फोक्सोको क्यान्सर संसारभरि सबभन्दा बढी पत्ता लगाइएको र सबभन्दा बढी मानिसहरुको ज्यान लिइरहेको क्यान्सर हो। संसारभर वर्षेनि १२ लाख जनाको मृत्यु फोक्सोका क्यान्सरका कारणले हुने गरेको छ।
नेपालमा १६ प्रतिशत क्यान्सरहरु फोक्सोका हुन्छन् जो क्यान्सरहरुमा सबैभन्दा बढी हो। यस्तो क्यान्सर विशेष गरेर चुरोटको धुवाँ र वातावरण प्रदुषणका कारणले हुने गर्छ।
नेपालमा चुरोटको सेवन उत्तरी हिमाली क्षेत्रमा बढी तर तराईका क्षेत्रमा कम भएको पाइन्छ। काठमाडौँमा भने धुम्रपान गर्ने १५ वर्ष माथिका पुरुषहरु ६४ प्रतिशत छन् भने महिलाहरु १४ प्रतिशत छन्। चुरोटले वर्षेनि नेपालमा १५ हजार मानिसहरुको ज्यान लिने गरेको छ।
नियमित चुरोट पिउनेहरुमा फोक्सोको क्यान्सर लाग्ने सम्भावना चुरोटको दुर्व्यसनी नगर्ने मानिसहरुभन्दा ६० गुणा बढी हुन्छ। तर जम्मा ११ प्रतिशत नियमित चुरोट सेवन गर्नेहरुलाई मात्र फोक्सोको क्यान्सर लाग्ने गर्छ।
यो सम्भावना पुरुषहरुमा भन्दा महिलाहरुमा बढी हन्छ। यसको कारण राम्रोसँग थाहा पाइएको छैन। चुरोटको सेवन छोड्दा क्यान्सर लाग्ने सम्भावना घटेपनि यो पूर्णतया सामान्य स्तरमा झर्ने भने हुँदैन।
चुरोटको धुवाँले गराएको कोशिकाको म्युटेसन (उत्परिवर्तन) पछिसम्म रहनसक्छ, त्यस कारणले क्यान्सर लाग्ने सम्भावना सधैँ रहिरहन्छ।
चुरोट सेवन गर्ने मानिसहरुको संसर्गमा रहिरहने मानिसहरुलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना चुरोट सेवन नगर्ने मानिसहरुको तुलनामा दुई गुणा बढी हुने गर्छ। त्यस्ता व्यक्तिहरुलाई मेडिकल भाषामा प्यासिभ स्मोकिङ या सेकेण्ड ह्याण्ड स्मोकिङ भन्ने गरिन्छ।
अझ चुरोट सेवन भएको ठाउँ या एसट्रे भएको ठाउँमा बस्ने मानिसहरुलाई पनि जोखिम बढेको पाइन्छ। कोही मानिसहरु चुरोटको आगोको भाग मुखमा राखेर धुवाँ सेवन गर्ने गर्छन्। त्यस्ता मानिसहरुलाई मुखको क्यान्सर र फोक्सोको क्यान्सर लाग्ने सम्भावना निकै उच्च छ।
चुरोट सेवन गर्ने मानिसहरुलाईमात्र फोक्सोको क्यान्सर हुन्छ भन्ने छैन। सायद सम्भावनाको खेल हो यो। धुवाँमा भएको क्यान्सर गराउन सक्ने कणहरु मानिसको शरीरमा भएको जिनलाई परिमार्जन गराइदिन सक्छन् जसका कारण कोशिकाहरु क्यान्सरमा उत्पिरिवर्तन भइदिन्छ।
कणको प्रदुषणले अकालमा मर्ने सम्भावना बढाएर लान्छ। कण प्रदुषण हावामा भएका साना ठोस र तरल पदार्थको मिश्रणका कारणले हुने गर्छ। कणहरुमा केमिकल, धातु, माटो, धुलो, एसिडहरु पर्ने गर्छन्।
यी पदार्थहरु आगलागी, गाडी, दाउराको उल्सर्जन जस्ता कारणले आउने गर्छ। यस्ता साना कणहरु बालुवाका साना गेडा भन्दापनि साना हुन्छन्। ठुला खाले अणुहरु स्वास्थ्यलाई हानी गर्ने खालका हुन्छन् भने अझ साना अणुहरु झनै हानिकारक हुन्छन्।
ठुला अणुहरुले आँखा, नाक र घाँटीलाई असर गर्ने हुन्छ तर हाच्छिउँ र खोकीले शरीरबाट हटाइदिने गर्छ। तर हाच्छिउँ र खोकीले साना अणुहरुलाई हटाउन सक्दैन। साना अणुहरु फोक्सोको निकै भित्री भागमा छिर्छन्।
कुनै साना अणुहरु त रक्तसञ्चारसम्म पुग्न सक्छन्। यस्ता अणुहरु जीवनपर्यन्त फोक्सोमा रहिरहने सम्भावना बढी हुन्छ। यस्ता अणुहरुको परिणाम अत्याधिक मात्रामा भएको स्थानमा बाँच्ने मानिसहरु सधैँ जोखिममा हुन्छन्।
नेपालका मुख्य सहर विशेष गरेर काठमाडौँ सधैँ यो जोखिममा छ। यहाँका मानिसहरुलाई क्यान्सर लाग्ने सम्भावना उच्च छ। वृद्ध, बालबच्चा, मुटु र फोक्सोका बिरामीहरु, मधुमेह भएका र जो घरबाहिर काम गर्छन् उनीहरु यस्को जोखिममा बढी पर्ने गर्छन्।
संसारभर प्रतिवर्ष ६२ हजार वायु प्रदुषणबाट हुने फोक्सोको क्यान्सरबाट मृत्यु भएको पाइन्छ। तर त्योभन्दा उच्च दरमा सात लाख १२ हजार मृत्यु वायु प्रदुषणले गर्ने अन्य मुटु र फोक्सोका रोगबाट हुने गरेको छ।
प्रत्येक वर्ष ३००० धुम्रपान नगर्ने युवाहरु फोक्सोको क्यान्सरका कारणले मृत्युको मुखमा पुग्ने गरेका छन्। यसको मुख्य कारण सेकेण्ड ह्याण्ड स्मोकिङ हो। सिगार र पाइपको धुम्रपान सेवनले पनि जोखिम बढ्छ तर यसको जोखिम चुरोटको भन्दा कम हुन्छ।
स्मोकलेस टोब्याको चुरोटको विकल्प हुन सक्दैन। यस्तो उत्पादनले फोक्सोलाई हानी नगर्ने भएता पनि मुखको क्यान्सर र निकोटिनको लत गराउन सक्नेहुन्छ।
फ्याक्ट्रीबाट उत्पादित यास्वेस्टोस, आर्सनिक, युरेनियम, मस्टार्ड ग्याँसहरुले पनि फोक्सोको क्यान्सर गराउन सक्छन्। यस्ता केमिकलहरुले फोक्सोको क्यान्सर पाँच गुणा बढी बढाउँछ। यदि उक्त जोखिममा पर्ने व्यक्तिले धुम्रपान गर्छ भने यो जोखिम ५५ प्रतिशतमा उक्लिन्छ।
रेडिएसनको जोखिममा परेकाहरुलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना उच्च छ। हिरोसिमा र नागासाकी र चेर्नावायल डिजास्टरमा बाँच्ने मानिसहरुलाई फोक्सोको क्यान्सर भएको उदाहरण हामीमाझ अझै छ।
कुहिरो र प्रदुषणको समिश्रणले पनि (जसलाई स्मोग भनिन्छ) फोक्सोलाई बारम्बार जलन गराइदिन्छ जसका कारण फोक्सोको संक्रमण र निको हुने प्रकृया बारम्बार चलिरहन्छ। यस्तो प्रकृयाले क्यान्सर गराउने सम्भावना बढाउँछ।
क्यान्सर जहिलेपनि आणविक (मोलिकुलर) तहमा पुगेर कोशिकालाई परिमार्जन गराइदिन्छ। यो परिवर्तन चरणबद्ध रुपमा विकास भएको उत्परिवर्तनहरुको संग्रह हो।
फेक्सोका क्यान्सरहरुहरुका प्रकारहरु पनि हुन्छन्। ग्रन्थीमा पाइने क्यान्सर, छालाको कोशिकाहरुमा पाइनेजस्तो क्यान्सर (स्क्वामस सेल क्यान्सर) र साना कोशिकाहरु जस्तो हुने (स्मल सेल) क्यान्सरहरु केही महत्वपूर्ण उदाहरणहरु हुन्।
२५ प्रतिशत फोक्सोका क्यान्सरहरु कहिलै धुम्रपान नगर्नेहरुलाई लाग्ने गर्छ। यस्तो किसिमको क्यान्सर जो ग्रन्थीको क्यान्सर अथवा याडिनो कार्सिनोमा भनिन्छ प्रायः महिलाहरुलाई लाग्ने गर्छ। किन महिलाहरुलाई बढी हुन्छ भन्ने कारण राम्रोसँग अझै थाहा पाइएको छैन।
तर आजकालका चुरोटमा पाइने फिल्टर, टार र निकोटिन फोक्सोको भित्री भागसम्म पुगेर त्यहाँका कोशिकाहरुलाई असर गर्ने गर्छन्। प्रायः यस्ता क्यान्सरहरु शरीरका कोशिकाहरुको उत्परिवर्तनहरुका कारणले हुन्छ।
यस्ता क्यान्सरहरु कतिको हानिकारक हुन्छन् भन्ने कुरा यिनीहरुको प्रकार, र विस्तारका आधारमा हुन्छ। क्यान्सरको आकार, ग्रन्थीमा पुगेर गरेको फैलावट, र अन्य अंगमा पुगेर गरेको फैलावटका आधारमा उपचारको प्रकार र प्रभावकारिता आँकलन गर्न सकिन्छ।
त्यसकारण प्याथोलोजी ल्याबमा रक्तवहिनी, सँगैको ग्रन्थी र अन्य सँगैका वा परपरसम्मको अंगमा हुने क्यान्सरको फैलावट हेर्न पर्ने हुन्छ।
यस्ता बिरामीहरु खोकी, खोकीमा रगत, तौल घट्ने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, निमोनिया जस्ता समस्या लिएर अस्पताल आउने गर्छन्।
फेक्सोको क्यान्सरको गिर्खालाई सकिने भए काटेर फालेर उपचार गर्न सकिन्छ तर सर्जरी गर्न नसकिने फैलिएर गएका क्यान्सरलाई रेडियसन तथा कुनैलाई औषधिले निको पार्ने प्रयास गरिन्छ।
यस्ता उपचारका बाबझुद पनि यस क्यान्सरबाट पाँच वर्षसक्म बाँच्न सक्ने सम्भावना १६ प्रतिशत मात्र हुन्छ। यदि क्यान्सरका गिर्खा सीमित घेरामा बाँधिएमा या अर्को अंग वा ग्रन्थीमा नफैलिएमा उक्त प्रतिशत ५२ मा पुग्छ।
यदि क्यान्सर फोक्सो बाहेक अन्य अंग जस्तै मुटु, पेट, मस्तिष्क आदिमा फैलिएर गएमा बाँच्ने सम्भावना जम्मा ४ प्रतिशत हुन्छ। सामन्यतया ग्रन्थी र छालाको जस्तो क्यान्सर सिमित घेरामा लामो समयसम्म बस्ने भएकाले उपचार गरिने सम्भावना बढी हुन्छ।
तर अपरिष्कृत क्यान्सरहरु थाहा पाइने बेलासम्म फैलिसकेको हुन्छ जसकारण उपचार गरिन निकै कठिन र बढी घातक हुने गर्छन्।
बढी घातक मानिने साना कोशिकाहरुका क्यान्सर लागेका मानिसहरुको बाँच्ने आयु ६ देखि १७ हप्तासम्म मात्र हुन्छ। यो प्रकारको फोक्सोको क्यान्सर रेडियसनको मध्यम र औषधिको माध्यमद्वारा गरिने उपचारसँग संवेदनशील हुन्छ।
यस्तो उपचार काम लाग्ने सम्भावना १५ देखि २५ प्रतिशत हुन्छ तर थाहा पाइने बेलानै अन्य अंगमा फैलिसक्ने सम्भावना बढी भएकाले यो क्यान्सर लागेका मानिसहरुको औषत बाँच्ने सम्भावना एक वर्ष मात्र हुन्छ।
फोक्सोको क्यान्सरको असरले गर्दा अन्य अंगमा पनि असर गरेर केही विशेषताहरु देखाउने गर्छ जस्तै शरीरमा सोडिएमको कमी, क्याल्सियमको घटबढ, पुरुषहरुमा स्तनको बृद्धी, मोटोपना, मासुको कमजोरी, छालामा कालोपना हुने, रगतको सेतो कोशिकामा गढबढी, निला रगतका नशामा रगत जम्ने आदि। यस्तो सम्भावना जम्मा एकदेखि दश प्रतिशत हुन्छ।
समग्रमा भन्दा फोक्सोको क्यान्सर लागिसकेपछि निको कुने सम्भावना निकै कम छ। निको नै भइहाले पनि क्यान्सरले दिने तनाव र पैसाको खर्चले सबैलाई पिरोल्ने गर्छ। तसर्थ जोखिमको न्यूनिकरणनै प्रभावकारी उपचार हो। यसबाट बच्नलाई के गर्न पर्ने हो हामी सबैलाई थाहा छ।