एक दिनको दैनिकी बिग्रिँदा त कति असर पर्छ, यहाँ त पुरै दुई वर्ष नै डामाडोल भयो। सोचेका-आँटेका कामहरु सबै सोम शर्माको कथामा जस्तै रहरको खुत्रुके फुटेर भताभुंग भए।
यो जिन्दगी अनिश्चितै अनिश्चिताको बन्दी रहेछ। यहाँ तारकासुर, वाणासुरले देवताहरुलाई बन्दी बनाएजस्तो आज सिङ्गो मानव समुदाय बन्दी बनेको छ। तिजको बेलामा चलेको एउटा गीत 'सोचेझैँ जिन्दगी रैनछ'लाई प्यारोडी गरेर 'सोचेझैँ कोरोना रैनछ' भन्नेहरु पछिल्लो समय आत्तिएका छन्।
कोभिड-१९ को युके भेरियन्टले छिमेकी मुलुक भारतमा भयावहक स्थिति सृजना गरेको र भारतबाट फर्किने लगायत नेपालमै पछिल्लो पिसिआर टेस्टमा टेस्ट गरिएका मध्ये अत्याधिकलाई कोरोना संक्रमण पुष्टि हुनु र मृत्युदरको ग्राफ फेरि बर्खे भेल जसरी एक्कासी बढेको देखेर सबै आत्तिएका छन्।
रोग, आगो, सर्प र शत्रु कहिले पनि सानो हुँदैन भन्ने हाम्रो पूर्विय दर्शनको वाणी हामीले कति छिटै भुलेको! अस्पतालमा कुनै आइसियू र भेन्टिलेटर खाली छैनन्, अक्सिजनको चरम अभाव छ।
बिरामीहरु हस्पिटल बाहिर, भित्र बेडमा रहेका बिरामीहरुको आफ्नो उपचार हुने आशाले मृत्यु वा रिकभरीको यसरी प्रतिक्षा गरिरहेका छन् कि जस्तो केभिन कार्टरको विश्व प्रसिद्ध फोटो 'द भल्चर एन्ड द लिटिल गर्लमा' गिद्ध त्यो आफ्नो अगाडि रहेको बच्ची कतिबेला मर्ली र खान पाउँला भनेर पछि-पछि हिँडेको हुन्छ।
हिन्दीको उखान 'हर कुत्ताका दिन आता हे' भनेझैँ कोभिड-१९ च्याप्टर १ मा मास्क, पिपिई र स्यानिटाइजरको कृतिम अभाव सृजना गरेर कालोबजारी गर्नेहरुले मनग्य पैसा कमाए। अहिले फेरि कोभिड-१९ युके भेरीएन्ट च्याप्टर-२ मा अक्सिजनको कृतिम अभाव सृजना गरेर कालोबजारीहरु मालामाल हुँदै छन्।
लायोत्सेले भनेझैँ के अब पहुँच नहुनेहरु प्रकृतितिरै फर्कनु पर्ने त होइन? या देवकोटाले यात्री कवितामा भनेझैँ-
कालोबजारीहरलाई फर्क फर्क हे!
जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ
भनेर फेरि भन्नुपर्ने अवस्था त आएको होइन या त फ्रेडरिक नित्सेले पुनर्जागरणकालमा दिउँसै लालटिन बालेर ईश्वर खोजेझैँ असल व्यापारी खोज्ने बेला पो आएको होकि! जे होस्, मानवताभन्दा ठुलो कुनै देश छैन, न कुनै राष्ट्रियता नै या कुनै विश्वको आलिसान महल।
विश्वमा आणविक हतियारको निर्माण, प्रविधिको विकास र नेपाल जस्ता अविकसित मुलुकहरुले पछिल्लो समय आफ्नो सबै बजेट पूर्वधारमा खर्च गर्दा जनस्वास्थ्य जस्तो जटिल विषय ओेझेलमा परेको होकि या त पूर्वधारको विकास देखिने विकास र स्वास्थ्यमा गरेको विकास नदेखिने भएर हाम्रा बजेट बनाउने तहका जिम्मेवार मान्छेले आफ्नो सस्तो लोकप्रियताको निम्ति पनि जानजान स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेको होकि।
जे होस् आज कोरोनाले भारतमा हिन्दुलाई छोडेन, टर्की र इरानमा मुस्लिमलाई छोडेन, चिनमा कन्फ्युसियनलाई छोडेन, अमेरिकामा क्रिस्चियनलाई छोडेन, इजरायलमा यहुदीलाई छोडेन। यसको मतलब मानव धर्मभन्दा ठुलो धर्म कुनै कल्पित ईश्वर रहेनछ।
हातमा हेर्दा नदेखिने भाइरस जस्ता मिसाइल कुनै उत्तर कोरिया र अमेरिकाले तयार गर्न नसक्ने रहेछ। यो विपदको बेलामा कालो, गोरो, होचो, अग्लो हामी सबै मानव हौँ र यो हामी सबैको साँझा समस्या हो भनेर प्रतिकार नगरेसम्म हामी भस्मासुर बनिरहने छौँ।
आज अरुलाई पर्दा मुखदर्शक बन्ने, कृतिम अभाव सृजना गर्ने, लापरबाही गर्ने भोलि हामी माथि नै हाम्रो हात भारी परेर हामी हाम्रो परिवार भस्म हुन बेर लाग्ने छैन।