'यार, हाम्रो त नेता नै खराब। नेता नै भ्रष्ट अनि कसरी लाग्छ त देश उभो?' चियाको अन्तिम चुस्की लगाउँदै सुवास यति बोलेर बाइक लिएर आफ्नो बाटो लाग्छ।
छिटो घर पुग्नलाई वान वेमा उल्टो दिशा तर्फबाट बाइक लिएर जाँदै गर्दा ट्राफिकले झ्याप्प बाइक रोकिदिएछन्। केही महिना मात्र भयो सुवास बाइक लिएर हिँड्न थालेको।
उसँग लाइसेन्स त परै जाओस्, 'ब्लू बुक' नि हात परेको छैन। रिमझिम साँझ उसले आनाकानी गर्दै ट्राफिक दाइको खल्तीमा लुसुक्क पाँच सयको नोट छिपाएर आँखा झिम्काइ त्यहाँबाट फत्ते भएको कुरो मलाई घर पुगेर फोन मार्फत् बतायो।
अघि पाटनमा चिया पिउँदै गरेको सुवास र अहिले फोनमा पाँच सयले छुटेर जिल्ल परेको सुवासमा खै कति भिन्नता थियो म ठम्याउन त सक्दिनँ। तर हामीबीच यस्ता धेरै सुवासहरु छन्। जो आफ्ना मुखारविन्दुबाट अनेक सुवासका बात खसाल्छन् तर अहँ, कहिल्यै तिनलाई व्यवहार उतार्न लागि पर्दैन।
अघिसम्म नेता भ्रष्ट भन्ने मेरो साथी, अहिले पाँच सय घुस दिएर रफादफा हुने मेरो साथी लाग्छ दुई अलग व्यक्ति हुन्। तर दुर्भाग्यवश! दुई एकै व्यक्ति हुन्, दुवै कर्म एउटैले बोलेका/गरेका हुन्।
उसलाई लाग्यो होला पाँच सय त सानो रकम हो, यसले कुनै भ्रष्टाचार उत्पन्न गराएको छैन। ऊ एक्दम गलत छ, मैले सम्झाएँ। उसले बुझेको झैँ गर्यो।
'आदर्शपन बोल्ने मात्र हैन, गरेर देखाउन पर्छ' मैले झोक्किएर भनेँ।
उसले 'हो हो' भन्दै मलिन बस्यो। तर फेरि कुनै दिन ट्राफिकबाट बच्न यसरी नै उसले पैसोको सहारा नलेला भन्न सकिन्न किनकि मान्छे आदर्शपन देखाउन मात्र चाहान्छ, अवलम्बन गर्न भने होइन।
यस्तो प्रवृति तपाई, हामी, म सबमा छ। खासमा विकासका बाधक नेता मात्र होइनन्, हामी पनि हौँ, हामीले यो महशुस गर्न आवश्यक छ। चियाको चुस्कीमा रम्दै साथीहरुसँगको टेबुल टकबाट मात्र समृद्धिको सपना पूर्ण हुन सक्दैन।
आजभोलि आदर्शपन देखाउने, सामाजिक सञ्जालमा नेतालाई गाली गरेर आफू रम्ने शैली नहुने मान्छे भेट्न सायद अर्कै भूगोलतर्फ लाग्नु पर्ला। अरुलाई होच्याएर आफू सही ठान्ने प्रवृति हाम्रो विकासको बाधक हो।
अझ केसम्म हुन्छ भने, घरमा कहिल्यै कुचो नलगाउने छोरी एकदिन बाटोमा कुचो लगाउँदै फेसबुक, इस्टाग्राममा क्याप्सन राख्छिन्, 'आफ्नो घरआँगन सधैँ सफा राख्नुपर्छ।'
सायद उनले आफ्नो कोठा, घर त्यसरी नै सधैँ सफा गरेर अरुलाई उत्प्रेरित गरेकी भए समाज अर्कै हुन्थ्यो कि? आफ्ना वयोवृद्ध मातापितालाई घरमा झर्को र फर्को गर्ने छोरोले एकदिन वृद्धाश्रम पुगेर माया बाँडेर आउँछ।
केवल उसले घरमा आफ्ना मातापिताको हिफाजत त्यसरी नै गर्दिने भए? सायद कम्तीमा एउटा परिवार त खुसी हुन्थ्यो। त्यो देखेर समाजले, छिमेकीले पनि वृद्ध बाबुआमालाई प्रेम र उचित खानपिन दिन पर्छ भनी, मानसिक रुपमै बाघे झापु भेट्थे होला। तर बस् हामीलाई आदत परिसक्यो, कसले आएर गर्दिन्छ र आफू बसेर खाउँला/रमाउँला।
एउटा गाँउमा सडक जोडिँदा कयौँ हुन्छन् त्यसको विरोध गर्दै आफ्नो झोला भर्ने। तर यसमा पनि यो सब पनि हाम्रा नेता खराब भएरै होइन त?
हामी त कहिल्यै गलत हुन सक्दैनौँ, कि कसो? नेतालाई मात्र औँल्याएर हामीले खोजेको समृद्धि अनि विकास यो लोकमा सायदै भेटिएला। नेता भ्रष्ट भएँ भन्दै म मालपोत पुगेर आफ्नो काम फत्ते गर्न र कर्मचारीतन्त्रलाई तह लगाउन कसैको खल्तीमा हजारको नोट च्यापिदिन्छु भने म भ्रष्टाचारी भइनँ र?
आफूलाई कहिले पहिल्याउने? आफूलाई कसले चिन्तन गर्ने? जब आफैंलाई हामी जित्न सक्दैनौँ भने अनेक फुइँको लगाएर के पाक्ला र? हामीसँग ठूलो संख्यामा शिक्षित वर्ग हुँदा हुँदै पनि लामो समयसम्म परिवर्तन नदेखिनु वा भोग्न नपाउनु भनेको पूर्णतः हामी आफैले आफैमाथि परिवर्तन स्थापना गर्न नसक्नु हो।
तसर्थ आफ्ना विचार/चिन्तनहरुमा मात्र नभई व्यवहारमा पनि आमूल परिवर्तन ल्याऔँ तब मात्र देशको परिवर्तन र समृद्धिका परियोजना सफल हुनेछन्। नेता मात्र खराब होइनन्, हामी पनि खराब छौँ भनी स्वीकार्दै अघि बढ्नुपर्छ। आफूमा परिवर्तन आओस्, ढिलै भए पनि नयाँ वर्षको सम्पूर्णमा शुभकामना।