कोभिड-१९ ले विश्व नै आक्रान्त पारिरहेको अवस्थामा विश्वका हरेक देश, हरेक नागरिक, हरेक क्षेत्र र हरेक पेशाकर्मीलाई असर पारेको छ। यसबाट शिक्षकहरु अछुतो रहने कुरै भएन।
कतिपय निजी विद्यालयका शिक्षकहरुको त रोजिरोटी अर्थात् पारिश्रमिक समेत गुमाउनु परेको अवस्था छ। जसले गर्दा कतिपयको हातमुख जोड्न मुस्किल परेको पनि देखिन्छ।
यो प्रसंग अगाडि बढाउनुभन्दा पहिले यस्तो महामारीको अवस्थामा पनि दत्तचित्त भएर आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्झनै पर्ने र सम्मान गर्नै पर्ने हुन्छ। उनीहरूको अथक परिश्रम र योगदान उल्लेखनीय नै रहेको पाइन्छ।
विगतको लकडाउनमा हरेक नागरिकको आफ्नो क्षेत्रबाट राज्यलाई योगदान गरेकै हुन्। यद्यपि कतिपय नागरिकबाट अस्पतालमा कार्यरत नर्स तथा अन्य स्वास्थकर्मीलाई घर (डेरा) बाट निकाला समेत नगरेका होइनन्। यो तीतो सत्य अझैसम्म मनमा बिझाइरहेको छ।
कतिपयले निशुल्क राहत वितरण गर्नुका साथै भोकाहरुलाई निशुल्क भोजनको व्यवस्था समेत गरेका थिए। यस्तै कतिपय युवाले सुपथ मूल्यमा तरकारी तथा अन्य आधारभूत बस्तुहरु घरघरमै उपलब्ध गराएका थिए।
सुरक्षाकर्मीलाई सडकमा पानी उपलब्ध गराएका तस्बिर तथा भिडिओहरुले सबैको ध्यान आकर्षित गरेका थिए भने भाइरल पनि बनेका थिए। यी सबै पात्र तथा व्यक्तिको योगदान सबैले सम्झिरहने छन्।
बन्दाबन्दीको अवस्थामा शिक्षकहरुले पनि आफ्नो तर्फबाट योगदान गरेका थिएँ। सहरी क्षेत्र तिर भर्चुअल माध्यमबाट शैक्षिक क्रियाकलाप अगाडि बाढाएका थिए भने ग्रामीण क्षेत्रमा शिक्षकहरुले टोल टोलमा सानो समूहमा सुरक्षाका मापदण्ड अपनाउँदै शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गराएका थिए। उनीहरूले समाजमा जनचेतना जगाउने कार्य समेत गरेका थिए।
कोभिडबाट हरेक नागरिक जोगिनुपर्छ। यसमा दुई मत छैन। कोभिड विरुद्धको खोप लगाउने सवालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका लागि प्राथमिकता दिनुपर्छ। नेपालमा कोभिडबाट मृत्यु हुनेमा शिक्षक दोस्रो थिए भने पहिलो सिन्धुपाल्चोककि एक सुत्केरी महिला थिइन्।
मृत्यु हुने शिक्षक गुल्मीका थिए। समग्रमा कोभिडबाट शिक्षकहरु पनि जोखिममा छन्। अहिले नेपालमा कोभिडको दोस्रो लहर आउँदा पनि सबैभन्दा पहिले शिक्षण संस्था नै बन्द गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् भने अधिकांश सहरहरुमा बन्द समेत गरिएका छन्। यसबाट पनि शिक्षकहरु उच्च जोखिममा छन् भन्ने देखिन्छ।
कोभिड-१९ बाट हरेक नागरिक जोगिनु पर्छ, अझ भनौँ बाच्नु पर्छ। राज्यका लागि हरेक नागरिक समान हुन्छन् र समान नजरले हेरिनु पनि पर्छ। सरकारले शिक्षकहरुलाई कोभिड विरुद्धको खोपका लागि शिक्षकहरुलाई प्राथमिकता दिएको देखिदैन।
यहाँ शिक्षकलाईमात्रै प्राथमिकता दिनुपर्छ भन्न खोजिएको होइन। उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका लागि प्राथमिकता दिइनु पर्छ। तर शिक्षकलाई नजर अन्दाज गर्न मिल्दैन कि? विषम् परिस्थितिमा शिक्षकलाई समेत परिचालन गर्न सकिन्छ र शिक्षकहरु तयार समेत छन् र हुनुपर्छ पनि।
तर सबैको सबैभन्दा पहिले ध्यान जाने र बन्द गरिने विद्यालयका शिक्षकलाई खोपको विषयमा किन ध्यान दिइँदैन? यहाँ लेखकले खोप शिक्षकलाई दिइनुपर्छ भन्ने मत राख्न खोजेको भन्दा पनि शिक्षक तर्फ ध्यान नपुगेको हो कि भन्न खोजेको हो।
शिक्षकलाई मैनबत्तीसँग तुलना गर्ने गरिन्छ। यसर्थ पनि शिक्षक आफ्नो जिम्मेवारी र कर्तव्य निरन्तर पूरा गरिरहेका छन् र गर्नेछन् पनि।