केही महिना पहिले अफिसको कामको सिलसिलामा एउटा बैँकको म्यानेजरलाई भेट्न गएको थिएँ। अफिसबाट उनीसँग भेटेर काम छिटो पूरा गर्न एकदमै दबाब आइरहेको थियो।
फोन गरेर समय मिलाएँ, ११ बजे उनको अफिसमा हाजिर भएँ। अफिस त आइपुगेका रहेछन्, खोई कोसँग मिटिङ गर्दैछन् भनेर उनका सहयोगीले कोठा बाहिरको सोफामा बसाए।
बसेर मोबाइल हेरिरहेको थिएँ, १५ मिनेट जति पछि उनका सहयोगीले भित्र जान इसारा गरे। म सरासर भित्र गएँ, ती म्यानेजरलाई नमस्कार गरेँ। उनले हातले इसारा गर्दै बस्न भने।
म बसेर अफिसियल कुरा गर्न थालेँ। बीचमा कुरा काट्दै उनले भने, 'तिम्रो अफिसको डकुमेन्ट लेऊ त? मलाई तिमी भन्ने शब्द सिस्नुले पोलेजस्तै मनमा च्वाँस्स पोल्यो। अलिकति आश्चर्य मान्दै उनको अनुहारमा हेरेँ र नसुने जस्तै गरेँ।
उनले बुझेछन् क्यारे, 'तपाईको फाइल ल्याउनुस् त' भने। उठेर फाइल दिएँ। मलाई उनीसँग रिस उठिरह्यो। मनमनै म त्यो मान्छेको छोरी हुँ कि, उसको नातेदार श्रीमती, गलफ्रेन्ड म त कोही थिइनँ।
प्रोफेसनल्ली भेट्न गएको मान्छे पो हुँ त! उसलाई मेरो उमेरले के फरक पर्यो? म ऊभन्दा २० वर्ष कान्छी भएपनि उसले मलाई कुन आधारबाट तिमी भन्न मिल्छ, रिस उठिरहेको थियो। 'म तपाईको तिमी कसरी सर?' सोध्न मन थियो, तर के डिस्कस गर्नु जस्तो लागेर पुनः अफिस फर्किएँ।
तर, त्यो मान्छेदेखि पछिसम्म पनि रिस भने उठि नै रह्यो। ऊ मात्रै होइन, त्यसपछि पनि थुप्रै मानिसहरु प्याच्च तिमी भन्ने भेटिएँ। मनमनै रिस उठेपनि कतिपयलाई भनिएन। कतिपयलाई भने म के आधारमा तपाईको तिमी भनेर सोधेँ।
त्यो त प्रतिनिधि घटना मात्रै थियो, फेरि उहीँ प्रकारको घटना एउटा ट्रेनिङ लिन गएको ठाउँमा दोहोरियो। अमेरिकाको एउटा संस्थाले दिने नेतृत्व विकास सम्बन्धी तालिममा सहभागी हुने अवसर आयो मलाई। आफूलाई केही जान्नु थियो, सिक्नु थियो। त्यसलाई अवसर ठानेर म सो तालिममा सहभागी भएँ।
३ दिनको तालिम धुलिखेलको एउटा होटलमा सञ्चालन गरिएको थियो। त्यहाँ मेरै उमेरका, मभन्दा केही सिनियर र अलि धेरै उमेर भएका व्यक्तिहरु पनि सहभागी थिएँ। हामी पुगेर बसेको केहीबेरमा तालिम सुरु भयो, रमाइलो पनि लागेको थियो।
यस्तै २ वटा क्लास केहीबेरको ब्रेकपछि त्यो दिनको तालिम सकियो। सबैजना आफ्नो कोठामा गएर बेलुकीको खाना खान सहभागी भए। म पनि यही थिएँ। सबै खाना खान लाग्दा एकजना अर्धबैँसे उमेरका व्यक्तिले मसँगै रहेकी एउटी साथीलाई तँ सम्बोधन गर्दै आफूतिर एकपटक आउन अनुरोध गरे।
म एकछिन छक्क परेपछि लाग्यो, पहिलेदेखिको चिनजान होला अथवा नातेदार होलान्। तरपनि तिमीसम्म त भन्नुपर्छ नि, कस्तो प्रोफेसनल तालिममा आउँदा पनि 'तँ' भनेको होला लागिरह्यो।
यहीँ सोच्दै खाना खाइसकेँ, केहीबेरमा मसँगै रहेकी साथी आइन्। मलाई खसखस नै लागिरह्यो र सोँधे, 'उहाँ हजुरको नातेदार हो? कि पहिलेबाटै चिनजान?'
उनले अलि अनौठो ढंगले मलाई हेरिन् र अलिकति हाँस्दै भनिन्, 'नाई, मैले त उहाँलाई फर्स्ट टाइम भेटेको।'
'अनि तपाईलाई किन तँ भनेको त, यसमा तपाईले केही भन्नु भएन? मलाई त यो अलि ठिक लागेन।'
उनले मेरो कुरामा सहमति जनाउँदै थपिन्, 'मलाई पनि अचम्म लाग्यो, चिन्नु न जान्नु पहिलो पटक भेट भएको मान्छेलाई तँ रे?'
मलाई पनि त्यो मानिस त्यसपछिका दिनमा आजीवन मन परेन, कस्तो अशिष्ट भन्ने लागिरह्यो। त्यसमा पनि म आफू त बैंकको म्यानेजरले तिमी सम्बोधन गरेबाटै रुष्ट भएको थिएँ।
एकदिन साथीहरुसँग चियागफ हुँदा यस्तै प्रसंग उठ्यो। मलाई त यो विषय मनमा गडिरहेको हालसम्म भएका सम्बोधन बारेका घटना सुनाएँ। पहिलो पटक भेटेका त्यसमा नि प्रोफेसनका कारण भेटिनेहरुले तिमी सम्बोधन गरेको साँच्चै मन पर्दैन।
मसँग भएकामध्ये एउटा साथीले भने, 'मलाई त जे सम्बोधन गरेपनि केही हुँदैन' भन्यो तर अरु बाँकी साथीहरुको धारणा भने मेरो जस्तै रहेछ।
'मानिसलाई पहिलोपटक भेट्दै तिमी भनेर सम्बोधन गर्नु त होच्याउनु जस्तै लाग्छ है मलाई त,' चियाको चुस्की लगाउँदै रिताले भनी।
मैले मुन्टो हल्लाउँदै थपेँ, 'मलाई त तिमी भन्ने मात्रै होइन, बिनासम्बोधन बोलाउनेहरु पनि मन पर्दैन। कहिलेकाही म्यासेज, कल वा भेट हुँदा कोही व्यक्तिहरु सम्बोधन बिनै हेलो, हाई मात्रै गरेका हुन्छन्। न नामले बोलाउँछन्, न कुनै नाताले। त्यस्ता व्यक्तिहरु पनि साँच्चै अजीवका लाग्छन् मलाई त।'
मेरो कुरामा उनीहरुले मौन सहमति जनाए तर मनभित्रबाटै जनाए कि जनाएनन् त्यो भने बुझिनँ। तर, के थाहा पाएँ भने म जस्तै पहिलो पटककै भेटमा तिमी सम्बोधन गर्ने र अनि कुनै नाम वा पद नदिई हेलो, हाई मात्रै भनेर बोलाउनेहरु अरुप नि थुप्रै रहेछन्। मेरो विचारसँग मिल्ने कोही त भेटिए भन्दै खुसी भएँ।
अंग्रेजी भाषामा तँ, तिमी, तपाई सबै सम्बोधन यू ले गरेपनि नेपाली भाषामा विशेषगरी निम्न, मध्यम, उच्च र अति उच्च भाषाको प्रयोग गरेर व्यक्तिलाई आदर गर्ने वा सम्बोधन गर्ने गरिन्छ। तँ, तिमी र तपाई लगाएर तीन तरिकाले व्यक्तिको सम्बोधन गर्ने गरिन्छ।
आफूभन्दा सानो, छोराछोरी, सहपाठी वा उमेरले साना व्यक्तिलाई तँ, उहीँ उमेरका साथी वा आफूभन्दा सानो उमेरको नाता लाग्ने व्यक्तिलाई तिमी र आफूभन्दा ठूलो उमेर, काम, योग्यता, क्षमता वा अन्य हिसाबले माथिको व्यक्तिलाई तपाईको सम्बोधन गर्ने गरिन्छ।
अझ राजा महाराजा र उच्च खान्दानका व्यक्तिहरुले त आइस्यो, आइबक्सियो, बसिस्यो, खाइबक्सियो जस्ता उच्च आदर प्रदर्शन गर्ने शब्दहरुको प्रयोग गरिरहेका हुन्छन्। कतिपयले त यसलाई सामन्ती भाषा पनि भनिरहेका हुन्छन् तर पनि फरक तरिकाबाट भाषाको प्रयोग भने हुदैँ आएको पाइन्छ।
व्यक्तिपिच्छेको फरक आदर गरेर एकअर्कालाई सम्बोधन गरिरहेका हुन्छन्। कतिपय अवस्थामा त मानिसले गरेको सम्बोधनकै भरमा पनि उसको स्वभाव र आनिबानी थाहा भइरहेको हुन्छ। तर, नेपाली समाजमा आफूभन्दा ठूला उमेरका व्यक्तिलाई भने साथी र दाजुभाइ-दिदीबहिनी बाहेक तपाई भनेर नै साइनो लगाउने गरिन्छ।
तर, कतिपय अवस्थामा भने माथि उल्लेखित बैँकको म्यानेजर र ट्रेनिङमा भेटिएका ती अधबैँसे जस्तै हुन्छन्, आफूभन्दा थोरै उमेर कमको देख्यो कि तिमी भनिहाल्ने। कुन सिलसिलामा भेट भएको, कुन पदको व्यक्ति र मैले यस्तो सम्बोधन गर्नु उचित हो वा होइन केही सोच्दैँनन्। बस् मानिसहरुको बीचमा आएर असभ्य पारामा सोध्छन्, 'के छ तिम्रो खबर?'
मनमनै मन लाग्छ, तपाईलाई मेरो के चासो भनुँ, म तपाईको गलफ्रेन्ड हुँ, साथी हुँ, तपाईको बहिनी हुँ वा अन्य नातेदार को हुँ र मलाई तिमीको सम्बोधन गर्नुहुन्छ भन्ने। तर सबैको हुलमुलमा त्यसो भनिहाल्न पनि त भएन।
कहिले काहीँ यी कुराहरु लेखिरहँदा वा सोचिरहँदा प्रधानमन्त्री केपी ओलीले हरेक भाषणमा सम्बोधनका विषयलाई लिएर गरेको आलोचना याद आउँछ। त्यो त लेख्ने कुरा भए, तर प्रत्यक्ष भेट हुँदा त कसैले पनि तिमीको सम्बोधन गरेको हुँदैन। तर मैले यहाँ उल्लेख गर्न खोजेको कुरा कामको वा प्रोफेसनका सिलसिलामा भेट भएका जोकोही अपरिचितले गर्ने सम्बोधन हो।
कतिपयलाई त लेख-पढ गरेर खुब सम्मान चाहिएको भन्ने पनि लाग्न सक्छ तर, यो मलाई लागेको विषय हो। कतिपयलाई यो विषयले फरक नपर्न पनि सक्छ। तर, मैले भने आफूले प्रत्यक्ष पटकपटक अनुभूति गरेको विषय भनेर लेखमा उतारेको हुँ।
तसर्थ यो व्यक्ति लक्षितभन्दा पनि कतिपयको प्रवृत्ति लक्षित हो। हरेक मानिस आफू नि सम्मान चाहाने हुँदा अरुलाई पनि उचित सम्मान दिनसक्नुपर्छ भन्ने मेरो धारणा हो। यसमा सहमत र असहमत हुने जिम्मा पाठकवर्गमै छोडेको छु।