हरेक दिन अफिसको कामको तनाव, पारिवारिक समस्या, व्यक्तिगत केही अपूरा अनि अधुरा इच्छाहरुको चाङले मन भारी भएपछि मलाई प्रायः कहाँ जाउँ, जाउँ हुन्थ्यो।
कोही साथीलाई मनका कुरा सुनाउँ भने सबैसँग सबै कुरा सेयर गर्न पनि त भएन। फेरि सेयर गरिसकेपछि पनि त्यसको खासै अर्थ पनि छैन। घरमा बुवाआमालाई पनि त सबै तनावहरु बताउनु भएन.
कसरी मन हलुंगो पार्नू भनेर सोच्दै जाँदा मलाई पशुपति जाउँ, आरती हेरौँ एकपछिन घुमेर आउँ अनि मन शान्त हुन्छ भन्ने लाग्यो मेरो पल्लो कोठामा बस्ने भाइलाई साथमा लिएर म पशुपति पुगेँ।
त्यसभन्दा अघि म आरती हेर्न पशुपति पुगेको नै थिइनँ। हामी पुग्दा ५ मिनेट बाँकी रहेछ आरती सुरु हुन, शंख, घण्ट अनि बत्तीको उज्यालोसँगै विस्तारै आरतीको ध्वनि पारिपट्टिसम्म सुनिने गरी गुञ्जिन थाल्यो। धेरै मानिसहरु त्यहाँ आरती हेर्न जम्मा भएका थिएँ।
सबै मन्त्रमुग्ध भएर आरती हेर्न थाले, म पनि आर्यघाटको साइडकै अलि परको एउटा भित्तामा अडेस लागेर उभिएँ। मलाई त्यहाँ उच्चारित संस्कृतका मन्त्र र घण्टशंखको ध्वनिले कता-कता शान्ति मिलेको अनुभूति भयो। आरती सकेर केहीबेर आर्यघाटतर्फ पनि नजर लगाएर म र भाइ फर्कियौं।
भाइ पनि आरती हेर्नं पहिलोपटक पशुपति पुगेको रहेछ। मैले उसलाई सोधेँ, 'कस्तो लाग्यो आरती?'
उसले हिँड्दा हिँड्दै टक्क रोकिएर भन्यो, 'रमाइलो हुने रहेछ।'
मैले मन्द मुस्कानसँग सहमति जनाएँ। त्यसपछिका दिनमा हप्ताको एकपटक प्रायः म पशुपति पुग्छु, मनमा धेरै तनाव भयो भने त हप्तामा २ पटक नै पनि जान्छु।
यसरी दिनचर्या सामान्य चलिरहेको थियो। त्यो दिन शुक्रबार थियो, अफिस पनि छिटै छुट्टी हुने। खोइ किन पो त्यो दिन मेरो मन बिहानदेखि नै भारी भइरहेको थियो।
सोचेँ आजपनि पशुपति जान्छु, एकछिन फ्रेश भएर आउँछु। घरमा फर्किएर फ्रेश भएँ। अनि केहीबेर बसेर म पशुपति तर्फ लागेँ। हरेक पटकजस्तै जब जब मनमा केही कुराले पीडा दिन्छ, शरीरमा शिथिलता हुन्छ अनि केही शान्ती खोज्दै केही उर्जा खोज्दै पशुपति पुगेको हुन्छु।
मन्दिरमा पूजाआजा चलिरहेको थियो, दर्शनार्थीको घुइचोले त्यो माहोल नै परम आनन्दित बनिरह्यो। पारिपट्टि सन्ध्याकालीन भजन ओहो! त्यो समय मलाई अर्को कुनै संसारमा छु जस्तो महशुस भयो।
तर बिहानदेखि नै असन्तुलित भइरहेको मेरो मन पूर्णरुपमै स्थिर भने हुनसकेको थिएन। यतिकैमा मेरो आँखा आर्यघाटको चितामा रहेको एउटा लासमा पुग्यो। जो अहिले जीवनको अन्तिम सत्य मृत्युसँग हारेर आर्यघाटबाट सधैँको लागि बिदा हुँदैछ, केहीबेरमै खरानी हुँदैछ।
किन हो त्यो दिन मेरो मन स्थिर हुनै सकेन। म आरतीतिर केन्द्रित हुनै सकिनँ। जल्न लागेको लास, तिनका परिवार, उसका सपना, जीवनको यर्थाथता यस्तै केके सम्झिन थालेँ। मनमनै लाग्यो, आखिर मानिसहरु केका लागि घमण्ड गर्छन् होला है! जतिसुकै सुन्दर, विश्वकै चर्चित भएपनि मृत्युलाई जित्न सक्ने सामर्थ्य त कसैमा छैन।
फेरिपनि किन यस्तो अमानवीय भएको होला मानव, अझ मर्न नपर्ने भए कस्तो हुन्थ्यो? के-के गर्थ्यो होला मानिस? म त धेरैबेर यस्तै सोचेर टोलाउन पुगेछु। अर्धनिन्द्रामा छु जस्तै लाग्यो।
नजिकै रहेको भाइले मलाई बोलाउँदै हाँसेर सोध्यो, 'दाजु खुब टोलाउनु भयो त, के हो कसो हो भन्दै जिस्काउन थाल्यो?'
मैले हाँसेर 'धेर नकरा, आरती पनि सकियो एकछिन आर्यघाटमा जाऊँ' भनेँ।
उसले फेरि भन्यो, 'यो उमेरमा केको वैराग्य हो दाजु? घर जाउँ अब।'
फेरि मैले उसलाई 'एकछिन जाउँ न' भनेँ। ऊ तयार भयो।
पारिपट्टि लास जलिरहेको थियो, हामी वारिपट्टिबाट त्यहाँको चित्कार, आर्तनाद र दन्किरहेको लास हेर्न थाल्यौँ। आर्यघाटबाट अस्ताउँदै गरेको एउटा लास जलिरहँदा मेरो मनमा विभिन्न कुराहरु खेलिरहेँ।
मृत्यु शाश्वत छ तरपनि मृत्यु स्वीकार्न निकै कठिन छ। ६/७ जनाको जीवन लिला धुवाँ बनिरहेको आर्यघाटमा एउटा चिता वरिपरिको माहोल अलिक कष्टकर देखिरहेको थिएँ।
उकुसमुकुसबीच त्यही पुगे जहाँ आमाका रोदनले बागमती भड्किरहेको थियो, बाबुको चितकारले पारिपट्टिको भजनलाई वजन बनाइरहेको थियो, श्रीमतीको अश्रुधाराले चिता पखालिँदै थियो। प्रताडित परिवेशमा पुगेको म मन गह्रौं बनाउँदै टुलुटुलु हेरिरहे न बोल्ने शब्द थियो न बोलाउने वाक्य।
निकैबेरको मौनतापछि पनि केही नबुझी त्यहाँबाट फर्किन सकिनँ। त्यहाँ उपस्थित एकजना साथीलाई सोधेँ 'घटना के थियो?'
मधुर स्वरमा उत्तर आयो 'मैले मेरो बाल्यकालदेखिको साथी गुमाएँ। बुवा-आमाको काख रित्तियो, श्रीमतीको दाहिने हात गुम्यो। गर्भमा हुर्कँदै गरेको बच्चाले बुवाको परिचय पाएन।'
सुन्दै थिएँ कतिबेला आँखा रसायो पत्तो पाइनँ। चिन्दै नचिनी परलोक पुगेको साथीको मृत्यु यति बिछिप्त भयो कि म पनि मलामी जस्तै बनेर बसिरहेँ।
आरधना सकेर बत्ती बाल्दै गरेका भक्तजन, सन्ध्या आरतीको अन्तिम अन्तिम प्रहर भक्तिभावमा झुमिरहेका भक्तजन, यता भने आफ्नाको वियोगमा छट्पटिरहेका आफन्तजन!
एउटै ठाउँ तर फरक फरक परिस्थिति। साँच्चै बहुउत्तरको बहुप्रश्न मनमा गुन्जिरहन्छ यहाँ। सन्ध्याले घुम्टो ओडेर रात्रिलाई अङ्गाल्दै थियो, भजन सकियो आराधना सकियो तर सकिएन आफन्त र मेरो भड्किरहेको समय।
विस्तारै विस्तारै चिता वरिपरि मान्छेको संख्या कम हुँदै गयो। मलामीले चिता पखालेर फर्किने तर्खर गर्दै थिए तर त्यहाँ म अपरिचित बनेर बसिरहेँ आफ्नै मनलाई असंख्य प्रश्न गर्दै।
आमा भन्दै अब छोरो अफिसबाट फर्किँदैन, बुवाको पसिनाले भिजेको निधार पुछ्न अब ऊ कहिलै पाउँदैन, श्रीमतीको हात समाएर स्वप्न बगैचामा घुम्न जान पाउने छैन, गर्भमा हुर्कँदै गरेको सन्तानले ड्याडी भनेको सुन्न पाउने छैन, साथीसँग रमाइलो गर्दै त्रिशारामा फोटो खिच्न पाउने छैन।
यस्तै यस्तै प्रश्नको उत्तर खोज्दै जीवनको परिभाषा खोजिरहेँ। लेख्न मन लाग्यो अपरिचित साथीको नाममा एउटा कविताः
आर्यघाट
एक भारी दाउरा चितामाथि
संसार जित्न हिँडेको छोरो चितामाथि!
बागमती पनि उल्टो बगे जस्तै लाग्ने
कल्कलाउँदो छोरो
जिम्मेवारी छाडेर गयो पितामाथि।
सिन्दुर पुछियो, चुरा फुट्यो
विक्षिप्त बेरङ्गिन जिन्दगीमा
अब त दैवको आँखा नलागोस्
रामले छाडेर गएको ती अबोध सीतामाथि
दाउरा सकिँदै थिए चितामा
ऊ खरानी हुँदै थियो
मलामीले अगुल्टो घच्घच्याउँदै थिए
आगोको मुस्लो सुरु भयो
जन्मदिने आमाको छातीमाथि!
प्यालासागै उज्यालो पारेका रातहरु
बुढ्यौलीसम्म साथ दिने वाचाहरु
मथिंगल हल्लिने समाचार दिँदै
ब्रह्मलीन भएर ऊ गयो
बज्रपात पारेर आफ्नै साथीमाथि।
एक अपरिचित साथीको तर्फबाट तिम्रो आत्माको शान्तीको कामना गर्दै पशुपतिनाथसँग एउटा प्राथना गरेर फर्किएँ। 'कोही आमा-बुवालाई सन्तानको शरीर चितामा अग्निको ज्वाला सहेर ढलिरहन नपरोस्, कोही श्रीमतीलाई अल्पआयुमा श्रीमान गुमाएर सेतो घुम्टो ओढ्न नपरोस्, संसार नदेख्दै सन्तानले बाबाको बिदाई गर्न नपरोस्, बुढ्यौलीमा लठ्ठी टेक्ने सपना बुनेको साथीले जवानीमै आफ्नो यारलाई गुमाउन नपरोस्।
यस्तै के-के सोचेँ मन भारी पनि भयो, हलुका पनि।
त्यो दिनदेखि झनै मलाई मानिसहरुको घमण्ड, तँछाड मछाड र मारकाँट देखेर घृणा लाग्यो। खासमा मानिसको जीवनको वास्तविक अर्थै त आर्यघाटमा छ। जसले जीवनको यथार्थता देखाइदिन्छ, मानिसहरु वास्तविक धरातल प्रष्ट बनाइदिन्छ।
धनसम्पत्ति, सत्ता, शक्ति वा अन्य विषयलाई लिएर मानिसको धरातल बिर्सनेहरु पनि आर्यघाटको अन्तिम सत्य, अर्थात् मृत्यु हेर्न जाने हो भने बल्ल आफू को हुँ भन्ने चिन्दथेँ होला। तर मानवलाई त संसार नै जित्छु भन्ने अभिमानले वास्तविकता नै भुलाइदिएको छ।
म आफू पनि कहिलेकाहीँ म को हुँ भन्ने बिर्सन लागेँ भने पशुपति पुग्छु। आर्यघाटमा जल्दै गरेका लासबीच आफूलाई तुलना गर्छु अनि फर्किदाँ म मेरै धरातलमा फर्किसकेको हुन्छु।
तसर्थ तपाई पनि अलिकति बेचैनी हुँदा र आफूमा अभिमान बढी भयो भन्ने लाग्यो भने पशुपति आर्यघाट पुग्नुस्, त्यसपछि तपाई आफ्नै धरातलमा अवश्य फर्किनु हुनेछ।