लामो लकडाउनपछि जीवन विस्तारै सामान्य बन्दै गइरहेको थियो। कार्यालयका काम पूर्ववत् सञ्चालन हुन थालेका थिए। आवरणमा अवस्था सामान्य हुँदै गएजस्तो प्रतीत भए पनि भविष्य भयावह रहेको अनुमान गर्न गाह्रो भने थिएन।
कारण- संक्रमण रोकथाममा जुन किसिमको सरकारी उदासीनता देखिन्थ्यो, जनताका व्यवहार पनि ठ्याक्कै उस्तै थिए। त्यस्तो अवस्थामा सचेत नागरिक बनेर आफ्नो सुरक्षाका लागि आवश्यक उपाय अपनाउँदै दैनिकी चलाइरहेको थिएँ।
त्यही बेला आयो दोस्रो लहरको कोभिड। र यो कोभिडको महामारीमा फसेका निरोगी नाम्लाहरु अनि भोका पेटहरु।
मजदुरलाई काम नगरौं भने ज्याला नपाइने, काम गर्दा रोग बोकेर घर फर्कनु पर्ने होकि भन्ने त्रासले सताएको छ।
सामान्यतया साधारण क्रियाकलापमा अस्त व्यस्त रही दैनिकी गुजारिरहेको तथा साँझबिहान हातमुख जोड्नका लागि दैनिक ज्याला मजदुरी गर्नै पर्ने बाध्यात्मक अवस्थामा रहेका ती श्रमजीवीहरुलाई अंकित गर्दै कोरिएको ती हरफको याद आउँछ- 'नगरी काम पुग्दैन खान साँझ र बिहान।'
किताबका अक्षरहरुमा मात्र देखिएका यी हरफहरु आज प्रत्यक्ष रुपमा नाङ्गो आँखाले नियालिरहनु परेको छ। खोलाको डिलमा रहेको त्यो सानो त्रिपालको छाप्रोमुनि भोकले छटपटाइरहेको बालक अनि 'ऐया! पेट दुख्यो' भन्दै गुन्द्रीमा पल्टिरहेकी नानी।
छोराछोरीको भोक मेटाउन जेनतेन महाजनको घरमा हारगुहार गर्दै खाना जुटाउन गएकी आमा साँझको छाक टार्ने भन्दै ज्यालाको खोजिमा निस्किएका बुवा एकैचोटि बेलुका भेट हुन्छ।
त्यो छाक त जेनतेन टर्यो होला तर, बन्द हर्ताल बेला कसरी टार्छन् होला? लकडाउनको समयमा कसरी बाँचिरहेको होलान्? निषेधाज्ञालाई कसरी पालन गरिरहेका होलान्? प्रतिरोधात्मक क्षमता कसरी बढाइरहेका होलान्?
यावत प्रश्नको जवाफदेही हो हुन्छ होला? राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा वातावरणीय लगायतका सम्पूर्ण पक्ष क्षेत्र वर्गबाट बहिष्कृत उनीहरु कयौं व्यक्ति कैयौं क्षेत्रबाट अपहेलित र शोषित भएका होलान्? कति प्राकृतिक विपत्तिको सामना गरे होलान्?
समृद्धि र सुखको नाराले कसरी प्रभाव पार्थ्यो होला र? आपत र विपतमा साथ कसले दिन्थ्यो होला र? आँसु भित्रका आशा र पसिना भित्रको लगाबले केही सम्भावनको दियो जलिरहने छ, हृदय विदारक दृष्ठान्तहरुतर्फ सम्बन्धित निकाएको ध्यान केन्द्रित बनोस्।
यो अवस्थामा यथाशीघ्र राज्यको मजदुरहरु तर्फ ध्यान गई सक्दो सहयोग, सद्भाव, सहायता, राहत उपलब्ध गराई कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने नाराले सार्थकता पाओस्। वास्तवमा हुँदाखाँदाको जीवन चुनौतीको पहाड र हुनेखानेको जीवन अवसरको बगैंचा हुने रहेछ।
कोरोना महामारीको सुरुआतदेखि त्यसले समाजका विभिन्न क्षेत्रमा पारेका प्रभावबारे समाचार आएँ । समाचारमा धेरै सर्वसाधारणका आँसु पोखिन्थे । त्यतिबेला पनि आँसु देखिने गरी नझरोस् भनेर मनमनै रुँदै औंलाले ल्यापटपको किबोर्डमा अक्षर दबाइरहन्थें।
त्यसैले सबैमा चुनौतीसँग जुट्ने सहास, समस्या, समाधान गर्ने आँट पैदा भई संविधानका धाराहरुबाट उनीहरुका लागि पनि आशाको पानी चुहियोस्।
जीवन धान्न भारी बोक्ने नाम्लो, अहिले भोको पेटमा कसिएको छ। नेपालीलाई लागोस्, रोगले मरिए नि भोकले मरिने छैन।