बादल कालो भएर भक्तपुरतिरको आकाश छोपेको छ भने कीर्तिपुर केही मुस्काएजस्तो देखिन्छ।
म एड्रेस लन्जको बाहिरपट्टि कृत्रिम दुबोमा एक्लै बसेर उपत्यकाको दृश्यवोलकन गर्दै डबल एपल फ्लेबरमा सिसाबाट सास फेरिरहेको छु। आंशिक रूपमा पानीका मोटा थोप्लाहरू झरे पनि आकाश धित मरेर रून सकिरहेको छैन।
बेलाबेला कालो बादलको उध्रिएको पछौरीका प्वालहरूबाट चिहाएर मलाई स्पर्श गर्न आउने घामका किरण देख्दा यो मौसम मजस्तै कृत्रिम मुस्कुराएजस्तो लाग्छ।
छेउको २२ तले अपार्टमेन्टको बरन्डामा सुकाएका लुगाहरू मैले हेरिरहँदै निमेशभरमै गायब हुन्छन्।
आकाशले मैले भनेको सुनेछ क्यारे एक्कारी धित मरून्जेल रोयो, रूफटफको प्लास्टिकमा थोपाहरूले स्पर्श गर्दा कुनै मानिसले सिरकलाई मुखमा च्यापेर रोएजस्तो क्यार क्यार आवाज आयो।
सिनामंगलको आकासमा एउटा प्लेनले दुई राउन्ड हान्यो सायद भिजिबिलिटी कम भएर अवतरणमा समस्या भयो कि!
‘दाई रुझ्नुभो हेर्नुस त सिसाको क्वाइल पनि निभेछ’, वेटर भाइले यसो भन्दा म झसंग भए।
अनि छेउको झ्याल बन्द गरें।
‘क्वाइल ल्याइदिऊँ दाइ’,
‘पर्दैन पुग्यो’ म उसलाई मुस्कानले बिदाइ गर्छु।
केही क्षणपछि फेरि झ्याल खोल्छु अहिले बाछिटा कम भएछ, पानीका थोपाहरूले जमिनलाई एकनास स्पर्श गरिरहेका छन्। त्यस्तै शब्दहरूले, भोगाइहरूले, सोचाइहरूले पनि मेरो मन र मस्तिष्कलाई एवमरितले स्पर्श गरिरहेका छन्।
उमेरले तीन दशक नाघे पनि अझै मलाई बच्चै छुजस्तो लाग्छ, धेरै कुराहरू सिक्नु छ, बुझ्नु छ जस्तो लाग्छ तर ‘हेर त तँ ३३ को भइस अब बिहे त यो वर्ष जसरी पनि गर्नुपर्छ उमेर जान लाग्यो’ भनेर बाआमा आत्तिएको देख्दा म मेरो पातलिँदै गएको कपाललाई मुसार्दै आफैंलाई बुढो भएजस्तो महसुस गर्छु। मलाई आत्मबोध हुन्छ कि जवानी त आएको गएको महसुस नै नहुँदो रहेछ।
कहिलेकाहीँ मन बैरागिन्छ र बिहे नै नगरौं कि भन्ने सोच नि पलाउँछ तर बाआमाको हतास देख्दा मनभित्र अनेक कुराहरूले प्रतिक्रिया गर्छन्। मलाई एउटै चाप र दबाब दिएर सकारात्मक उत्प्रेरक बनेर गोविन्द दाइले बारबार प्रस्तावहरू ल्याउँछन्।
मोबाइलमा टिङ्क म्यासेन्जरको आवाजसँगै रातो ज्याकेटमा छोरी जास्मिनलाई उचालेको एउटा गोलो फोटो आकृति मेरो मोबाइलको शीर्ष भागमा झुन्डिन्छ।
‘हेर त भाइ यो केटीलाई’ भनेर एउटा स्क्रिनसटको फोटो र हाहा रियाक्टको इमोजी गोविन्द दाइले एकसाथ पठाउँछन्।
परिवारको चिनेजानेका विशेष पात्र गोविन्द दाइले परिवारकै आग्रहमा मेरो लागि केटी हेर्न लागेको लगभग वर्ष हुन लाग्यो तर पनि खै किन आफूले खोजेजस्तै केटी पाउन सकिरहेको छैन।
एकाध भेटिए पनि आधा केटी विदेश जान खोज्ने हुन्छन्। आफू भने स्वदेशमै दु:ख सुख गरेर बस्नु पर्छ भन्ने साेच राखेकाे मान्छे तर काेही काेही सुन्दरता एवम् बाैद्धिकतामा निपूर्ण भए पनि साेचाइ नमिलेकै कारण मैले 'रिजेक्ट' गरेकाे छु र आफू पनि 'रिजेक्ट' भएकाे छु।
मसँग यस्ता अनेक स्मृतिहरू छन् तर एउटा घटना भने मस्तिष्कमा छाप बनेर बसेकाे छ। एकपटक गाेविन्द दाइले फेसबुकमा एउटी केटीकाे तस्बिर देखाउनु भयाे। केटी म भन्दा हाेची थिई, मभन्दा काली पनि तर चुलबुले अनि बाेलीमा मधुरता भएकी, सुरूमा सरर मन नगए पनि बाेल्दै जाँदा मान्छे मनपर्ने रहेछ, पटक-पटककाे अनलाइन कुराकानीपछि एकदिन भेट्ने कुरा भयाे।
बानेश्वरमा केही वर्ष अगाडि खुलेकाे आइप्लेक्स मलभित्र काेरियाेग्राफर तथा फिल्म निर्देशक रेनेसा बान्तवा राईले खाेलेकाे फुड वर्ल्डमा।
म फुड वर्ल्डको एउटा काउचमा बसेर उसकाे प्रतीक्षा गरिरहेकाे छु, फुड वर्ल्डमा झरिरहेकाे कृत्रिम झरना तथा विभिन्न कफीकाे एराेमाले मन नै सुगन्धित र चञ्चल बनाइरहेकाे छ।
करिब पन्ध्र मिनेटपछि लिफ्टका सिँढीहरू उक्लदै ऊ मेराे करिब आउँदै छे, म उसलाई स्वागत गर्न मेन्टली तयार हुँदै छु, उसले फाेन हान्दै मलाई खाेजिरहेकी छे अनि यतायता मेराे फाेनसँगै हातकाे इसाराले उसलाई म बसेकाे काउचतिर बाेलाउँछु, अलि ढिला भयाे है!
छैन किन जाममा पर्याे र! मेराे प्रश्न। हैन आज अलि ढिलाे नै उठेकाे, हिजाे मूभि हेर्दा अलि अबेला नै भयाे।
कुन फिल्म हेर्याै त? साउथ फिल्म 'राेजा' हेरेकाे, राम्राे लाग्याे रेटिङ राम्राे रहेछ र हेरेकाे, तपाईंले हेर्नु भएकाे छ?
मैले त पहिले हेरेकाे शङ्करले डिरेक्सन गरेकाे फिल्म हैन, आर्मीकाे श्रीमतीकाे कहानी छ। ठ्याक्कै हेर्नुभएकाे रहेछ उसले मेराे कुरामा सहमत जनाई। ऊ खुलस्त खुलेरै कुरा गर्छे मलाई लाग्दैन कि कुनै युवती मसँग पहिलाे भेटमा छे।
वर्षाैंदेखि चिरपरिचित साथीझैं मसँग बिना संकाेच प्रस्तुत भएकी छे।
मैले हेल्थकाे कुरा गर्दा ऊ मेराे ख्याल राखेजस्ताे पनि गर्छे। परिवारका साना तथा रमाइला कुरा मलाई सुनाइरहन्छे। म हाँसेर रमाइलाे मानिरहेकाे छु।
ऊ मेराे परिवारकाे सुहाउँदाे बुहारी बन्न सक्छे भन्ने कुरा उसकाे इनाेसेन्ट गफहरूबाट म छनक पाउँछु।
कुनै कुराहरू यति पाकाे गर्छे कि मभन्दा धेरै व्यवहारिक छे।
क्याजुअल गफलाई एकछिन राेक्दै म उसलाई 'केही खाऊँ न' भन्दै प्रस्ताव राख्छु।
ऊ मेनु कार्ड हेरेर म्याचियाटाे कफी मगाउँछे। मलाई भने इस्प्रेसाे खान मन थियाे तर मैले कतै सुनेकाे थिएँ कि चकलेट मन नपराउने मान्छे राेमान्टिक छैन भन्ने इम्प्रेसन जान्छ भनेर मैले पनि म्याचियाटाे नै मगाएँ। म्याचियाटाे अर्थात् चकलेटी स्वीट कफी।
केही छिनपछि मीठाे म्याचियाटाेकाे एराेमा मेराे नाकमा स्पर्श गर्दै टेबलमा आइपुग्छ।
कफीसँगै फेरि उसले गफ सुरू गर्छे।
'कलंकी कहाँनिर तपाईंकाे घर भन्नुस् त?' म उसलाई मेराे काठमाडौंको घर नबताएर गाउँकाे घर बताउने मनसाय राखेर भन्छु
'काठमाडौंमा हाम्राे घर छैन, मेराे घर त रुपन्देही सैनामैना हाे, हामी सपरिवारमात्र यता बस्ने हाे। बुटवल गएकी छाै? त्यसकाे नजिकै पर्छ।'
मैले यसाेभन्दा ऊ केही झस्किन्छे।
'साँच्चै यहाँ छैन? गाेविन्द दाइले त कलंकी छ भनेजस्ताे लाग्थ्याे त!'
'छैन नि अब नभएकाे घरलाई मेराे भन्न मिल्याे त! अम् त्याे त हाे।'
यति भनेर ऊ माैन रहन्छे म पनि माैन रहन्छु।
उसले चिटचिट पसिना छाेडेकी छे।
केहीबेरकाे माैनतालाई चिर्दै ऊ फेरि बाेल्छे 'म सानैमा काठमाडौं आएकाे हामी आएदेखि नै च्यासलमा बसेकाे। मलाई काठमाडौं बाहिरकाे बारेमा खासै थाहा छैन, मलाई त काठमाडौं छाेडेर कतै जान मन नै लाग्दैन। इभन दशैंमा मेराे घर हेटाैंडा जाँदा त मलाई कस्ताे अनइजी फिल हुन्छ।'
'ए.. ए..' म उसकाे कुरा सुनिरहेकाे छु।
म काठमाडौं बसेर वाक्क भएकाे मान्छेलाई ऊ काठमाडौंप्रतिकाे आफ्नाे प्रेम देखाउँछे।
'च्यासल घर बनाएकाे कति भयाे नि?', म प्रश्न गर्छु।
'हैन हाम्राे पनि घर त छैन तर यता बसेकाे लामाे समय भयाे आफू हुर्केकाे, बढेकाे भएर मलाई आफ्नै घरजस्ताे लाग्छ।'
ऊ कुरा इमान्दार कुरा गर्छे। उसकाे कुरामा 'लजिक' पनि छ। ऊ मलाई उसकाे कुराले चाेट पुर्याउँला भनेर सतर्क पनि छे।
मैले उसकाे लागि बनाएकाे एउटा आदर्श प्रेम समाप्त भएकाे थियाे।
प्रेमविवाहभन्दा मागी विवाह फरक भए पनि कमसेकम केही समयकाे सानिध्यता भएपछि आफ्नाे अवस्था बुझ्ने त पक्कै चाहिन्छ।
जिन्दगी कसले देखेकाे छ र ?? कत्राे साम्राज्य त चकनाचुर हुन्छ भने उसलाई झेल्न सक्ने मसँग वैभव थिएन। कलंकीकाे दुई तले परिवार सहितकाे घर अनि सैनामैनाकाे केही बिगाहा पुर्ख्याैली सम्पत्ति अझ त्यसमाथि हामी तीन भाइ।
कसैलाई क्षणिक आकर्षणकाे भरमा सुख दिन्छु भनेर कसैलाई नि धाेका दिनु हुँदैन भन्ने मान्छे म।
उसलाई नि छनाेटकाे अधिकार छ अनि मलाई पनि।
उसकाे माैनताकाे लक्षणबाट मैले थाहा पाइसकेकी ऊ दाेधारमा छे।
'धेरैबेर भयाे जाम है। च्याटमा बाँकी कुरा गराैंला' भन्दै म बिल तिरेर उसलाई जाने संकेत गर्छु।
लिफ्टबाट झर्दै गर्दा उसले भनि 'जे भए पनि हामी साथी चाहिँ बनिरहेने है त?'
'वेष्ट फ्रेन्ड है त' म जबर्जस्ती मुस्कुराउँछु।
व्यस्त गल्लीमा मान्छेलाई छिचोल्दै बानेश्वर बाटाे क्रस गरेसँगै ह्याम्स हस्पिटलसम्म यात्रा गरेपछि ऊ बिदाईकाे हात हल्लाउँदै गल्लीमा बिलाई।
बेलुका आठ बजेतिर उसले मैले गाैरीशंकर जाँदा खिचेकाे रेडपान्डाकाे मूर्तिसहितकाे फाेटाे मैले फेसबुककाे डे मा राखेकाे थिएँ।
उसले लब रियाक्ट गरेर कमेन्ट गरी, 'मान्छे तपाईं धेरै राम्राे हुनुहुँदाे रहेछ, मेराे परिवारले पनि तपाईंलाई फाेटाेमा मान्छे जेन्टल देखिन्छ भन्नु भएकाे थियाे तर म आफ्नै कारणले तपाईंलाई 'नाे' भन्दै छु। किनकि मलाई काठमाडौंभन्दा बाहिर जान मन छैन। त्यसमाथि तपाईंकाे घर त्यति टाढा रहेछ। कृपया चित्त नदुखाउनु हाेला। तपाईंलाई किन दाेधारमा राख्नु भनेर मैले आज भनेकी तपाईंकाे व्यक्तिगत रूपमा केही खाेट छैन। तपाईं मान्छे डाउन टु अर्थ लाग्याे। लभिङ, केयरिङ एन्ड स्मार्ट नि हुनुहुन्छ मैले मेरै कारणले 'नाे' भनेकी हुँ।'
म उसकाे म्यासेजलाई सिन गरेर मात्र छाेड्छु। फेरि एकछिन पछि टुङ्ङ गर्दै उसकाे म्यासेज आउँछ 'रिसाएकाे हाे र हजुर? जे भए पनि हामी बेष्ट फ्रेन्ड बन्ने भनेकाे हैन र?'
मलाई के सनक चढ्याे 'बन्नु छैन मलाई कसैसँग बेष्ट फ्रेन्ड, सबैलाई बाेलाएर चियामात्र खाए पनि हजार दुई हजार सकिने मेरा बेष्टफ्रेन्ड छन्, हामीबीच केही नभएकाे राम्राे भेटेका जति सबैसँग साइनाे गाँस्नैपर्छ भन्ने पनि त छैन, छाेटाे मीठाे र अविस्मरणीय यात्राकाे लागि धन्यावाद गुड बाई'
अनि म ब्लक हान्छु अनि बधु खाेज्ने फेरि एउटा असफल श्रृंखलाको अन्त्य हुन्छ।
दाइकाे म्यासेज हेरेर म पनि हाँसे। एउटा चिरपरिचित देशकाे 'बिच'मा एउटा हेर्दै अंकलजस्ताे केटासँग इनस्टामा अर्धनग्न तस्बिर राखेकी रहिछ अनि एउटा छाेटाे क्याप्सन पनि 'माई च्वाइस इज अल्वेज पर्फेट ह्यासट्वाग माइ हब्बी।'
दाइले म्यासेजमा थपे 'यसकाे भाग्यमा भाँडा माझ्न लेखेकाे रहेछ। तिमीले रानी बनाएर राख्छु भनेर हुन्छ त? म हाँसे हाहा इमाेजीबाट......।
काठमाडौंबाट रुपन्देही टाढा छ भन्ने उसलाई आज सात समुन्द्र तरेर जानपर्ने देश नजिक लागेकाे देखेर म अचम्ममा परेँ, जे हाेस् जेम्सकुक बाटाे बिराएर गएकाे देशमा ऊ सुन्दर भविश्यकाे बाटाे बनाउन पुगिछ खैर रहर हाे या बाध्यता जे हाेस् उसकाे उडानलाई मेराे सलाम.....।