कोरोना कहरबिच छिमेकी मुलुकले भोगिरहेको स्थिति हेरेर नेपालले भावी दिनको यथार्थ चित्रण गर्न सक्छ।
एक जमात कोरोना कहरलाई साधारण लिइरहेछ, एक हुल स्वास्थ्य मापदण्ड बिना निस्फिक्री हिँडिरहेछ त कोही आफ्ना अनि आफन्त गुमाएको शोकमा पिरोलिरहेछ। बुझ्नेको बुझाइ र भोग्नेको यथार्थ बिल्कुलै फरक छ यहाँ।
वर्ष दिनअघि यही समयमा हामी बन्दाबन्दीमा नै थियौँ, जनजीवन प्रभावित बनेको थियो, लामो समयको अन्तरालपछि सामाजिक, मानसिक अनि आर्थिक रूपले फेरि उठ्न खोज्दा दोस्रो लहरको चपेटमा परेका छौँ।
तर जुन परिस्थिति हाम्रो वशमा छैन त्यसको समाधान भने फेरि हाम्रो हातमा नै छ। हामीलाई थाहा भएकै कुरा हो कि आवश्यक सुरक्षा मापदण्ड अपनाउने हो भने संक्रमित संख्या न्यून भएर जान्छ तर यति थाहा हुँदाहुँदै पनि हामी के कुरामा चुकिरहेका छौं कि संक्रमितको संख्या दिनहुँ बढ्दै छ?
केही सातादेखि हेर्ने हो भने दोस्रो लहर फैलिएसँगै देशभरका अस्पतालमा संक्रमित थपिने र उपचार शय्या नपाउने अवस्था भइसकेको छ। उपत्यका बाहिर कोभिड अस्पतालमा संक्रमितहरू भुइँमा लम्पसार उपचार गराउन बाध्य छन्।
अधिकांश अस्पतालमा आइसियू र कोभिड आइसोलेसन भरिएका छन् यो अवस्थामा आम-जनता देशको स्वास्थ्य प्रणाली र व्यवस्थामा प्रश्नचिन्ह मात्र नलगाई आफू बढ्दो संयमित भएर अघि बढ्नु पर्ने देखिन्छ।
हामी पहिलेको भन्दा धेरै जटिल अवस्थाबाट गुज्रिरहेका छौं, फरक यति छ कि यो कुरामा कोही जानकार छौँ त कोही साधारण लिइरहेका छौँ। संक्रमणको चुहावट मुख्यतः लापरबाही अनि करबारी दायराको डरमा मात्र देखावटी स्वास्थ्य सुरक्षा अपनाउनेबाट भइरहेछ।
हेर्दाको बुझाइ त्यति गहिरो नहुन सक्छ तर जब आफूलाई पर्छ तब भोगाइ निकै तितो भएर आउँछ जुन सायदै कसैको चाहना हो। त्यसैले विगतबाट सिक के? सर्वसाधारण नागरिक हामीले अहिले गर्ने भनेकै सुरक्षा मापदण्ड पालना गर्ने अनि आफू अनि आफ्नाका रक्षा गर्नु हो भने सम्बन्धित निकाय अनि सरोकारवाला निकै दूरदर्शी हुनुपर्ने देखिन्छ।
सरकार यो समय चुस्त दुरुस्त नभए फेरि पनि जनता अन्तिम साससम्म उपचारकै खोजिमा लडिरहनु पर्ने निश्चित छ। समयमै आवश्यक पूर्वधार, स्वास्थ्य सामाग्री, जनशक्ति, व्यवस्थापन लगायत अन्य कुराहरूको जोह नभए देशले ठूलो नोक्सानी बेहोर्ने कुरामा दुईमत छैन।
सरकारको सुस्त निर्णयले जनता कैयौं पटक खाडलमा परेका छन् र यसपटक सरकार र सम्बन्धित निकायले जनतालाई मृत्युको भूमरीमा नपार्न समयमै सही निर्णय लिई र जनस्वास्थ विद्हरूको सुझावलाई गभ्मीर रूपमा आत्मसाथ गर्दै तत्काल आवश्यक कदम अघि बढाउन पर्ने देखिन्छ।
हामी स्तब्ध छौँ तर हामी चाहदैनौँ कि मित्र राष्ट्रझैँ हामी शोकमा बस्न परोस्। हामी पक्कै चाहँदैनौँ कि हाम्रो साथ अनि काँध बिना आँखै अगाडि हाम्राको दाहसंस्कार होस्। हामी चाहँदैनौँ कि हाम्रो राष्ट्र अनि राष्ट्रवासी यसको शिकारले रित्तिउन्। अतः हामी चाहदैनौँ कि कहाली लाग्दा विगतका ती दिनहरू ब्युँतिउन्।
त्यसैले केही समय सचेत अनि संयमित हुनै पर्नेछ, नभए विगत साक्षी छ कि संक्रमण अनिश्चित छ। त्यसैले केही समयको जीवन संघर्ष रोज्ने कि सदाका लागि मृत्यु उत्सव हाम्रो हातमा छ।
त्यसैले संचेत रहौँ, संयमित रहौँ।