हेल्लो! नानी पैसा सकिएर मिसकल गरेको। आज सपना कस्तो कस्तो देखेँ। कस्तो छ तँलाई?
म कोठा सरेँ आमा। अरु त खासै केही छैन। घरमा बरु के कस्तो छ? अचेल त गर्मी बढ्यो होला है घर तिर?
बिहानको ७ बजे आएको आमाको मिस्कलले आमाकै काखको स्पर्श गरायो। १६ गतेबाट लकडाउन सुरु। घर जाउँ भने सुकै पैसा छैन।
सहरबाट दिदी आएकी त्यही नि जागिर खान्छे भन्दा ती लालाबाला भाइबहिनीको मप्रति आश त छँदै थियो। त्यसमा पनि हरेकपल्ट फोनमा कुरा गर्दा बहिनीले किताब राख्ने ब्याग, भाइले पुष्टकारी ल्याइदिन आग्रह गरेकै हुन्थ्यो।
एउटा सानो जागिर खान्थेँ। योग्यता बलियो बनाउन पहिला बलियो भनेर उभिन सक्नु पर्ने। म त्यही उभिन खोज्दै थिएँ।
हाम्रो फोन जारी थियो। एका एक आमाको आवाज मसिनो भयो। म प्रश्नमा प्रश्न जोड्दै थिएँ। सायद आमाको मुटु तेजले धड्किएर फोक्सोको सास तान्दै थियो। स्वा स्वा... गदै आमा भक्कानिएको थाहा पाएँ।
'सबैका छोराछोरी लकडाउनमा घर आए तँ किन नआकी ठुली? कोरोना व्यापक छ रे काठमाडौँमा त?'
'हैन आमा, म सुरक्षित छु। त्यसमा पनि हजुरहरुको आशीर्वादले मलाई कारोनाले कहाँ छुन सक्छ र!'
'भो नकरा। हामीलाई जितेजस्तो हुँदैन है। छोरीमान्छे त पराईघर जाने जात हो, कस्तो घर पर्छ राम्रो हुँदैन नि जिद्धिपन।'
'म त बिहे सिहे गर्दिनँ। अब सल्लाह गरेर सन्यासी बन्नु पर्यो भनेर पो सोच्दै थिएँ।'
'हो नानी, म नि यसै भन्थेँ। लगन नआउन्जेल हो।'
'आमा, बिहे हनु लगन आउनु पर्छ कि बेहुलो?'
'हाहा…' दुवै हाँस्यौँ। आमाको स्वर फेरि मसिनो भयो। केही प्रश्न गर्न थाल्दै हुनुहुन्थ्यो।
'ए ठुली, त्यो जर्सी गाई ३० हजारमा बेचेउँ नि।'
'ब्याउने बित्तीकै किन बेच्नु भएको त! बेच्नै परे नि एक दुई महिना दुध-दही खाएर बेच्नु भएको भए...'
'म.. मलाई त पाठेघरमा क्यान्सर भएछ। महिना नपुग्दै रगतको खोलो बग्न लागेको नि ८ महिना बढी भयो। भन्दा तेरा बाउले पनि सुनेनन्। म त उठ्न बस्न नसक्ने भएँ। अनि पैसा यसो खोजखाज गरेर अस्पताल गाको त क्यान्सर भयो भन्छन्। अनि गाई बेचेको, अब राम्रो अस्पतालमा जानु पर्यो। मिल्छ भने घर आइज न।'
आमाको यो कुरा सुन्ने वित्तिकै म चेत हराएजस्तो भएँ। मैले ती दिनको शब्द शब्दलाई सम्झेँ जुन दिन आमाले आफू सुत्केरी हुँदाको पीडालाई सुनाएकी थिइन्।
त्यतिखेर छोरी पढाउने जमाना थिएन। तर माइत नजिकै स्कुल भएर मलाई छोराछोरी बराबर लाग्थ्यो। तेरा घरकाले त छोरीमात्र पाइस् अलक्षिणा आइमाई भन्दै कति घरबाट निकाल्न खोजे।
३ दिनको दिन पनि न्वारन गरिदिए साइली छोरीको पालामा। त्यही दिनबाट ज्वानाको झोल र च्याख्ला खाएर घाँस भारीका भारी ओसार्नु पर्थ्यो। ती भिरपाखा, जंगली जनावर नै कहाँ भन्न पाइन्थ्यो र?
भनेपनि सुनिदिने कोही थिएन। सानो भारी घाँस देखेँ भने त च्याख्ला र तातो पानी पनि दिँदैन थिए। अहिले पो तिमीहरु छौ। पहिला त मेरो को थियो र?
वनमा गएर नि कहाँ घाँस काट्न सक्थेँ र! तीन दिनको सुत्केरी ज्यान कतै लम्पसार परेर आराम गर्न चाहान्थ्यो। हामी त लहिनो गाईभैसी जस्तै थियौ ठुली त्यो बेला।
यसो भन्दै गर्दा कति चोटि आमा डाँको छोडेर रुनुहुन्थ्यो। साँच्चै पुरुष प्रधान देशमा हामी महिला त उही मुठीको माखो जस्तै रहेछौँ।
'हेल्लो, हेल्लो…' भन्ने आवाज फेरि कानमा पर्यो। गहभरीका आँसुले बोल्ने कुनै वाक्य दिएन। मन रोयो तर देखाउनलाई आँसु थिएन।
उताबाट आवाज आयो 'अब लकडाउनमा त यो फुनको टावर पनि आउँदैन कसो! सुनिनस् जस्तो छ, बोलिनस् फुन राखेँ है। टावर आयो भने मिसकल गर्छु।'
आमाले फोन राख्नु भयो। आफू बस्ने घरको तीन तला माथि सरासर गएँ। मन पिरोलिन लाग्यो। आमालाई केही भैहाल्छ कि! एकपटक भएपनि देख्न पाए हुन्थ्यो भन्ने छटपटीले मन बैरागियो। घर जाउँ भने कसरी जाउँ? न गाडी खुलेको छ न त साथमा सुको छ।
फेरि आमाले भनेको कुरा याद आयो। म त रोइरहन्थेँ। मेरी छोरी कहिले ब्याग बोकेर आइए पढ्ने होली भन्ने लाग्थ्यो। हेर्दा हेर्दै ठुला भयौ। सानैमा तराई आयौँ भिरपाखा याद छैन होला।
घरबाट माथि नास्पातीको बोट भएनिर एउटा बालकको चिहान छ। त्यो तेरै भाइको चिहान हो। त्यो खप्परे पाउन तीन दिन व्यथाले च्याप्यो। कसैले तातो पानीसम्म तताएर दिएनन्। अँगेनाको खरानी र भित्ताको कमेरोले कति गुन लाएको छ म माथि।
तर त्यो अभागी हो कि मेरो कर्म। नालीमा सास रछ। स्वास्थ्य पनि कतै थिएन। तेरी हजुरआमाले कर्दले नाली च्वाट्ट काटिदिन केटो स्याक्क गर्थ्यो मेरेछ। मेरो त होससम्म राम्रो खुलेको थिएन। केही दिनमा थाहा पाएँ, छोराको चिहान बनिसकेछ।
हे दैव! अब त मेरो नाममा दिएको खुसीलाई पनि श्रद्धाञ्जली अपर्ण गर्यो बरु मलाई नै माथि लैजाऊ। बेचैन मन। बहुला जस्तै भएको थिए। त्यो चिहान खोतलेर भएपनि एकपटक छोरो हेर्छु भनेर कति कोसिस गरेँ।
तर त्यहाँ पुग्ने बित्तीकै डाको छोडेर रुन आउँथ्यो। कति पटक यी ओठहरुले त्यो चिहानलाई चुमेकी छु, कति पटक त्यो भुँइलाई अंकमाल गररे तर कहिले हेर्न पाइनँ।
त्यपछि फेरि साइली पेटमा आई। यो जन्मिएकै वर्ष त हो हामी मधेस झरेका। हेर्दा हेर्दै आज म केस फुलाउँदै छु। हिजो जस्तै लाग्छ ती दिन।
आमा रुन्थिन्, अतीतमा रहेका ती दिनहहरु सम्झिँदै। म छेउमा बसेर एकोहोरो घोरिरहन्थे। नरुनु भन्दै आमाका आँसु पुछिदिन्थेँ। ती कुराहरु सुनिरहँदा बाउदेखि लिएर घरका सबैप्रति घृणा जागेर आउँथ्यो।
साँच्चै देवताका पालादेखि नै महिलालाई दासीको रुपमा हेर्ने चलन कलियुगसम्म आइपुग्दा पनि अन्त्य भएको रहेनछ भन्ने हुन्थ्यो।
तराई आएपछि भाइ जन्मियो। त्यसलाई बचाउन सकिदैन थियो होला। यता त अस्पताल टन्न छन्।
छोरो जन्मेपछि पनि समाजले कहाँ सुख दिए र! सम्पत्ति खान जन्मेको कुलङघार हो। राम्रो गतिलो भए त अघि नै बाँचिहाल्थ्यो नि। पैतालाले माटो किल्चेला है। चारजना छोरीपछि बल्ल बाँचेको। यो नि गयो भने न तुहिएकी आइमाई भन्छौँ नि हामी।
यस्ता कुरा त आमाले कति सुनिन् कति। त्यो मैले प्रत्यक्ष देखेँ। भाइ नहुँदा ठूलो बा पर्नेका छोराहरुलाई टीका लाउन जाँदा तिहारमा मेरो माला कुल्चिएको छ।
आकाश गड्याङ गुडुङ गर्न लागेछ। म झसंग भएँ। साँढे ९ बजिसकेछ। अफिस नजिकै थियो। कोठाबाट निस्किनै लाग्दा फेरि आमाको मिसकल आयो।