धर्मशास्त्रअनुसार देवघाटमा परापूर्वकालमा देवताहरु बसोबास गरेकाले यस भूमिको नाम देवघाट रहन गएको हो भन्ने मान्यता छ। तनहुँ जिल्लामा रहेको प्राकृतिक र धार्मिक हिसाबले अत्यन्तै मनोरम स्थल देवघाट, मलाई मनपर्ने ठाउँ हो।
शनिबारको दिन साँझपख नतमस्तक थियो मन। देवघाटको शान्त मौसममा हजुरआमाहरुको सुरु भएको साँझपखको दैनिकी, कालिगन्डकी र त्रिशुली नदीको संगम यो पवित्र र सुन्दर स्थल देवघाट भन्दै म आफै आफैमा हराउँदै थिएँ।
एकजना हजुरआमाले अघिदेखि नै मलाई हेरिरहनु भएको झैँ लाग्यो। त्यसैले म उहाँ नजिक गएँ। उहाँलाई देख्दा मलाई मेरो हजुरआमाको झल्को आयो।
सेता कपाल, चाउरिएका तर केही पुष्ट गाला, गहुँ गोरी, छोटो कद, हरीयो ब्लाउज र पहेलो धोती लगाउनु भएको मलाई हेरेर मुसुक्क हाँस्ने हजुरआमा र उहाँको थोता दाँत हृदय स्पर्शी थिए। नजिकै गएर बोल्न मन लाग्यो, 'हजुरआमा सन्चै हुनुहुन्छ?'
'सन्चै छ छोरी।'
मेरो हातमा एउटा सानो प्लास्टिकको झोला थियो र झोलामा दुई/चार दाना स्याउ। उहाँको नजर मेरो झोला तिर होकि झैँ लाग्यो। तुरुन्त सोधेँ, 'हजुरआमा स्याउ खानु हुन्छ?'
उत्तर दिनुभयो, 'खान्न, टोक्न सक्दिनँ दाँत छैन।'
उहाँले टोक्न सक्ने मसँग केही थिएन। मन खल्लो भयो। सायद बिस्कुट भए खानु हुन्छ कि झैँ लाग्यो र सोधेँ 'बिस्कुट खानु हुन्छ त?'
'खान्न बाबु, सुगर छ खान हुन्न,' उहाँको उत्तर थियो।
अब मलाई झन सकस भयो। उहाँको नजर मेरो झोला तिर होकि झैँ लागेको थियो तर उहाँलाई दिने कुरा मसँग केही भएन। हतार हतार फेरि सोधेँ, 'हजुरआमा जुस खानु हुन्छ?'
उहाँको उत्तर खान्न नै आयो।
अनि फेरि मैले सोधेँ, 'के खानु हुन्छ त हजुरआमा?'
उहाँले भन्नु भयो, 'केही खान्न छोरी, तिमी मेरी छोरी जस्तो लाग्यो त्यसैले हेरेको अनि तिमीले बोकेको झोलामा मेरी छोरीको नाम लेखेको रहेछ।'
हजुरआमाको उत्तर सुनेर मेरो मन चिसो भयो र म उहाँकै छेउमा बसेँ टुसुक्क। उहाँ पनि मेरो छेवैमा बस्नु भयो।
'हजुरआमा, हजुरको छोराछोरी कति जना हुनुहुन्छ? कहाँ हुनु हुन्छ?'
'तिमी मेरी छोरी जस्तै लाग्यो, तिमीलाई एक पटक छुन्छु है?' भन्दै दुवै आँखाका आँसु गालाका खोपिल्टा हुदै बग्न थाले, म स्तब्ध बन्न पुगेँ। मन चस्कियो।
'नरुनुस् न! हुन्छ नि छुनुस्' भन्दै उहाँको दुवै हात समाएँ र आँसु पुछिदिन खोजेँ तर उहाँ आफै आत्मनिर्भर बन्नु पर्छ भने झैँ हतार-हतार आफ्ना आँसु आफै पुछ्नु भयो। बल्ल उहाँको मन हल्का भयो झैँ गर्दै भन्नु भयो 'मेरो एउटा छोरा र एउटी छोरी। छोरा दुबईमा छ, छोरी अमेरीकामा। श्रीमान बितिसक्नु भयो।'
'अनि घर कहाँ नि हजुरआमा हजुरको?'
'घर त्यही गैँडाकोट हो। घरमा एक्लै छु, बिहान सधैँ यता आउँछु, कहिले काहीँ यतै बस्छु। काल कुरेर बसेको छु नानी, तिमी मेरो छोरी जस्तै लाग्यो' भन्दै सुकिलो फरियाको फेरोमा बाँधेको थैली खोलेर पाँच सय रुपैयाँ निकालेर 'केही किनेर लगाऊ ल यो पैसाको आमाले दिएको' भन्दै थैलीको सुर्कनी खोल्नु भयो र त्यो पैसा मेरो हातमा दिनुभयो।
म अलमल्ल परेँ। के गरौँ, के भयो। त्यो पैसा लिनु कि नलिनु झैँ लाग्यो। 'हैन हजुरआमा पर्दैन' भन्दै म अल्मलिएँ। फेरि उहाँले भन्नु भयो, 'पर्छ भनेर दिएको हैन नि, लिग न केही किनेर लगाऊ' भन्दै आँसुका केही सद्भावनासँगै त्यो पैसा मेरो हातमा राखिदिनु भयो।
म सधैँ बिहान यता आउँछु, तिमी पनि कहिले काहीँ आऊ है। तिम्रो अनुहार मेरो छोरीको जस्तो लाग्यो, तिमीलाई छुन पाउँदा छोरीको न्यास्रो मेटियो।'
मैले अल्मलिँदै त्यो पैसा समाएँ। उहाँले मेरो घर थर केही सोध्नु भएन, मात्र मलाई फेरि भेट्ने वाचा सहित आमाको सन्तानप्रतिको अगाध प्रेम छताछुल्ल पार्नु भयो। म एकोहोरो मुद्रामा उहाँलाई नियाली रहेँ।
'नानी, किर्तनको समय भयो म जान्छु। तिमी आऊ है' भन्दै उहाँ मन्दिर तिर लाग्नु भयो। म स्तब्ध हुँदै मुन्टो हल्लाएँ। झसक्क याद आयो फोन नम्बर! कराएँ 'हजुरआमा!'
उहाँ रोकिनु भयो म दौडँदै गएर भनेँ 'हजुरको फोन नम्बर छैन?'
मुसुक्क हाँसेर भन्नु भयो, 'छ तर म जान्दिनँ। तिमी आफै हेर नम्बर' भनेर कम्बरबाट आफ्नो मोबाइल निकालेर दिनुभयो। मैले उहाँको नम्बर लिएर फेरि भेटौँला है भनेर उहाँबाट बिदा भएँ।
फर्कदै गर्दा मनमा अनेक भावहरु प्रशारित हुँदै थिए। उहाँले दिनु भएको पाँच सय रुपैयाँ मातृत्वको आगाध प्रेमसँगै घरमा हुनु भएको ९४ वर्षको हजुरआमा सम्झिएँ। घरबाट हिँड्न खोज्दा सधैँ भन्नु हुन्छ, 'चाँडै आऊ है, मलाई न्यास्रो लाग्छ।'
शब्द भावसँगै उहाँ भक्कानिएर रुन लाग्नुहन्छ।
'नरुनुस् न, म चाँडै आउँछु' भन्दै फकाउँछु।
'यसरी रुनुभयो भने म आउदिनँ' भनेर केही घुर्की लगाएपछि बल्ल उहाँ फर्किए झैँ गर्दै 'ल तिमी चाँडै आऊ, म रुन्न' भन्नु हुन्छ।
यो उमेरको उत्तरार्ध कहाली लाग्दो नै हुन्छ झैँ लाग्यो। सम्झना आउँछ भेट्न जान सकिन्न, खानेकुरा पेटभरि खान पाइन्न,आफ्नै आँगन बिरानो लाग्न लाग्दछ देख्न पाइन्न।
दिन होकि रात, एक समान लाग्दछ, सुत्दा सुत्दा सबै ज्यान दुख्न लाग्दछ। कसैले आएर बोलाइदिए बोल्न पाइन्छ,देख्न पाइन्छ नत्र कहाली लाग्दो यो जीवन अझै आफ्ना सन्तान बिना बस्नु भएको आमाबाबुहरुको जीवन कति नैरश्य होला!
आफ्नै सन्तानको एक स्पर्शको लागि कति छट्पटाहट हुँदो हो! न कुनै गन्तव्य न कुनै लक्ष्य, मात्र अनायासको दैनिकी। छोराछोरीलाई भेट्न नपाउँदै मर्छु कि झैँ लाग्दो हो! ती आँखाहरु कति भरिँदै र खाली हुँदै गर्दो हो!
घरमा आएपछि देवघाटको हजुरआमालाई फोन गरेको थिएँ। फोन लागेन, स्विच अफ आयो तर यो पाँच सय रुपैयाँको एउटा टिसर्ट किन्नु छ र त्यहि टिसर्ट लगाएर हजुरआमा भेट्न जानु छ। सायद उहाँ मेरो बाटो कुर्दै हुनुहुन्छ होला।