केही समय भौतिक रुपमा पठनपाठन गरेपछि कोरोना भाइरसको दोस्रो लहरको बढ्दो चापले विद्यालय बन्द गरिदिएको थियो। फेरि कक्षाकोठाहरु कम्प्युटरको स्क्रिनमा परिवर्तन भएका थिए।
हिजो अनलाइनबाट कक्षा ९ को विज्ञान विषयमा जिवहरुको अनुकूलता भन्ने पाठ पढाइरहँदा मैले एउटा उदाहरण लिएको थिएँ।
'हरेक जीव आफ्नो वरिपरिको वातावरणसँग अनुकूल गुणहरु आफूमा विकास गर्दै जान्छ, जसले गर्दा उसमा त्यसै अनुसारका शारीरिक र आनुवांशिक परिवर्तन आउँछ।
वरिपरिको वातावरण अनुकूल परिवर्तन हुन नसकी जस्ताको तस्तै बस्ने हो भने आफ्नो अस्तित्व टिकाउन सकिँदैन, जस्तो कि यही कोभिडको सन्त्रासले उत्पन्न गराएको अवस्थालाई आत्मसात गर्दै हामीले भौतिक कक्षाकोठालाई भर्चुअल कक्षाकोठामा परिवर्तन गरेका छौँ।
हामीले हाम्रो कक्षाकोठालाई वातावरण अनुकूल परिवर्तन गरेको भएर नै हामी पठनपाठन गर्न सकिरहेका छौं। नत्र त कहिले स्कुल जान सकिने दिन आउँछ भनेर कुरेर बस्नुपर्थ्यो।'
त्यतिकैमा एकजना विद्यार्थीले प्रश्न गरिन्, सर त्यो त हो तर हामी करिब एक वर्षदेखि कोभिडको त्रासमा छौँ। कक्षाकोठा भर्चुअल भए तर हामी अझैपनि कोभिडले उत्पन्न गराएको अस्वभाविक वातावरणसँग अनुकूल हुन किन सकिरहेका छैनौँ?
एकपटक राम्रैसँग मथिङ्गल हल्लियो।
शिक्षाको कमी, आर्थिक अभाव जस्ता केही सैद्धान्तिक आधारहरुलाई दोष दिएर त्यहाँबाट निस्किए पनि आफ्नै चित्त बुझाउन सकिरहेको थिइनँ।
कोभिडको सन्त्रासले केही महिना बिथोलेपछि करिब आधाआधी तिर स्कुलमा भौतिक रुपमा पठनपाठन सुरु भएको थियो। विद्यालयको गेटमै हात धुने व्यवस्था गरिएको थियो। त्यति व्यवस्थित बनाउन नसकेपनि हेल्थ डेस्कको स्थापना भएको थियो।
मास्क अनिवार्य गरिएको थियो भने एक अर्कासँग हात समातेर हिँड्न प्रतिबन्ध लगाइएको थियो। करिब दुई महिनासम्म यही रितमा स्कुल चल्दा पनि हरेक दिन विद्यार्थीहरुलाई हात धुन सम्झाउनु पर्थ्यो, मास्क लगाउन भनिरहनु पर्थ्यो भने दूरी कायम गर्न निर्देशन दिइरहनु पर्थ्यो।
यहाँसम्म कि सानो कक्षाका बाबुनानीहरुले त मास्क साटासाट गरेरै लगाइदिन्थे। अझै कहीँ कतै त हामी शिक्षकबाटै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न भुल हुन्थ्यो। सायद हामी वातावरण अनुकूल हुन सकिरहेका थिएनौँ।
'कक्षाकोठा भर्चुअल भए तर हामी अझैपनि कोभिडले उत्पन्न गराएको अस्वभाविक वातावरणसँग अनुकूल हुन किन सकिरहेका छैनौँ?' ती विद्यार्थीको यो प्रश्नले मलाई रातभरु निदाउन दिएन।
'सर, परीक्षा सरेको हो?
अब परीक्षा हुन्छ कि हुँदैन सर?
सर, एसइई योपाली पनि पहिलाको जस्तै हो र?
अब परीक्षा सरेको हो भने कहिले हुन्छ होला त सर?
जबसम्म परीक्षा दिन सकिन्न त्यतिबेलासम्म हामी यही कक्षामा अनलाइनबाट पढिरहने हो सर?'
हिजोबाट मलाई तारन्तार आएका फोनमा मैले सामना गरेका प्रश्नहरुका प्रतिनिधि प्रश्न हुन् यी। जुन प्रश्नहरुको चित्तबुझ्दो जवाफ मसँग छैन।
कोभिडको सन्त्रासले एकातिर थिचिरहेको छ भने आफ्नो पढाइ र परीक्षाको अन्योलताको मनोवैज्ञानिक सन्त्रासले झन् गिथोलिरहेको छ विद्यार्थीहरुलाई।
हुन पनि हो, अब छिट्टै परीक्षा लिनसक्ने अवस्था छैन। शैक्षिक सत्रमा थप क्षति हुन नदिने हो भने अब पर्ख र हेर को अवस्थामा बस्ने समयपनि छैन। हामीसँग अघिल्लो वर्षको अनुभव पनि यो छ कि अब विकल्पहरुको खोजी गरी अगाडि बढ्नुको विकल्प अर्को हुनै सक्दैन।
हामीसँग थुप्रै कठिनाइहरु छन्। सबै विद्यार्थीहरुलाई वैकल्पिक माध्यममा जोड्न सक्दैनौँ। वैकल्पिक माध्यमलाई जोड दिइरहदा वर्गीय अन्तर बढ्दै गइरहेको महशुस हुन थालिसकेको छ।
हुने सक्नेले मात्र पढ्न पाउने, अरुले नपाउने भन्नेजस्ता अन्तर्विरोधका आवाजहरु कहिँकतै सुनिन थालिसकेका छन् भने भर्चुअल कक्षाकोठाको प्रभावकारिता, भर्चुअल कक्षामा शिक्षकको प्रस्तुतिको क्षमता अनि भर्चुअल कक्षाको नाममा फैलिएको विकृतिका बारे पनि प्रश्न नउठेका भने होइनन्।
विश्वविद्यालय तहदेखी सबै तहका परीक्षा रोकिएका छन्। विद्यालय तहमा असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने गरी तयारी गर्नुपर्ने बेलामा परीक्षा स्थगित गरी बस्नुपरेको अवस्था छ।
हुन त विद्यार्थीको मूल्यांकनलाई भरपर्दो बनाउने माध्यम परीक्षा जस्तो अरु नहोला तर अब कहिले समय सहज होला र परीक्षा लिउँला भनेर बसेर पनि हुँदैन।
अघिल्लो वर्षजस्तै पर्ख र हेरको अवस्थामा बस्दा योपालि ढिला नहोस् भनेर त्यसको लागि के गर्न सकिएला त?
सर्वपर्थम त विद्यालय तह (कक्षा १-९) का विद्यार्थीहरुको अघिल्लो परीक्षाको नतिजा र शिक्षकको आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गरौँ र विद्यार्थीहरुलाई माथिल्लो कक्षामा लागि तल्लो कक्षामा सिकाइ गराउन नभ्याइएको विषवस्तु समेट्ने गरी हरेक विद्यालय तथा विषय शिक्षकले माथिल्लो कक्षाको पठनपाठन अनलाइनबाटै सुरु गरौँ।
विद्यार्थीको लागि आवश्यक पाठ्यपुस्तकको व्यवस्थापनमा अब ढिलाइ नहोस्। समयै बच्चाको हात हातमा किताब पुर्याउन सकियोस्। विद्यार्थी भर्ना र व्यवस्थापनलाई पनि सम्बन्धित विद्यालयले वैकल्पिक माध्यमबाटै जोड्ने प्रयास गरोस्।
अब जसले जहाँबाट जे-जे गरेर सकिन्छ, समयमै नयाँ शैक्षिक सत्रको सुरुआत गर्नसक्ने वातावरण सृजना गर्ने तयारीमा जुट्नुपर्ने बेला आएको छ।