नर्सिङमा स्नातक गरिरहेको म फिल्ड भिजिटको सिलसिलामा चतरा आसपासका गाउँ र स्थानीयका घर-घर जानुपर्ने भयो। स्वास्थ्यमा देखिने समस्या, वर्तमान स्थिति, चुनौतीका विषयमा कुराकानी र जनचेतनामूलक साक्षात्कारको मौका मिलेको थियो।
मेरो लागि त्यो फरक अनुभव थियो। सँगै मानिसका दुःख, खुसी, वेदना र आशाका कुरा सुनेर मन भारी भएसँगै थप जिम्मेवार भएको महशुस हुँदै गयो।
प्रायः जति घरमा म गएँ, हरेकमा त्यस्तै आग्रह, एउटै दुःख अनि उस्तै उस्तै समस्या र जीवनशैली पाएँ। हामी नेपालीका समस्या खासै धेरै र फरक छैनन्। गरिबी, अशिक्षा, बेरोजगारी, जातीय उत्पीडन, लैंगिक विभेद, वर्गीय भेद।
यिनैका चौतर्फी प्रहारले नै हाम्रो जीवनस्तर उस्कन नसकेको पाएँ। मानिसका स्वास्थ्य स्थिति सम्बन्धी अध्ययन गर्न चतराको एक गाउँ पुगेको म आज जीवनको फरक अनुभूति अध्ययन गर्न समेत पुगेँ।
त्यसैले पनि मलाई त्यो घर, धनकाजी बा र सुकबीरी आमा अनि ती प्रसंगहरु मन मस्तिष्कमा अमेट छन्। अक्षरमा सबै कुरा आएपनि मनमा परेको त्यो छाप र भावना सायदै प्रस्तुत गर्न सकौँला तर प्रयास भने गरेकी छु।
धनकाजी र सुकबीरीको चौतारो र खोलाको सानो चोसो भित्तामा बनेको टिनले छाएको माटोका भित्ताले थामेको तीन कोठे सानो घर छ। बुढाबुढी र सात छोरीहरु त्यही घरमा बस्थे। सात सन्तान भइसक्दा पनि एउटा छोरा पनि नजन्मिएको कुराले आफन्तले समेत खिल्ली उडाउने गर्थे।
आमाको माया न हो, आफ्नो सन्तान छोरा होस् या छोरी, माया उति नै हुन्छ। नौ जनाको परिवारको आम्दानीको श्रोत भनेको मात्रै धनकाजीले ज्यालादारीमा गर्ने मिस्री थियो। धनकाजीको नाममा झैँ जीवनमा भने धन खासै नभएको सुनाए।
उनको गरिबी र मजबुरीले आफ्ना सन्तान, पत्नी र अनुभवलाई नै मेरो धन हो भनेर सैद्धान्तिक गफ दिन उनले जानेनन्। त्यस्ता गफ विनोद चौधरी जस्ता पुँजीपतिले दिन्छन् जो बडा सजिलोसँग भनिदिन्छन्- यो पैसा धन होइन, मनको धनी हुनुपर्छ।
दुनियाँका कंक्रिटका घर बनाउन मिस्त्री काममा दिनभर खटिएर आफू भने माटोको भित्ताले बेरिएको घरमा मजाले निदाउने गर्थे। अब भन्नु, उनको मन कति धनी होला! तर द्रव्य नहुनुले उनको र उनीमाथि आश्रितहरुको जीवनको कष्ट निकै थियो। अनेक दुःखका बीच विक परिवार खुसी थियो, जीवन अघि बढिरहेको थियो।
दिन बित्दै गयो, छोरीहरु हुर्कँदै गए। वर्षेनी जसोका छोरीहरु कोही कलेज पढ्ने भए त कोही स्कुल जाने थिए। उनीहरुको साथी उनीहरु नै थिए। दिदीबहिनी भए बाँकी अरु नचाहिने औधि प्रेम थियो।
स्कुल कलेजमा साथी नहुने होइनन् तर धेरै समय एकअर्कासँगै बिताउने गर्थे। जहाँ जानु होस् या केही गर्नु परोस्, दिदीबहिनीसँगै हुनुपर्ने माया थियो। माइली छोरी, रमा स्थानीय उच्च माविबाट विज्ञान विषयमा प्लस टू अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौँ जाने निर्णय गरिन्। आमाबुबाले खुसी हुँदै आशीर्वाद र सँगै अनुमति दिए।
उनी एक प्रतिष्ठित कलेजमा भर्ना भएर आफ्नो अध्ययनलाई अझै लगन र मेहनतका साथ अघि बढाइन्। सबै कुरा राम्रो चलिरहेको थियो, छोरीको प्रगतिमा खुसी भैरहेको त्यो विक परिवारमा अचानक बज्रपात पर्यो। भर्खरमात्र सहर छिरेर पढाइ सुरु गरेकी माहिली छोरी रमाको बलात्कारपछि हत्याको खबर घर आयो।
आमाको होस हरायो, सबैलाई विक्षिप्त बनायो। रमाको दिदी सन्जुको पोहोर साल मात्र काठमाडौँमा बिहे भएको थियो। छोरीहरुले आमालाई काठमाडौं लिएर गए। आमाको अवस्था एकदमै बिग्रदै गएको थियो।
बुढेसकालमा आशाको ज्योति बन्ने सपना देखेका आमा-बुवा बेहाल हुँदै गए। छोरीको अन्त्येष्टि सकेर अलि समय धनकाजी र सुकबीरी काठमाडौं नै बसे। आमा सुकबीरीको मानसिक रुपमा कमजोर हुँदै गइन्। आफ्नी छोरीलाई फेरि फर्काएर ल्याउन त सकेनन् तर उनलाई न्याय दिलाउन कानुनको सहारा नमागेको होइन।
आमाको स्वास्थ झन्-झन् बिग्रँदै गएको छोरीहरुलाई टुलुटुलु हेरिरहनको विकल्प थिएन। गरिबीको मारमा परेका उनीहरुमाथि परेको यो बज्रपातले जीवन कहाली लाग्दो बनाएको थियो। बाहिरी चोटमा औषधिले काम गरे पनि आमाको मातृत्व र मुटुमा परेको त्यो घाउ दिनदिनै गहिरो हुँदै गयो।
छोरी जीवनबाट हार खाँदै गरेकी आमालाई मन बहलाउन पशुपतिनाथ मन्दिरमा लिएर जाने गर्थिन्। आमाले मनको चोट बिर्सन सकिनन्। यतिसम्म कि जो कोहीको पनि मृत्यु भएको लास वा अन्त्येष्टि गरेको देख्यो कि पुगेर चिच्याउँदै कराउँदै रुन थाल्थिन्।
उनी छोरी बलात्कार गरी हत्या गर्ने पुरुष जातिप्रति नै घृणा गर्न थालिन्। सुकबीरीलाई पुरुष जातिदेखि यतिसम्म घृणा हुन थल्यो कि आफ्नै श्रीमानसमेत छेउमा आउँदा कुट्ने, चिथोर्ने गर्ने गर्थिन्। विक्षिप्त बनेका दुवै जना निन्द्रा नपरेको, पिर परेको लगायत निहुँमा बिडीको अमली बने।
धूम्रपान र मद्यपानमा रमाइलो मान्न थालेका धनकाजीलाई पनि उच्च रक्तचापले शिकार बनायो।
आफ्नै नातेदार, आफन्त सरकारको माननीय पदमै रहँदा समेत न्यायको गुहार मागेका विक परिवार आजसम्म पीडित छन्। परिवार न्याय माग्न उनको ढोका पुग्दा समाज र राजनीतिक प्रतिष्ठामा आँच आउने लगायतको कुरा गरेर पन्छिन खोजेको नमिठो अनुभव छ।
'सत्ता र कुर्सीले मानिसलाई यतिसम्मको बनाइदिन्छ कि अब न्यायको लागि आवाज उठाउन पनि लाज हुन्छ रे,' रमाको कान्छी बहिनी १६ वर्षीय बसन्तीले गहभारी आँसु पारेर बोलिन्। यो कलिलो मस्तिष्कमा राजनीति र राजनीतिकर्मीको कस्तो छाप परिरहेको छ?
'यो देशमे छोरी जन्मिनु नै गल्ती रहेछ, मैले त सात वटी पाएँ, ठिक्क पर्यो मलाई,' सुकबीरी आमाले यी शब्द बोल्दै गर्दा मेरो शरीरका रौ ठाडा भए र एक प्रकारको तरंग अनुभूति भयो। म पनि एक छोरी नै, भोलि मेरो पनि सुकबीरीकी छोरी रमाको झैँ नहोला भन्न सक्ने गरी सरकारले खै के गर्दैछ?
नेपाल पुलिसको तथ्यांकमा २०१९-२० मा बलात्कारका २,१४४ घटना र बलात्कार प्रयासका ६८७ घटनाहरु दर्ता भएको देखिन्छ। २०१७-१८ मा बलात्कार प्रयासका ७२७ घटना र बलात्कारको १४८० घटना दर्ता भएका थिए।
वर्षेनी तथ्यांकमा ग्राफ उकालो लागेको प्रस्ट देख्न सकिन्छ। अधिकांश घटना दबाउने प्रयास भएता पनि प्रहरीको सक्रियता, सामाजिक संजालको बढ्दो पहुँच र प्रयोग सँगैमा हालै परिमार्जित ऐन र कानुन, जनचेतना र व्यापक जनदबाबले थुप्रै घटनामा दोषीले कारबाही पाएको दृष्टान्त पनि छन्।
तथापि हामी बलात्कार पश्चात दोषी पक्राउ पर्नु सजाय पाउनु आफैमा राम्रो हो तर हाम्रो जोडबल भने बलात्कार, उत्पीडन र सामाजिक समस्या रहित नेपाल बनाउने तर्फ हुनुपर्छ।
यस्तो जघन्य अपराधको घटना अरुको परिवारमा घट्दा कुर्सी समाएर बसेकालाई न्यायको पक्षमा बोल्न लाज हुन्छ भने कुनै दिन आफ्नी छोरीचेलीले त्यो भोग्नुबाट रोक्न त्यो कुर्सी भने पक्कै काम आवस्।
परेको दिन पनि के त्यही कुर्सी समाएर बसिन्छ होला त? त्यस बेला न्याय ठुलो होला कि कुर्सी? हामी समाज यही गतिमा अघि बढ्दै जाने हो भने आमाले सन्तानका रुपमा छोरी जन्मिँदा पिर मान्नु परेको छ।
हिजोका दिनमा दाइजो, पितृसत्ता र विभिन्न लैंगिक विभेदमा परेर थोरै उठ्न कोसिस गरिरहेका नेपाली चेलीलाई यस्ता घटनाले फेरि झस्काउने अवस्था आउँदै छ। छोरीलाई जोगिन सिकाउने समाजले छोरालाई पनि जोगाउने र बचाउने संस्कार दिन थालेको दिनदेखि सायद संसार फेरिन्छ।
प्राथमिक तहको शिक्षादेखि यौन शिक्षा, यौन दुराचार, यौनिकता, यौन मनोविज्ञान र खुला रुपमा यौनका विषयमा छलफल, अन्तरक्रिया र चेतनाको आवश्यकता छ। यसो भनिरहँदा विभिन्न शिक्षकबाट नै यौन दुर्व्यवहारका घटना याद आउँछन्।
निर्मला, भागरथी, सम्झना लगायत अंगिरा जस्ता अबोध बालिकाहरु माथि भएको जघन्य अपराधमा अदालतेः फैसला सुनाउला, सुनायो होला तर के ती आजसम्म बलात्कृत चेली र तिनका परिवार न्याय पाएका छन्? दोषी जेल जानु मात्र न्याय होर?
कि यस्ता घटनापछि पीडितका जीवन पहिले जस्तै हुन्छन् वा पहिला जस्तै बनाउन सामाजिक, आर्थिक र राजनीतिक रुपमा दह्रो र स्थापित बनाउन आजसम्म के कस्ता प्रयास भएका छन् त? भएका भए पनि एकदमै नगन्य, अदालतको फैसलाभन्दा समाजको अपहेलना र तिरस्कारले उल्टै पीडित आफ्नो ठाउँबाट विस्थापित हुनुपरेको थुप्रै घटना सुनेका छौँ।
भुल्न भएन, महिला राष्ट्रपति भएको मेरो देश जहाँ दिनहुँ एक नारी एक छोरी बलात्कृत हुन्छिन् तर न्याय भने कुन सरकारको कुन टेबलमुनि छ, थाहा छैन। महोदय, यहाँ न्याय भेडाका बथानका बीच भाषण गरेर बाडिन्छ।
सक्छौ कार्यान्वयनमा उतारेर देखाऊ, सक्दैनौ पीडित परिवारलाई झुटो आशा नदेऊ। तिम्रा लागि भिडमा दिएको त्यो भाषण होला, कसैको परिवारमा एउटा आशाको ज्योति बनेको हुन्छ।
विद्यालयका पाठ्यक्रम, समाजको बनावट, हाम्रा व्यवहार र आचरणसँगै राजनीतिक नेतृत्वमा रहेको चेतना जबसम्म महिला, पुरुष, तेस्रो लिङ्गी वा जो कोहीलाई उसको क्षमता, बौद्धिकता र अवश्यकता अनुसार समान अवसर, पहुँच र इज्जत दिँदैन तबसम्म राष्ट्रपति महिला, सभामुख महिला र प्रधानन्यायाधीश महिला भइसक्यो भनेर यस्ता वाइयाततर्क बेचेर देशमा समृद्धि र विकास सम्भव छैन।
पुँजीवादमा पितृसत्ताको घिनलाग्दो जकड र पकड अझै पनि महिलालाई स्वतन्त्र र समान व्यवहार गर्न रोकिरहेको छ। आजको गणतान्त्रिक नेपाल र नेपालीले आदिम कालदेखि महिलालाई व्यक्तिगत सम्पत्तिका रुपमा हेर्ने, बुझ्ने र बुझाइने परम्परालाई पछ्याउने हो भने शिक्षित गवार र जंगली बन्न पुगिन्छ।