, मैले वाचा गरें।
‘फेसबुकमा भेटिएर लभ परेकी हुन्। नेपाल घर झापातिर हो। तैंले चिन्दैनस्।’ उनले नाम भनेनन्।
नाममा के छ र ? मान्छे एकछिनमा देखिहाल्छु। म ढुक्क थिएँ ।
उनको फोन फेरि बज्यो। गाडीमा घन्केको गीत बन्द गरे उनले, अनि उस्तै गरी चुप रहन इसारा गर्दै फोन उठाए।
‘हेलिकप्टर चढ्ने ठाउँमा आउने ?, ल ल ओके’, उनले फोन काटे।
मतिर फर्केर भने, ‘हेलिकप्टर चढ्ने कता हो थाहा छ ?’
मैले उनलाई ढुक्क पार्दै भने, ‘आफ्नै इलाका हो दाइ, बिहान-बेलुका ओहोरदोहोर गर्छु , अब दस मिनेट लाग्ला।’
उनी हर्षित थिए। कहिले कपाल मिलाउँथे, कहिले घडी। मोबाइलको स्क्रिनमा अनुहार हेर्दै ओठ पुछ्थे त कहिले चोर औंलाले दात सफा गर्थे।
हेलिप्याड अघिल्तिरको पार्किङमा गाडी राखेर हामी निस्कियौं। उनी अघिअघि , म पछिपछी।
अलि पल्तिर उभिएका दुई जना महिलातिर हात जोड्दै उनी मुस्कुराए। म पनि उस्तै गरी मुस्कुराउँदै हात जोडिरहें।
परिचय भयो, मलाई नाम भन्नू परेन। रामदाइले आफैंले परिचय गराइदिए, ‘मेरो भाइ।’
उनीहरूले आ-आफ्ना नाम पालै सरी सुनाए। मैले ठम्याइहाले, यी रामदाइ वाली हुन्, अर्की उनकी दोस्त।
नजिकैको रेष्टुराँ छिरेर रामदाइले खर्च गर्न सुरू गरे। उनी खर्च गर्न आएका थिए, गरून्।
खाइसकेपछि रामदाइवालीले आफ्नो साथीलाई कानमा खुसुक्क केही भनिन्। साथीले सबैमाझ भनिन्, ‘हेलिकप्टर चढ्ने।’
रामदाइ काउन्टरमा गएर टिकेट लिए, प्रतिव्यक्ति सय डलरमा हामी ग्याल्भेस्टन आइलेन्डलाई आकासबाट दुई फन्को मार्यौं।
झरेर सामुन्द्रिक किनारमा रमायौं। यता पनि रामदाइले खर्च गरे। हामीले मजा लुट्यौं।
किनारमा हिँड्दै गर्दा रामदाइले आफ्नीलाई पछ्याउँथे , तर उनी टाढिन्थिन्। रामदाइ मलाई आँखाको इसाराले अलि पर जाँ भन्थे, म फोनमा व्यस्त भएको नाटक गर्दै उनका लागि वातावरण मिलाउँथें।
तर अफसोच ! रामदाइवालीकी साथीले डिस्टर्ब गरिरहिन्।
रामदाइको अनुहारमा निक्कै चमकता थियो तर रामदाइवालीको अनुहारमा नैरास्यता मात्र। उनी झ्याउ मान्दै थिइन्। बारम्बार भन्दै थिइन्,‘अब छुट्नु पर्च नत्र ढिला हुन्छ।’
रामदाइ घडी हेर्दै भन्थे, ‘समय टन्नै छ , किन हतार ?’
एक्लै गफिने वातावरण नमिलेपछि भोलि भेट्ने योजना बन्यो उनीहरूबीच।
छुट्टियौं , उनीहरू उबर चढेर बिलाए, हामीहरू रूममा आयौं।
रामदाइ दारूका पारखी। नेपालमै उनी दारूका सौखिन थिए, झन् यो त अमेरिका। प्यास लागे बियर पिउने देश।
बेलुका रूममा पार्टी चल्यो। रामदाइ मख्ख थिए। उनकी मायालु सुन्दर थिइन्।
दारूको नशा चढेपछि रामदाइले उनलाई म्यासेज गरे , फोन गरे।
तर अहँ ! न म्यासेजको रिप्लाई आयो। न त फोन उठ्यो।
झ्याप भएका राम दाइ छिट्टै निदाए।
बिहान सबेरै उठेका रामदाइले मलाई डिस्टर्ब गर्दै भने, ‘उठ बे, कति सुतेको ?’
उनको अनुहारमा चमकता थिएन। ह्याङले होला भन्ने सोचें।
उनले मोबाइलमा कल लग देखाउँदै भने, ‘उसले मेरो नम्बर ब्लक गरिछ यार।’
म जुरुक्क उठें , उनको मोबाइल हातमा लिएर डायल गरें। साँच्चै ब्लक थियो।
मेरोबाट उनले ट्राइ गरे। कल उठ्यो, तर रामदाइले हेल्लो मात्र के भनेका थिए। कल कट्यो अनि फेरि डायल गर्दा उस्तै भयो, मेरो नम्बर पनि ब्लक।
रामदाइ तड्पिए। बेलुकाको फ्लाइट थियो, दिनभर रमाउने योजना थियो। तर सबै चकनाचुरजस्तै भए।
रामदाइले अरू दर्जनौं पटक फोन गरे, उस्तै ब्लक गरेका खबर आए। म्यासेन्जरमा पनि ब्लक गरेकी रैछन्।
रामदाइ चिन्तित हुँदै किचेन छिरे, हिजोको मासुसँग बचेको रक्सी घुटकाउँदै भने, ‘आखिर किन यस्तो गरी यार त्यस्ले ? धोकेबाज साला।’
रामदाइलाई देख्नासाथ रामदाइवालीको अनुहारको चमकता हराएको थियो। मलाई त्यतिबेलै लागेको थियो कि ऊ रामदाइलाई देखेर अत्तालिएकी छे। ऊ खुसी छैने।
रामदाइ फेरि फिटान भएर सुते। म उठेर सोचिरहें, माया गर्न उमेरको त ख्याल गर्नु नि रामदाइ। चाउरिएको गाला लिएर 'डेटिङ' हिँडेसी यस्तै हो। बल्ल खाऊ!